Skip to main content

तदर्थवादमा उच्च माध्यमिक शिक्षा

भगवान खनाल

नेपालमा उच्च माध्यमिक तहको शिक्षा तदर्थवादमा चलिरहेको छ । मध्यम तहको जनशक्ति उत्पादन गर्ने उद्देश्यले उच्च माध्यमिक शिक्षा ऐन २०४९ को परिकल्पना गरी नेपालमा उच्च माध्यमिक तह वा दश जोड दुई तहको कार्यक्रम सञ्चालन गरिएको हो । ऐनद्वारा स्वायत्त उच्च माध्यमिक शिक्षा परिषद् नामक संस्था स्थापना भएको छ । यसैले बितेका दुई दशकदेखि नेपालमा दश जोड दुई कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसबीचमा नेपालमा उच्च माध्यमिक तहको शिक्षा तदर्थवादमा सञ्चालन भयो र अझै पनि यस्तै तदर्थवाद कायम रहने अवस्था छ । जसले गर्दा यस तहको शिक्षाको गुणात्मकतालगायत् अन्य पक्षको प्रभावकारितामाथि प्रश्न खडा भएको छ । यद्यपि उमाशिपले सीमित स्रोत र साधनका बाबजुद पनि २० वर्षसम्म दश जोड दुईको कार्यक्रमका लागि गरेका काम आफैंमा सराहनीय छन् । यसले जति गरेको छ, बढी गरेको छ।
विद्यालय तहको संरचना र विकासमा आमूल परिवर्तन ल्याउने एक मुख्य मस्कद रहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम पूर्णरुपेण लागु गर्न शिक्षा मन्त्रालयसँग केही कानुनी र व्यावहारिक अड्चन बाँकी छन् । यस कार्यक्रमले कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ लाई माध्यमिक तह मानेर नीतिगतका साथै तहगत र पाठ्यक्रममा परिवर्तन गर्दै ल्याएको छ । हाल रसुवा, कपिलवस्तु र डडेलधुरामा परीक्षण भइरहेको यस कार्यक्रम पूर्णरूपमा लागु गर्न शिक्षा ऐन २०२८ को खारेजी वा संशोधन र उमाशि ऐन २०४९ को खारेजी प्रमुख अनिवार्य सर्त हुन् । यी दुवै कार्य अहिल्यै गरिहाल्न सरकारसँग कुनै बल छैन । यसो गर्नु उसका लागि फलामको च्युरासरह हुनेछ । पहिलो कुरा त राजनीतिक सहमति र बुझाई प्रमुख हुन्छ । नेपालका राजनीतिक दलहरु एसएसआरपी पूर्णरूपमा लागु गर्न तयार भइसकेको देखिँदैन । उनीहरुमा त्यो हदको दृष्टिकोण विकास भएको बुझिँदैन । अर्कोतिर संसद, जोसँग पक्कारूपमा ऐन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार हुन्छ, नै छैन । उता यस ऐनले खासै दुष्परिणाम केही पनि ल्याएको अवस्था छैन । थोरै जनशक्तिले यो वर्ष आठ लाख भन्दा बढी विद्यार्थीका सबै काम गरिरहेको छ । स्थापनाका वर्षमा न्युन विद्यालय र विद्यार्थी लिएर जन्मेको उमाशिप अहिले आठ लाख विद्यार्थीलाई सेवा दिन सक्षम छ । उच्च माध्यमिक शिक्षा परिषद्लाई सरकारले दिने बजेट भने हिजोदेखि आजसम्म एकैनासको छ ।

उमाशि ऐन लागु भइरहेको करिब डेढ दशकसम्म उमाशिपले कक्षा ११ र १२ खोल्न चाहने विद्यालयलाई आफ्नै हिसाबले अनुगमन, मूल्यांकन गरी दिइने सम्बन्धन ऐन अस्तित्वमै रहेको अवस्थामा जिल्ला शिक्षा कार्यालयको अनुमति लिनुपर्नेलगायत् सरकारी प्रावधान क्रियाशील बनाइएको छ । दोहोरो मापदण्डले गर्दा ११, १२ को शिक्षा स्तरीय हुन सकेको छैन । साउनबाट पढाइ सञ्चालन भएर प्रायजसो विद्यालयमा चैतअघि नै कक्षा ११ र १२ को पढाइ बन्द भइसक्छ भने उता विद्यार्थीले असारसम्मको शुल्क तिर्नुपर्छ । निजीकै हाराहारीमा सामुदायिक विद्यालयले पनि शुल्क लिन्छन् । करिब २ हजार ८ सय सामुदायिक विद्यालयले दश जोड दुई कक्षा चलाउन सम्बन्धन लिएका छन् । उदेकलाग्दो त के छ भने बीस वर्षमा पनि उमाशिपको आफ्नै स्थायी विद्यालय र शिक्षक छैनन् । शिक्षकहरु व्यवस्थापन गर्ने स्थायी संरचना नै छैन । दश कक्षासम्म पढाउने शिक्षकको स्थायी, सरुवा, बढुवा र अरु विभागीय काम कारबाही गर्न शिक्षक सेवा आयोग छ भने विश्वविद्यालय तहमा हरेक विश्वविद्यालयका आफ्नै सेवा आयोग छन् । तर कक्षा ११ र १२ मा पढाउने शिक्षकको स्थायी र अन्य पदपूर्तिलगायत्का काम गर्ने निकाय नै छैन । वास्तवमा यसले पनि उच्च माध्यमिक तहको शिक्षा साँच्चिकै तदर्थवादमा चलाइएको प्रष्ट हुन्छ ।

राज्य गम्भीर हुन्थ्यो भने के दुई दशकसम्म शिक्षक आपूर्ति गर्ने सेवा आयोग बनाइनुपर्दैनथ्यो ? सामुदायिक उमाविका स्थायी शिक्षकले कक्षा ११ र १२ मा अध्यापन गराएवापत अतिरिक्त तलब, भत्ता र चाडवाड खर्चको सुविधा लिएका छन् ? कतिसम्म भने स्थायी शिक्षकले ११ र १२ कक्षामा अध्यापन गराएवापत ग्रेड सुविधा पनि लिएका प्रमाण छन् । यो भ्रष्टाचार हो कि हैन ? यसरी खाने र खुवाउने दुवै दण्डका भागिदार हुन् । यो घामजत्तिकै छर्लङ्गै छ । एक व्यक्ति दुई पद कुनै पनि सेवामा छैन । शिक्षक सेवा र निजामती सेवा कहीँ पनि यस्तो प्रावधान छैन । र, फेरि एउटा सेवाबाट आएकाहरु चाहे जतिसुकै योग्यताकै भए पनि माथिल्लो किसिमको पद वा श्रेणीमा अटोमेटिक जान सक्दैनन् तर सामुदायिक उमाविमा यस्तै भइरहेको छ । एउटै विद्यालयमा एउटै शिक्षक स्थायी र निजी स्रोतको पनि कसरी हुनसक्छ ? प्राथमिक तहमा स्थायी भएको शिक्षकले निमावि वा माविमा वा निमाविकोले माविमा आफ्नो योग्यता छ भने अध्यापन गराउँदा अतिरिक्त तलब वा सुविधा लिन नपाउने तर विभिन्न तहमा स्थायी भएका तर कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकले चाहिँ पिरियडअनुसार तलब लिने कहाँको नियमले मिल्छ ? के विद्यालयको कोषमाथि यसरी मनपरी गर्न पाइन्छ ? यसरी मनपरी हुनुले पनि तदर्थवादको छनक मज्जाले दिन्छ ।

नेपालका सामुदायिक उमाविमा अख्तियारले छानविन गर्नुपर्छ । यो कार्य निकै ढिलो भइसकेको छ । बीस वर्षसम्म नेपालको उच्च माध्यमिक शिक्षा संक्रमणकालीन अवस्थामा रहनै सक्दैन । यसमा राज्यको दृष्टिगोचर पुग्नुपर्छ । उसका प्रोग्राम विद्यालयहरुले किनेका आधारमा विद्यार्थी र कार्यक्रम मात्रै उमाशिपको भएका हुन् । यसैले नेपालले दुई दशकसम्म उच्च माध्यमिक तहको शिक्षालाई तदर्थवादमा सञ्चालन गरिरहँदा यसको असर उच्च शिक्षामा पनि पर्न गएको छ । गुणात्मक जनशक्ति उत्पादन हुन नसक्दा उच्च शिक्षामा अनुत्तीर्ण दर बढेको छ ।

विदेशमा विश्वविद्यालयले कक्षा ११ र १२ को अध्यापन गराउँदैनन् भन्ने मान्यताले मात्रै नेपालले कक्षा ११ र १२ लाई विद्यालय तह मानेर सञ्चालन गरिरहनु कि यसमा सामयिक सुधार गर्नु ? यो समकालीन प्रश्न हो । शिक्षा ऐन २०२८, उमाशि ऐन २०४९ र विद्यालय क्षेत्र सुधार कार्यक्रम गरी तीनथरी फरकफरक प्रकृतिका नियम र मापदण्डअनुसार कक्षा ११ र १२ सञ्चालन भइरहनु हँुदैन । शिक्षा ऐन २०२८ अुनसार नेपालको विद्यालय तहको शिक्षा चले पनि विद्यालय क्षेत्र सुधार कार्यक्रमले अपेक्षा गरेको विद्यालीय तह सो ऐनमा छैन । यसर्थ शिक्षा ऐन तत्काल संशोधन गर्नुपर्छ । ऐन एकातिर र व्यवहार अर्कोतिर गर्न खोज्दा दश जोड कार्यक्रमले दुई दशकमा अपेक्षाकृत गति लिन नसकेको स्वीकार्नुपर्छ । दश जोड दुई हैन, माध्यमिक तह हो भन्ने र गर्ने, अनि दश जोड दुई नै हो पनि भन्ने र गर्ने व्यवस्था तत्काल अन्त्य हुनुपर्छ । उच्च माध्यमिक शिक्षामा गरिएको यस किसिमको तदर्थवादका कारण भविष्यमा दुःख पाउनुपर्ने अवस्था अन्त्य गरिनुपर्छ । उता लोकसेवा आयोगमा अहिलेसम्म पनि एसएलसी उत्तीर्णपछि खरिदार परीक्षामा आवेदन गर्न पाउने व्यवस्था गरेकाले विद्यालय तहको अन्तिम बिन्दु एसएलसी हो वा १२ कक्षा उत्तीर्ण कुनचाहिँ हो भन्ने रहेको छ ।

उच्च माध्यमिक तहको पठनपाठन हुन सुरु भएपछि नेपालमा विद्यालय छाडेको प्रमाणपत्र दुईपल्ट लिने÷दिने गरेको पाइन्छ । प्रवेशिकापछि दिइने विद्यालय छाडेको प्रमाणपत्र र १२ कक्षा उत्तीर्ण गरेपछि दिइने प्रमाणपत्र दुवैमा विद्यालय छाडेको संकेत गरिन्छ । पछिल्लोपटक दिने हो भने अघिल्लोपटक किन दिने ? वा, अघिल्लोपटक दिइसकेपछि पछिल्लोपटक किन दिने ? नाम र काम गराइको पद्धति मिल्नुपर्छ कि पर्दैन ? दुईपल्ट विद्यालय छाड्ने कस्तो प्रावधान हो ? कुरा सामान्य भए पनि यसले गौण महŒव राख्न सक्छ । आखिर विद्यालय छाडेको प्रमाणपत्र किन दुईपटक आवश्यक छ ? यसैगरी सबै माध्यमिक विद्यालयलाई उच्च माध्यमिक तह बनाउँदा फिडर विद्यालयहरुको अभाव रहन सक्छ । यसमा पनि ध्यान दिनुपर्छ । नक्सांकनको आधारमा मात्र विद्यालयलाई उच्च माध्यमिक तह सञ्चालन गर्ने नीति बनाउनुपर्छ ।

शिक्षा मन्त्रालयको संरचनाभित्र उमाशिप ल्याउने हो भने त्यहाँका कर्मचारीलाई गोल्डेन ह्याडसेकको अवसर दिनुपर्छ । उनीहरुमाथि न्याय गर्नुपर्छ । शिक्षक व्यवस्थापन र तालिम, परीक्षा, पाठ्यक्रम, स्थायी सम्बन्धनलगायत् काममा हालका शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति तालिम केन्द्र, शिक्षक सेवा आयोग, सुपरीवेक्षण जस्ता महत्वपूर्ण कार्यमा एकाइदेखि केन्द्रसम्म ती निकायको स्रोत, साधन, जनशक्ति र क्षमता बढोत्तरी गरेर अघि बढ्न सकिन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...