Skip to main content

दाङमा सामुदायिक विद्यालयका बजेट दुरुपयोग


दाङ, मङ्सिर १५ गते  ।  दाङका विभिन्न सामुदायिक विद्यालयहरूमा बर्सेनि करोडौँ रुपियाँ बजेट जाने गरे पनि त्यसको खासै सदुपयोग नभएको पाइएको छ ।  जिल्ला शिक्षा कार्यालय दाङको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा पठाइने बजेटको सदुपयोग नभएको जिल्लाका सरोकारवालाहरू बताउँछन् ।  
हरेक वर्ष शिक्षा कार्यालयले विभिन्न शीर्षकमा विद्यालयलाई बजेट पठाउँदै आएको छ ।  कार्यालयका अनुसार विद्यालयमा दिवा खाजा, कम्प्युटर शिक्षा, मुक्तकमलहरी छात्रवृत्ति, बाल विकास केन्द्र अनुदान, छात्रा छात्रवृत्ति, दलित छात्रवृत्ति, माध्यमिक शिक्षा छात्रवृत्ति कार्यक्रमका लागि बजेट पठाउने गरिएको छ ।  त्यस्तै विद्यालय कर्मचारी अनुदान, अपाङ्ग विद्यार्थीलाई छात्रवृत्ति, भौतिक पूर्वाधार, पाठ्यपुस्तक खरिदलगायतका विभिन्न शीर्षकमा बजेट पठाउने गरिएको जिल्ला शिक्षा कार्यालय दाङका उप–सचिव ओमप्रकाश न्यौपानेले जानकारी दिनुभयो ।  उहाँले शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा छुट्याइएको बजेट विद्यालयको बैंकमा रहेको खातामा निकासा मात्र गर्ने गरेको जानकारी दिनुभयो ।  ‘हामीले सामुदायिक विद्यालयका लागि सरकारले पठाएको बजेट निकासा मात्र गर्ने गरेका छांै, निकासा भएको बजेट सदुपयोग भएको छ या छैन भनी कार्यालयलाई थाहा हुने कुरो भएन’, अगाडि उहाँले भन्नुभयो, ‘यदि बजेट दुरुपयोग भएको भए विद्यालयका अभिभावक, विद्यार्थीले गुनासो गरिहाल्नुहुन्थ्यो नि । ’ 
उप–सचिव न्यौपानेले नयाँ कार्यक्रम सुरु हुँदाखेरी जिल्लाका केही विद्यालयमा निकासा गरिएको बजेटको दुरुपयोग हुने गरेको गुनासो आए पनि अहिले त्यस्ता गुनासा नआएको बताउनुभयो ।  यद्यपि, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले अघिल्ला वर्षहरूमा कार्यालयबाट पठाइने विभिन्न शीर्षकका 
बजेटको दुरुपयोग भएको विषयमा गुनासो आए पनि यस वर्ष कार्यालयमा कुनै गुनासो नआएको दावी गर्नुभयो । 
कार्यालयका अनुसार विभिन्न शीर्षकमा छुट्याइएको बजेटमध्ये यस वर्ष कमलहरी छात्रवृत्तिका लागि विद्यालयमा ३३ लाख रुपियाँ बजेट पठाइने भएको छ ।  कमलहरी छात्रवृत्ति एक हजार आठ सय जनालाई वितरण गरिने कार्यालयले जनाएको छ ।  जसमध्ये कक्षा १–८ कक्षासम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी एक हजार पाँच सय रुपियाँ, ९–१० कक्षासम्मका विद्यार्थीलाई एक हजार आठ सय रुपियाँ, उच्च 
माविका तहका विद्यार्थीलाई प्रतिविद्यार्थी पाँच हजार रुपियाँ र स्नातक तहमा अध्ययनरत मुक्त कमलहरीहरूलाई छात्रवृत्ति प्रदान गरिंदै 
आएको छ ।  कार्यालयले देउखुरीको मर्ती होस्टेलमा अध्ययनरत एक सय १० जना पूर्व कमलहरी विद्यार्थीलाई १० महिनाका लागि तीन हजारका दरले रुपियाँ पनि उपलब्ध गराउँदै आएको छ तर, हरेक वर्ष मुक्त कमलहरीको छात्रवृत्ति रकम पठाउँदै आएको शिक्षा कार्यालयले बताए पनि विभिन्न सार्वजनिक कार्यक्रममा मुक्त कमलहरीले पैसा नपाएको गुनासो गर्दै आएका छन् ।  
उनीहरूले विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा कार्यालयको मिलेमतोमा विद्यार्थीलाई प्रदान गरिने विभिन्न किसिमका छात्रवृत्तिमा अनियमितता हुने गरेको आरोप लगाउँदै आएका छन् ।  
त्यस्तै जिल्लाका चार सय २४ वटा सामुदायिक विद्यालयलाई विद्यालय कर्मचारी अनुदानअन्तर्गत मावि र उमावितर्फ वार्षिक एक लाख ७५ हजार रुपियाँ, निमावितर्फ ७५ हजार रुपियाँ, १–७ कक्षासम्म सञ्चालित विद्यालयलाई ३९ हजार रुपियाँ र चार कक्षासम्म सञ्चालित विद्यालयलाई २७ हजार रुपियाँका दरले बजेट विद्यालयको खातामा निकासा गरिने बताइएको छ ।  
शिक्षा कार्यालयले दिवा खाजा कार्यक्रम एक सय ३७ वटा विद्यालयमा लागू भएको जानकारी दिएको छ ।  उक्त कार्यक्रमबाट १८ हजार ११ सय ८५ जना विद्यार्थीलाई विद्यालय सञ्चालन भएको प्रतिदिन १२ रुपियाँका दरले खाजा रकम प्रदान गरिने कार्यालयको भनाइ छ ।  
यसैगरी विद्यार्थीको पाठ्यपुस्तक खरिदका गर्न प्राथमिक तहमा ४२ हजार पाँच सय ५५ जनाका लागि ७१ लाख ४० हजार रुपियाँ, निमावि तहमा ३० हजार चार सय २९ जना विद्यार्थीका लागि एक करोड १५ लाख ११ हजार रुपियाँ र मावि तहमा १४ हजार सात  सय ६ जना विद्यार्थीका लागि ६३ लाख ४५ हजार रुपियाँ उपलब्ध गराइएको छ ।  
शिक्षा कार्यालयका उप–सचिव न्यौपानेका अनुसार सम्बन्धित विद्यालयका नाममा रहेका 
खाताहरूमा विभिन्न शीर्षकका बजेट निकासा गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।    

source:www.gorkhapatraonline.com

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव