Skip to main content

एसएलसी प्रश्न गेसपेपरबाट हुबहु


विद्यार्थीको सिकाइ क्षमता तिनको उत्तर कति सिर्जनशील छ भन्ने कुराले देखाउँछ । परीक्षामा प्रश्न नै सिर्जनशील आएन भनेचाहिँ विद्यार्थीले कसरी सिर्जनशील उत्तर दिन सक्छन् ? यसपालिको एसएलसी परीक्षामा त्यस्तै भएको छ, 'सामाजिक अध्ययन' र 'विज्ञान' बाहेक सबै विषयका प्रश्न बजारमा छ्यासछ्यास्ती निस्केका गेसपेपरबाट हुबहु छन् ।
कतिसम्म भने 'आर ई १०१' कोर्ड नम्बरअन्तर्गत अनिवार्य अंग्रेजीको पहिलो रिचार्ड राइमको 'ह्वेर दि रेन्बो' र दोस्रो 'दूधको महत्त्व' बारे सोधिएको 'प्यासेज' समेत गेसपेपरसित हुबहु मिल्छ । यसबाहेक अनिवार्य नेपाली, स्वास्थ्य जनसंख्या तथा वातावरणलगायत विषयका ५० प्रतिशत प्रश्न गेसपेपरसित मिलेका छन् । यसले परीक्षामा 'चोरी' रोक्ने र सिर्जनशील उत्तर खोज्ने पाठ्यक्रम र पनिकाको उद्देश्य विफल बनाएको छ ।
परीक्षा नियन्त्रक खगराज बरालका अनुसार शुक्रबार सकिएको एसएलसीमा चोरी र अनियमिततामा संलग्न करिब ५ सय विद्यार्थी तथा निरीक्षक, सहायक निरीक्षक, गार्डलगायत गरेर करिब ७० जनालाई निष्कासन गरिएको छ । चिट चोर्ने अधिकांश विद्यार्थीले गेसपेपरको प्रयोग गरेको भेटिएको छ । 'त्यसको कारण प्रश्नमा सिर्जनशीलता नहुनु हो,' राजधानीको तरुण माविका प्रधानाध्यापक उदय श्रेष्ठ भन्छन्, 'विद्यालयमा शिक्षण सिकाइमा नयाँपन छैन ।
हरेक १० वर्षमा बदलिनुपर्ने प्रश्नको शैली फेरिएको छैन । घोकिएका, विगत वर्षमै सोधिएका र गेसपेपरमा भएका प्रश्न नै पटक-पटक सोधिने गर्दा परीक्षाको मर्यादा बिथोलिँदै गएको छ ।'
एसएलसीमा सोधिएका प्रश्न हेर्दा लाग्छ कि प्रश्न बनाउनेले गेसपेपर लेखेका छन् वा पाठ्यक्रम र गि्रड नहेरी पाठ्यपुस्तकका आधारमा शिक्षकले प्रश्न बनाएका छन् । औसतमा गाह्रो मानिएको र धेरैको आलोचना खेपेको सामाजिक अध्ययनको प्रश्न भने गि्रड र पाठ्यक्रमको उद्देश्यसित मिल्दो देखिन्छ । नाइटिंगेल स्कुलमा सामाजिक विषयका शिक्षक माधव दाहाल भन्छन्, 'सबै प्रश्न पाठ्यपुस्तकबाटै परेको देखिन्छ । विगत वर्षमा भन्दा फरक र सिर्जनशील भएकाले आलोचना भएको हो । आलोचना गर्नु आवश्यक छैन ।' उनले निजीले पढाएको पुस्तकबाट प्रश्न नपरेकाले आलोचना भएको बताए ।
जनसंख्याको २५ मध्ये १० वटा लामो प्रश्न गेसपेपरका छन् । 'आर ई १३३ बी' कोर्ड नम्बरको जनसंख्या विषयको प्रश्न नम्बर १३ मा कोरा जन्मदर र मृत्युदर निकाल्न भनिएको छ । यसमा मध्य वर्षको जनसंख्या, शिशुको जन्म र मृत्युको संख्या गेसपेपरभन्दा फरक भए पनि अरू उस्तै छ । त्यस्तै समूह 'ख' को पाँच अंक भारको प्रश्न नम्बर ११, १५, १६, १७, १९, २०, २५ लगायत प्रश्न पनि गेसपेपरका समान छन् । विषयवस्तुभन्दा पनि विगत वर्षका प्रश्न हेरेर यसपालिको प्रश्न बनाएको देखिन्छ ।  
नियन्त्रक बरालले भने प्रश्नको जिम्मा पाठ्यक्रमअन्तर्गत भएकाले तत्काल सुधार थाल्न नसकिएको तर सामाजिक अध्ययनमा सिर्जनात्मक प्रश्नहरू सोधिएको बताए । उनले भने, 'हामी विद्यार्थी सिर्जनशील हुन्, गेसपेपर र घोकिएको भन्दा मौलिक उत्तर दिऊन् भन्ने चाहन्छौं । सुधार थालिएको छ ।'  
अनिवार्य नेपालीको प्रश्न नम्बर १३, १५, १६, १८ पनि विगतमा पटक-पटक सोधिएका र गेसपेपरमा समावेश प्रश्न नै छन् । दुईमध्ये एउटा गर्नुपर्ने सप्रसंग व्याख्या, प्रश्न नम्बर १५ मा 'हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला, गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला र राष्ट्रिय स्वार्थलाई महत्त्व दिने कुशल राजनीतिज्ञ कहिल्यै पनि व्यक्तिगत स्वार्थमा सीमित हुँदैन' भन्ने व्याख्या तथा वादविवादको प्रश्नसमेत गेसपेपरको हुबहु छ । अन्य ऐच्छिक विषयका प्रश्न पनि २० देखि ५० प्रतिशतसम्म गेसपेपरमा
मिलेका छन् ।
परीक्षाका विज्ञ प्रा. तीर्थ खनियाँले शिक्षा मन्त्रालय र निणर्ायक तहमा बसेकाले विद्यालय तहको सुधार नचाहेकाले समस्या आएको बताए । 'परीक्षा किन लिने भन्नेबारे मन्त्रालयका नीति/निर्माताहरू नै प्रस्ट छैनन्,' उनले भने, 'प्रश्नबाट सुधार थाल्ने हो भने कक्षाकोठाको पढाइमा पनि सुधार हुन्छ भन्ने तिनले बुझेका छैनन् । अब पनि नसुधारे ढिला भइसकेको छ ।'
शिक्षाको सिद्धान्तअनुसार प्रश्नले विद्यार्थीको ज्ञान, सीप र अभिवृत्तिलाई समेट्नुपर्छ । 'हाम्रो प्रश्न सोधाइ ज्ञान जाँच्ने खालको छ, शिक्षकले पाठ्यक्रम नहेरी पाठको आधारमा प्रश्न सोध्ने गरेका छन्,' शिक्षाविद् प्रा. मन वाग्लेले भने, 'पाठ्यपुस्तकले ज्ञानको कुरामात्रै बोक्छ । यसले पाठ्यक्रम र गि्रडका उद्देश्य पूरा हुन सक्दैनन् । प्रश्न नै सिर्जनशील नबनाउने हो भने परीक्षा लिनु र विद्यार्थी उत्तीर्ण हुनुको कुनै अर्थ रहँदैन । परीक्षामा चोरीमात्रै बढाउँछ ।'
सरकारले यसपालिदेखि गेसपेपर प्रकाशनलाई गैरकानुनी भन्दै त्यसमा प्रतिबन्ध लगाएको छ । फरक शिक्षकहरूको समूहले मोडरेट गर्ने भए पनि त्यसमा गेसपेपर र सिर्जनाविहीन परीक्षाजन्य सामग्रीका उत्पादकको मिलेमतो हुन सक्ने पाठ्यपुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका वरिष्ठ उपाधयक्ष हरि अर्यालको आशंका छ । उनले भने, 'सजिलोका नाममा हामी आफैं आफ्ना सन्तानलाई शिक्षाको नाममा मन्दविष ख्वाइरहेका छौं ।'

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...