![]() |
| भूमिराज शर्मा |
शिक्षालाई बालमैत्री तथा बालकेन्द्रित बनाउन बालबालिकाका चाहना तथा रुचिअनुसारको पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधि तथा मूल्याङकन पद्धति निर्माण गरी कार्यान्वयन गरिनु पर्दछ । कुनै पनि त्रास तथा भयमुक्त वातावरणमा शिक्षा प्राप्त गर्ने अवसर नै बालमैत्री तथा बालकेन्द्रित शिक्षा प्रणाली हो । यस्तो किसिमको शिक्षा व्यवस्थामा शिक्षक शिक्षिकाले सहजकर्ता वा पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तिनको सम्पूर्ण चिन्तन र श्रम विद्यार्थीका सबै किसिमका समस्या समाधानतर्फ केन्द्रीत हुनुपर्छ । बालमैत्री तथा बालकेन्द्रित शिक्षाले बालबालिकामाथि कुनै पनि मानसिक तथा शारीरिक यातना निषेध गर्दछ । यसमा बालबालिकाले आफनो घर र विद्यालयबीचको भिन्नता छुट्याउन सक्दैनन् ।
तर हाम्रो समाज, परिवार तथा विद्यालयले बालबालिकाहरुमा स्व अनुशासनको विकास गराउन सकिएको अवस्था छैन । न त हाम्रो घरमा बालमैत्री वातावरण छ, न त विद्यालयमा नै । बालबालिकाहरुका समस्याहरुलाई मनोवैज्ञानिक ढंगले हल गर्ने बुद्धि हामीमा अझै पलाउन सकेको छैन । आफ्ना बालबालिकालाई पिटेर तह लगाउन नसकी शिक्षकको जिम्मा लगाउने र जसरी भए पनि ठीक पारी दिन अनुरोध गर्ने कतिपय अभिभावकको संस्कार छ भने लठ्ठी लिएर कक्षामा पसी विद्यार्थीलाई अनुशासित बनाउन तल्लिन रहने शिक्षकहरुको पनि कमी छैन । यही लठ्ठी संस्कारको भरमा स्कुुलमा बालमैत्री वातावरणको संभावना टाढा बनेको छ ।
सरकारले स्कुल सुधार्न बालमैत्रीको नारा ल्याए पनि स्कुलमा हुने दण्ड र यातनाले सरकारकै नारालाई चुनौति दिइरहेको छ । सिकाइ प्रभावकारी बनाउन, डप आउट कम गर्न बालमैत्री विद्यालय सक्षम छन् भन्ने सरकारको बुझाइ छ । खेलाइ खेलाइ सिकाइ संस्कारको विकास गराउने बालमैत्री शिक्षाको मूल मन्त्र हो तर यसरी स्कुलमा सिकाइ क्रियाकलापहरू भैरहेका छैनन् ।
कसैले अनुशासनको नाममा त कसैले गृहकार्य नगरेको नाममा स्कुलमा विद्यार्थीलाई दण्ड दिइरहेका छन् । तर तिनै स्कुलहरूले मन्टेश्वरी स्कुलको दावी गर्दै विज्ञापन गर्दै आएका छन् । कक्षामा लठ्ठी प्रयोग गर्ने तर विज्ञापनमा बालमैत्री र मन्टेश्वरी शिक्षण विधिको प्रचार गर्ने गर्दछन् । अहिले स्कुलमा बालमैत्री तालिम प्राप्त शिक्षक नहुँदा र तालिम प्राप्तले पनि तालिमलाई कक्षाकोठामा प्रयोग नगर्दा स्कुल बालमैत्री बन्न सकिरहेका छैनन् । त्यस्तै विद्यालयमा बालमैत्री शिक्षण सामग्रीको निर्माण र प्रयोग हुन सकिरहेको छैन । विद्यालय परिसरभित्र बालमैत्री संस्कार र व्यवहारको विकास हुन नसक्दा पनि विद्यालय वातावरण बालमैत्री हुन सकिरहेका छैनन् ।
नेपालको कानुन अनुसार विद्यालयमा हुने गरेका सबै दण्ड सम्बन्धी क्रियाकलापहरू कानुन विपरीतका कार्य हुन् । बालबालिका सम्बन्धी ऐन २०४८, नेपालको अन्तरिम संविधान २०६३ तथा नेपाल सरकारको अन्तराष्टिय प्रतिबद्धता बमोजिम विद्यालयमा गरिने कुनै पनि यातना, सजाय वा शोषणलाई अनुशासनका नाममा उन्मुक्ति दिन नमिल्ने भनेको छ । तर पनि हाम्रा विद्यालयहरुमा दण्ड र यातना दिने क्रम रोकिएको छैन । बिद्यार्थीहरु शारीरिक र मानसिक रुपमा सताइएका छन्, पिल्सिएका छन् । दण्ड सजायँ दिनेहरु विरुद्ध कुनै किसिमको कारबाही पनि भएको पाइदैन । तसर्थ शिक्षा सम्बद्ध सबै सरोकारवालाहरुले प्रचारमा मात्र नभै व्यवहारिक रुपमा नै विद्यालयमा भय रहित वातावरण निर्माण गरी बालमैत्री तथा बालकेन्द्रित शिक्षण पद्धतिको सुनिश्चितता गराउनु आवश्यक छ । त्यसो गर्न नसक्नेहरु र दण्ड सजायँलाई नै शिक्षणको आधार मान्नेहरुलाई ऐन नियम अनुसार कारबाहीको भागीदार बनाउनु अपरिहार्य भैसकेको छ ।
