काठमाडौं ९ कात्तिक / विगत दुई महिना भन्दा बढी समयदेखि बन्द रहेका तराईका विद्यालयहरु खुलाउन सरकारले प्रयास थाल्ने भएको छ । यसका लागि मंगलबारबाट औपचारिक प्रयास गर्ने शिक्षा मन्त्रालयको तयारी छ । दशैँ बिदा सकिएपछि भोली मंगलबारबाट तराईका धनुषा, सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्लामा विद्यालय खुलाउन आन्दोलनरत पक्षसंग आग्रह गर्ने, सकेसम्म विकल्प दिएर बिहानी सिफट्तिर विद्यालय सञ्चालन गर्ने लगायतका प्रयास रहने मन्त्रालयका प्रवक्ता हरि लम्सालले बताए ।
संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै तराई तथा मधेसमा आन्दोलन गर्दै आएका दलको बन्दले शिक्षण संस्था ठप्प भएपछि लामो समयदेखि तराईका विद्यालयको पठनपाठन रोकिएको छ। आइतबार सरकार र मधेसी मोर्चाको वार्ता पनि सकारात्मक भएकाले यस बीचमा तराईका विद्यालय खुल्ने सम्भावना छ ।
आइतबार भएको वार्तामा सरकारले धेरैजसो मधेसी मोर्चाका मागहरु सम्बोधन गर्ने र आन्दोलन रोक्ने मोर्चाको संकेत एकातिर छ भने अर्कातिर चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सरकारको अन्तिम तयारी पूरा हुनै लागेपछि मोर्चा पनि आन्दोलन टुंग्याएर सरकारमा सहभागी हुने मनस्थितीमा छ ।
जारी मोर्चाको आन्दोलनले विद्यालय बन्द भएपछि यो शैक्षिक सत्र नै प्रभावित हुने सम्भावना देखि बच्न मन्त्रालयले दशैँ तिहारको बीचको समय, जाडो विदा जस्ता सार्वजनिक विदामा विद्यालय सञ्चालन गरेर छुटेको पाठ्यक्रम समायोजन गर्ने भन्दै आएको छ।
मन्त्रालयका प्रवक्ता हरि लम्सालले यसका लागी सम्बन्धित जिल्लाका शिक्षा कार्यालयलाई यसअगाडी नै जानकारी गराईसकिएको र फेरी भोली मंगलबार अर्को सुचना निकालेर विद्यालयमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिइने बताए ।
A Complete Educational Blog