Skip to main content

त्रिविमा दुईतिहाइ विद्यार्थी फेल

१६ साउन, काठमाण्डौं ।

एसएलसी परीक्षामा नतिजा घट्नासाथ सबैतिर शिक्षामा लगानी खेर गएको भन्दै निकै बहस हुन्छ । तर, उच्च शिक्षाको नतिजा भने दयालाग्दो छ । सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका विद्यार्थी दुईतिहाइ अनुत्तीर्ण हुने गरेका छन् ।

त्रिविका चार संकाय र पाँचवटा अध्ययन संस्थान छन् । प्राविधिक विषयमा राम्रो नतिजा रहे पनि गैरप्राविधिक विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका छन् । त्रिविमा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत शिक्षाशास्त्र संकायमा सबैभन्दा कम प्रतिशत उत्तीर्ण हुने गरेका छन् ।

त्रिवि योजना महाशाखाका अनुसार ०६९/७० को तथ्यांकअनुसार शिक्षाशास्त्र संकायको स्नातक तहमा ३६ दशमलव ३४, स्नातकोत्तर तहमा ३३ दशमलव २०, एमफिलमा ४१ प्रतिशत उत्तीर्ण भएका छन् । पिएचडीमा दुईजनामा सतप्रतिशत उत्तीर्ण छन् । स्नातकमा ४७ हजार नौ सय ९५ विद्यार्थी परीक्षामा सहभागी भएकामा २१ हजार ७३, स्नातकोत्तरमा १५ हजार आठ सय ८१ सहभागी भएकामा पाँच हजार दुई सय ७२, एमफिलमा २९ जनामा दुईजना र पिएचडीमा दुईमा दुई नै उत्तीर्ण भएका छन् ।

शिक्षाशास्त्र संकायपछि व्यवस्थापन र मानविकी संकायमा अनुत्तीर्णदर धेरै छ । व्यवस्थापनको स्नातकमा ३३ हजार ६ जना परीक्षामा सहभागी भएकामा १३ हजार पाँच सय ४७ अर्थात् ४१ दशमलव ७४ र स्नातकोत्तरमा नौ हजार ६ सय ४६ सहभागी भएकामा तीन हजार सात सय १६ जना अर्थात् ३८ दशमलव ५२ प्रतिशत उत्तीर्ण भएका छन् । व्यवस्थापनको एमफिल र पिजी पोलिस साइन्समा सतप्रतिशत उत्तीर्ण छन् । बिबिएमा ९७ दशमलव २७, बिआइएममा ९४ दशमलव ४९, बिटिटिएममा ९९ दशमलव २६, बिएचएममा सतप्रतिशत नतिजा आएको छ ।

मानविकी तथा समाजशास्त्र संकायमा स्नातकमा २० हजार तीन सय ४१ विद्यार्थी परीक्षामा सहभागी भएकामा आठ हजार चार सय ९१ अर्थात् ४१ दशमलव ७४ र स्नातकोत्तर तहमा १४ हजार नौ सय ८६ सहभागी भएकामा ६ हजार चार सय ७१ अर्थात् ४३ दशमलव १८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी एमपिएमा नौ सय ५९ मध्ये दुई सय ८८ अर्थात् ३० दशमलव ०३ प्रतिशत उत्तीर्ण छन् । कानुन संकायमा स्नातकमा ५१ दशमलव ६८ र स्नातकोत्तर तहमा ६५ दशमलव २८ प्रतिशत उत्तीर्ण भएका छन् । 
त्रिविका पाँच इन्स्टिच्युटअन्तर्गत इन्जिनियरिङ, कृषि तथा पशुविज्ञान, मेडिसिन, फरेस्ट्री र साइन्स एन्ड टेक्नोलोजीमा भने नतिजा राम्रो छ । सम्बन्धनप्राप्त क्याम्पसको भन्दा आंगिक क्याम्पसको नतिजा राम्रो रहेको त्रिविको तथ्यांकले देखाएको छ ।


इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तहमा आठ सय ४२ विद्यार्थी सहभागी भएकामा पाँच सय ५४ अर्थात् ६५ दशमलव ८० उत्तीर्ण भएका छन् । स्नातकमा पाँच सय ७७ सहभागीमध्ये चार सय ६७ अर्थात् ८० दशमलव ९४ र स्नातकोत्तर तहमा एक सय ८२ मध्ये एक सय १३ अर्थात् ६२ दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । इन्जिनियरिङको सम्बन्धनप्राप्त क्याम्पसमा भने ४९ दशमलव ०५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

कृषि तथा पशुविज्ञानको बिएस्सी एग्रिकल्चरमा दुई सय ५१ विद्यार्थी सहभागी भएकामा दुई सय ४६ अर्थात् ९८ दशमलव ०१ प्रतिशत उत्तीर्ण भएका छन् । बिभिएस्सीमा ३४ जनामध्ये ३१ अर्थात् ९१ दशमलव १८ प्रतिशत, स्नातकोत्तरमा एक सयमध्ये ९७ अर्थात् ९७ प्रतिशत र पिएचडीमा दुईमा दुई उत्तीर्ण छन् ।

मेडिसिनमा प्रमाणपत्र तहमा दुई सय ७२ मध्ये दुई सय ६३ अर्थात् ९६ दशमलव ६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको त्रिविले जनाएको छ । स्नातकमा एक सय ८९ मध्ये एक सय ५६ अर्थात्् ८२ दशमलव ५४ र स्नातकोत्तर तहमा एक सय ३३ मध्ये एक सय १४ अर्थात् ८५ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण छन् । सम्बन्धनप्राप्त क्याम्पसतर्फ स्नातकमा ५२ दशमलव १९ र स्नातकोत्तर तहमा ८२ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यांक छ । फरेस्ट्रीमा स्नातकमा ५८ र पिएचडीमा दुईजनामा सतप्रतिशत नतिजा छ । स्नातकोत्तर तहमा २८ जनामध्ये २६ अर्थात् ९२ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण छन् ।

साइन्स एन्ड टेक्नोलोजीको नतिजा भने कमजोर छ । प्रमाणपत्र तहका दुई हजार तीन सय ९८ विद्यार्थीमध्ये २९ अर्थात् ३८ दशमलव ७४ प्रतिशत उत्तीर्ण भएको त्रिविले जनाएको छ ।

बिएसएसीमा चार हजार चार सय ५० मध्ये दुई हजार आठ सय ४९ अर्थात् ६४ दशमलव ०२, बिटेक (फुड)मा ७५ मध्ये २६ अर्थात् ३४ दशमलव ६७ र बिटेकमा ९१ मध्ये ७२ अर्थात् ७९ दशमलव १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । स्तातकोत्तर तहमा दुई हजार तीन विद्यार्थीमध्ये नौ सय ९३ अर्थात् ४५ दशमलव ५९ प्रशितशत उत्तीर्ण भएको त्रिविको तथ्यांक छ । 



विद्यार्थी अनुत्तीर्ण हुनुमा सबै दोषी
प्रा. प्रकाशमान श्रेष्ठ, डिन, शिक्षाशास्त्र संकाय

विश्वविद्यालयमा उत्तीर्ण प्रतिशत बढाउन सबैको भूमिका उत्तिकै हुन्छ । नतिजामा सफल नहुनुमा विद्यार्थी आफैँ दोषी हो । तर, पढाउने शिक्षक, क्याम्पस प्रशासन र स्तरीय पाठ्यसामग्री नहुनु नै विद्यार्थी अनुत्तीर्णका कारण हुन् । त्रिविमा क्याम्पस कहिल्यै आउन नसक्ने पनि भर्ना भएका छन् । न्यूनतम ७० प्रतिशत उपस्थित हुनुपर्ने विद्यार्थी क्याम्पस नै नआएपछि पास हुन सक्दैनन् ।


त्रिविको प्रशासन पनि चुस्त छैन । हाम्रा शिक्षक कक्षामा जान्छन् तर सबैले कोर्स सक्दैनन् । कतिपय शिक्षकलाई कोर्स पूरा गर्नुपर्छ, मैले पढाएका विद्यार्थीलाई पास गराउनुपर्छ भन्ने नै लाग्दैन ।

प्रश्न बनाउँदा पनि त्रुटि देखिन्छ । प्रश्न पाठ्यपुस्तकमा आधारित हुन्छ, प्रश्न आउने जुन पाठ्यपुस्तक हो, त्यो गुणस्तरीय छैन । विद्यार्थीले पनि परीक्षामा कस्ता प्रश्न आउँछन् भनेर सजिला सामग्री मात्र पढ्छन् । पाठ्यपुस्तकको स्तर निर्धारण गरेर सिफारिसमा नै कमजोरी भएको छ । यसमा त्रिविको पाठ्यक्रम विकास केन्द्रको ध्यान पुगेको छैन । 
त्रिविले किन विद्यार्थी अनुत्तीर्ण भइरहेका छन् भनेर अनुसन्धानसमेत गर्दैन । धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको अर्को कारण प्रवेश परीक्षा नहुनु पनि हो । भर्ना हुन चाहेका सबैलाई लिनुपर्ने अवस्था छ । विद्यार्थीको प्रवृत्ति पनि राम्रो हुनु आवश्यक छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...