Skip to main content

पहिचान तथा आत्म सम्मान सहितको शिक्षण सिकाइ

१. अवधारणा
मानव सबैभन्दा उच्च कोटीको विवेकशील प्राणी हो । स्वभावैले मानिस जुन समाजमा बस्छ, त्यहाँ उसले आफ्नो पहिचान र आत्मसम्मानको खोजि गरिरहेको हुन्छ । समाजमा विद्यमान विविधताहरुको कारणले वर्गीय, जातिय, लैङ्गिक, भाषिक, सांस्कृतिक एवं सामाजिक अधिकारहरुको प्रयोग र संरक्षणमा विभिन्न कठिनाईहरु देखा परिरहेका हुन्छन । त्यसमा पनि बालबालिकाहरुको अधिकारको सुनिश्चितता ठुलो चुनौतिको विषय बन्ने गरेको छ । पछिल्लो समयमा बालबालिकाहरुलाई कुनै पनि आधारमा विभेद गर्न  हुँदैन भन्ने अवधारणाको विकास भैसकेपछि बालबालिकाहरुको शिक्षा प्राप्तिको अधिकारको क्षेत्रमा पनि विभिन्नि उपायहरुको खोजि हुन थालेको छ । 
मानव सभ्यताको विकास सँगै मानिसको सोच, मानवीय मूल्य र मान्यतामा परिवर्तन आएको छ । बालबालिकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । यस्तो दृष्टिकोणमा आएको  परिवर्तनलाई मूलत तिन समय क्रममा बाँड्न सकिन्छ । प्राचीन समयदेखी बौद्धिक जागरण सम्मको अबधिलाई बालबालिकाको शिक्षाप्रति उपेक्षाको चरण, बौद्धिक जागरण देखी बाल अधिकारको घोषणा सम्म केही हदसम्म हुने खाने कुलीन परिवारहरुका बालबालिकाहरुको निम्ति शिक्षा प्राप्तिको अवसरको अवस्था र  संयुक्त राष्ट्रि संघीय बालअधिकार महासन्धी देखी हाल सम्मको अवस्थालाई अधिकारबादी सोचको अवस्थाको रुपमा लिन सकिन्छ । 
  बालबालिकाहरुले आफ्नो अधिकारको उपभोग आफैँ गर्न नसक्ने हुनाले उनीहरुको अधिकार संरक्षण गर्न बालविकास, बालबचाउ र बालसहभागिताको सुनिश्चितताको लागि बालअधिकारको व्यवहारिक कार्र्यान्वयन गर्नु आवश्यक हुन्छ । यही आवश्यकतालाई मनन गरि नेपाल सरकारले सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्र र सन् १९८९ को बालअधिकार महासन्धीमा हस्ताक्षर गरेर आफ्नो  प्रतिबद्धता जनाइसकेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८ को धारा ५ र बालअिधकार महासन्धी सन् १९८९ को धारा १९(१) २८(२) र ३७ मा बालबालिकालाई सजायँ दिन नहुने कुरा उल्लेख छ । बालअधिकारको संरक्षण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सन् २००७ ले सन् २००९ सम्ममा शारीरिक सजायलाई निषेध गर्ने कुरा पारित गरेको छ । नेपालको अन्तरिम संविधान  २०६३ को मौलिक हक अन्तरगत बालबालिकाको हक पनि उल्लेख गरेर सरकारले अन्तराष्ट्रिय स्तरमा आफूले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि प्रयास अगाडि बढाएको छ । 
यसरी अगाडि बढीरहेको बालअधिकारवादी सोचलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन बालमैत्री एवं बालकेन्द्रित विद्यालयको अवधारणालाई सार्थक तुल्याउनु पर्दछ । बालमैत्री विद्यालय पछिल्लो समयमा विकसित विद्यालयको परिष्कृत र आलंकारिक रूप हो । शिक्षा  बालबालिकाको नैसर्गिक अधिकार हो र यो राज्यको प्राथमिक दायित्वभित्र पर्दछ भन्ने कुरा बालमैत्री विद्यालयले स्वीकार्दछ । ‘बाल विकासका लागि अधिकारमा आधारित गुणस्तरिय शिक्षा र गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय र बालमैत्री विद्यालयका लागि पहिचान र आत्मसम्मान सहितको शिक्षण सिकाइ’ भन्ने अवधारणा अहिलेको विश्वमा प्रचलित मान्यता हो ।
बालमैत्री विद्यालयको अवधारणा भौतिक पक्ष कम र व्यवहार बढी हो । बालमैत्री विद्यालय हुन धेरै भौतिक सुविधा चाहिन्छ भन्ने बुझाइ आफैंमा भ्रामक हो । सन् १९७०÷८० को दशकमा विद्यालय स्थापना मात्र गरिदिए विद्यार्थी स्वतः पढ्न आउँछन् भन्ने मान्यता प्रचलित थियो । १९९० पछि सबै बालबालिकालाई आकर्षित गर्न विद्यालयहरु आकर्षक र सुविधा सम्पन्न हुनुपर्छ  भन्ने अवधारणा आयो । तर तत्पश्चात पनि बालबालिकाको एउटा ठूलो समूह विद्यालय आउन नसकेपछि बालअधिकार र राज्यको दायित्व अन्तर्गत छात्रवृत्ती, सहुलियत, अवसर, समानता, समता, लागत आदि पक्षहरुमा जोड दिर्ई सबैलाई भर्ना गरी तिनको शैक्षिक अधिकार सुिनश्चित गर्नुपर्छ भन्ने अवधारणा आएको हो । यो कुरा हामी सबैले बुझनु र साँचो अर्थमा अभ्यास गर्नु जरुरी छ । बालमैत्री विद्यालयका बिद्यार्थीहरुलाई सहयोगी, मिलनसार, आत्मविश्वासी र व्यावहारिक बनाई उनीहरुको आत्मसम्मान र आत्मबल बलियो बनाउन बिद्यालयका गतिविधि र शिक्षण सिकाइमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । विद्यार्थीहरुमा स्व–व्यवस्थापन क्षमता, समालोचनात्मक सोचाइ सीप, समस्या समाधान र निर्णय गर्ने, वकालत गर्ने, समूह कार्य र सहयोग, समानूभूति, अन्तरवैयक्तिक सञ्चार सीप, समझदारी र इन्कार गर्ने जस्ता जीवनोपयोगी सीप तथा स्वस्थ व्यवहारहरुको विकासमा विद्यालयले नै ध्यान दिनुपर्दछ । शिक्षकको दृढ इच्छा शक्ति र व्यवहारबाट मात्र यो कुरा सम्भव छ ।
बालबालिकाहरुको सबै अधिकारहरुको प्राप्तिको लागि ती अधिकारहरुप्रति उनीहरुलाई सजग र सचेत गराउनुपर्ने हुन्छ । उक्त कार्यका लागि प्रभावकारी योजनाबद्ध शिक्षणसिकाई हुन जरुरी हुन्छ । पहिचान र आत्मसम्मान सहितको शिक्षणसिकाईले बालबालिकाहरुको अधिकार स्थापित गराउन मद्धत पुर्याउँछ । फरक संस्कृति, विचार र आस्थाप्रति सहिष्णुता कायम गरी समाजप्रतिको बफादारिता बोध गराउन र बालअधिकारको व्यवहारिक रुपान्तरण गराउनको लागि पहिचान र आत्मसममान सहितको शिक्षणको अवधारणा अघि सारिएको हो । यस्तो शिक्षण सिकाई अहिंसा, दया, समानुभुति र समता जस्ता मुल्यमान्यतामा आधारित हुन्छ । कक्षाकोठामा बालबालिकाहरुको आत्मसम्मानलाई ख्याल गरी विविधतालाई सम्मान गर्ने शिक्षणसिकाइ नै व्यवहारिक हुन सक्छ । बालबालिकाहरुमा पूर्ण सुरक्षाको अनुभुति गराई भयरहित एवं बालमैत्री शिक्षणसिकाइ गर्न र विद्यार्थी विद्यार्थी र शिक्षक शिक्षक बीच सुमधुर सम्बन्ध स्थापित गराउने सिद्धान्तमा आधारित हुन्छ ।  बालबालिकाहरुको उच्च अपेक्षा, कक्षाकोठाको समता, विविधताको सम्मान, आत्मसम्मान एवं आत्म गौरवको अवस्थाको साथै मर्यादापूर्ण सहभागिता र अवस्था जस्ता सिद्धान्तहरुमा आधारित रहेर शिक्षण सिकाइ कार्य गर्नु अहिलेको प्रमुख आवश्यकता हो । बालबालिकाहरुलाई विद्यालयमा रमाई रमाई सिक्ने अवसर प्रदान गर्ने अवस्थाको सिर्जना गर्नु हामी सबैको दायित्व हो । आजको एक्काइसौँ शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा बालबालिकाहरुभित्र रहेका अन्र्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्न बालबालिकाहरुको अवस्थाको उचित पहिचान गरीआत्मसम्मानको सुअवसर प्रदान गर्ने वातावरण तयार हुने खालको शिक्षण सिकाइमा जोड दिनु जरुरी भईसकेको छ । 
२. महत्व र आवश्यकता
समय अनुकुल व्यवहार परिवर्तन गरी समतामुलक शिक्षणसिकाइ क्रियाकलाप अगाडि बढाउन पहिचान र आत्मसम्मान सहितको शिक्षणलाई महत्वपूर्ण मानिन्छ । यस्तो शिक्षणले प्रत्येक बालबालिकामा आत्मसुरक्षा, आत्मसममान र असल सम्बन्ध कायम राख्न मद्धत पुर्याउँछ । विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री र भयरहित शिक्षण सिकाइ क्रियाकलाप र मुल्यांकनलाई अगाडि बढाई अहिंसा, दया, समानुभुति एवं समतामुलक समाज निर्माण गर्न यो शिक्षण सिकाइले सहयोग पुर्याउँदछ ।  विविध भाषा, धर्म, लिङ्ग, जात, संस्कृति भएका बालबालिकालाई समतामुलक व्यवहार गरी विविधताको सम्मान गर्न यसको भूमिका महत्वपूर्ण हुन्छ । यस्तो शिक्षण सिकाइ बालबालिकाहरुलाई आफ्ना विचार एवं अभिव्यक्तिहरु खुलस्त रुपले आदानप्रदान गर्ने क्षमताको विकास गर्न अति आवश्यक हुन्छ ।
३. कक्षाकोठामा विद्यार्थीको पहिचान र आत्मसम्मानमा बाधा पुर्याउने तत्वहरु  
  • विद्यालयको भौतिक अवस्था (भवन तथा फर्निचर, बाह्य वातावरण, शौचालय, खेल मैदान, खानेपानी, विद्युत, प्रकाश, हावा, कक्षाकोठाभित्रको बसाई व्यवस्थापन आदि) 
  • शैक्षिक अवस्था( शैक्षिक सामाग्री, शिक्षण विधि, मुल्यांकन, योजना निर्माण, अतिरिक्त तथा सहक्र्रियाकलापहरु, समन्वय, सहभागिता आदि ।) 
  • आर्थिक पक्ष(अभिभावक र विद्यालयको आर्थिक अवस्था, गरिबी, बेरोजगारी, पछौटेपन)
  • सामाजिक अवस्था(समाजको चेतना, वर्गीय, धार्मिक, भाषिक, जातीय, लैङ्गिक, सामाजिक, सांस्कृतिक मुल्यमान्यता, विद्यालय– समुदाय सम्बन्ध, रितिरिवाज परम्परा )
  • राजनैतिक अवस्था
  • भौगोलिक अवस्था( विद्यालय सम्मको पहुँच र दुरी, प्राकृतिक प्रकोप, विद्यालयको अवस्थिति)
  • शारिरीक र मानसिक अवस्था( उमेर, परिपक्वता, बौद्धिकता, उत्प्रेरणा, सम्बलन, स्वस्थ्य स्थिति, रुचि, अपाङ्गता आदि । )
  • सुचना संचार प्रविधिको दुरुपयोग( मोवाइल, इन्टरनेट, टेलिभिजन, रेडियो, पत्रपत्रिका आदि ।)

४. बाधा हटाउने उपायहरु 
  • एक आपसमा समावेशी र आत्मसम्मानको व्यवहार अगाडी बढाउने 
  • सहभागी शिक्षण पद्धतिमा जोड दिदैँ समतामुलक सहभागिताको सुनिश्चितता गर्ने 
  • विद्यालय पहुँचको अवस्थामा वृद्धि गर्ने 
  • सामाजिक योगदानमा सहयोग पुर्याउने 
  • प्रोत्साहन र सबलीकरणका कार्यक्रमहरु संचालन गर्ने 
  • निरन्तर मुल्यांकन पद्धतिलाई प्रभावकारी रुपमा लागु गर्ने 
  • सेवा क्षेत्रमा आय आर्जनका कार्यक्रम सन्चालनमा सहयोग पुर्याउने 
  • बालअधिकार प्रति सचेतिकरण भई मानसिक, शारीरिक, शैक्षिक र आर्थिक पक्षमा योगदान पुर्याउने 
  • राजनीतिक हस्तक्षेप र प्रभावलाई रोक्ने, विद्यालयलाई शान्ति क्षेत्र बनाउने 
  • सरोकारवालाहरुबीच आपसी समन्वय गर्ने 

५. बाधा हटाउन विभिन्न व्यक्ति तथा संघ संस्था र सरोकारवालाहरुको भूमिका

अभिभावकको भूमिका
  • बालबालिकाहरुबीच सबैखाले विभेदहरु नगर्ने
  • बालबालिकाहरुसँग शिष्ट, नम्र र सम्मानजनक शब्दहरु प्रयोग गर्ने र असल व्यवहार प्रदर्शन गर्ने
  • बालबालिकाहरुलाई दण्ड, सजायँ, डर, धम्की नदिने र नरिसाउने
  • उचित खानपान तथा स्वास्थ्यमा ध्यान पुर्याउने
  • विद्यालयका हरेक गतिविधिहरुप्रति चासो राख्ने
  • भौतिक सुधार तथा शैक्षिक सुधारका लागि सहयोग पुर्याउने
  • बिद्यार्थीहरुको लागि आवश्यक पर्ने सबै सामग्रीहरु उपलब्ध गराउने
  • विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्ने

शिक्षकको भूमिका
  • शिक्षणलाई बालमैत्री र बालकेन्द्रित गराउने
  • बालमैत्री शैक्षिक सामग्री र शिक्षण विधि प्रयोग गर्ने
  • सबै बालबालिकाहरुलाई समतामूलक व्यवहार गर्ने, समावेशी शिक्षणमा जोड दिने(जाति, धर्म, लिङ्ग, बर्ण, भाषा,आदिको आधारमा भेदभाव नगर्ने)
  • सजाय रहित शिक्षण पद्धति अबलम्बन गर्ने
  • बिद्यार्थीहरुको भावनाको सदैव कदर गर्ने
  • बिद्यार्थीहरुको प्रगति विवरण अभिभावकहरुलाई जानकारी गराउने, पृष्ठपोषण प्रदान गर्ने
  • बालमनोविज्ञानको राम्रो अध्ययन गरी सोही अनुरुप व्यवहार गर्ने

प्रधानाध्यापकको भूमिका
  • शिक्षक, विव्यससँग समन्वय गरी विद्यालयको भौतिक तथा शैक्षिक अबस्थालाई बालमैत्री बनाउने
  • विद्यालयलाई शान्तिक्षेत्र बनाउन पहल गर्ने
  • समयसमयमा अभिभावक भेला राखी बालबालिकाको उचित सम्मान र पहिचानको लागि छलफल गर्ने
  • समयसमयमा  यस समबन्धी  विषयमा शिक्षकलाई तालिमको व्यवस्था मिलाउने
  • विद्यार्थीहरुले प्राप्त गरेका सकारात्मक उपलब्धिहरुको जानकारी गराई पुरस्कृत गर्ने
  • राज्यद्धारा बालबालिकाहरुका लागि छुट्याइएको रकम सोही शीर्षकमा मात्र खर्च गर्ने
  • बिद्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु समतामूलक ढंगले वितरण गर्ने
  • विव्यसको भूमिका
  • विद्यालयको भौतिक संरचनाहरु(भवन, कक्षाकोठा, खेलमैदान, खानेपानी, शौचालय आदि)लाई बालमैत्री बनाउने ।
  • विद्यालयमा उपलब्ध साधन स्रोतको उचित सदुपयोग र परिचालन गर्ने । साथै बाह्य स्रोतहरुको खोजी गर्ने
  • विद्यालयको शैक्षिक वातावरणलाई स्वच्छ र मर्यादित बनाउन पहल गर्ने 
  • शिक्षक, विद्यार्थीहरुका लागि आवश्यक पर्ने बालमैत्री सामग्रीहरु जुटाइ दिन सहयोग गर्ने
  • विद्यालयलाई भयरहित, शान्ति क्षेत्रको रुपमा विकास गर्न सहयोग पुर्याउने

६. निष्कर्ष
सबै विद्यार्थीलाई समतामुलक व्यवहार प्रदर्शन गर्न, माया र आदर गर्न, उनीहरुको पहिचान र आत्मसम्मानको ख्याल गरी बिद्यार्थीका  अगाडि नमूना भएर उनीहरुकैै क्षमता, चाहना र गतिका आधारमा तयारीका साथ सजायरहित शिक्षण गर्ने कुरा एक्काइसौ शताब्दीका  शिक्षककहरुको लागि अनिवार्य सर्त हो । अब विद्यार्थीहरुका लागि हाम्रा विद्यालयहरु शारीरिक, मानसिक र संवेगात्मक रुपमा सुरक्षित हुनुपर्दछ । हाम्रा प्रयत्नहरु बालमैत्री विद्यालयको पूर्ण अवधारणा बुझने, बुझाउने र त्यसको स्वस्फूर्त कार्यान्वयन गर्ने गराउने कुरामा केन्द्रित गर्नु जरुरी छ । शिक्षक र अभिभावकको असल व्यवहार र सजग सुझबुझबाट मात्र यो कुरा सम्भव हुन्छ । बालअधिकारको सुिनश्चितता तथा गण्ुास्तरीय शिक्षाको प्रत्याभूति बालमैत्री विद्यालयमा पहिचान तथा आत्मसम्मान सहितको शिक्षण सिकाइबाट मात्र सम्भव हुन्छ । 
(सबैका निम्ति हेरचाह, कास्कीको आयोजना तथा जिल्ला शिक्षा कार्यालय पर्वतको संयोजनमा पर्वतको सदरमुकाम कुस्मामा असार ९ देखि १३ गते सम्म संचालित प्राथमिक तहमा कार्यरत शिक्षकहरुका लागि बालकेन्द्रित तथा बालमैत्री शिक्षण सिकाई सम्बन्धी पाँच दिने आवासीय तालिममा सहभागीहरुद्धारा तयार गरिएको अध्ययनपत्र ) 


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...