विनय कसजु
नेपालमा एसएलसी परीक्षाको इतिहासमा पहिलो पटक परीक्षार्थीहरुलाई खानतलासी लिएर परीक्षा केन्द्रमा प्रवेश दिइयो । परीक्षामा आफ्ना छोराछोरीलाई चिट चोराउन अभिभावकहरुको भीडै लाग्यो । यस्तै विवादमा प्रहरीले हतियारको पनि प्रयोग गर्नु पर्यो ।
आफ्ना सन्तानलाई चोर बन्न सिकाउने अभिभावकहरुले आफ्ना छोराछोरी मात्रै होइन हाम्रो समाज र देशलाई कस्तो बनाउन खोजेका होलान भन्ने सम्झेर दिक्क लाग्यो । अनि चोरकी आमाको कथा सम्झेँ जो यस्तो छः
चोरकी आमा
“आमा, मैले के भेट्टाएँ हेर्नुस् त !” विप्लवले स्कुलबाट आउँदा आउँदै भन्यो ।
“के ल्याइस् बाबु ? खोइ देखा त,” आमाले सोधिन् ।
विप्लवले झोलाबाट खेलौना मोटर झिकेर आमालाई देखाउँदै भन्यो, “हेर्नुस् त कति राम्रो मोटर ! दम दिएर चल्छ ।”
उसले मोटरमा दम दियो र भुइँमा राख्यो । मोटर कररर कराउँदै एकै छिन गुड्यो र भित्तामा ठोक्किएर रोकियो ।
“कहाँबाट ल्याइस् यस्तो राम्रो खेलौना ?” आमाले सोधिन् ।
“विकासले खेल्दा खेल्दै स्कुलमै छोडेको रहेछ । अनि उसलाई चहिँदैन होला भनेर मैले ल्याएँ ।”
“बेसै भयो । तँलाई खेलौना मोटर किन्न मन लागेको थियो । पाइहालिस् अब खेलौना किनिदेऊ भनेर कचकच नगर," भन्दै आमा काममा लागिन् ।
केही दिन पछिको कुरा हो एक दिन विप्लवले कुखुराको फुल लिएर आयो । उसले भन्यो, “आमा मलाई फुल खान मन लागेको थियो । बाटोमा यो फुल भेट्टाएर ल्याएँ । पकाइदिनुस् न है !”
आमाले खुशी हुँदै फुल लिएर भान्छामा गइन् र फुल पकाउन थालिन् ।
केही दिनपछि विप्लवले कुखुराको भाले समातेर ल्यायो । उसले भन्यो, “आमा मैले यो भाले बाटोमा भेट्टाएर ल्याएको । आज यसको मासु खाउँ है ।”
“कस्तो राम्रो काम गरिस् बाबु । मलाई कत्ति दिन भयो कुखुराको मासु खान मन लागेको थियो,” भन्दै आमाले पानी तताउन थालिन् ।
एक दिन विप्लवले हजार रुपैयाँको नोट ल्याएर आमालाई दिँदै भन्यो, “आमा आज मैले बाटोमा पैसा भेट्टाएँ । अब तपाईँले राम्रो लुगा किन्नुस् है ।”
विप्लवको कुरा सुनेर आमा खुशी भइन् । त्यो दिन उसलाई अरु दिन भन्दा मिठामिठा खाने कुरा पकाएर ख्वाइन् ।
केही दिनपछिको कुरा हो । केही प्रहरीहरु विप्लवको घरमा आए । घरमा आमा मात्रै थिइन् ।
“विप्लव भन्नेको घर यही हो ?” प्रहरीले सोधे ।
“हो बाबु । किन आउनु भएको ? विप्लव त घरमा छैन,” आमाले डराउँदै भनिन् ।
“ऊ त प्रहरीको खोरमा छ । उसले चोरेको सामान केके छ भनेर खान तलासी गर्न आएको हामी,” प्रहरीले भने ।
प्रहरीको कुरा सुनेर आमा छाँगोबाट खसेजस्तै भइन् । उनले रुँदै भनिन्, “मेरो छोरा कति जाति छ । तपाईँहरु झुक्किनु भयो होला । मेरो विप्लवले कहिल्यै चोर्दैन ।”
तर प्रहरीले आमाको कुरा पत्याएन । उनीहरुले विप्लवको कोठाबाट थुप्रै चोरीका सामान भेट्टाए र लिएर गए ।
आमा पनि प्रहरीको पछि लागेर प्रहरी चौकीमा गइन् ।
खोरमा थुनिएको विप्लवले आमा आएको देख्यो । उसले नजिकै उभिएको प्रहरीसँग अनुरोध गर्यो, “प्रहरी दाइ, मेरी आमासँग मैले जरुरी कुरा गर्नु छ । उहाँलाई नजिकै बोलाइ दिनुस्न है ।”
प्रहरीले उसको कुरा मानेन । तर आमाले पनि धेरै अनुरोध गरेपछि प्रहरीले आमा छोरालाई भेट्न दियो ।
“आमा नजिकै आउनुस् न । मैले तपाईँसँग जरुरी कुरा गर्नु छ,” भन्दै विप्लवले आमालाई खोरको नजिकै बोलायो ।
“के कुरा हो र बाबु ?” भन्दै आमा खोरको डण्डीको बीचमा कान राख्दै विप्लवले के कुरा भन्छ होला भनेर पर्खिन् ।
अचानक विप्लवले आमाको कान दाँतले बेस्सरी टोकिदियो ।
“ऐया बाबा । के गरेको ? किन मेरो कान टोकेको ?” आमा रुन कराउन थालिन् ।
आमाको कानबाट रगत बगेको देखेर प्रहरीहरु त्यहाँ आए र विप्लवलाई गाली गर्दै भने, “यो त चोर मात्रै होइन बदमास पनि रहेछ । आफूलाई जन्माउने आमाको कान टोकेको हेर त । यसलाई त सिस्नो पानी लाएर पिट्नु पर्छ ।”
प्रहरीको कुरा सुनेर विप्लवले कत्ति पनि नडराइकन भन्यो, “प्रहरी दाइ, मलाई चोर बनाउने यिनै आमा हुन् । मैले सुरुमा सामान चोरेर ल्याउँदा यिनले स्याबासी दिनुको सट्टा गाली गरेको भए आज म चोर बन्ने थिइन । अब मलाई जे सजाय दिनु पर्छ दिनुस् ।”
विप्लवको कुरा सुनेर आमा रुँदै घर फर्किन् । वास्तविक अपराधी को हो भन्ने कुरामा प्रहरी विलखबन्द भयो ।
समाप्त ।
(फेसबुक पेजबाट)