Skip to main content

प्रमाणपत्र लिन अनिवार्य स्वयंसेवाको तयारी

education-ministry

भवानीश्वर गौतम/नयाँ पत्रिका
१३ पुस, काठमाडौं ।

उच्च शिक्षामा अध्ययन गरेर एउटा तह सकिएपछि प्रमाणपत्र लिनुअघि विद्यार्थीले अनिवार्य स्वयंसेवा गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालय उच्च माध्यमिक, स्नातक र स्नातकोत्तर तह अध्ययन गरिसकेपछि विद्यार्थीलाई अनिवार्य रूपमा सेवा गर्नुपर्ने कार्यविधि तयारमा लागेको छ । कुनै तहमा अध्ययन गरेर उत्तीर्ण भइसकेपछि ‘डिग्री अवार्ड’ लिन कस्तो सेवा गर्नुपर्ने भन्ने कार्यविधि निर्माण गर्न शिक्षा मन्त्रालयले समितिसमेत गठन गरिसकेको छ । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा राष्ट्रिय शिक्षा स्वयंसेवासम्बन्धी कार्यविधि बनाउन समिति गठन भएको हो ।

समितिमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायतका प्रतिनिधि छन् । आगामी शैक्षिक सत्रबाट कुनै न कुनै तहबाट अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा लगिने गरी कार्यविधि निर्माणको काम समितिले गरिरहेको छ ।नेपालको शिक्षा व्यावहारिक र जीवनोपयोगी नभएको आलोचना भएपछि एउटा तह सकेका विद्यार्थीलाई व्यावहारिक र अनुभवी बनाउन शिक्षा मन्त्रालयको अग्रसरतामा अनिवार्य सेवाको व्यवस्था लागू गर्न लागिएको हो । शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता महाश्रम शर्माले शिक्षालाई रोजगारी र जीवनपद्धतिसँग जोड्न राष्ट्रिय शिक्षा स्वयंसेवासम्बन्धी कार्यविधि बनाउन लागिएको बताए ।

‘विद्यार्थीले अनिवार्य सेवा गर्नुपर्ने विषयलाई पाठ्यक्रममा राख्न विश्वविद्यालयहरूसँग समेत छलफल भएको छ । कुन तहका विद्यार्थीले कसरी र कति समय सेवा गर्नुपर्ने भन्ने टुंगो लागिसकेको छैन,’ प्रवक्ता शर्माले भने, ‘सेवा गरेपछि मात्र कुनै तह पूरा गरेको ठहरिनेछ ।’ अहिले नाममा ‘स्वयंसेवासम्बन्धी कार्यविधि’ भनिए पनि विद्यार्थीले अनिवार्य सेवा गर्नुपर्ने व्यवस्था हुने शर्माले बताए ।

कार्यविधि बनेपछि प्राविधिक जनशक्ति मात्रै नभएर गैरप्राविधिक जनशक्तिले पनि अनिवार्य रूपमा सेवा गर्नुपर्ने हुन्छ । ‘सबै विद्यार्थीलाई एकैचोटि काममा लगाउन सकिँदैन,’ शर्माले भने, ‘छात्रवृत्तिमा पढ्नेबाट सुरु गरेर सबैलाई अनिवार्य गर्छौँ । कसरी कार्यान्वयन गर्ने भन्ने कार्यविधि समितिले बनाउँछ ।’ अनिवार्य सेवाको व्यवस्थापछि विद्यार्थीले कुनै न कुनै प्राविधिक ज्ञान पाउने र यसले उद्यमशील बन्न तथा रोजगार पाउनमा ठूलो भूमिका खेल्ने शिक्षा मन्त्रालयको विश्वास छ । यस्तो सेवालाई अनिवार्य गर्दा दुर्गम तथा पिछडिएका क्षेत्रमा सन्तुलित विकासमा सहयोग पुर्‍याउने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विद्यार्थीले पाएको शिक्षालाई रोजगारी र जीवनपद्धति, स्थानीय समस्यालाई सहजीकरण, पशुपालन, कृषि, पर्यटन, उद्यमशीलता, सूचनाप्रविधिलगायतसँग जोड्न खोजिएको हो । उच्च माध्यमिक तहका विद्यार्थीका लागि स्थानीय तहमा अभिमुखीकरण, साक्षर गराउनेलगायतका समस्यामा केन्द्रित गर्ने विषयमा छलफल भइरहेको छ । शिक्षा मन्त्रालयले विद्यार्थीलाई सेवामा खटाउन केन्द्रीय तहमा संयन्त्रका रूपमा स्वयंसेवा महाशाखा बनाउने तयारीसमेत गरेको छ । आगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयनका लागि विश्वविद्यालयहरू, सेवाप्रदायक तथा सरोकार पक्षसँग बसेर कार्यविधिको अन्तिम टुंगो लगाउने मन्त्रालयको योजना रहेको छ ।

अहिलेसम्म सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीले मात्र शिक्षा मन्त्रालयको सिफारिसमा स्वास्थ्य सेवा विभागले खटाएको ठाउँमा निश्चित समयका लागि सेवा गर्दै आएका छन् ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव