Skip to main content

त्रिविद्वारा नयाँ क्याम्पस सम्बन्धनमा रोक

प्रकृति अधिकारी
काठमाडौँ, असोज ८ गते । आर्थिक चलखेल बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पस सम्बन्धनमा रोक लगाएको छ ।
त्रिविसँग हालसम्म पनि सम्बन्धनसम्बन्धी स्पष्ट नीति नै छैन । डिनहरूले पेश गर्ने गरेको प्रस्तावका आधारमा त्रिविका पदाधिकारीहरूले सम्बन्धन प्रदानको निर्णय गर्दै आएका थिए ।
त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्बन्धन नीति नै नभएको र जथाभावी रूपमा सम्बन्धन दिइनुहुन्न भनेर नयाँ सम्बन्धन रोक्का गरिएको जानकारी दिँदै भन्नुभयो, “नयाँ क्याम्पसलाई सम्बन्धन दिन केन्द्रीय नीति नै रहेनछ । त्यस्तो नीति बनेपछि मात्रै नयाँ सम्बन्धन खुलाउँछौँ ।”
त्रिविले हालसम्म एक हजार ५० वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । तीमध्ये ५६१ क्याम्पस निजीस्तरमा सञ्चालित छन् ।
त्रिविले सबैभन्दा बढी मध्यमाञ्चलमा र शिक्षाशास्त्र तथा व्यवस्थापन विषय अध्यापनका लागि सम्बन्धन दिएको छ ।
त्रिविका पाँच वटा सङ्काय र चार अध्ययन संस्थान छन् ।
उप–कुलपति डा. खनियाँले सम्बन्धनका लागि सङ्काय र अध्ययन संस्थानका गरी नौ वटा नीति रहेको बताउँदै सम्बन्धन नीति तर्जुमा गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।
इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक केन्द्रीय क्याम्पसका प्राध्यापक प्रल्हादराज पन्तको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा प्राध्यापकहरू गणेशप्रसाद अधिकारी, गोकर्णबहादुर मोत्रा, ईश्वरराज वन्त, कृष्णप्रसाद गौतम, सह–प्राध्यापक ताराप्रसाद भुसाल र उप–प्राध्यापक लक्ष्मीकान्त शर्मालाई समावेश गरिएको छ ।
कार्यदललाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।
कार्यदलका संयोजक प्राध्यापक पन्तले आफूहरूले अध्ययन गरी निजी र सामुदायिक क्याम्पसलाई प्रदान गर्ने सम्बन्धन नीतिबारे सुझाव दिने बताउँदै यसका लागि एक महिना समय अपर्याप्त हुने बताउनुभयो ।
कार्यदलले क्षेत्रीय आधारमा दिने सम्बन्धन नीति, आङ्गिक क्याम्पसलाई थप बलियो पार्ने सम्बन्धन नीति, समायोजनसम्बन्धी नीतिबारे पनि सुझाव दिनेछ ।
प्राध्यापक पन्तले हाल सम्बन्धन दिँदा आङ्गिक र निजी क्याम्पसबीचको दूरीबारे हेक्का राख्ने नगरिएको बताउँदै आङ्गिक क्याम्पससँगको दूरी निर्धारणबारे पनि सुझाव दिइने बताउनुभयो ।
हाल दूरीका बारेमा प्रष्ट नीति नहुँदा धेरै नजिकमा क्याम्पस सञ्चालन भइरहेको त्रिविका वर्तमान पदाधिकारीहरूले स्वीकार्दै आएका छन् ।
त्रिविका उपकुलपति डा. खनियाँले सम्बन्धन दिने केन्द्रीय नीतिले एकरूपता प्रदान गर्ने र नयाँ नीतिपछि डिन कार्यालयको स्वायत्तता र स्वतन्त्रतामा हस्तक्षेप नगरिने स्पष्ट गर्दै भन्नुभयो, “सम्बन्धनका लागि दृष्टिकोण प्रष्ट हुनुपर्दछ । सम्बन्धनका नाममा जथाभावी हुन पनि दिइनुहुन्न ।”

Popular posts from this blog

नेपाल रेडक्रस सोसाइटी

विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अ...

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

कार्यमुलक अनुसन्धानहरु

सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता पहिचान ईश्वरीप्रसाद पोखरेल (कार्यमुलक अनुसन्धान ) १. परिचय नेपाल राजनैतिक रुपमा एकात्मक राज्य प्रणालीका विविध ...