काठमाडौं ३० साउन/ विद्यालयमा भएको अनियमितताको अख्तियारले छानविन गरी दायर गरेको मुद्धा मिलाई दिनेभन्दै घुस माग्ने बिशेष अदालतका पूर्व रजिष्टार पक्राउ परेका छन् ।
विशेष अदालतका पूर्वरजिस्ट्रार नातिबाबु लामिछानेले मुद्दा मिलाइदिने भन्दै एक पक्षसँग १५ लाख रुपैयाँसम्म घुस मागेको खुलासा भएको छ ।
स्रोतका अनुसार रौतहटको एउटा विद्यालयमा भएको अनियमितता सम्वन्धि मुद्दा मिलाइदिने भन्दै लामिछानेले घुस मागेका हुन् । भिडियोमा उनले झन्डै १० मिनेटसम्म कुराकानी गरेका छन् । तीन–तीनजना न्यायाधीशलाई समेत मिलाउनुपर्ने भएकाले पैसा जति पनि लाग्न सक्ने लामिछानेले बताएका छन् । ‘पैसा त जति पनि लाग्न सक्छ, मैले मात्रै लिने होइन, तीन–तीनजना न्यायाधीशसँग पनि कुरा गर्नुपर्छ । तपाईंले खै कुरा बुझेको ’ उनले भनेका छन् ।
काम सुरु गर्न एक लाख तत्काल ल्याउन पनि लामिछानेले भनेका छन् । ‘पहिला एक लाख ल्याएर आइहाल्नु ।मिलाउँदा ५, १०, १५ लाख जति पनि लाग्नसक्छ,’ उनले भनेका छन् । उक्त रकम बिदाको दिन घरमै वा बाहिर कतै भेटेर दिन उनले भनेका छन् । साथीका तर्फबाट कुरा गरिरहेका मुद्दाका पक्षले भने तीन लाख ५० हजारसम्म दिने बताएका छन् । रजिस्ट्रार लामिछाने तीन महिनाअघि मात्रै दाङको तुलसीपुरस्थित पुनरावेदन अदालतमा सरुवा भइसकेका छन् । तर, उनी अहिलेसम्म त्यहाँ हाजिर भएका छैनन् ।