Skip to main content

आफ्ना सन्तानलाई चोर बनाउने अभिभावकहरु

विनय कसजु
नेपालमा एसएलसी परीक्षाको इतिहासमा पहिलो पटक परीक्षार्थीहरुलाई खानतलासी लिएर परीक्षा केन्द्रमा प्रवेश दिइयो । परीक्षामा आफ्ना छोराछोरीलाई चिट चोराउन अभिभावकहरुको भीडै लाग्यो । यस्तै विवादमा प्रहरीले हतियारको पनि प्रयोग गर्नु पर्यो ।

आफ्ना सन्तानलाई चोर बन्न सिकाउने अभिभावकहरुले आफ्ना छोराछोरी मात्रै होइन हाम्रो समाज र देशलाई कस्तो बनाउन खोजेका होलान भन्ने सम्झेर दिक्क लाग्यो । अनि चोरकी आमाको कथा सम्झेँ जो यस्तो छः

चोरकी आमा
“आमा, मैले के भेट्टाएँ हेर्नुस् त !” विप्लवले स्कुलबाट आउँदा आउँदै भन्यो ।
“के ल्याइस् बाबु ? खोइ देखा त,” आमाले सोधिन् ।
विप्लवले झोलाबाट खेलौना मोटर झिकेर आमालाई देखाउँदै भन्यो, “हेर्नुस् त कति राम्रो मोटर ! दम दिएर चल्छ ।”
उसले मोटरमा दम दियो र भुइँमा राख्यो । मोटर कररर कराउँदै एकै छिन गुड्यो र भित्तामा ठोक्किएर रोकियो ।
“कहाँबाट ल्याइस् यस्तो राम्रो खेलौना ?” आमाले सोधिन् ।
“विकासले खेल्दा खेल्दै स्कुलमै छोडेको रहेछ । अनि उसलाई चहिँदैन होला भनेर मैले ल्याएँ ।”
“बेसै भयो । तँलाई खेलौना मोटर किन्न मन लागेको थियो । पाइहालिस् अब खेलौना किनिदेऊ भनेर कचकच नगर," भन्दै आमा काममा लागिन् ।
केही दिन पछिको कुरा हो एक दिन विप्लवले कुखुराको फुल लिएर आयो । उसले भन्यो, “आमा मलाई फुल खान मन लागेको थियो । बाटोमा यो फुल भेट्टाएर ल्याएँ । पकाइदिनुस् न है !”
आमाले खुशी हुँदै फुल लिएर भान्छामा गइन् र फुल पकाउन थालिन् ।
केही दिनपछि विप्लवले कुखुराको भाले समातेर ल्यायो । उसले भन्यो, “आमा मैले यो भाले बाटोमा भेट्टाएर ल्याएको । आज यसको मासु खाउँ है ।”
“कस्तो राम्रो काम गरिस् बाबु । मलाई कत्ति दिन भयो कुखुराको मासु खान मन लागेको थियो,” भन्दै आमाले पानी तताउन थालिन् ।
एक दिन विप्लवले हजार रुपैयाँको नोट ल्याएर आमालाई दिँदै भन्यो, “आमा आज मैले बाटोमा पैसा भेट्टाएँ । अब तपाईँले राम्रो लुगा किन्नुस् है ।”
विप्लवको कुरा सुनेर आमा खुशी भइन् । त्यो दिन उसलाई अरु दिन भन्दा मिठामिठा खाने कुरा पकाएर ख्वाइन् ।
केही दिनपछिको कुरा हो । केही प्रहरीहरु विप्लवको घरमा आए । घरमा आमा मात्रै थिइन् ।
“विप्लव भन्नेको घर यही हो ?” प्रहरीले सोधे ।
“हो बाबु । किन आउनु भएको ? विप्लव त घरमा छैन,” आमाले डराउँदै भनिन् ।
“ऊ त प्रहरीको खोरमा छ । उसले चोरेको सामान केके छ भनेर खान तलासी गर्न आएको हामी,” प्रहरीले भने ।
प्रहरीको कुरा सुनेर आमा छाँगोबाट खसेजस्तै भइन् । उनले रुँदै भनिन्, “मेरो छोरा कति जाति छ । तपाईँहरु झुक्किनु भयो होला । मेरो विप्लवले कहिल्यै चोर्दैन ।”
तर प्रहरीले आमाको कुरा पत्याएन । उनीहरुले विप्लवको कोठाबाट थुप्रै चोरीका सामान भेट्टाए र लिएर गए ।
आमा पनि प्रहरीको पछि लागेर प्रहरी चौकीमा गइन् ।
खोरमा थुनिएको विप्लवले आमा आएको देख्यो । उसले नजिकै उभिएको प्रहरीसँग अनुरोध गर्यो, “प्रहरी दाइ, मेरी आमासँग मैले जरुरी कुरा गर्नु छ । उहाँलाई नजिकै बोलाइ दिनुस्न है ।”
प्रहरीले उसको कुरा मानेन । तर आमाले पनि धेरै अनुरोध गरेपछि प्रहरीले आमा छोरालाई भेट्न दियो ।
“आमा नजिकै आउनुस् न । मैले तपाईँसँग जरुरी कुरा गर्नु छ,” भन्दै विप्लवले आमालाई खोरको नजिकै बोलायो ।
“के कुरा हो र बाबु ?” भन्दै आमा खोरको डण्डीको बीचमा कान राख्दै विप्लवले के कुरा भन्छ होला भनेर पर्खिन् ।
अचानक विप्लवले आमाको कान दाँतले बेस्सरी टोकिदियो ।
“ऐया बाबा । के गरेको ? किन मेरो कान टोकेको ?” आमा रुन कराउन थालिन् ।
आमाको कानबाट रगत बगेको देखेर प्रहरीहरु त्यहाँ आए र विप्लवलाई गाली गर्दै भने, “यो त चोर मात्रै होइन बदमास पनि रहेछ । आफूलाई जन्माउने आमाको कान टोकेको हेर त । यसलाई त सिस्नो पानी लाएर पिट्नु पर्छ ।”
प्रहरीको कुरा सुनेर विप्लवले कत्ति पनि नडराइकन भन्यो, “प्रहरी दाइ, मलाई चोर बनाउने यिनै आमा हुन् । मैले सुरुमा सामान चोरेर ल्याउँदा यिनले स्याबासी दिनुको सट्टा गाली गरेको भए आज म चोर बन्ने थिइन । अब मलाई जे सजाय दिनु पर्छ दिनुस् ।”
विप्लवको कुरा सुनेर आमा रुँदै घर फर्किन् । वास्तविक अपराधी को हो भन्ने कुरामा प्रहरी विलखबन्द भयो ।
समाप्त ।
(फेसबुक पेजबाट)

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...