Skip to main content

सामुदायिक विद्यालय ओरालो लाग्नुका १० कारण


Raju-paudel
राजु पौडेल
विहीबारदेखि देशैभरिका सामुदायिक एवं निजी विद्यालयका विद्यार्थीहरु एसएलसी परीक्षामा सामेल भइरहेका छन् । तर, पछिल्लो समय समाज र मानव जीवनलाई कायापलट गर्न सक्ने धेरैजसो सामुदायिक विद्यालयहरु अचेल ओरालो लाग्दै गइरहेका छन् । राज्यले वर्षैपिच्छे ठूलो धनराशी शिक्षामा छुट्याइरहेको छ । तर, राज्यद्वारा उपलब्ध गराइएको र विभिन्न दातृ निकायबाट शिक्षाका नाममा आउने ठूलो धनराशी बालुवामा पानी हालेझैं भएको छ ।
आखिर किन यसरी राज्यको स्रोत बालुवामा पानी मिसाए झैं भइरहेछ ? अधिकांश सामुदायिक विद्यालयहरु ओरालो लाग्नुका केही कारणहरु यस्ता छन्-
 निस्प्रभावी शिक्षा नीति :
राज्यले शिक्षालाई प्रभावकारी बनाउन विभिन्न ऐन, कानून तथा नीति नियम बनाएको भएपनि ती नीतिहरुलाई प्रभावकारी रुपमा कार्यावयन गर्न नसक्दा ती सबै पक्षहरु निस्प्रभावी बनिरहेका छन् । जसका कारण सामुदायिक विद्यालयहरुको स्तर गिर्दै गइरहेको र राज्यले खर्च गरेको ठूलो धनराशीले उपलब्धि हासिल गर्न नसकिरहेको अवस्था विद्यमान छ ।
 पुराना शिक्षकहरुले जागिर ओगट्ने प्रवृत्ति :
पुराना र उमेर पुगेका पाका शिक्षकहरुले जागिरमा झुण्डिइरहने प्रवृत्ति वा संस्कारले युग सापेक्ष शैक्षिक सुधार ल्याउन कठिन बनाइरहेको छ । सरकारी नीति अनुसार उमेरले थेगञ्जेलसम्म विद्यालय धाइरहने बानी परेका पाका शिक्षकहरु जति पुनर्ताजगी तालिम लिए पनि आफूमा थप सुधार गर्न पनि नसक्ने र जागिर छाडेर नयाँ क्षमतावान् मान्छे आउने बाटो पनि बन्द गराइदिनाले सामुदायिक विद्यालयहरुको स्तर वृद्धि गर्न हम्मे हम्मे परिहेको अवस्था छ ।
नयाँले ठाउँ नपाउँदा र पुरानाले ओगट्ने प्रवृत्ति हावी भइरहँदा अंग्रेजी माध्यममा पठनपाठन गराउन र नयाँ सीप र प्रविधिमा विद्यार्थीहरुको पहुँच पुर्‍याउन समेत कठिन भइरहेको छ ।
शिक्षकहरुले कर्मचारीसँग जागिरको तुलना गर्नु :
नेपाल सरकारको शिक्षक सेवामा रहेका शिक्षकहरुले जागिर पाएपछि जागिरप्रति हेलत्व भाव दर्शाउने गरेको पनि पाइन्छ । आफू कुन पेशामा लाग्दैछु र त्यहाँको सेवा सुविधा के हो भन्ने प्रष्ट बुझेर शिक्षक पेशा अँगाल्नेहरु पनि जागिर हातमा परेपछि बढी महत्वकांक्षा राख्ने र कर्मचारीहरुको सेवा सुविधा र भत्तासँग आफ्नो जागिर दाँज्ने प्रवृत्तिले उनीहरुमा थप नैराश्य पैदा गरेको छ ।
कर्मचारीहरुले पाउने सेवा सुविधा र अन्य भत्ता शिक्षकहरुलाई नभएको भन्दै शिक्षण पेशामा आलटाल गर्ने र छली टोपल्ने प्रवृत्ति पनि हावी भइरहेको देखिन्छ । आफू जुन पेशामा लागियो, त्यो पेशाको धर्म र मर्मअनुसार काम गर्न नसक्दा र कर्मचारीहरुको डाह गर्ने प्रवृत्तिले केही शिक्षकहरुलाई ग्रसित बनाएकै कारण समेत सामुदायिक विद्यालयहरुको स्तर खस्कन गएको हो ।
 सरकारको फितलो अनुगमन :
सरकारी नीति, नियम बनाएको भएपनि त्यो कार्यान्वयन भए नभएको अनुगमन नगरिँदासमेत सामुदायिक विद्यालयको स्तर खस्कदै गएको अनुमान गर्न सकिन्छ । विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया, शिक्षक नियुक्तिदेखि स्वयं शिक्षकका काम, कर्तव्य र अधिकारका क्षेत्रमा स्पष्ट व्याख्या भए पनि त्यसको उचित र सही कार्यान्वयन भए नभएको हेर्ने जिम्मेवार निकायले अनुगमन नगर्दा र गरिहाले पनि उचित कारवाहीको व्यवस्था हुन सकेको छैन । जसका कारण सार्वजनिक विद्यालयहरु थप निचोरिन, चिथोरिन र चिमोटिन बाध्य भएका छन् ।
छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्ति
शिक्षकहरुले आफूले सामुदायिक विद्यालयमा पढाउने तथा आफ्ना नानी बाबुहरुलाई निजी विद्यालयमा पढाउने प्रचलन देशैभरि व्याप्त छ । यसरी आफूले अध्यापन गराउने विद्यालयमा बालबच्चा नपढाइकन अन्यत्र पढाउने गरिरहँदा अभिभावकहरुको सामुदायिक विद्यालयप्रति साँच्चै नकरात्मक धारणाको विकास भएको छ ।
यदि सामुदायिक विद्यालयमा राम्रो पठनपाठन हुने भए त आफ्ना छोराछोरीहरु पनि पढाउँथे नि भन्ने भावनाको विकास भएका कारण सामुदायिक विद्यालयहरुप्रतिको विश्वास अभिभावकमा घट्दै गइरहेको छ । स्वयं शिक्षकले पनि आफ्ना बाबुनानीहरु नभएपछि त्यस विद्यालयको पठन-पाठनमा समेत यथेष्ट चेष्टा गरेको भेटिंदैन ।
शिक्षकहरु राजनीतिमा केन्द्रित  हुने प्रचलन :
राज्यका अधिकांश सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले राजनीतिक पार्टीको राजनीति धानिरहेका छन् । प्राथमिक विद्यालयदेखि उच्च मावि तथा क्याम्पस पढाउने प्राध्यापक समेतले राजनीतिक पार्टीको भातृसंस्थामा लागेर वा राजनीतिमै रहेर पनि काम गरिरहेको अवस्था विद्यमान छ ।
शिक्षकले राजनीतिक पार्टीका कुनै पनि पदमा रहेर काम गर्न नपाइने नियम, कानून राज्यले बनाएको छ । तर, त्यसको पालना गर्ने हिम्मत न शिक्षकहरुमा छ, न त त्यो कार्यान्वयन गराउने क्षमता सरकारमा नै छ । जसका कारण राजनीतिक दलहरुले आफ्नो पोल्टामा जनता पट्याउनका लागि शिक्षकहरुलाई साधनको रुपमा प्रयोग गरिहेका छन् र शिक्षामा राजनीति गरिरहेका छन् ।
 शिक्षकहरुको बेग्लै धन्दा
सरकारी विद्यालयका शिक्षकहरुले व्यापार व्यावसाय गर्ने, र र्फम चलाउने प्रवृत्तिले गर्दा उनीहरुको विद्यालयप्रतिको चासो र लगाव कम हुन जान्छ । केही ग्रामीण इलाकामा कार्यरत शिक्षकहरुले पसल सञ्चालन गर्ने र विद्यालयबाट समय मिलाएर व्यवसायमा समेत सपोर्ट गर्ने गरेका कारण समेत यस्ता समस्याहरु आउने गरेका छन् ।
शहरबजारमा समेत निजी व्यवसायलाई बढी महत्व दिने र जागिरलाई ‘सरकारी काम, कहिले जाला घाम’ गर्ने प्रवृत्ति भएका कारण सामुदायिक विद्यालयहरुको स्तर खस्कँदै गएको छ ।
 घरपायक जागिर :
शिक्षकहरुलाई घरको नजिक पर्ने विद्यालयमा पढाउने वातावरण एक हदसम्म त ठिकै हो । तर, यसका नराम्रा पक्ष पनि देखापर्दै गइरहेका छन् । केही शिक्षकहरुले कार्यालय समय र सरकारी नियमको समेत उल्लंघन गर्ने गरेका घटनाहरु यदाकदा देख्न पाइन्छ । विद्यालय सञ्चालन भइरहेका अवधिमा पसलमा आएर सामान विक्री गर्ने, घाँस दाउरा बनाउन जाने, खाजा खाने निहुँमा घरमा जाने र घरको कामधन्दा सकेर अबेर मात्र विद्यालय र्फकने गरेका कुराहरु समेत देख्न र सुन्न पाइन्छ । यी र यस्तै कारणले गर्दा घरपायकको जागिरको फाइदा लिएर सरकार र विद्यार्थी तथा अभिभावक ठग्ने प्रवृत्ति हावी हुँदै गइरहेको छ ।
 निजी विद्यालयको मन लोभ्याउने नारा :
सामुदायिक शिक्षण संस्थाहरुको पठन-पाठन क्रमशः बिग्रँदै गइरहेका बेला निजी विद्यालयहरुले मन लोभ्याउने नारा दिने र अभिभावक तथा विद्यार्थीहरुलाई आकर्षण गर्ने विभिन्न कार्यक्रमहरु ल्याइरहनाले सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा सबैको आस्था र विश्वास बढ्दै जान थालेको हो ।
जब विद्यार्थीहरु सरकारी विद्यालयमा घट्दै जान थाल्छन् र शून्य हुने अवस्थाको सिर्जना हुन्छ । यसले गर्दा स्वतः सामुदायिक विद्यालयमा अध्ययन गराउने शिक्षकहरुको समेत मनोबल कमजोर हुँदै जान्छ, जसका कारण थप नैराश्य उत्पन्न भई सामुदायिक विद्यालयहरुको पठनपाठन समेत झन् कमजोर हुँदै जान्छ र गइरहेको छ ।
 युगसापेक्ष अद्यावधिक हुन नसक्नु : 
निजी विद्यालयहरुमा युग सापेक्ष सीप तथा प्रविधि भित्र्याइरहँदा कतिपय सामुदायिक विद्यालय भने ढुंगे युगबाट गुजि्ररहन बाध्य छन् । जसका कारण सामुदायिक विद्यालयको स्तर खस्केको र निजी विद्यालयमा आकर्षण बढेको हुन सक्छ । त्यसका लागि सामुदायिक विद्यालयहरुलाई समेत निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सीप र पं्रविधिमा सहयोग उपलब्ध गराउनुपर्ने देखिन्छ ।
यी विभिन्न तथ्यहरुका कारण सामुदायिक विद्यालयहरुको स्तर खस्किरहेको अवस्थामा उल्लेखित बुँदाहरुमा केन्दि्रत रहेर सामुदायिक विद्यालयमा पुनः विद्यार्थीहरु फर्काउने र समाजको चेतनास्तर माथि उठाउँदै भएका नीति नियमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आज र अहिल्यैदेखि जुटने हो कि ?
- शिवालय-८, कुश्मा, पर्वत

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...