Skip to main content

समाहित शिक्षाको आवश्यकता र महत्व


-गुरुप्रसाद मैनाली
मानव सभ्यताको विकास सँगै मानिसको सोचमा पनि परिवर्तन आएको छ। मानवीय मूल्य र मान्यतामा परिवर्तन आएको छ। अपाङ्गहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। यस्तो दृष्टिकोणमा आएको  परिवर्तनलाई मूलत तीन समयक्रममा बाँड्न सकिन्छ। जसमा प्राचीन समयदेखी बौद्धिक जागरण सम्म, बौद्धिक जागरण देखी मानव अधिकारको घोषणा सम्म र मानव अधिकारको विश्वव्यापी घोषणा देखी हाल सम्मको कालक्रममा विभाजन गर्न सकिन्छ।
जसमा पहिलो समय तिरस्कारको समय रह्यो। प्राचीन कालमा अपाङ्गहरु तिरस्कृत थिए। प्राचीन ग्रीकमा त अपाङ्ग बच्चालाई गुफामा लगेर मिल्काउने, पानीमा डुवाउने वा थेब्स पहाडबाट खसाली दिने गरिन्थ्यो। प्लेटोले यस्ता विकलाङ्ग बच्चाहरुलाई अज्ञात स्थानमा लगेर छोडिदिनु पर्ने विचार व्यक्त गरेका छन्।धार्मिक दृष्टिकोणले यसलाई पूर्वजन्मको पापको रुपमा लिइयो।
दोस्रो समय करुणा या दयाको समय थियो। खास गरी युरोपमा बौद्धिक जागरण पछि स्वतन्त्रता, समानता र भाइचारको दुन्दुभी मच्चियो। अशक्त र गरिवहरुको सेवा गर्नु नै मानिसको कर्तव्य हो भन्ने दृष्टिकोण देखा पर्न थाल्यो। यही बेला केही व्यक्तिहरुले अपाङ्गहरुको शिक्षाका लागि प्रयास पनि गरे। माइकल चार्ल्स ले पे ले बहिराहरुको लागि साङ्केतिक भाषाको विकास गरे।भ्यालेन्टाइन हनीले दृष्टिविहीनका लागि raised print method को विकास गरिन् भने सेगुइनले १८१०मा सुस्तमनस्थितिका बालबालिकाहरुको शिक्षण तरिकाको विकास गरे।यसबीचमा कल्याणकारी कार्यको रुपमा अपाङ्गहरुलाई शिक्षा दिने सीमित प्रयास भएको पाइन्छ। यो काल मानवअधिकारको विश्वव्यापी घोषणा सम्म कायमै रह्यो।
तेस्रो सोच अधिकारबादी सोचका रुपमा देखापर्‍यो। मानिसले मानिसलाई कुनै पनि आधारमा विभेद गर्न  हुँदैन भन्ने अवधारणा अधि सारेका पाइन्छ। जसअनुसार अपाङ्गता भएका व्यक्तिहरुको पनि साङ्ग व्यक्तिहरु सरह अधिकार सुनिश्चित गर्‍यो।
अपाङ्गताको बर्गीकरण
अपाङ्गहरुको बर्गीकरण पनि फरक फरक समयमा फरक फरक ढंगले गरिएको छ। यसलाई पनि तीन वर्गमा राखेर हेर्न सकिन्छ। पहिलो वर्गमा मनो चिकित्सक  धारणा आउँछ जस अनुसार चिकित्सा विज्ञानका र मनोवैज्ञानिक परीक्षणका आधारमा अपाङ्गताको वर्गीकरण गरियो। दृष्टिविहीन, सुस्त मनस्थिति, बहिरा, सुस्त श्रवण, शारीरिक अपाङ्गहरु भनी वर्गीकरण गरियो।मनोवैज्ञानिक परीक्षणका आधारमा मुर्ख, बुद्धिमान भनी छुट्याइए। सन् १९१३ पछि यति धेरै मनोवैज्ञानिक परीक्षण भए र मनोवैज्ञानिक परीक्षणका आधारमा मानिसहरुलाई अलग्याउने काम गरियो कि १९१३ देखि १९२७ सम्मको अवधिलाई “वैज्ञानिक जातिवाद”को संज्ञा समेत दिएको पाइन्छ।
तर सधै यही मात्रै परिभाषा मान्य भएन। केही समाजशास्त्रीहरुले सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक तथा भौगोलिक दूरता आदिका कारण पनि अपाङ्गता पैदा हुन्छ भन्ने तर्क अघी सारे। यस्ता असक्षमतालाई उनीहरुले सुविधाविहीन वर्गमा राखे।
तेस्रो असक्षमतालाई कठिनाइको वर्गमा राखे। खासगरी विद्यार्थी सिक्नका लागि शैक्षिक सन्दर्भ र विद्याथीका बीच अन्तरक्रिया हुनुपर्छ।तर कहिले काँही उनीहरुबीच यस्तो अन्तरक्रियामा समस्या पैदा हुन्छ। विद्यार्थीहरुमा संवेगात्मक तथा व्यवहारजन्य विचलनहरु पैदा हुन्छन्।कहिले काँही विशिष्ट खालका सिकाइ कठिनाइहरु समेत पैदा हुन्छन्।
यी विभिन्न किसिमका अपाङ्गहरुको पठनपाठनका लागि शिक्षामा पनि फरक फरक उपागमहरु देखापरे। शुरुमा अपाङ्गताको प्रकारका आधारमा अलग अलग विद्यालयहरु खोलिए।यस्ता विद्यालयहरुलाई विशेष विद्यालय भनियो।उदाहरणकालागि बहिराका लागि बहिरा विद्यालय, नेत्रहिनहरुका लागि नेत्रहीन विद्यालय, सुस्त मनस्थितिहरुका लागि छुट्टै विद्यालयको शुरुवात गरियो। नेपालमा पनि यस्को प्रयास नगरिएको भने होइन। खासगरी बहिराहरुका लागि काठमाडौँको नक्सालमा बहिरा विद्यालय, सुस्त मनस्थितिका बालबालिकाहरुका लागि निर्मल सुस्त मनस्थिति तथा शारीरिक अपाङ्गहरुका लागि खगेन्द्र नवजीवन केन्द्रको स्थापना गरिएको पाइन्छ। यस्ता विद्यालयहरुलाई विशेष विद्यालय र शिक्षण विधि पनि अलग नै निर्धारण गरियो।नेपालमा अहिले यस्ता विशेष विद्यालयहरुको संख्या ३४ रहेको छ।तर यसरी अध्ययन अध्यापन गराउँदा थोरै व्यक्तिहरुलाई मात्र शिक्षा दिन सकिने, खर्चिलो तथा यस्ता अपाङ्गहरुको समाजिकरणमा कठिनाइ पैदा भयो।
दोस्रो उपागममा एकीकृत शिक्षालाई लिन सकिन्छ। यसमा अपाङ्गता भएका व्यक्तिहरुलाई एउटै विद्यालय भित्र फरक कक्षाकोठामा अध्ययन गराउने काम गरिन्छ भने बाँकी समय उनीहरु विद्यालयका अन्य विद्यार्थीहरु सँगै रहन्छन्।यस उपागमबाट केही बढी विद्यार्थीहरुलाई अध्यापन गराउन सम्भब भयो। अपाङ्गहरुलाई अरु बढी समाजीकरण गर्न मद्धत मिल्यो।नेपालमा एकीकृत शिक्षाको थालनी विशेष शिक्षा विद्यालयको शुरुवात भन्दा अगाडि आएको पाइन्छ खासगरी ल्याव स्कूलमा दृष्टिविहीन बालबालिकाहरुका लागि यस्तो एकीकृत शिक्षाको शुरुवात भएको पाइन्छ। नेपालमा हाल यस्ता एकीकृत विद्यालयहरुको संख्या ३६५ रहेको छ। तिनीहरुलाई विशेष शिक्षा स्रोत कक्षा भन्ने गरिएको छ। जहाँ एक स्रोत कक्षामा १० जना विद्यार्थीहरु छात्रवृत्ति तथा आवास सुविधा सहित अध्ययन गर्छन्। यस्ता विशेष शिक्षाका विद्यालय र स्रोत कक्षामा गरी जम्मा ६२५० विद्यार्थीहरु अध्ययनरत छन्।
तर अझै पनि सबै अपाङ्गहरुलाइ शिक्षा दिन कठिनाइ भयो। सन् १९९४ सम्ममा विकासोन्मुख मुलुकहरुमा १ प्रतिशत भन्दा कम अपाङ्गहरुले मात्र शिक्षा हासिल गरेको तथ्य सार्वजनिक भयो। सन् १९९०मा थाइल्याण्डको जोम्टिनमा भएको शिक्षा सम्मेलनले शताव्दिको अन्त्य सम्ममा सबैका लागि प्राथमिक शिक्षामा पहुँच पुर्‍याउने प्रतिवद्धता व्यक्त गर्‍यो तर विश्वको जनसंख्याको झण्डै १० प्रतिशत संख्या अपाङ्गहरुको रहेको हुँदा ती अपाङ्गहरुलाई शिक्षा नदिइ सबैको लागि शिक्षाको लक्ष्य हासिल हुन नसक्ने प्रष्ट देखियो। यसका लागि शैक्षिक उपागमा समेत परिवर्तन गरियो।
यही उपागम समाहित शिक्षा हो। शिक्षामा समाहित शिक्षाको प्रयोग केही अघि देखि नै हुँदै आएको भएता पनि सन् १९९४को स्पेनको सालमाङ्का सम्मेलनले यसलाई व्यापक बनाउने काम गर्‍यो। सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रले अधिकारमुखी अवधारणलाई अघि सार्‍यो जसअनुसार सबै बालबालिकाहरुले आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य रुपले हासिल गर्न पाउने कुरा उल्लेख गरियो।अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी र स्वेच्छिक प्रोटोकल २००६ले आफू बसेको समुदायका अन्य व्यक्तिहरु सरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरुले पनि शिक्षा पाउनु पर्ने अधिकार व्यक्त गर्‍यो। सन् १९९३ को संयुक्त राष्ट्रसंघको अपाङ्गता भएका व्यक्तिहरुकालागि समानताको नियममा अपाङ्गगता भएका बालबालिकाहरुको शिक्षा, विद्यमान शिक्षा प्रणालीको अभिन्न अङ्ग हुने कुरा व्यक्त गर्‍यो। त्यस्तै बाल अधिकार सम्बन्धी महासन्धीले १८ वर्ष मुनिका सबैलाई अपाङ्गता लगायतका आधारमा भेदभाव गर्न निषेध गर्‍यो।
यद्यपि समाहित शिक्षाको बारेमा सबैको धारणा एउटै छैन। यो शैक्षिक उपागम मात्र भएको हुँदा एउटै परिभाषा संभव पनि भएन। त्यसैले यहाँ केही परिभाषा र समाहित शिक्षाका विशेषताहरु बारे पनि चर्चा गर्नु प्रासंगिक छ।
सालामाङ्का सम्मेलनका अनुसार “समाहित शिक्षा भन्नाले विद्यालयले शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, भाषिक तथा अन्य अवस्थाका बाबजुद सबै बालबालिकाहरुलाई समायोजित गर्नुपर्छ। यसभित्र अपाङ्ग तथा प्रतिभावान व्यक्तिहरु, सडक तथा कामदार बालबालिका, दुर्गम क्षेत्रका तथा घुमन्ते जाति, भाषिक/सांस्कृतिक अल्पसंख्यक, अल्पसंख्यक जातिहरु तथा अन्य सुविधाविहीन वा सीमान्तकृत वर्ग वा क्षेत्रका बालबालिकाहरु समेत पर्दछन् ”।(सालामाङ्का घोषणा प्रारुप तेस्रो अनुच्छेद)
विकिपेडियाका अनुसार समाहित शिक्षा भनेको विशेष शिक्षाका बालबालिकाहरुलाई शिक्षा दिने एक उपागम हो। समाहित शिक्षामा विशेष शिक्षाको आवश्यकता भएका बालबालिकाहरु पूरै समय वा ज्यादा जसो समय साङ्ग बालबालिकाहरु सँगै विताउँछन्।समाहित भनेको विद्यार्थीले आफ्नै समुदायको विद्यालयमा पढ्न पाउने अधिकार र विद्यालयले पढाउनु पर्ने दायित्व पनि हो।
शिक्षा विभागका अनुसार “समाहित शिक्षा भन्नाले सबै बालबालिकाहरुका लागि विभेद रहित वातावरणमा बहुसांस्कृतिक भिन्नतालाई सम्मान गर्ने, आफ्नै समुदायमा जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने शैक्षिक पद्धतिको विकास प्रक्रियालाई बुझ्नु पर्दछ।”
(समाहित शिक्षा र बालमैत्री विद्यालय शिक्षा शिक्षा विभाग २०६१)
यी परिभाषाहरुका आधारमा समाहित शिक्षा समुदायको विद्यालयमा सबै बालबालिकाहरुलाई शिक्षा दिने उपागम भन्ने अर्थ लाग्छ।
समाहित शिक्षाका सिद्धान्तहरु
सबैका लागि विद्यालय School for all बनाउनु पर्ने, विद्यालयले सबैलाई समावेश गराउनु पर्ने, यसले विभेदलाई अन्त्य गरी सबैका लागि अनुकुल अवस्था सिर्जना गर्नुपर्ने, सिकाइमा सहयोगी र सिकारुका व्यकिगत आवश्यकता माथि विचार पुर्‍याउनु रहेका छन्।
यसो गर्नका लागि विद्यमान विद्यालयका विद्यमान भौतिक संरचना, पाठ्यक्रम, शैक्षणिक विधिमा परिवर्तन र परिमार्जनको जरुरत पर्दछ।
समाहित शिक्षाका विशेषता
भौतिक संरचना
अहिलेका हाम्रा विद्यालयहरु सबै व्यक्तिका अनुकुल छैनन्। उदाहरणका लागि हाम्रा विद्यालयहरुमा “ह्वील चेयर”लैजान सकिदैन। विद्यालयहरुका कक्षा कोठाहरुमा ह्वील चेयर लैजान सकिने गरी विद्यालयका भौतिक संरचनामा परिवर्तन गर्नु जरुरी हुन्छ। जसका लागि र्‍यामको निर्माण जरुरी हुन्छ। यसरी र्‍याम्प निर्माण गर्दा एक फुट माथि उठाउनका लागि २० फुट परबाट भिरालो पार्दै ल्याउनु पर्छ। त्यस्तै विद्यालयमा अपाङ्गहरुका लागि अलग शौचालयको व्यवस्था जरुरी हुन्छ। यसरी शारीरिक अपाङ्गहरुका लागि विद्यालयलाई अपाङ्गमैत्री बनाउन सकिन्छ। त्यस्तै दृष्टिविहीन बालबालिकाहरु छन् भने उनीहरुको आउने जाने स्थानमा अनावश्यक कुराहरु राख्ने गर्नु हुँदैन। सुस्त मनस्थितिका बच्चाहरु एकै ठाउँमा धेरै समय सम्म बस्न नसक्ने भएका हुँदा उनीहरु चलमलाउन मिल्ने किसिमको बसाइ व्यवस्था कायम गर्नु पर्ने हुन्छ। विद्यार्थीहरुले समूह कार्य गर्न, व्यक्तिगत रुपमा अध्ययन गर्न र शिक्षकले पढाएको बेलामा डेस्क बेन्चलाई अगाडि फर्काएर क्रमबद्ध रुपमा राख्न मिल्ने खालका हुनुपर्छ अर्थात आवश्यकता अनुसार विभिन्न खालका बसाइ व्यवस्था कायम गर्न मिल्ने खालका डेस्क बेन्चहरुको निर्माण गरिनु पर्छ।
शिक्षक तालिमको व्यवस्था
शिक्षकहरुलाई अपाङ्गताका प्रकारहरु, उनीहरुका सिकाइ विविधताहरु तथा उनीहरुका लागि उपयुक्त शैक्षणिक विधिका बारेमा पूर्व सेवाकालिन तालिम तथा सेवाकालिन तालिमको माध्यमबाट परिचित गराउनु पर्छ। शिक्षकहरुमा अपाङ्गहरुले पनि सिक्न सक्छन् भन्ने सकारात्मक सोचको विकास गराउनु पर्छ। सेवाकालिन शिक्षकहरुलाई अनलाइन, दूर  शिक्षाको माध्यमबाट तालिम उपलब्ध गराउन सकिन्छ भने पूर्व सेवाकालिन तालिम शिक्षा शास्त्र संकायको पाठ्यक्रममा व्यवस्थित रुपमा राख्न सकिन्छ।यसरी छोटो अवधिको तालिमका लागि र अन्य सहयोगका लागि हाल संचालनमा रहेका विशेष शिक्षाका स्रोत कक्षाहरुलाई शिक्षक तथा विद्यार्थीका लागि स्रोत कक्षाको रुपमा विकसित गर्ने  र त्यहाँ कार्यरत विशेष शिक्षकहरुलाई शिक्षक तालिम कार्यमा लगाउनु सकिन्छ। समय समयमा स्रोत शिक्षकहरु आफ्नो सेवा क्षेत्रभित्रका विद्यालयहरुको निरीक्षण गर्ने र त्यहाँका समस्याहरु समाधानमा लगाउने गरी उनीहरुको कार्यमा परिवर्तन गर्न सकिन्छ।
पाठ्यक्रममा सुधार
पाठ्यक्रम अपाङ्गमैत्री नहुँदा, लैङ्गिक मैत्री नहुँदा सिकाइमा कठिनाइ हुने गर्छ। त्यस्तै पाठ्यक्रमलाई स्थानीयकरण र भाषा, संस्कृति अनुसार सान्दर्भिकरण पनि गरिनु पर्छ।कतिपय समय पाठ्यक्रममा रहेका व्यवधानका कारण सिकाइ असक्षमता पैदा  हुने हुँदा त्यस्ता पाठ्यक्रम, पाठ्यपुस्तकलाई परिमार्जन गर्नुपर्छ। उदाहरणका लागि चित्रमा के छ भन त भनि दृष्टिविहीनहरुलाई सोधियो भने यो उस्को लागि सिकाइ व्यवधान हुन्छ । चित्र भर्ने काम पनि दृष्टिविहीनहरुका लागि व्यवधानपूर्ण छ।
शैक्षणिक विधिमा परिवर्तन
विद्यमान शैक्षणिक विधिले व्यक्तिका सिक्ने तरिकाहरु फरक फरक हुन्छन्। उनीहरुको सिकाइ गति पनि फरक हुन्छ भन्ने  कुरामा ध्यान दिएको छैन। सबैका लागि एकै किसिमको शैक्षणिक विधिको प्रयोग गरीदा सिकाइमा कठिनाइ पैदा हुन्छ। प्रवचन विधिबाट शाव्दिक बुद्धिमता भएका वालवालिकाहरुले लाभ लिन सक्छन् तर डिस्लेक्सीया भएका बच्चाहरु लाभान्वित हुँदैनन्। त्यसैले हरेक व्यक्तिको आन्तरिक क्षमताको प्रष्फुरण गराउन सिकाइलाई बालकेन्द्रित बनाउनु पर्छ।व्यक्तिलाई उसको आफ्नै गतिमा सिक्ने वातावरणको सिर्जना गर्नु पर्छ। यदि विद्यार्थी शिक्षक अनुपात २०:१ छ र २ जना बहिरा बच्चा पढ्छन् भने त्यो कक्षाको विद्यार्थी अनुपात १६:१ कायम गर्नुपर्छ।
आवश्यकता अनुसारको सहयोग
सबै बालबालिकाहरुलाई विद्यालय शिक्षाको कुनै न कुनै अवस्थामा विशेष किसिमको सहयोगको आवश्यकता पर्दछ। यसका लागि विद्यालयले विद्यार्थीहरुको आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउनु पर्छ। दृष्टिविहीन बालबालिकाहरुका लागि ब्रेल लिपीको ज्ञान, बहिरा बालबालिकाहरुका लागि सांकेतिक भाषाको ज्ञान, भाषिक कठिनाइ भएका, गणितमा कठिनाइ भएकाहरुका लागि सो विषयसँग सम्बन्धित उपचारात्मक शिक्षण उपलब्ध गराउनु पर्छ। त्यस्तै बोलीमा कठिनाइ हुनेहरुका लागि स्पीच थेरापी आदिको समेत प्रवन्ध गरिएको हुन्छ। ब्यक्तिको क्षमता अनुसार सिकाइ प्रक्रिया अघि बढाइने भएको हुँदा हरेक विद्यार्थीहरुलाई उनीहरुको क्षमता र गति अनुसार शिक्षण सिकाइ क्रियाकलाप अघि बढाइन्छ।यसले गर्दा सबै विद्यार्थीलाई फाइदा पुग्ने देखिन्छ। यसका अलावा बालबालिकाहरुका लागि परामर्श तथा मार्गदर्शन सेवा समेत उपलब्ध गराउँनु पर्छ।
समाहित शिक्षाको आवश्यकता
१. सबैले आफ्नै समुदायमा पढ्न पाउने  अधिकारको सुनिश्चितता गर्न
सबै विद्यार्थीले आफ्नै समुदायमा पढ्न पाउनु पर्छ। शारीरिक असक्षमता वा कुनै पनि कारणले विद्यालयमा विद्यार्थीलाई पढ्न बाट बन्चित गरिनु हुँदैन।त्यसका लागि विद्यालयका भौतिक संरचना तथा शैक्षणिक विधिहरु बाधक भए तिनीहरुमा फेरवदल गरी पढ्न पाउने वातावरण निर्माण गर्नु पर्छ।
२. सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्न
विश्वमा १० प्रतिशत बालबालिकाहरु विशेष शिक्षाको आवश्यकता भएका छन्।सन् १९९० को जोम्टिनमा सबैका लागि शिक्षाको धोषणा गरियो। त्यो लक्ष्य हासिल गर्नका लागि सन् १९९४ मा भएको विशेष शिक्षाको आवश्यकता सम्मेलनमा समाहित शिक्षालाई प्रमुख रणनीतिका रुपमा अधि सारिएको छ।
३. समाहित शिक्षा विशेष शिक्षाको विद्यालय भन्दा कम खर्चिलो हुने कुरा अनुसन्धानले देखाएको छ। बच्चा आमाबाबुसँगै बस्ने भएकाले खाना तथा आवासको खर्च बच्न जाने हुन्छ।
४. एकीकृत तथा विशेष शिक्षाका विद्यालयहरुमा पढेका विद्यार्थीहरुलाई समाजमा समायोजन गर्न कठिनाइ भयो। समाजको विभेदकारी मानसिकता कारण उनीहरु समाजमा समाजीकरणमा कठिनाइ भयो तर समाहित शिक्षाले कक्षामा हुने विभेदकोअन्त्य गर्दै सबैले सम्मानजनक अवस्थामा शिक्षा  हासिल गर्न पाउने वातावरण तयार गर्ने भएको हुँदा उनीहरुलाई विद्यालय तथा समाजमा समाजिकरण गर्न कठिनाइ नपर्ने हुन्छ।
५. हरेक व्यक्ति उसको रुचीका कारण,क्षमताका कारण, शारीरिक अवस्थाका कारण तथा मानसिक अवस्थाका कारण भिन्न हुन्छ। यो विविधतालाई विद्यालयतहमा परिचित गराईने हुँदा विविधतालाई स्वीकार गर्ने बानीको विकास गराइएको हुन्छ।
६. हरेक विद्यार्थीले विद्यालयमा रहेको विविधताबाट सिक्न सक्छ।
महत्व
यसले मित्रताको भावनाको विकास गर्छ।
सामाजिक सम्बन्धको शुरुवात, विस्तार र सञ्जालको निर्माण गर्छ।
आम पाठ्यक्रममा अधिक पहुँच पुग्छ।
अन्तरक्रियाकालागि ज्यादा मौका प्राप्त हुन्छ।
शिक्षक कर्मचारी अभिभावक र समुदायबीचको सम्बन्ध र सहयोगमा वृद्धि हुन्छ।
परिवारहरु समुदायमा अझ बढी एकीकृत हुन्छन्।
व्यक्तिगत विभिन्नताहरुलाई स्वीकार्ने बानीको विकास हुन्छ।
सबैलाइ आदर सम्मान गर्ने बानीको विकास  गराउँछ।
समाजमा समाजीकीकरण गर्न सहयोग पुग्छ।
सहभागितामूलक सिकाइ र अरुलाई सिकाएर विषयबस्तुको दक्षता हासिल गर्न सकिन्छ।
सिकाइ उपलब्धीमा वृद्धि हुन्छ।
विभेदकारी सोचको अन्त्य गर्छ।
नेपालको सन्दर्भ
नेपालमा विशेष शिक्षाको शुरुवात २०२० सालमा इसावेल ग्रान्टले अन्धाहरुका लागि एकीकृत कक्षा संचालन गर्न अनुरोध गरेपछि भएको हो। २०२१ सालमा लेवोरेटरी स्कूलका शिक्षक र कलेज अफ एजुकेशनका शिक्षक र कलेज अफ एजुकेशनका विद्यार्थीहरुलाई अन्धाहरुलाई पढाउने तालिम प्राप्त गरे।२०२१ साल फागुन देखि ८/९जना विद्यार्थी भर्ना गरी एकीकृत शिक्षा कार्यक्रम संचालन गरिएको पाइन्छ। त्यस्तै २०२३सालमा बहिरा विद्यालयको स्थापना भयो।२०२६ सालमा अन्धा र अपांगहरुलाई शिक्षा र व्यावसायिक तालिम दिनेगरी खगेन्द्र नवजीवन केन्द्रको स्थापना गरियो। २०३७ सालमा सुस्त मनस्थितिका बालबालिकाहरुका लागि निर्मल बालविकास केन्द्रको स्थापना भएपछि सुस्त मनस्थितिका बालबालिकाहरुले पनि शिक्षा प्राप्त गर्न थालेका हुन्।
२०३० सालमा विशेष शिक्षा परिषद गठन भयो र २०३४ सालमा सामाजिक सेवा राष्ट्रिय परिषदको मातहत राखियो। २०४८/४९ देखि पुन शिक्षा मन्त्रालयमा विशेष शिक्षाको अभिभारा आइपुगेको छ।
नेपालमा अहिले कूल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गरु रहेका छन्। तर यो संख्या मनो चिकित्सक प्याराडायमका  आधारमा मात्र हो। सिकाइ कठिनाइ भएका बालबालिकाहरु, तथा सुविधाहिन वर्गका बालबालिकाहरुको संख्या यसमा सामेल छैन। त्यसो हुँदा यो संख्या अरु बढ्न जाने निश्चित छ। हाल विशेष शिक्षाका विद्यालय तथा विशेष शिक्षा स्रोत कक्षामा पढ्ने विद्यार्थी संख्या ६२५० मात्र छ। तर अपाङ्गता भएका बालबालिकाहरु अन्य साधारण विद्यालयहरुमा पढ्नेको संख्या ६७ हजार भन्दा बढी छन्। तर ती विद्यालय समाहित विद्यालय भने होइनन् किनकी त्यहाँ उनीहरुलाई पर्ने समस्याको सम्बोधन गरिएको छैन।विभेदकारी अवस्थाको अन्त्य गरिएको छैन। उनीहरुका लागि चाहिने आवश्यक Remedial कक्षाहरुको व्यवस्था गरिएको छैन। विद्यालयलयमा समाहित शिक्षा लागु गर्न यसका अतिरिक्त परामर्श तथा मार्गनिर्देशन, विभिन्न किसिमका थेरापीहरुको समेत व्यवस्था गरी सबै बालबालिकाहरुको अनुकूल व्यवस्था नै समाहित शिक्षाको मकसद हो।
यो लेखको सम्पादित अंश शिक्षक मासिक २०७० को जेठ अङ्कमा प्रकाशित भएको छ।
सुझाव तथा प्रतिक्रियाका लागि
mainaliguru@gmail.com

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव