- प्रा.डा. विद्यानाथ कोइराला पढाइको सन्दर्भ के पढ्ने? कसरी पढ्ने ? किन पढ्ने ? यी त्रयीय प्रश्न हुन् । नेपाली बालबालिकाले घर पढे । खेती पढे । जीन्दगी पढे । तर पढाउनेहरुले किताब पढायौँ । किताब र बालबालिकाको पढाइबीच सम्बन्ध राखेनौँ । देखाएनौँ । हाम्रो शैक्षिक संस्कारले बालबालिकाले बुझे कि पढाइ छुट्टै हो । पढ्ने चिज छुट्टै हो । यी दुईमा सम्बन्ध छैन । किन त्यस्तो भयो ? उत्तर सामान्य छ । शिक्षक ‘योजक’ बनेनौँ । बनाइएनौँ । यो ‘एटोले’ बुद्धिले हाम्रा बालबालिकाले पढेनन् । पढ्नै जानेनन् । किताब कस्ता बने ? अर्काे यक्ष प्रश्न हो । रमाइलो । मनोवैज्ञानिकवालाले त्यही भने । विज्ञहरुले त्यही भन्यौँ । तर बालबालिकाले पढेको जिन्दगीले त्यसो भनेन । उनको मौन बोली रह्यो– ताराबाजी लैलैले के गर्नु ? चौधरीको कथाले के गर्नु ? पहिलोले उफा¥यो । दोस्रोले उत्साहित बनायो । तर दुवै खाले किताबले जिन्दगी जोडेन । धान रोप्ताको मजामा वनस्पतिशास्त्रका कुरा सिकेन । प्राणीशास्त्र देखेन । जग नै बसेन । ठूलो कक्षामा पुग्दा शब्द सिक्यो । प्राणीशास्त्र । वनस्पतिशास्त्र । भोग्यो बाल्यकालमा । पढ्यौ युवाकालमा । दुवै कालमा जोडेन । जगहीन विज्ञलाई असलै भयो । तर बालबालिकालाई चाँहि फेरी पनि जिन्दगी र पढाइ छुट्टीयो । जिन्दगीमा पढाइ हुन्छ र पढाइमा जिन्दगी हुन्छ भन्ने मुलभूत कुरा गुम्यो । पढ्ने दिनहरु बर्सेनि घटे । शिक्षा विभागको तथ्याँकले भन्छ– सन् २००८ मा १८९ दिन पढाइ भयो । सन् २००९ मा १८७ दिन । सन् २०१० मा १८४ दिन । सन् २०११ मा १८१ दिन । यो तथ्याँकले अर्काे पीडा थप्यो । छुट्टयाएर पढाउने शिक्षकका दिन पनि घटे । विद्यार्थीले किताब पल्टाउने दिन पनि घटे । किनकी कामकाजी विद्यार्थीले काममा बढी पढ्छन् । किताबमा कम पढ्छन् । तर काममा किताबको कुरा पढाउने अभिभावक छैनौँ । किताबमा कामको कुरा जोड्ने शिक्षक छैनौँ । दुईटा छैनौँहरुले पढाइ र जिन्दगीको सम्बन्ध विच्छेद गरेका छौँ । यो विच्छेदमा घट्दो पढाइको दिनले राम्रो योगदान दिएको छ । नकारात्मक योगदान । शिक्षा विभागकै तथ्याँकमा भर पर्दा विद्यार्थीका हाजिरी दिन बढेका छन् । इआरओको हालैको प्रतिवेदन हेर्दा पढ्ने आदत घटेकै छन् । शैक्षिक जनशक्ति विकास केन्द्रको अनुसन्धानले पनि त्यसे भन्छ । बाल साहित्य प्रकाशनका आँकडाले सोही कुरा भन्छन् ।
सन्दर्भको संस्कृति पढ्ने अक्षर रहेछन् । अक्षरहरु दैनिक जीवनमा पुगेछन् । चाउचाउको खोलमा । औषधिको सिसीमा । नुनको प्याकेटमा । पत्रपत्रिकाको स्तम्भमा । विचार शिक्षक । पढाउने बेलामा किताबै खोज्दा रहेछौँ । विचार अभिभावक । किताब नै पल्टाउन बाध्य गर्दा रहेछौँ । चाउचाउको खोलबाट विज्ञान पढाउने शिक्षक कसले तयार पार्ने ? औषधिको सिसीमा गणित र समाजशास्त्र पढाउने तर्किब कसले दिने ? नुनको प्याकेटमा अर्थशास्त्र पढाउने सोच कसले दिने ? पत्रपत्रिकाको स्तम्भबाटै पूरा किताब पढ्न प्रेरित गर्ने तालिम कहिले दिने ? अनि यस्ता कुराबाट पुस्तक छाप्ने छपाउने, लेख्ने र लेखाउने बुद्धि कसले भनिदिने ? विचरा सल्लाहकारहरु । अरु विचराहरु । सञ्चारको विकास भयो । बालबालिकालाई रेडियोले पढायो । टेलिभिजन र मोबाइलले पढायो । हिजो काममा पढने बालबालिकालाई अहिले सर्वचिजले पढाउँछन् । उपभोग्य सामग्रीले । ती सामग्रीलाई पढ्न उत्प्रेरक बनाउने तर्किब दिने को ? रेडियोले यो सुनायो ? जिन्दगीले यो सिकायो । दूधको प्याकेटले यो पढायो । तिम्रो नयाँ विचार के हो भनि दिने को हो ? लेखिदिने को हो ? छापिदिने को हो ?
अक्षरहरु थरिथरिका भएछन् । देवनागरी । मिथिलाक्षर । सम्भोटा । उर्दू । उर्दूको अलिफ । देवनागरीको पूर्णविराम हो । अंग्रेजीको आइ हो । यस्तो भनिदिने को ? सम्भोटाको ‘क’मा अन्तिम धर्काे झिके देवनागरीको ग हुन्छ । देवनागरीको ‘ग’मा अन्तिम धर्काे झिके अंग्रेजीको जे हुन्छ । यो राजका कुराहरु सिकाइदिने को ? यस्ता किताब छाप्ने र छपाउने को हुन सक्ला र ? भाषाविद् र राजनीतिज्ञको चंगुलमा फस्नेहरुले पढ्ने सामग्री देलान र ? एक अर्काको भाषा पढ्ने सामग्री । एउटा भाषासँग अर्काे भाषा जोड्ने पुलेसो आधारको संस्कृति बनाउने सोच कतै बनाउनलान् र ? बालबालिकाले बनाउने बहुभाषी शब्दावली बनाउलान् र ? बाक्यावली बनाउलान् र ? सञ्चारवली लेख्लान् र ? बहुभाषिक पाठ्यसामग्री । अन्तरभाषी पाठ्यसामग्री । सित्तै पाए चुक पिउने । यो हाम्रो सांस्कृति सम्पदा हो । यो सम्पदाले किताब किनाएन । माग्ने बनायो । जोगीले जस्तो माग्दा नियमित पाइने संस्कृति पनि बनेन । परियोजनावालाले कोटा संस्कृति अपनाए । डाडु दिएर खड्कुलो तान्ने संस्कृति बोके । यी कोटे र बोके संस्कृतिले सित्तैमा चुक पिउने सांस्कृतिक सम्पदा भत्काएन । किताब नपाउँदा के गरी पढ्ने भन्ने दृष्टिकोण ल्याएन । वातावरणलाई अक्षरमय बनाउने दृष्टिकाण । प्रत्येक साता ती अक्षरहरु बदलिदिने दृष्टिकोण । त्यसो गर्दा पहाडी ढुँगा किताब हुन्थे । रुख किताब हुन्थे । मधेसका घरका भित्ता किताब हुन्थे । फेरिने किताब । यी किताबका लेखक स्थानीय युवा हन्थे । युवा स्वरोजगार अभियान । स्वयमसेवी युवा । सेना निवृत्ति व्यक्ति हुन्थे । रुख काटेर कागज बनाउनेलाई सघाउने बानी बदलिएला र ? ठेक्कापट्टामा किताब बनाउने संस्कार बदलिएला र ? ढुवानीमै दिन विताउने आदत हट्ला र ? कर्पाेरेट बुद्धिकै फोटोकपी गर्ने संस्कारमा सर्जक बुद्धि जोडिएला र ? नवीन सोच भित्र्याउने संस्कृतिको शुरुआत होला र ? बिडम्बनाको रहर पढने बानी भएन । विदेशीले त्यसै भन्यो । शिक्षा विभागले विदेशी विज्ञ भित्र्यायो । अध्ययनहरु भए । नतिजा आयो हो रहेछ । विदेशी यात्रामा पढ्छन् । मोटरमा । हवाइजहाजमा । रेलमा । हामी पैदल यात्रा गर्छाैँ । पैदल यात्रीले पढ्ने बोल्ने किताब बनाउन्नौँ । व्यापकता दिन्नौँ । सवारी साधनमा यात्रा गर्दै पढ्ने हाम्रा बाटाघाटा छैनन् । त्यसैले मेडिकल डाक्टर भन्छन् नपढ्नु नै राम्रो । आँखामा जोड पर्छ । घाँस काट्ता पढ्ने किताब छ र ? छैन । अर्थात् दैन्दिनीसँग किताब नाउने सोच छ र ? त्यसो भए पढ्ने कसरी ? यात्रामा पढ्नै मिलेन । फुर्सद जिन्दगीमै भएन । काममै पढ्ने खाले किताब बनाउने चिन्तन बन्ला र ? भाडा माझ पढ्ने किताब । पानी बोक्दा पढ्ने किताब । तव न पढ्ने बानी हुन्छ । नत्र पढने कतिबेला ? बानी नभएको हो र ? पढ्ने के ? जिन्दगीसँग मिल्ने किताब बनाउने सोच कतै छ र ? किताब बनायो । बनाएका किताब पढे पढेनन् भनि अध्ययन गर्यो । बस त्यतिमै हामी घुमेका हैनौँ र ? पढ्छन् कसरी ? अध्ययन थालिएको छ ।
परियोजना चल्न थालेका छन् । रमाइलो । विचरा विदेशीलाई के थाहा हामी नेपाली मौखिक संस्कृतिका हौँ भनेर । पढेकाले पनि ए दाइ ! ए दिदी ! बाटो कता हो भनि सोध्छौँ भनेर । स्वदेशी विज्ञलाई के मतबल । टिओआरमा काम गर्ने न हो । टिओआर कर्पाेरेटकै बुद्धिमा चल्नेले बनाउने न हो । परिणामतः मौखिक संस्कृतिमा बोलेका कुरा सुन्न सिकाए के हुने ? लेख्ने तागत भएका बालबालिकालाई सुनेर लेख्न लगाए के हुने ? बेदव्यासले भन्ने र गणेशले लेख्ने संस्कारलाई कक्षाकोठामा लगे के हुने ? एउटाले बोल्छ । अर्काेले लेख्छ । लेखेको कुरा टाइप गरिदिए के हुने ? लेखोट नै अर्काे बालबालिकालाई पढ्न लगाए के हुने ? बोलाइ विकास भयो । सुनाइ विकास भयो । लेखाइ सीप भयो । पढाइ भयो । रहर लागे बालबालिकाको मौखिक किताब छपाए के हुने ? कुन सल्लाहकारले भनिदिने ? दाम नआउने । काम हुने कुराको सल्लाह । नेपाल बहुलताको देश हो । सबैले यसै भन्यौँ । मौखिक संस्कृतिको ठाँउ रे । स्वर मिलायौँ । बहु संस्कृतिका लिखित कथाहरु खै त ? बालबालिकाले लेखेका । तिनका अभिाभवकले लेखेका । यो काम त सबै स्कुलले गर्न सक्थे । कनि नगरेका ? किन नगराएका ? सायद बहुलता कसैको खेती होला । बहुभाषीका कार्यशाला जस्ता । तिनका गोष्ठी जस्ता । उखान टुक्काको शब्दावलीमा भन्दा कुरो गर्यो, कुरैको दुःख ।
निचोड हामी सम्भावनाहरुमा छौँ । काम एकल सोचमा गर्यौँ । एक साथ अरु सोचको परीक्षण गरौँ । पहिलो निचोड यही हो । हामी मौखिक संस्कृतिका हौँ । त्यसैलाई लिखत गरौँ । सुनत गरौँ (सुन्ने किताब) । किताबहरु बन्छन् । दोस्रो निचोड यही हो । हामी किताब किन्न नसक्ने छौँ । सित्तै पाए नुनढिकी चाट्छौँ । त्यसैले ढुँगे किताब लेखौँ । भित्ते किताब लेखौँ । रुखे किताब लेखौँ । हप्तैपिच्छे लेखाइ फेर्ने बुद्धि गरौँ । तेस्रो निचोड हो यो । हामी बहुलिपिका धनी छौँ । लिप्यान्तरी किताब लेखौँ । तानेर मूल भाषामा लाने किताब । भाषैपिच्छे किताब लेख्न तिनै भाषाप्रेमीलाई लगाऔँ । हामी बहुभाषी हौँ । चार मूल भाषा समूहका व्यक्तिहरु । प्राज्ञिक भनिने भाषाविद्हरुलाई अन्तरभाषी लिपि बनाउन लगाऔँ । जापानीले चिनियाँ पढे जस्तो । चिनियाँले कोरियन पढे जस्तो । थोरै बुझ्ला । ठीकै छ । बुझ्न कोशिस गर्यो । रमाऔँ । चौथो निचोड हो यो । हामीसँग बाल पुस्तकहरु छन् । तिनको लेखाजोखा गरौँ । तिनको नयाँ संस्करणमा बालबालिकाको कामसँग जोडौँ । काममै सिक्ने । सिक्तै काम गर्ने बुद्धि बनाऔँ । पाँचौँ निचोड हो यो । के पढ्ने ? कसरी पढ्ने ? किन पढ्ने ? किन पढ्छस् ? किन पढ्दैनन् ? कसरी पढ्छन् ? के पढ्छन् ? जस्ता कुरामा समय र बुद्धि नखर्चिऔँ । बरु थरिथरिका किताब बनाऔँ । सुन्ने किताब । पढ्ने किताब । हेर्ने किताब । हेर्ने र लेख्ने किताब (आइप्याडमा जस्तो) । बोल्ने किताब । हास्ने किताब । हसाउने किताब । यो पाँचौँ निचोड हो । बाटो अब्बड खब्बड छ । बाटो सुहाउँदा रिल सहतिका किताब बनाऔँ । चस्मे किताब । यो छैठौँ निचोड हो । हामीसँग बग्रेल्ती पढने अक्षरहरु छन् । नेपालीका । अंग्रेजीका । हिन्दीका । प्लास्टिकका बोतल । युवायुवतीको टिसर्ट । औषधिका सिसी । चकलेटको खोल । यस्ता कुराबाट पाठमा जोड्ने सामग्री बनाऔँ । सातौँ निचोड हो यो । संचार क्षेत्र उन्नत भयो । त्यसबाटै पढ्न लगाउने कार्यक्रम थालौँ । यो कुरा फलानो पाठमा हेर । फलानो किताबमा हेर । फलानो औषधिको विर्काेमा हेर । फलानो पसलमा हेर । ट्रकको पछाडि हेर । यो सातौँ निचोड हो ।
शिक्षकहरु टुक्रे छौँ । पाठ्यपुस्तक पढ्नेहरु । पढाउनेहरु । तिनलाई तालिम दिने टुक्रे छौँ । टुक्राहरु जोड्ने व्यावसायिक तर्किक कतै छैन । शैलिक्षक सामग्री सजाउँछौँ । पढाउँदा जोड्दैनौँ । पुस्तकालयमा पुस्तक पढ्न लगाउँछौँ । जाँचमा सोध्दैनौँ । यस्ता टुक्राहरु जोड्ने कलाको भरपुर उपयोग गराै । नत्र सुन्ने संस्कृतिले पढ्दैन । सोध्दछ । पढ्ने संस्कृति फेरी पनि केहीको हुन्छ । सबैको हुन्न । मर्जी धनवालाहरुको । कर्पाेरेटवालाहरुको ।