बस्यालले बैशाख ११ गतेको मितिमा ब्यवस्थापन समितिका पदाधिकारी र सदस्यको किर्ते हस्ताक्षर गरी भाञ्जी उमा भट्टराईलाई रिक्त शिक्षक दरबन्दीमा नियुक्त गराएका थिए । प्रधानाध्यापकले किर्ते गरेको समाचार रेडियो शालीग्रामले प्रसारण गरेपछि घटना बाहिर आएको थियो । प्रअको बिरोधमा अभिभावकहरुले विद्यालय बन्द गराएर शुक्रबारदेखि आन्दोलन सुरु गरेका थिए । विद्यालय नै बन्द भएपछि ब्यवस्थापन समितिले कारबाही स्वरुप प्रअको जिम्मेबारीबाट च्यूत गरेको ब्यवस्थापन समिति सदस्य भीमसेन गुरुङले बताए । गुरुङका अनुसार प्रअ वस्याललाई आइतबार बसेको ब्यवस्थापन समितिको वैठकले पदबाट हटाउने निर्णय गरेको थियो ।
प्रअ हटेपछि तीनदिनदेखि बन्द विद्यालय सुचारु भएको छ । ब्यवस्थापन समितिका पदाधिकारी र सदस्यको किर्ते हस्ताक्षर र निर्णय गराएर उनले भाञ्जीलाई नियुक्त गराएको पा“च महिनापछि मात्रै खुलासा भएको हो । निबृत्त हुन लागेका शिक्षक नामदेव न्यौपानेले छ महिनाका लागि विदामा बसेपछि सट्टा शिक्षकका रुपमा भट्टराईलाई नियुक्त गरिएको थियो । तर, न्यौपानेले विदामा बसेको एक महिनामै शिक्षकबाट राजीनामा दिएका थिए । त्यही मौका छोपेर प्रधानाध्यापक बस्यालले नक्कली हस्ताक्षर र निर्णय लेखेर भाञ्जीलाई न्यौपानेकै दरबन्दीमा नियुक्त गराएको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।
१५ दिनअघि ब्यवस्थापन समितिले निर्णय सच्याउन र माफी माग्न प्रअलाई सुझाब दिएको र प्रअले गल्ती भएपनि माफी र निर्णय नसच्याउने अडान लिएपछि अभिभावकले शुक्रबार विद्यालय नै बन्द गराएको थियो । विद्यालय बन्द भएपछि कक्षा–१ देखि कक्षा–१२ सम्मका झण्डै आठ सय विद्यार्थीको पढाई प्रभावित भएको थियो । शुक्रबार शैक्षिक सत्र ०७० को प्रथम त्रैमासिक परीक्षाको अन्तिम दिन थियो । अभिभावकले विद्यालय बन्द गरेपछि परीक्षा समेत हुन पाएको थिएन । किर्ते गरेको विषयमा बस्यालले समेत स्वीकार गरेका छन् । उनले दरबन्दी बचाउनका लागि किर्ते गरेको दाबी गरे ।