Skip to main content

एसएलसी परीक्षामा सुधारको संकेत



माध्यमिक तहको अन्तिम खुट्किलो मानिने एसएलसी परीक्षा शुक्रबारदेखि सकिएको छ । चैत १ गतेबाट सुरु भएको परीक्षामा देशभरबाट पाँच लाख ४७ हजार एक सय ६५ विद्यार्थी सहभागी भएका थिए । यस बर्ष नियमितबाट चार लाख ३० हजार ९९ र एक्जाम्टेडबाट एक लाख १७ हजार ६६ बिद्यार्थीहरु परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  तर, परीक्षा अवधिभर चिट चोर्ने, सट्टामा परीक्षा दिने दिलाउने एक सयभन्दा बढी विद्यार्थी निष्काशित भएका छन् । त्यसैगरी यसबर्ष विद्यालयमा ७५ प्रतिशत हाजिर नभएको विद्यार्थीलाई पनि परीक्षामा सहभागी गराइएको छैन । 
केही जिल्लाहरुमा भएका छिटफुट घटनाहरु बाहेक समग्र देश भरिको परीक्षामा सुधार देखिएको जानकारहरुले बताइरहेका छन् । यसैबीच विगतमा बदनाम खेप्दै आएको पर्वत जिल्लामा यस बर्षको एसएलसी परीक्षा तुलनात्मक रुपमा हेर्दा मर्यादित बन्दै गैरहेको अनुभूति भैरहेको छ । विगत बर्षहरुमा गरिएको होम सेन्टर खारेजी, प्रभावकारी अनुगमन तथा सुपरिवेक्षण, पठन पाठनमा आएको क्रमिक सुधार, अभिभावकहरुमा बढेको शैक्षिक चेतना, परीक्षामा अमर्यादित कार्य गर्नेहरु माथि कारबाही जस्ता कुराहरुले परीक्षा सुधार्न मद्धत गरेका छन् ।    
त्यसोत सरकारले बढीभन्दा बढी विद्यार्थीहरु पास होउन् भन्ने उद्देश्यले समय समयमा प्रश्नको नमुना परिवर्तन गर्ने, ग्रेस नम्बर दिने, उत्तरपुिस्तका मूल्यांकन तालिम दिने जस्ता काम गर्दै आएको छ ।  त्यसैगरी कम संख्यामा विद्यार्थी उत्र्तीर्ण गराइरहेका विद्यालयलाई दण्ड सजाय र राम्रो परीक्षाफल निकाल्ने विद्यालयलाई पुरस्कृत गर्न पनि पछि नपरेको अवस्था छ । यसै बर्ष गरिएको गेस पेपर माथिको प्रतिबन्धले पनि यो परीक्षालाई मर्यादित बनाउन राम्रो भूमिका खेल्यो । 
चोरेर पनि एसएलसी परीक्षा पास गर्न सकिन्छ भन्ने मानसिकताले ग्रसित बिद्यार्थीहरुमा यस बर्षको परीक्षाले ठूलो झड्का दिएको छ । विगतको एसएलसीमा त्यति गम्भीर भएर नपढ्ने विद्यार्थीहरु यस बर्ष अलि बढी जिम्मेबार भएर प्रस्तुत हुनुलाई सकारात्मक मान्न सकिन्छ । तर यस बर्षको परीक्षालाई हेरेर ढुक्क भैहाल्ने अवस्था भने छैन । खुलेआम गेसपेपर, पुस्तक तथा गाइडहरुको प्रयोगलाई निरुत्साहित गरिएको भए पनि कतिपय परीक्षा केन्द्रहरुमा ससाना चिट हेर्ने र अरुको उत्तर पुस्तिका हुबहु सार्ने प्रथालाई अझै रोक्न सकिएको देखिएन । 
कतिपय परीक्षा केन्द्रहरुमा अझै पनि केन्द्राध्यक्ष र निरीक्षकहरुले सही किसिमले जिम्मेवारी बहन नगरिरहेको अवस्था छ । केही विद्यालयहरुको नतिजालाई प्रभाव पार्ने गरी तिनै विद्यालयहरुले सिफारिस गरेका निरीक्षकहरु परीक्षामा खटाइएको समेत पाइएको छ । कहाँ के कति कमजोरी भयो त्यसको बारेमा गम्भिर ढंगले समिक्षा गरी आगामी बर्षका परीक्षाहरुलाई थप मर्यादित बनाउने तर्फ पहल गर्नु जरुरी छ ।   विद्यालयको नतिजालाई सत् प्रतिशत पार्न गरिने हरेक गलत कार्यहरुलाई निरुत्साहित गरी परीक्षालाई विशुद्ध परीक्षाकै रुपमा संचालन गर्ने प्रबन्ध मिलाउनु आवश्यक छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...