Skip to main content

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा
गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु            

                 गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।
           मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव जीवनका लागि गणितको भूमिका महत्वपूर्ण छ । संसारका हरेक विषयका विषयक्षेत्रबाट गणितलाई झिकिदिने हो भने ती सबै अपूर्ण मात्र होइन, अर्थहीन नै भइदिन्छन् । गणित सवै विषयका लागि आवश्यक पर्ने विषय हो । यो विषय विना हामी व्याबहारिक गणितीय समस्याहरुको समाधान गर्न सक्दैनौँ । यसैले त नेपालको आधारभूत तथा माध्यमिक तहमा गणितको महत्वलाई बोध गर्दै अनिवार्य विषयको रुपमा यसलाई समावेश गरिएको हो ।
             गणित विषयको यति ठूलो महत्व र आवश्यकता हुँदा हुँदै पनि यस विषयमा उत्तीर्र्ण गर्ने  विद्यार्थीहरु अन्य विषयको तुलनामा कम पाईन्छ । गणितको महत्व र महिमा जति नै भए पनि यसलाई विद्यार्थीमाझ सहजै सजिलो महसुस गर्न र गराउन सकेको अवस्था छैन । गणितलाई सबैभन्दा कठिन विषयको रुपमा स्वीकारिएको दुर्भाग्यपूर्ण अवस्थाबाट हामी मुक्त छैनौं । यो विषयलाई अधिकांश विद्यार्थीहरुले एउटा ठूलो  समस्याको रुपमा लिने गरेका छन् । अझ सामुदायिक विद्यालयका विद्यार्थीका लागि गणित विषय भूतको घर भएको छ, जसलाई उनीहरु सम्झन समेत चाहँदैनन् । उसोत गणित आफैमा असजिलो विषय भने होईन । गणितको धारणा बुझ्ने र निरन्तर अभ्यास गर्नेहरुले यो विषयलाई सजिलो मान्दछन् । उनीहरुले यस विषयमा धेरै अंक ल्याई पास भईरहेका हुन्छन् । तर अभ्यासको अभावमा यो विषयमा धेरै विद्यार्थीहरु अनुत्तीर्ण समेत हुने गर्दछन् । गणित विषयमा विद्यार्थीहरुमा देखिएको त्रासले गर्दा यो विषय अध्यापन गर्ने शिक्षक पनि निराश भएको विद्यमान अवस्था छ । उच्च माध्यमिक तह र विश्वविद्यालयहरुमा यो विषय अध्ययन गर्ने बिद्यार्थीहरुको त खडेरी पर्न थालिसकेको छ । अधिकांश विद्यार्थीहरुमा गणितप्रति वितृष्णा जागिरहेको पाइन्छ । नेपालको विद्यालय तहको अन्तिम परीक्षा मानिएको एसएलसी परीक्षाको केही बर्ष यताको नतिजालाई आधार मान्ने हो भने सबै भन्दा बढी विद्यार्थी गणित विषयमा नै फेल भएको पाइन्छ । बिद्यार्थीहरु यस विषयमा बढी असफल हुने बिभिन्न कारणहरु छन् । ती मध्ये प्रमुख कारणहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु
(१) जग कमजोर हुनु  र पूर्व ज्ञानको कमी
          गणित पूर्व धारणाहरुको प्रयोग गरी समस्याहरुको समाधान गर्ने विषय हो । कुनै पनि नयाँ विषयवस्तु सिक्नको लागि त्यससँग सम्बन्धित पूर्व ज्ञान हुनु आवश्यक हुन्छ । तर हाम्रा सामुदायिक विद्यालयहरुका तल्ला कक्षाहरुमा गणित विषयको प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन । गणित विषयको राम्रो ज्ञान नभएका शिक्षकहरुकै कमजोरीका कारण बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास हुन नसकेको हो ।  गणितका आधारभूत  धारणाहरु बिद्यार्थीहरुले राम्रोसँग बुझ्न नसक्दा विद्यार्थीहरुको धारणात्मक बोध कमजोर भएर गएकाले गणितीय उपलब्धि पनि कमजोर भएको देखिन्छ ।
(२) गणितप्रतिको भय
       गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी भयभित देखिन्छन् । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञान नै गणित सिकाइको सबैभन्दा संवेदनशील र अदृश्य चुनौति भएको छ । उनीहरुमा गणित सिक्न सकिन्छ भन्ने भावना र मनोबल उच्च नहुँदा चाहेर पनि गणितीय सिकाइले स्थायित्व पाउन सकेको छैन । विद्यार्थीहरुमा लुकेर रहेको गणितप्रतिको भय एवं त्रासलाई नहटाउँदा सम्म गणितीय सिकाइमा गुणस्तरीयता प्राप्त हुन सकेको छैन ।   
(३) अभ्यासमा कमी
       विद्यालय तहको पाठ्यक्रममा समाविष्ट विषयहरुमध्ये सबैभन्दा धेरै अभ्यासको जरुरत पर्ने विषय गणित नै हो । अभ्यासविना गणितमा दक्षता प्राप्त हुन सक्दैन । वर्तमान समयमा अधिकांश विद्यार्थीहरुमा अभ्यास गर्ने बानी हट्दै गैरहेको छ । अभ्यासको कमीका कारण गणितीय समस्या समाधानमा रुचिको जागरण हुन सकेको छैन । समस्यासँग परिचित हुने र समाधान गर्ने बानीको निर्माण हुन नसक्नुले गर्दा गणितीय समस्या बढी जटिल बन्ने गरेको पाइन्छ । 
(४)  गणितलाई दैनिक जीवन र व्यवहारसँग जोड्न नसक्नु
        गणितीय विषयवस्तु सिकाउँदा वर्तमान मानवीय जीवनमा आइरहेको प्रगोगको सन्दर्भबोध नहुँदा यसप्रति रुचिको जागरण हुन सकेको छैन । गणित किन पढ्ने र यसको प्रयोग कहाँ र कसरी हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई बुझाउन नसक्दा यो विषय खल्लो बन्न पुगेको छ । गणित सिकाइमा विद्यार्थीको दैनिक जीवन र व्यवहार समावेश नभएका कारण यसको प्रयोगमा रुचि देखिएको छैन ।
(५) सिकाइ अनुशासनको कमी
         विद्यार्थीमा सिकाइ अनुशासनको खडेरी बढ्दै गएको छ । गणित सिकाइमा विद्यार्थीहरु मानसिक रुपमा उपस्थित हुन नसक्दा शिक्षकप्रति उनीहरु भावनात्मक रुपमा नजिकिए पनि सिकाइ केन्द्रित भएर नजिकिने अवस्था टाढिँदै गएको छ । पर्याप्त मात्राका कक्षा कार्यमा सहभागी नहुनु, गृहकार्य गर्ने बानीको विकास नहुनु पनि अर्को समस्याको रुपमा देखिएको छ ।
(६) शैक्षिक सामग्री निर्माण र प्रयोग नहुनु
        प्रभावकारी शैक्षिक सामग्रीविना गणितीय विषयवस्तुको धारणालाई स्थापित गराउन सकिँदैन । गणितको गुणस्तरीय सिकाइको लागि शैक्षिक सामग्री अनिवार्य छ । अझ त्यसमा पनि ठोस शिक्षण सामग्रीहरुको प्रयोग यस विषयमा बढी प्रभावकारी हुन्छ । तर गणितका शिक्षकहरुमा शैक्षिक सामग्री बनाउने पर्याप्त ज्ञान र जाँगर नहुँदा गणित पढाइएको छ तर सिकाइएको छैन । गणित शिक्षणमा भैरहेको परम्परागत शिक्षण विधिको अभ्यासको कारण यस विषयमा धेरै बिद्यार्थीहरु असफल बनिरहेका छन् । 

(७) शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्न नसक्नु
       आजको युगमा शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोग अपरिहार्य भैसकेको छ । यसको प्रयोगले गणित शिक्षण सिकाइलाई सहज, सरल, रुचिपूर्ण र प्रभावकारी पनि बनाउँछ  । तर हाम्रा अधिकांश सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिहरुको प्रयोग हुन सकिरहेको छैन । 
(८) योग्य र दक्ष गणित शिक्षकको कमी
       हाम्रा सामुदायिक विद्यालयहरुमा अझै पनि गणित विषयका विषयगत शिक्षकहरुको व्यवस्था गर्न नसकिरहेको अवस्था छ । अन्य विषयका शिक्षकहरुले गणित शिक्षण गर्दा केबल काम चलाउ शिक्षण मात्र भइरहेको छ । जसका कारण बिद्यार्थीहरुमा गणितको बलियो धारणा बस्न सकेको छैन । कम योग्यता भएका र फरक विषयका शिक्षकले गर्ने शिक्षण प्रभावकारी नभएको कारणले गर्दा पनि समस्या उत्पन्न भएको पाइन्छ ।
(९) कक्षा कोठामा तालिमको प्रयोग हुन नसक्नु
        विद्यालय तहमा संख्यात्मक रुपमा पर्याप्त तालिम प्राप्त शिक्षकहरु भएको भनिए तापनि शिक्षकले लिएका तालिमहरुको कक्षाकोठामा प्रयोग हुन सकिरहेको छैन । शिक्षण सिकाइका नविनतम विधि, प्रविधि र मूल्यांकनका साधनहरुको उचित प्रयोग हुन नसक्दा बिद्यार्थीहरु यस विषयमा असफल हुने क्रम घटेको छैन ।
(१०) उपचारात्मक शिक्षण सिकाइको अभाव
       गणित विषयमा कमजोर ठानिएका बिद्यार्थीहरुलाई निरन्तर अभ्यास र उपचारात्मक शिक्षणको आवश्यकता पर्दछ । त्यसको लागि निरन्तर मूल्यांकन, अतिरिक्त समयको अभ्यास, पृष्ठपोषण र निरन्तर पुनर्वल प्रदान गर्दै जानु पर्ने हुन्छ । तर अधिकांश सामुदायिक विद्यालयहरुमा यस्ता कार्यहरु हुन सकिरहेका छैनन् ।  
(११) अभिभावकको कमजोर भूमिका
       सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरुकै गणित प्रतिको धारणा कमजोर पाइन्छ । बिद्यार्थीले घर परिवारका सदस्य र छिमेकीहरुबाट अरु विषयको सिकाइमा जति सहयोग प्राप्त गर्छ त्यति गणित विषयमा प्राप्त गर्न सक्दैन । घरायसी वातावण गणित सिकाइको लागि अनुकुल नभइदिंदा पनि बालबालिकाहरुको गणितको जग सुदृढ हुन सकिरहेको छैन ।   

समाधानका उपायहरु
(१) गणितको जग बलियो बनाउने
             जग बलियो भयो भने घर बलियो हुन्छ भने जस्तै पूर्व प्राथमिक तह देखि नै जबसम्म गणितीय ज्ञान र सीपहरुको धारणलाई स्पष्ट र मूर्त बनाउन सकिदैन तवसम्म गणित विषयमा देखिएको कमजोरी कायमै रहन्छ । तसर्थ गणितको बलियो जगका लागि साना कक्षाहरुमा योग्य, दक्ष, तालिमप्राप्त र क्षमतावान शिक्षकहरुको व्यवस्था गर्नु पर्दछ । शुरुका कक्षाहरुबाटै गणित विषयको प्रभावकारी शिक्षण सिकाइ गर्न गणित विषयका विषयगत शिक्षकहरुकै व्यवस्था गर्नु आवश्यक छ । गणित विषयको राम्रो ज्ञान भएका शिक्षकहरुबाट बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास गराई गणितमा रमाउने वातावरणको सिर्जना गराउनु पर्दछ ।
(२) गणितप्रतिको त्रास हटाउने
           गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरुमा देखएको त्रासलाई कम गर्न शिक्षणका परम्परागत विधिहरुको प्रयोगलाई हटाई रोचक, नविनतम विधि एवं प्रविधिहरुको प्रयोगमा जोड दिनु पर्दछ ।  गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञानलाई हटाउनको लागि मनोवैज्ञानिक उपचारात्मक शिक्षण विधि अबलम्बन गर्नु आवश्यक हुन्छ ।  विद्यार्थीहरुमा गणित प्रतिको आत्मबलमा बृद्धि गर्दै आत्मविश्वास बढाउने खालका क्रियाकलापहरुमा जोड दिनु पर्दछ ।
(३) योजनाबद्ध र चरणबद्ध शिक्षण सिकाइ
       कुनै पनि गणितीय विषयबस्तु सिकाउनु भन्दा अगाडि शिक्षक र बिद्यार्थीहरुले पर्याप्त मात्रामा पूर्व तयारी गर्नु पर्दछ । यस्तो तयारीले सिकारुलाई सिकाइप्रति प्रेरित गर्दछ भने सिक्नको लागि मानसिक रुपले तयार पनि बनाउँछ । उखान नै छ ूध्भिि दभनगल ष्क जबाि मयलभू अर्थात राम्रोसँग शुरुआत गर्नु आधा काम गरे जत्तिकै हो ।  गणित शिक्षणका धेरै बिधि र उपागमहरु छन् । ती मध्ये शिक्षकले आवश्यकता अनुसार हरेक समस्या समाधान गर्दा कुनै एउटा वा बढी भन्दा बढी बिधिहरुको प्रयोगको योजना बनाई शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सक्छ ।
           गणितीय समस्याहरु समाधान गर्दा समस्याहरुलाई ससाना इकाइहरुमा विभाजन गरी सिकाउनु पर्दछ । प्रत्येक साना इकाइहरुलाई चरणबद्ध रुपमा हल गर्ने बानीले बिद्यार्थीहरुले उक्त समस्या बुझ्न र सजिलै समाधान गर्न सघाउँछ । समस्या समाधान गर्दा बिद्यार्थीलाई कहाँनेर जटिलता भएको छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । गणित सिकाइ सिंढी चढे जस्तै हो, एउटा खुट्किलो चढ्न नसक्दा पुरै यात्रा नै बिथोलिन सक्छ । तसर्थ हरेक चरणको उत्तिकै ख्याल गरेर अगाडि बढ्ने वातावरणको सिर्जना गर्नु पर्दछ ।      
(४) निरन्तर अभ्यासमा बृद्धि
       निरन्तर अभ्यासले नै अपेक्षित नतिजा हासिल गर्नको लागि महत्वपूूर्ण भूमिका खेल्दछ । गणित शिक्षणमा असल अभ्यास पनि एउटा शिक्षण कौशल हो । अभ्यासले गणितीय धारणाहरुलाई बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दछ । सबैभन्दा धेरै अभ्यासको जरुरत पर्ने विषय गणित भएकोले गणित सिकाइका लगि पर्याप्त पुनर्वलीय अभ्यासको लागि अवसरको सिर्जना गर्नु पर्दछ ।
(५)  गणितलाई दैनिक जीवन र व्यवहारसँग जोड्ने
         गणितीय धारणाहरुलाई दैनिक जीवन र व्यवहारहरुसँग जोडेर शिक्षण सिकाइ प्रक्रियालाई अगाडि बढाउँदा बिद्यार्थीहरुले आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई सजिलै समाधान गर्न सक्छन् । बिद्यार्थीहरुले सिकेका गणितीय ज्ञान, सीप र धारणाहरु कसरी उनीहरुको जीवनमा प्रयोग हुन्छन् भन्ने कुराको बोध शिक्षकले गराउन सक्नु पर्दछ । यसले गर्दा उनीहरुमा विषयप्रतिको रुचिमा बृद्धि हुन्छ । तसर्थ गणित सिकाइमा विद्यार्थीको दैनिक जीवन र व्यवहार समावेश गरिनु आवश्यक हुन्छ ।
(६) शिक्षण सिकाइमा रमाइलो वातावरणको सिर्जना
        बिद्यार्थीहरुलाई गणित विषयमा सफल गराउनको लागि शिक्षक स्वयं बिद्यार्थी मैत्री, सहयोगी र रमाइलो वातावरण सिर्जना गर्ने खालको बन्नु पर्दछ । विद्यार्थीहरुले जति बढी सिकाइको लागि आनन्ददायी वातावरण प्राप्त गर्दछन् त्यति नै सिकाइ प्रभावकारी बन्दछ । त्यसकारण गणित कक्षालाई भययुक्त नबनाई रमाइलो र रुचिपूर्ण बनाउनु पर्दछ । बिद्यार्थीहरुले तनाव सिर्जना गर्ने शिक्षक नभई कक्षा क्रियाकलापहरुलाई चाखलाग्दो र आनन्ददायी बनाउने शिक्षकको कक्षामा बढी सक्रियता देखाउने गर्दछन् । शिक्षकको यस्तो भूमिकाले गर्दा विद्यार्थीहरु पर्याप्त मात्रामा कक्षा कार्यमा सहभागी हुन्छन्, र गृहकार्य गर्ने बानीको पनि विकास हुन्छ ।
(७) पर्याप्त शैक्षिक सामग्रीको निर्माण र प्रयोग
          प्रभावकारी शैक्षिक सामग्रीविनाको शिक्षण गणित विषयको लागि अभिसाप नै बन्ने गर्दछ ।  अझ त्यसमा पनि ठोस शिक्षण सामग्रीहरुको प्रयोग यो विषयको लागि अपरिहार्य हुन्छ ।  बिद्यार्थीहरुलाई सिकाइप्रति प्रेरित गर्न र उनीहरुमा रुचि जगाउनुका साथै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन एउटा गणित शिक्षकले पर्याप्त मात्रामा शैक्षिक सामग्री र शैक्षणिक स्रोतहरुको प्रयोग गर्नु पर्दछ । बिद्यार्थीहरुमा गणितीय धारणाहरु बसाल्नको लागि यस्ता सामग्री र स्रोतहरुको महत्वपूर्ण भूमिका रहन्छ । शिक्षण सिकाइको लागि आवश्यक पर्ने सामग्रीहरुको प्रबन्ध स्वयं बिद्यार्थीहरुबाट गर्न लगाउन सक्ने हो भने अझ उनीहरुमा विषयबस्तु प्रतिको रुचि बढेर जान्छ । 
(८) शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग
       गणित विषयको शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्दछ । यसको प्रयोगले शिक्षण सिकाइलाई सहज, सरल, रुचिपूर्ण र प्रभावकारी पनि बनाउँछ  । अहिले इन्टरनेटमा यो विषयसँग सम्बन्धित धेरै सामग्रीहरु प्राप्त गर्न सकिन्छ । विश्वमा विकास भइरहेका अत्यन्तै सरल र रोचक  विधिबाट गणितीय समस्याहरुको हल गर्ने विधिहरुको जानकारी अनलाइन, युट्युबहरुबाट हासिल गर्न सकिन्छ । 
(९) योग्य र दक्ष गणित शिक्षकको व्यवस्था
       सामुदायिक विद्यालयहरुमा गणित विषयका विषयगत शिक्षकहरुको व्यवस्था गर्न नसक्दा शिक्षण सिकाइ प्रभावकारी र अर्थपूर्ण हुन सकिरहेको छैन । धेरै बिद्यार्थी यो विषयमा असफल हुनुको प्रमुख कारण शिक्षकहरुको असफलता पनि हो । बिभिन्न विषयका शिक्षकहरुले गणित शिक्षण गर्दा यो विषयको विषयबस्तु जटिल बन्न पुगेको हो । तसर्थ गणित विषय शिक्षणका लागि सम्बन्धित विषयकै पर्याप्त योग्यता र तालिम भएको शिक्षकहरुको व्यवस्था गर्नु पर्दछ ।  
(१०) कक्षा कोठामा तालिमको प्रयोग
        शिक्षकको पेसागत विकासका लागि भैरहेका तालिमहरुको कक्षाकोठामा उपयोग गर्न सकेमात्र पनि यो विषयको शिक्षण सिकाइमा सुधार आउन सक्ने देखिन्छ । तालिमलाई कक्षाकोठाभित्र लैजाने संयन्त्रको विकास गर्नु आजको आवश्यकता हो । सेवापूर्व वा सेवाकालिन तालिमहरुको प्रभावकारीतामा बृद्धि गरी शिक्षण सिकाइका नविनतम विधि, प्रविधि र मूल्यांकनका साधनहरुको उचित प्रयोग गर्ने तर्फ जोड दिन सके बिद्यार्थीहरु असफल हुने क्रम घटेर जान सक्छ ।
(११) उपचारात्मक शिक्षण
       गणित विषयमा कमजोर ठानिएका बिद्यार्थीहरुलाई निरन्तर अभ्यास र उपचारात्मक शिक्षणको आवश्यकता पर्दछ । त्यसको लागि निरन्तर मूल्यांकन, अतिरिक्त समयको अभ्यास, पृष्ठपोषण र निरन्तर पुनर्वल प्रदान गर्दै जानु पर्ने हुन्छ । यस विषयमा कमजोर ठानिएका वा फरक क्षमता भएका  बिद्यार्थीहरुलाई विशेष किसिमको विद्यार्थी सहायता प्रणालीको विकास गरी आधारभूत ज्ञान, सीपहरु प्रदान गरी सबलीकरण गर्दै लैजानु पर्दछ ।
(१२) घोक्ने र कण्ठ गर्ने प्रवृत्तिलाई निरुत्साहन
         अझै पनि कतिपय ज्यामितीय साध्यहरु, सुत्रहरु, समस्या समाधानका तरिकाहरु घोक्ने र कण्ठ गर्ने प्रचलन विद्यमान छ । यसले गर्दा गणित विषयलाई झन जटिल बनाइरहेको छ ।  गणित शिक्षकले बिद्यार्थीहरुलाई गणितीय नियमहरु कसरी बनेका छन् , कसरी प्रमाणित गर्ने भन्ने प्रक्रियाहरुका बारेमा अभ्यस्त गराउनु पर्दछ । नियमहरु सम्झने भन्दा पनि पत्ता लगाउने कार्यमा लगाउनु पर्दछ ।
(१३) अभिभावकको भूमिकामा बृद्धि  
         सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरुकै गणित प्रतिको धारणा कमजोर भएको कारणले बिद्यार्थीहरुमा त्यसको असर परिरहेको छ । गणित विषय कठिन छ भन्ने मनोविज्ञानलाई हटाउँदै गणितको महत्व, यसको दैनिक जीवनमा हुने प्रयोग र आवश्यकताको बोध गराउनु पर्दछ । गणित मानब जीवन व्यवहारको अभिन्न अंग हो भन्ने सन्देश अभिभावमा पर्याउनु जरुरि देखिन्छ । यसको साथै घरायसी वातावण गणित सिकाइको लागि अनुकुल बनाउन अभिभावकको भूमिकामा बृद्धि गर्ने तर्फ पनि ध्यान पुर्याउनु पर्दछ ।

निष्कर्षमा भन्नुपर्दा गणितमा अधिकांश बिद्यार्थीहरु असफल हुनुका धेरै कारणहरु भएता पनि यसको मुख्य जिम्मेवार पक्ष भनेको शिक्षक नै हो । एउटा योग्य, दक्ष, प्रतिबद्ध र समर्पित शिक्षकले गणितको नराम्रो इतिहासलाई सुनौलो बनाइ सुन्दर भविष्यतिर मोड्न सक्छ । आजको गणित शिक्षकले गणितप्रति देखिएको वितृष्णालाई हटाई बिद्यार्थीहरुमा गणितको महत्व, यसको सुन्दरता, दैनिक जीवन र व्यवहारमा यसको प्रयोग जस्ता कुराहरुको बोध गराई गणितलाई एउटा उपयोगी, रुचिपूर्ण र जीवनको अभिन्न अंगको रुपमा विकास गराउने तर्फ भूमिका खेल्न सक्नु पर्दछ । 
(लेखक श्री जननेत्र उमावि देउपुर, पर्वतमा विगत १० बर्ष देखि माध्यमिक तहमा गणित विषय अध्यापनरत छन् ।)

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो घण्टीमा कम्प्युटर श