Skip to main content

१५ दिन बोर्डिङ पढ्दा फर्स्ट डिभिजन ल्याउने आत्मविश्वास

चितवन, साउन १५ – चितवन सिद्धी गाविसको राष्ट्रिय माविमा १० कक्षामा पढ्ने सिमोन चेपाङ १५ दिन बोर्डिङ स्कुलमा पढेर मंगलबार घर फर्किने तयारीमा थिए ।

‘यसरी तीन महिना पढ्न पाए त फष्ट सेकेण्ड डिभिजन नै ल्याउँथ्यौं’ डेजी आवासीय उच्च माबिमा पढेर घर फर्कने क्रममा रत्ननगरको टाँडी चोकमा भेटिएका उनले भने ‘हाम्रो स्कुल र त्यो स्कुलमा पढाउने तरिका त कति हो कति फरक ।’
सानैदेखि पढेको गाउँको विद्यालय र १५ दिन पढेको बोर्डिङ स्कुलमा सिमोनले आकाश जमिनको फरक पाए । ‘गाह्रो गाह्रो बिषय पनि सजिलो लाग्यो यहाँ पढ्दा त’ अर्का विद्यार्थी कुमारले अनुभव सुनाए । उनीहरुले १५ दिन बस्दा बिशेषगरी गणित, विज्ञान, अंगेजी बिषयका पाठ बढी पढेका थिए । ‘गाँउमा गएपछि धेरै कुरा त बिर्सन्छ होला तर शनिबार आउछु (बोर्डिङका शिक्षक गाउँको विद्यालयमा) भन्नुभएको छ, आउनुभयो भने एसएलसी पास हुन गाह्रो पर्दैन’ कुमारले भने ।
१५ दिनसम्म आवासीय सुबिधासहित डेजी उच्च माविमा पढ्न पाएका सिद्धी गाबिसका ९ जना चेपाङ विद्यार्थी सजिलै एसएलसी पास हुने आत्मबिश्वास बोकेर घर फर्किएका छन् । राष्ट्रिय माबिबाट अघिल्लो बर्ष ४ जना सहभागी भएकोमा एसएलसीमा कोहीपनि पास भएनन् । त्यसैले जिल्ला शिक्षा कार्यालयले यसबर्ष १० कक्षामा पढ्ने दुई छात्रा र सात जना छात्रहरुलाई १५ दिनसम्म निजी विद्यालयमा पढ्ने ब्यवस्था मिलाएको हो ।
निजी विद्यालयमा चेपाङ विद्यार्थीले कहिल्यै नदेखेको विज्ञान प्रयोगशाला, पुस्तकालय पनि प्रयोग गरे । चितवनको एसएलसी नतिजा राष्ट्रिय नतिजा भन्दा सधैं राम्रो हुन्छ । तर दुर्गम क्षेत्रका केही विद्यालयको नतिजा भने निकै कमजोर छ । विद्यालयमा पर्याप्त शिक्षक दरबन्दी नहुनु भएका शिक्षकले पनि नियमित नपढाउनु, अभिभावकले छोराछोरीको पढाईमा धेरै चासो नदिनु र आर्थिक अभावका कारण विद्यार्थीले पनि मजदुरी गुर्नपर्ने बाध्यताका कारण चेपाङका गाउँका विद्यालयले एसएलसीमा राम्रो नतिजा दिन सकेका छैनन् । अझ मजवाङको राष्ट्रिय माविमा पढ्न विद्यार्थीहरु ४ घण्टासम्म हिँडेर आउनुपर्छ ।
‘बर्षामा खोला बढ्दा कतै सरहरु थुनिन्छन्, कतै विद्यार्थी थुनिन्छन् कति दिन त कक्षा नै चल्दैन’ प्रधानाध्यापक देवकुमार बस्नेतले भन्नुभयो । निमावि तहसम्मको स्वीकृति पाएको यो विद्यालयमा मावि तहका शिक्षक छैनन् ।
‘मावि पढाउने त शिक्षक नै छैनन् भएका शिक्षक पनि अंग्रेजी, गणित र विज्ञानका बिषयगत शिक्षक होइनन् त्यसैले एसएलसी पास गराउन गाह्रो छ’ एसएलसीमा नतिजा राम्रो नहुनुको कारण खोल्दै उहाँले भन्नुभयो ।
शिक्षक राख्न बिभिन्न संस्थाले आश्वासन दिएका र सहयोग मिले भदौबाटै शिक्षक खोजेर पठन पाठन गराउने योजना बस्नेतले सुनाउनुभयो । करिब सात सय घरधुरी रहेको सिद्धी गाबिसमा अहिलेसम्म एलएलसी पास हुनेको संख्या ३० जना नाघेको छैन । कोराक र लोथर गाबिसको अवस्था पनि उस्तै छ ।
सामान्यतया कमजोर नतिजा ल्याउने विद्यालयलाई स्पष्टिकरण सोध्ने र कारबाही गर्ने चलन छ । तर सरकारले दिनुपर्ने सुबिधा निकै कम पाएका विद्यालयलाई कारबाही गर्नु ब्यवहारिक नदेखिने भन्दै जिल्ला शिक्षा कार्यालयले त्यहाँका विद्यार्थी निजी विद्यालयमा पढाउने बैकल्पिक उपाय खोजेको हो ।
‘शैक्षिक अवस्था कमजोर भएको देखेपछि हाम्रो अनुरोधमा डेजी उच्च माविले उनीहरुलाई पढाउने ब्यवस्था मिलाएको हो’ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भन्नुभयो ‘हामी अरु एक महिना यतै राखेर पढाउने योजनामा थियौ विद्यार्थीलाई खाने बस्ने ब्यवस्था गर्न स्रोत खोज्न नसकेकाले चाँडै पठाउनुपर्‍यो ।’  
डेजी आवासीय उच्च माविले पनि गाउँका विद्यार्थी पढाउन पाउँदा खुशी लागेको बताएको छ । ‘हाम्रो सानो प्रयासले विपन्न चेपाङ जातिका बालबालिकालाई एसएलसी पास गराउन सकिन्छ भने प्रयास गरौं भनेर शिक्षा कार्यालयको आग्रहलाई स्वीकार गरेका हौं’ विद्यालयका प्राचार्य प्रेम रिमालले भन्नुभयो ।
नियमित विद्यार्थीहरु बर्षे विदामा रहेका बेला डेजी उच्च माविले चेपाङ विद्यार्थीलाई विद्यालयमै आवासीय सुबिधा सहित पढ्ने ब्यवस्था मिलाएको हो । ‘धेरैजसोलाई आधारभुत कुरा पनि थाहा नभएको पाइयो, १५ दिनसम्म बिहान सातदेखि बेलुकी सात बजेसम्म उनीहरुले मेहनत गरे, अहिले केही सुधार भएको छ’ प्राचार्य रिमालले भन्नुभयो । अब हरेक शनिबार विद्यालयमै पुगेर सहयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।
शैक्षिक सत्र २०६८ को एलएलसी परीक्षामा चितवनबाट सहभागी ६१ प्रतिशत पास भएकोमा २०६९ मा ५७ प्रतिशत मात्र पास भएका थिए । एसएलसी परीक्षामा विद्यार्थीको उतीर्ण प्रतिशत घटेपछि जिल्लाका सबै सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन दिइएको शिक्षा अधिकारी शर्माले बताउनुभयो ।
source : Ujyaloonline

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...