Skip to main content

साक्षरता कक्षाको स्तर कसरी नाप्ने ?


श्रीधर पौडेल/उज्यालो
काठमाडौ, असोज१०– बेलामा स्कूल जान नपाएकाहरुले बुढेसकालमा पढ्ने गरेको हामीले देखिजानेको कुरा हो । तर यसरी प्रौढ कक्षा पढ्नेको स्कूलमा जस्तो यति कक्षा, उति कक्षा भन्ने हुँदैन ।
साक्षरताको हिसाबले मात्र उनीहरुको शिक्षालाई जोड दिने गरिएको छ । तर अब भने साक्षरता कक्षामा पढ्नेहरुको पनि स्तर मापन हुने भएको छ ।
अनौपचारिक शिक्षा केन्द्रको संयोजनमा तीन महिने साक्षरता कक्षामा पढेका प्रौढहरुले सिकेको ज्ञान कति कक्षा बराबरको हो भन्ने बारेमा सर्टिफिकेट दिन लागिएको छ ।
सीपको प्रमाणीकरण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटीले गर्दै आएकोमा साक्षरताको प्रमाणीकरण अनौपचारिक शिक्षा केन्द्रको संयोजनमा हुनेछ ।
साक्षरता कक्षामा वा घरमै सिकेपनि यस पटकदेखि साक्षर भैसकेपछि नजिकको विद्यालयले उसको सिकाईलाई प्रमाणीकरण गर्नेछ ।

प्रमाणीकरणको चलन र नयाँ संरचना  

त्यसो त अहिले पनि संरचनाका हिसाबमा जिल्ला शिक्षा कार्यालय मार्फत परीक्षण गरी प्रमाणित गर्ने चलन थियो । यसमा परिमार्जन गरी आउँदो वर्षबाट केन्द्रको संयोजनमा तोकिएका विद्यालयहरुले यसको प्रमाणीकरण गर्नेछन् ।
यसअघि साक्षरता कक्षामा सामेल भएका प्रौढहरुलाई कक्षा तीन बराबरको मान्यता दिने चलन छ । अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने ‘नेशनल क्वालिफिकेशन फेमवर्क’ का आधारमा सिकाई सीपको प्रमाणीकरण गरिन्छ ।
नेपालको सन्दर्भमा यसको कुनै मापदण्ड र प्रचलन नै छैन । यसैले साक्षरता कक्षामा पढेकाहरुको सिकाइलाई कुन स्तरको मान्यता दिने भन्ने कुराको निर्क्यौल गर्ने काम भैरहेको छ ।
साक्षरताको परिभाषा देश अनुसार फरक हुने भएकोले पनि साक्षरताका बारेमा नेपालको परिभाषा नेपालकै अनुसार गर्न आन्तरिक छलफल गरिरहेको केन्द्रको दावी छ । यही अभावलाई मध्यजनर गर्दै केन्द्रले गएको साउनमा जर्मनी र फ्रान्सका विज्ञहरु सहितको सहभागीतामा कार्यशाला समेत सम्पन्न गरेको छ ।
सिकाई सीपको प्रमाणीकरण गर्ने सम्बन्धि कार्यविधि निर्माणको काम भइरहेको केन्द्रका निर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । ‘सिकाइलाई प्रमाणीकरण गर्ने कुराको पनि थालनी गरेका छौं’ पौडेलले भन्नुभयो, ‘जहाँ सिक, जहिले सिक, जो सुकैबाट सिक तर पढ्न सिक, राज्यले त्यसको प्रमाणीकरण गर्नेछ भन्ने मेकानिजमलाई इन्सियोर गरिनेछ ।’

निरक्षरताको अवस्था

झण्डै आधा शताब्दीदेखि अनौपचारिक शिक्षाका कक्षाहरु चलाइरहेको नेपालले १५ देखि ६० बर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी तीनवर्ष अघि अर्थात् २०६५/०६६ बाट राष्ट्रिय साक्षरता अभियान शुरु गरेको थियो ।
राष्ट्रिय साक्षरता अभियानलाई सरकारले पोहोर असोजमा साक्षर नेपाल अभियानका रुपमा सञ्चालन गर्न अबधारणा स्वीकृत गरेको थियो । अभियानका तीनवर्षमा लगभग ३८ लाख जना साक्षर भएका छन् ।
गएको २३ गते अर्थात् सेप्टेम्बर आठ तारिखमा राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम गरे ।
२१ औँ शताब्दीमा पनि निरक्षरताको अवस्था रहनु निकै नै लाजमर्दो कुरा हो । यसअघिका साक्षरता अभियानबाट सोचेअनुसार प्रतिफल नआएको विश्लेषण चर्को छ ।
आर्थिक बर्ष २०६७/०६८ मा अनौपचारिक शिक्षा केन्द्रले गरेको घरधूरी सर्भेक्षणले १५ देखि ६० वर्ष उमेर समूहका ५१ लाख ७३ हजार निरक्षर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । 
सरकारी तथ्याङ्क अनुसार अझै ३४ प्रतिशत नेपाली निरक्षर छन् । १५ देखि ६० वर्ष उमेर समूहका साढे ३१ लाख जनसंख्या निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्रको तथ्याङ्क छ ।
 
यसवर्ष १७ लाख निरक्षरलाई साक्षर बनाउने योजना केन्द्रसँग छ । यसका लागि सरकारले एकअर्ब रुपैंया छुट्याएको छ । तर चुरो कुरो के भने सन् २०१५ सम्म अर्थात् अबको साढे दुई वर्षभित्र सबैका लागि शिक्षा पुर्याउन नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता के हुने हो भन्नेमा अड्केको छ ।
त्यसैले सन् २०१५ सम्म सबैका लागि शिक्षाको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न पनि द्रुत गतिमा काम सक्नुपर्ने देखिन्छ ।

अबको तयारी

आउँदो पुस एक गतेदेखि यसवर्षको साक्षरता अभियान शुरु हुनेछ । यसका लागि हरेक जिल्ला शिक्षा कार्यालयमा भदौको पहिलो हप्ता नै कार्यक्रम पठाइसकेको केन्द्रले जनाएको छ ।
मंसिर मसान्तभित्र आवश्यकीय प्रवन्ध मिलाइसक्ने र पुस एक गतेदेखि तराई र पहाडका जिल्लामा कक्षा शुरु गर्ने तयारी छ ।  मौसमको प्रतिकूलताका कारण हिमाली जिल्लामा भने फागुन एक गतेदेखि साक्षरता कक्षा शुरु हुनेछन् ।
अभियानका क्रममा अहिलेसम्म देशभरका बिभिन्न ४६ वटा गाउँ विकास समिति र २४ नगरपालिकाका बिभिन्न वडामा निरक्षरता उन्मूलन घोषणा भइसकेको छ । स्थानीय गैह्रसरकारी संस्था, विद्यालय र अन्य सरोकारवाला निकायको साथमा यो अभियानलाई आउँदा वर्षहरुमा अरु क्षेत्रमा पनि विस्तार गर्ने केन्द्रको योजना छ ।

राष्ट्रिय प्रतिबद्धता

साक्षर नेपालको अवधारणालाई मूर्त रुप दिन राज्यका सबै निकायद्वारा राष्ट्रिय प्रतिज्ञा गरिनेछ । आफ्नो घर र समुदायमा रहेका निरक्षरलाई साक्षर बनाए बापत हरेक विद्यार्थीलाई प्रयोगात्मक विषयमा अंक दिने कुरा पनि नयाँ अवधारणमा समाबेश गरिनेछ ।
यसले गर्दा हरेक घरमा साक्षर नेपाल अभियान पुग्नेछ । यस्तै हरेक जंगी वा निजामती कर्मचारी, शिक्षकलाई पनि अभियानमा सामेल बनाउने योजना छ । हरेक राजनीतिक दलका नेताहरुलाई आफ्ना मतदातामध्ये कोही पनि निरक्षर छैनन् भन्ने कुराको प्रतिवद्धता गर्ने वातावरण बनाउन आन्तरिक काम भइरहेको केन्द्रले जनाएको छ ।
Source: http://ujyaaloonline.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...