काठमाडौं । शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कन र परीक्षाका आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, रौतहट, बारा र हुम्लामा बढुवाका लागि आवेदन माग गरिएको छैन । ती जिल्लामा भने मंसिर १५ गतेभित्र जिशिकाले आयोगलाई विवरण उपलब्ध गराएपछिमात्र आवेदन आह्वान गर्ने र अन्य जिल्लाकै विज्ञापनमा समावेश गरिने जनाइएको छ ।
आयोगले शैक्षिक सत्र २०६७, २०६८, २०६९, २०७० र २०७१ को कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशका ६६ जिल्लामा प्राथमिक द्वितीय, प्राथमिक प्रथम, निम्न माध्यमिक द्वितीय, निम्न माध्यमिक प्रथम, माध्यमिक द्वितीय र माध्यमिक प्रथमका लागि विज्ञापन आह्वान गरेको छ ।
कासमूका आधारमा ७५ प्रतिशत र आन्तरिक परीक्षा (लिखित र अन्तर्वार्ता)का आधारमा २५ प्रतिशत बढुवा गर्ने जनाइएको छ ।
गत २०७१ चैत मसान्तसम्ममा सम्भाव्य उम्मेदवार बनेकाहरुले आवेदन दिनसक्ने जनाइएको छ । अन्तरिक प्रतियोगितात्मक परीक्षा आगामी फागुन १६ गते आइतबार दिउँसो १ बजे सञ्चालन हुने जनाइएको छ ।
आयोगले प्राथमिक द्वितीयमा सबैभन्दा बढी झापामा ३३ पदमा विज्ञापन गरिएको छ ।
दरखास्तका लागि प्राथमिक द्वितीयका लागि चार सय रुपियाँ, प्रथमका लागि सात सय रुपियाँ, निमा द्वितीयका लागि सात सय रुपियाँ, प्रथमका लागि एक हजार रुपिपयाँ, मावितह द्वितीयका लागि एक हजार रुपियाँ र प्रथमकका लागि एक हजार २५० रुपियाँ तोकिएको छ । दरखास्त दिने अन्तिम दिन आगामी पुस ६ गतेसम्म र दोब्बर दस्तुरका लागि पुस १३ गतेसम्मको समयावधि दिइएको छ ।
दरखास्त फाराममा प्रधानाध्यापकको हकमा जिशिअले र अन्य शिक्षकको हकमा सम्बन्धित विद्यालयका प्रअ र जिशिअले अनिवार्य रुपमा प्रमाणित गरेको हुनुपर्नेछ ।
विस्तृत विवरण मंसिर १ गतेको गोरखापत्रमा विज्ञापन प्रकाशित गरिएको छ ।
A Complete Educational Blog