Skip to main content
बिद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री र शिक्षकलाई झोला वितरण

पर्वत, ५ श्रावण



जिल्लाको मोदी गाउँपालिका वडा नं २ ले आफ्नो वडा भित्र रहेका सबै सामुदायिक विद्यालयका बाल कक्षाहरुको स्तरोन्नति गरी तल्लो तहबाटै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने उद्धेश्यका साथ आज एक कार्यक्रमका बीच बाल कक्षाका लागि शैक्षिक तथा खेल सामग्रीहरु वितरण गरेको छ । वडामा रहेका प्रत्येक बाल कक्षालाई पूर्ण बालमैत्री बनाई खेल्दै सिक्ने वातावरण निर्माणको लागि मनोबैज्ञानिक ढंगले तयार गरिएका बिभिन्न सिकाइ तथा खेल सामग्रीहरु प्रदान गरिएको हो । सोही अवसरमा वडामा कार्यरत सम्पूर्ण शिक्षकहरुका लागि शैक्षिक सामग्री बोक्ने झोला समेत वितरण गरिरको थियो ।

प्रमुख अतिथिको रुपमा बिद्यालय तथा शिक्षकहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि गाउँपालिकाले भाषणमा नभइ व्यवहारमा नै काम अगाडि बढाउने विचार व्यक्त गर्नु भयो । कक्षाकोठाहरुलाई बाल मैत्री बनाएर शिक्षण पद्धतिलाई समयसापेक्ष सुधार गर्न सकेको खण्डमा मात्र शिक्षामा अपेक्षित उपलब्धि हासील गर्न सकिने हुँदा त्यसतर्फ ध्यान दिन उहाँले सबैलाई आग्रह गर्नुभयो । सोही अवसरमा बोल्दै मोदी गाउँपालिका वडा नं २ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाले ससाना बालबालिकाहरुका लागि रमाइरमाइ सिक्ने अवसरको सिर्जना गर्न आफूले बालकक्षाको लागि शैक्षिक तथा खेलकूद सामग्रीको व्यवस्था गर्न लागेको बताउनु भयो । कार्यक्रममा एक लाख पचास हजार मूल्य बराबरको सामग्रीहरु वितरण गरिएको थियो ।  



विभिन्न विद्यालयका प्रअ, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष विकास तिमिल्सिनाले गर्नुभएको थियो भने संचालन पशुपति आधारभूत विद्यालयका प्रअ तारापति तिमिल्सिनाले गर्नु भएको थियो ।