ललितपुर, ७ वैशाख
‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत सरकारले सन् २०१५ सम्म विद्यालय छाड्नेको संख्या शून्य बनाउने लक्ष्य राखेको भए पनि ललितपुरको पूर्वी क्षेत्रमा पर्ने लामाटारको लाँकुरीभन्याङमा बीचमा पढाइ छाड्ने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन । प्राथमिक तहबाट निम्नमाध्यमिक तह र निम्नमाध्यमिक तहबाट माध्यमिक तहमा जाँदा विद्यालय छाड्नेको संख्या बढी देखिएको हो ।
अभिभावकको बेवास्ता नै अधिकांश विद्यार्थीको विद्यालय छाड्नुको कारण बनिरहेको शिक्षकहरू बताउँछन् । प्रत्येक शैक्षिक सत्रमा झन्डै ७÷८ प्रतिशतसम्म विद्यार्थीले बीचैमा विद्यालय छाड्ने गरेको बासुकी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजनकुमार चन्द बताउँछन् । उनका अनुसार विद्यालयले विभिन्न किसिमका कार्यक्रमबाट आकर्षित गर्न खोजेको भए पनि ‘ड्रप आउट’ कम हुन सकेको छैन ।
‘बालबालिकाको बुझ्ने उमेर भइनसक्ने हुँदा अभिभावकका लागि लक्षित कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौं,’ उनले भने । विद्यालयमा अधिकांश तामाङ समुदायका बालबालिका अध्ययनरत छन् । झन्डै ९५ प्रतिशत अभिभावक अशिक्षित भएका कारण बालबालिकाले बीचमा पढाइ छाड्ने क्रम नरोकिएको चन्द बताउँछन् । त्यससँगै अभिभावक अशिक्षित हुँदा अप्रत्यक्ष रूपमा शैक्षिक गतिविधिमा समेत असर परेको शिक्षकहरूको भनाइ छ । विद्यालयमा अध्ययनरत बालबालिकासमेत नियमित रूपमा विद्यालय आउने गरेका छैनन् । शिक्षक चन्दका अनुसार विद्यार्थीहरू विभिन्न चाडपर्व र बिहे÷व्रतबन्धलगायतका कारण देखाएर विद्यायमा गयल हुने गरेका छन् । त्यसो त, घरायसी काममा लागेका बालबालिका पनि स्कुल जाँदैनन् ।
बाली लगाउने र उठाउने समयमा विद्यार्थीको उपस्थिति अत्यन्त न्यून हुने गरेको छ । ‘अधिकांश खेती किसानीमा संलग्न हुनाले बाली लगाउने÷उठाउने समयमा बालबालिकालाई समेत काममा लगाउने गर्छन्,’ चन्दले भने, ‘बाली लगाउने÷उठाउने समयमा त कक्षाहरू खाली जस्तै हुन्छन् ।’ कतिपय अभिभावकको बाध्यताले पनि कामको समयमा विद्यालय पठाउन जोड गर्न गाह्रो पर्ने यस क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरूको भनाइ छ । कतिपय बालबालिकाका लागि भने कमजोर आर्थिक अवस्था पनि विद्यालय छाड्नुको कारण बनेको छ । कृषिमै आश्रित भए पनि उत्पादित अन्नले वर्षभर नपुग्ने स्थानीयहरू बताउँछन् ।
एक बाली मात्र लाग्ने त्यसमा पनि भिरालो जमिन हुँदा स्थानीयको आयआर्जन अत्यन्त कमजोर छ । ‘मकै मात्र हुने हुँदा त्यो पनि राम्रो नफले स्थानीयसँग अर्काे विकल्प हुँदैन, कसरी छोराछोरीलाई पढाउनू ?’ एक अभिभावकले भने । बालबालिकामा सानै उमेरदेखि आर्थिक जिम्मेवारी थपिने गरेकाले उनीहरूले बीचैमा पढाइ छाडेका हुन् । विद्यालयले ‘क्याचमेन्ट एरिया’मा अभिभावकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरिरहेको स्थानीय बताउँछन् । ‘विद्यार्थी बढी आउने क्षेत्रमा नियमित रूपमै अभिभावक भेला डाकेका छौं,’ उनले भने । कालीदेवी माविका शिक्षक विष्णु राजथलाले विद्यार्थीलाई आकर्षित गर्नकै लागि संस्थाहरूसँग मिलेर विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेको बताए । उनका अनुसार विद्यार्थीलाई विद्यालय पोसाक, जुत्तालगायतका सामान विद्यालयले नै उपलब्ध गराइरहेको छ । ‘यी सुविधा दिँदा पनि अपेक्षा गरेजस्तो विद्यार्थी आकर्षित गर्न सकिएको छैन,’ राजथलाले भने ।
लामो समय हिँडेर आउनुपर्ने विद्यार्थीहरू ‘ड्रप आउट’ गर्नेमा अघि देखिन्छन् । अभिभावकले पढाइको महŒव नबुझ्दा बालबालिकाले बेवास्ता गर्ने क्रम नघटेको शिक्षकहरूको भनाइ छ । त्यसो त शिक्षकको दरबन्दी पनि यस क्षेत्रमा पर्याप्त छैन । यहाँका विद्यालयहरूमध्ये केहीमा मावि दरबन्दीका शिक्षक छैनन् भने भएकामा पनि पर्याप्त छैनन् । दरबन्दी नहुँदा प्रावि शिक्षकले निमावि र निमाविका शिक्षकले मावि तहमा पढाउने गरेको शिक्षक रजथलाले बताए ।