काठमाडौं : तीनकुनेस्थित पेन्टागन इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत आवा मल्ल बिहानी कक्षाको पढाइ सकेर घर पुग्दा दिउँसोको २ बजिसक्छ। बिहान ६ नबज्दै घरबाट हिँड्ने मल्ल पढाइ सकेर फर्कंदा भोक र थकाइले लत्रक्क परेकी हुन्छिन्। धेरै भोक लागेका दिन होटेलमा बसेर खाजा खाने गरेकी मल्लले अब जति भोकाए पनि घरमै पुगेर खाना खानुपर्ने भएको छ। अन्यथा उनी प्रहरी फन्दामा पर्नेछिन्।
विद्यालय र कलेज पोसाकमा रेस्टुरेन्टमा खाना खान जाने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर अभिभावकलाई खबर गर्ने भनी उच्च माध्यमिक शिक्षा परिषद्ले तयार पारेको आचारसंहिताले उनीमाथि यस्तो बन्देज लगाएको हो। परिषद् निर्णयप्रति असहमति जनाउँदै मल्ल भन्छिन्, ‘पढ्दापढ्दा हैरान भएको बेला केहिलेकहीं रिफ्रेस हुन पनि रेस्टुरेन्ट जान मन लाग्छ। तर यस्तो निर्णयले विद्यार्थीलाई मानसिक त्रास दिएको छ।’
पुरानो बानेश्वरस्थित एम्बिसन एकेडेमीमा कक्षा ११ मै अध्ययनरत ईश्वरी त्रिपाठी पनि परिषद् निर्णयले विद्यार्थीलाई त्रास मात्र थपिदिएको बताउँछिन्। ‘आमाबाबुले छोराछोरीलाई रेस्टुरेन्टमा गएर खाजा खान छुट्टै रकम छुट्ट्याइदिएका हुन्छन्। परिषद् भने कुन विद्यार्थी कुन नियतले रेस्टुरेन्ट गएको छ भन्ने नबुझी प्रहरीलाई पक्राउ गर्न सहयोग माग्दै हिँड्छ’, उनी भन्छिन्।
विद्यार्थीलाई सीपमूलक तथा व्यावहारिक शिक्षा दिन स्वतन्त्र वातावरणमा पढाउनुपर्ने बहस चलिरहेका बेला परिषद्ले अनुशासनका नाममा विद्यार्थीको मानवअधिकार हनन हुने गरी कठोर आचारसंहिता बनाएको छ। परिषद्ले यसै वर्षदेखि कार्यान्वयनमा ल्याएको आचारसंहिताअनुसार कक्षा ११ र १२ का विद्यार्थीले कलेज जाँदा मोटरसाइकल चलाउन पाउँदैनन् भने मोबाइल पनि बोक्न पाउने छैनन्।
बाफलस्थित ज्ञानोदय उच्चमाविका प्राचार्य धनञ्जय शर्मा भन्छन्, ‘चोरलाई प्रहरीले जतिपटक पक्रेर गल्ती नगर्ने भन्दै बाचा गराएर छोडे पनि चोर्न छाड्दैन। त्यसैगरी गलत नियत भएका विद्यार्थीलाई जतिसुकै कडा अनुशासनमा राख्छु भने पनि नियन्त्रण गर्न सकिँदैन।’ उनी विद्यार्थीलाई नियम बनाएर भन्दा हौसला दिएर अनुशासनमा राख्नुपर्ने बताउँछन्।
विद्यार्थीले पढ्न जाँदा मोटरसाइकल चढेमा वा मोबाइल बोकेमा निगरानीका लागि सहयोग गरिदिन परिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट र काभ्रे जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउने निर्णय गरिसकेको छ।
यस्तो नियम बनाएकै भरमा विद्यार्थीलाई अनुशासनमा राख्न सकिएला त? परिषद्का प्रवक्ता नारायण कोइराला भन्छन्, ‘हामीले एक दर्जन विदेशी मुलुक र दुई सयभन्दा बढी सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरेका हौं। राम्रै उद्देश्यले आचारसंहिता बनाएका छौं। राम्रो काममा सबैले सहयोग पु:याउनुपर्छ।’
शिक्षाविद् विद्यानाथ कोइराला पनि आचारसंहिताका नाममा मोबाइल बोक्न, मोटरसाइकल चलाउन र रेस्टुरेन्टमा गएर खान नदिने निर्णय केटाकेटी खेलजस्तो भएको टिप्पणी गर्छन्। ‘विद्यार्थीले बोकेको मोबाइल समस्या हो कि त्यो मोबाइलभित्र भएको सामग्री समस्या हो?’, उनी भन्छन्, ‘मोबाइलमा प्रत्येक दिन बिहान आज के पढ्ने भनेर एसएमएस गरिदिन पाए विद्यार्थीले त्यसलाई सदुपयोग पो गर्न सक्थे कि?’ उनी विज्ञान र प्रविधिको विकासले विश्वलाई सीमित घेराभित्र राखेको समयमा परिषद्ले गरेको निर्णय हावादारी मात्र भएको बताउँछन्।
‘विद्यार्थीले घ्यार्र आवाज निकालेर मोटरसाइकल चलाए भने त्यो आवाज सानो बनाउन लगाउने कि घरबाट लामो दूरीमा रहेको कलेज नै नजाऊ भनेर मोटरसाइकल रोकिदिने?’, कोइरालाको प्रश्न छ। परिषद्ले पढाइ र परीक्षाको स्तर उकास्न ध्यान दिनुको सट्टा आचारसंहिता निर्माणका नाममा समय बिताउने काइदा सोचिरहेको कोइरालाको आरोप छ।
- Get link
- X
- Other Apps
Labels
समाचार
Labels:
समाचार
- Get link
- X
- Other Apps