एकदेव अधिकारी |
रवि आज अति खुशी थियो। यो खुशीको कारण थियो आज विद्यालयमा भएको चित्रकला प्रतियोगिता। कक्षा चारमा पढ्ने रवि विद्यालयका अन्य वरिष्ठ विद्यार्थीहरूलाई उछिन्दै प्रथम भएको थियो। पुरस्कार पनि थियो चित्रहरू बनाउनको लागि अभ्यास पुस्तिका र बिभिन्न रङ्गहरूको सेट।
पुरस्कार ऊ आफ्नो बुबालाई देखाउन चाहन्थ्यो। बुबा स्थानीय बजारका एक सफल व्यापारी हुनुहुन्थ्यो र सधैँ बेलुका अबेरमात्र घर आईपुग्नुहुन्थ्यो। ऊसँग समय पनि थियो। खालि पुस्तिका के देखाउनु - सोच्यो त्यही नयाँ पुस्तिकामा आजै विद्यालयमा बनाएको चित्र बनाएर देखाउँछु। हातमुख धोएर खाजा खाइवरी तल्लीन भयो चित्र बनाउन। बनाउँदै जाँदा समय बितेको पत्तै पाएन। साँझपख लोड सेडिङ्गको समय भएकोले मैनबत्ती बालेर चित्र पुरा गऱ्यो। विद्यालयमा बनेभन्दा पनि राम्रो चित्र बनेको थियो।
बेलुका बुबाले आउने बित्तिकै सोध्नुभयो - होमवर्क गरिस त?
ऊ निरूत्तर भयो र पनि हिम्मत गर्दै चित्र देखायो - बुबा आज यो चित्र बनाउँदा बनाउँदै होमवर्क गर्न भ्याइन। भोलि गर्छु।
अचानक कतै बिजुली चम्केझैँ भयो र उसका हात अनायास गाला छाम्न पुगे।
होमवर्क गर्न छोडेर नानाभाँती चित्र बनाएर बस्छस – बुबाको आवाज उसको कानमा गुञ्जदै गर्दा उसले देख्यो बुबाको हातको बेगबाट निक्लेको हावाको झोंकाले नजिकै राखेको मैनबत्ती झ्याप्प निभ्यो र चारैतिर अन्धकार छायो।