Skip to main content

विद्यार्थीको घरमा शिक्षक जानैपर्ने व्यवस्था



काठमाडौं, १६ चैत
शिक्षा विभागले सिकाइमा सुधार गर्न शिक्षक प्रत्येक विद्यार्थीको घरमा जानैपर्ने अनिवार्य व्यवस्था गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा एकदेखि तीनसम्म एक शिक्षक एक कक्षाको व्यवस्था गर्ने र शिक्षकलाई विद्यार्थीको
घरमै पुग्नुपर्ने व्यवस्था गर्न
लागेको हो । 
शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीका अनुसार कक्षा शिक्षक तीन्ा महिनामा एकपटक स्वयं विद्यार्थीको घरमा पुगेर अभिभावकलाई भेट्ने र विद्यार्थीको पढाइबारे छलफल गर्नुपर्ने बताए । 
शुक्रबार भएको पत्रकार सम्मेलनमा महानिर्देशक अवस्थीले भने, 'सिकाइलाई उपलब्धिपूर्ण बनाउन शिक्षक विद्यार्थीका घरमा पुग्नेछन् र शिक्षकले विद्यार्थीको कमजोरी पत्ता लगाई सिकाइमा सुधार गर्न सक्छ ।' 
विभागले विद्यार्थीको सिकाइलाई उपलब्धिमुखी बनाउन नयाँ शैक्षिकसत्रदेखि प्राथमिक तहमा 'एक कक्षा एक शिक्षक'को व्यवस्था गर्ने भएको छ । धेरै शिक्षकले पढाउँदा साना विद्यार्थीको सिकाइमा खासै उन्न्ाति हुन नसकेपछि विभागले एक शिक्षक एक कक्षाको अवधारणा ल्याएको हो । 
विभागले देशभरका सबै विद्यालयलाई सर्कुलर जारी गरी 'एक कक्षा एक शिक्षक' सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । आगामी शैक्षिकसत्रमा कक्षा एकदेखि तीन कक्षासम्मका लागि एक शिक्षक एक कक्षामा राख्न्ा सुरु गर्ने भएको छ । 
विभागले ०७० लाई 'सिकाइ सुधार वर्ष'का रूपमा लिने र समग्र एक कक्षा एक शिक्षकको प्रणाली अपनाएर आगामी वर्षमा प्राथामिक तहको अहिलेको सिकाइ उपलब्धि ४० प्रतिशतलाई ६० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ । प्राथमिक तहको गुणस्तर खस्केका कारण एक कक्षाको जिम्मा एक शिक्षकलाई दिन लागिएको हो । ती शिक्षकलाई तालिम दिने तयारीसमेत विभागको छ ।
सरकारले धेरै प्रयास गरेको भनिए पनि अहिले पनि विद्यालय उमेर समूहका चार दशमलव सात प्रतिशत बालबालिका विद्यालय आउन सकेका छैनन् । विभागले ०७१ सम्म्ा सबै बालबालिकालाई विद्यालय ल्याउन अनिवार्य भर्ना अभियानसमेत गर्ने जनाएको छ । दुई वर्षभित्र विद्यालयबाहिर रहेका विद्यार्थीलाई समेट्न स्थानीय निकाय, गाविस, नगरपालिका तथा गैरसरकारी संस्थाको सहयोगमा दिवा खाजाको व्यवस्था पनि गर्न थालिएको छ ।