Skip to main content

एसएलसी विद्यार्थीलाई जबर्जस्ती होस्टल

रुबी रौनियार
माघ १४ मंगलबार
काठमाडौं- उपत्यकाका निजी स्कुलले एसएलसी परीक्षा तयारीका नाममा चर्को शुल्क असुलेर विद्यार्थीलाई होस्टल बस्न बाध्य पारिरहेका छन्। त्यस्ता स्कुलले अघिल्लो परीक्षाको नतिजा देखाएर अभिभावकलाई तर्साउँदै एसएलसीमा राम्रो अंक ल्याउने बहानामा आफ्नै होस्टलको व्यापार बढाइरहेका छन्। नजिकिँदो एसएलसीलाई स्कुलले कमाउने माध्यम बनाउँदा अभिभावकमा आर्थिक बोझ त थपिएको छ नै, विद्यार्थी पनि होमसिक (न्यासि्रने) ले सताइएका छन्। अभिभावक भने विरोध गर्दा छोराछोरी फेल गराइदिने डरले चुप बस्नुपरेको बताउँछन्।
कतिपय निजी स्कुलले नयाँ शैक्षिक सत्र सुरु हुनासाथ अर्थात् वैशाखदेखि नै विद्यार्थीलाई होस्टल अनिवार्य बनाएका छन्। केहीले प्रि–सेन्डअप परीक्षाको नतिजालाई आधार बनाएर होस्टल राख्ने तयारी गरिरहेका छन्। 'नपत्याउने गरी कमजोरी देखाउँछन् अनि ९० प्रतिशत अंक ल्याउनुपर्छ भन्दै होस्टल राख्न लगाउँछन्,' एक विद्यालयका अभिभावकले भने। शंखमूलस्थित काव्या स्कुलले वैशाखदेखि नै होस्टल अनिवार्य बनाएको थियो। उक्त स्कुलको होस्टल राख्दा आफ्नो छोरा होमसिक भएर तीन महिना बिरामी परेको एक अभिभावकले सुनाए। 'छोरा यसअघि कहिल्यै होस्टल बसेको थिएन, वैशाखमा एक्कासि होस्टल पठाउँदा उसलाई गाह्रो भयो,' उनले भने। छोरा होस्टल बसेबापत वैशाखदेखि नै उनले मासिक १८ हजार रुपैयाँ बुझाइरहेका छन्। युनाइटेड एकेडेमीका एक अभिभावकले होस्टल राखेपछि छोरीमा मानसिक तनाव उत्पन्न भएको सुनाए। 'होस्टल राख्नाले मानसिक तनावले उल्टै पढाइ बिग्रियो,' ती अभिभावकले भने, 'अब त झन् रिजल्ट बिग्रेला कि भन्ने पिर बढेको छ।' दोस्रो त्रैमासिक परीक्षाको नतिजा आउनासाथ युनाइटेडले विद्यार्थीलाई होस्टल अनिवार्य बनाएको थियो।
होस्टल राख्न बाध्य पार्नेगरी स्कुलहरूले 'टर्मिनल' परीक्षामा कम नम्बर दिने, अप्ठेरो विषयमा फेल गराइदिने गरेको अभिभावक गुनासो गर्छन्। 'अरूबेला राम्रो पढाउँदैनन्, एसएलसी आउने बेला भएपछि रिजल्ट राम्रो ल्याउने भनेर होस्टल अनिवार्य बनाएका छन्,' एक अभिभावकले भने, 'यसले एकैचोटि धेरै तयारी गर्नुपर्दा विद्यार्थीमा पढाइको भार बढाएको छ, अर्कातिर अभिभावकमा आर्थिक बोझ।' अभिभावकका अनुसार उपत्यकाका युनाइटेड एकेडमी ललितपुरले होस्टलका लागि मासिक १७ हजार, भानुभक्त मेमोरियल स्कुल पानीपोखरीले ७ हजार र गुह्येश्वरी मावि बाँसबारीले ८ हजार २ सय रुपैयाँ शुल्क लिन्छन्। उपत्यकाका अन्य निजी स्कुलले पनि अभिभावकबाट मनोमानी शुल्क असुलिरहेका छन्।
स्कुलहरू भने एसएलसी तयारीका लागि होस्टल व्यवस्था गरे पनि अनिवार्य नगरेको दाबी गर्छन्। काव्य माविका सहायक होस्टल इन्चार्ज दीपेन्द्रकुमार महतोले एसएलसी दिने विद्यार्थीको आवश्यकताका आधारमा होस्टल व्यवस्था गरेको दाबी गरे। 'स्कुलले अनिवार्य गरेको होइन, अभिभावकलाई जानकारी गराएर रुचिअनुसार विद्यार्थीलाई होस्टलमा राखिएको हो,' उनले भने। उनका अनुसार काव्य माविले यस वर्ष एसएलसी दिने ३० विद्यार्थीलाई होस्टलमा राखेको थियो। तीमध्ये चारजनाले बिरामी र होमसिक भएर छाडे। युनाइटेड एकेडमीकी प्रिन्सिपल सीमा राईले 'सेकेन्ड टर्मिनल' परीक्षमा फेल भएका र कमजोर विद्यार्थीलाई अभिभावकको इच्छामा होस्टलमा राखेको बताइन्। 'हामीले अभिभावकसँग परामर्श गरेरै विद्यार्थीलाई होस्टलमा राखेका हौं,' उनले भनिन्। उनका अनुसार युनाइटेडका एसएलसी दिने ७४ मध्ये ५० विद्यार्थी होस्टलमा बसेर तयारी गर्दैछन्। युनाइटेडमा मासिक शुल्क ३ हजार ७ सय ९५ र होस्टल शुल्क १२ हजार ७ सय ६० छ।
गुह्येश्वरी माविका प्रिन्सिपल रविन गुरुङले ९० प्रतिशतभन्दा बढी नतिजा ल्याउन होस्टल व्यवस्था गरेको बताए। 'विद्यार्थीले एसएलसीमा राम्रो गरून् भनेर सबैलाई होस्टल अनिवार्य गरेका हौं,' उनले भने। त्यस स्कुलबाट ११ विद्यार्थीले यसपटक एसएलसी दिँदैछन्। भानुभक्त मेमोरियल स्कुलका प्रिन्सिपल प्रमोद ढुंगानाले पनि ९० प्रतिशत अंक ल्याउने बनाउन होस्टल व्यवस्था गरेको बताए। 'अभिभावकको रुचि र विद्यार्थीको आवश्यकताका आधारमा होस्टलको व्यवस्था गरेका हौं, बाध्य पारिएको होइन,' उनले भने।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले एसएलसी तयारीकै लागि होस्टल अनिवार्य गर्ने स्कुललाई कारबाहीको दायरामा ल्याउने बताए। 'सरकारी शिक्षा नीति–नियममा होस्टल शुल्कको सीमांकन गरिएको छैन। त्यसैले मनोमानी असुली भइरहेको छ,' उनले नागरिकसँग भने, 'होस्टल शुल्कको सीमा निर्धारण गर्न जरुरी छ।' अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले स्कुलले होस्टल अनिवार्य गरेर अभिभावक र विद्यार्थी दुवैलाई तनाव दिएको बताए। 'अभिभावकको रुचिमा होस्टल राख्नु उचित हो, तर अनिवार्य गरेर अभिभावकको थाप्लोमा थप आर्थिक बोझ दिँदा गैरकानुनी र अमानवीय हुन्छ,' भण्डारीले भने, 'बढी नम्बर ल्याउने लोभ देखाएर 'गोरुजोताइ' पढाउँदा बालबालिकामा नकारात्मक असर पर्छ।'

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...