११ जेठ, जाजरकोट । पाठयक्रममै कम्प्युटर शिक्षा राखेको एक वर्षपछि जाजरकोटका शिक्षकहरु बल्ल कम्प्युटर सिक्न थालेका छन् । जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षकहरु अहिले सदरमुकामका इन्स्टिच्युटमा धाउन थालेका छन्
हालै जिल्ला शिक्षा कार्यालयले ११५ जना शिक्षकलाई कम्प्युटरसम्बन्धी १० दिने तालिम दिएको छ । तालिम लिएका शिक्षक कार्यरत विद्यालयलाई कम्प्युटर खरिद तथा पूर्वाधार विकासका लागि प्रतिविद्यालय एक लाख ४० हजार रुपैयाँ प्रदान गरिने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले जानकारी दिए ।
थापाले बिस्तारै सबै विद्यालयमा कम्प्युटर तथा इन्टरनेटको व्यवस्था र यससम्बन्धी एकजना तालिम प्राप्त शिक्षकको व्यवस्था गर्ने लक्ष्य रहेको बताए । विद्युत्को अभावका कारण यस जिल्लाका धेरैजसो विद्यालय कम्प्युटरविहीन छन् भने शिक्षकहरुमा पनि यससम्बन्धी ज्ञान र सीपको अभाव छ । विद्यालयमा सञ्चार प्रविधिको विकास गरी पठनपाठनमा गुणस्तरियता ल्याउने सरकारी लक्ष्य रहे पनि जाजरकोटजस्ता दुर्गम जिल्लाका लागि यो कार्यक्रम सफल बनाउनु कम चुनौतीपूर्णर् नभएको सरोकारवालाको भनाइ छ ।
विद्यार्थीहरुले अघिल्लो शैक्षिकसत्रमा कम्प्युटरको किताब नै नपढिकन परीक्षा दिएका थिए । रासस