Skip to main content

साक्षरता कक्षामा एकै परिवारका दश जना नातिनी पढाउँदै, हजुरआमा पढ्दै


लक्ष्मण पौडेल भैरहवा, बैशाख १६ गते । “नातिनीलाई पढाइयो, अहिले पढाएको काम लाग्यो”–६० बर्ष उमेर काटेकी फुलादेवी चौधरीले खुशी हुँदै भन्नुभयो । रुपन्देहीको बोधबार गाविस बिर्ता गाउँकी फुलादेवी आजभोलि गाउँमा खुलेको साक्षरता कक्षामा अक्षर चिन्दै हुनुहुन्छ । उहाँसँगै एकै परिवारको तीन पुस्ताका दश जना साक्षरता कक्षामा सहभागी छन् । 
  एउटै परिवारका यति धेरै जनाले साक्षरता कक्षामा सहभागी हुनाले निरक्षरको संख्या अत्यधिक भएको संकेत गरेको छ भने अर्काेतिर उनीहरुको यो सहभागिताले गाउँमा संचालन भएको साक्षरता कक्षामा रौनकता थपिदिएको छ । 
  फुलादेवी चौधरीको अगुवाईमा साक्षरता कक्षामा भेटिएका परिवारका अन्य सदस्यहरुमा मत्थी चौधरी, सुनिता चौधरी, आशा चौधरी, कलावतीदेवी चौधरी, बिष्णुदेवी चौधरी, फिरिया चौधरी, अञ्जु चौधरी, रक्ति चौधरी र गीता चौधरी छन् । कक्षामा सहभागी भएकाहरु नाताका हिसाबले हजुरआमा, आमा र बुहारी हुन् । उनीहरुलाई अक्षर चिनाउने जिम्मेवारी नातिनी सुमित्रा चौधरीले पाउनुभएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका अनुसार सरकारले बोधबार गाविसमा मात्रै अहिले २५ सय २९ जना निरक्षरलाई साक्षरता कक्षा मार्फत पढ्ने अवसर प्रदान गरेको छ । 
  “पढ्न मन लाग्यो, त्यसैले कक्षामा पढ्न आएँ”–साक्षरता कक्षामा भेटिनुभएकी फुलमायाले भन्नुभयो–“बुढेसकालमा अक्षर चिन्दा रमाइलो लागिरहेको छ ।” आफुले भर्खर अक्षर चिन्न लागेको भएपनि नातिनीलाई पढाएर ठूलो काम गरेको आफूलाई लागेको फुलादेवीले बताउनुभयो । “हामीले त भर्खर अक्षर चिन्दैछौं”–फुलादेवीले भन्नुभयो–“नातिनीले हामीलाई सिकाउँदै छे ।” 
  सहयोगी कार्यकर्ताको रुपमा अक्षर चिनाउँदै गरेकी सुमित्रा चौधरीले पनि आफ्ना हजुरआमा, आमा, भाउजुहरुलाई सिकाउने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । “सिकाउँदै छु, सबै मैले मान गर्ने हुनुहुन्छ”–सुमित्राले भन्नुभयो–“अक्षर चिनाएर निरक्षरता उन्मुलन गर्ने मेरो पनि अठोट छ ।” जिल्ला शिक्षा कार्यालय रुपन्देहीले बिभिन्न संघ संस्था मार्फत गाउँमा सुरु गरेको साक्षरता कक्षामा यस्तै निरक्षरहरु सहभागी छन् । 
  बगाहा गाविसको ढोलपुर गाउँमा संचालन भएको साक्षरता कक्षामा पनि सासु बुहारी सहभागी छन् । सहयोगी कार्यकर्ता बिजय कोहारले संचालन गरेको उक्त कक्षामा सासु साकिरा खातुन र बुहारी अमिना खातुनले नाम लेखाई अक्षर चिन्न कक्षामा धाइरहेका छन् । 
  जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जिल्लाका १९ गाविस र नगरपालिकाको एउटा वडामा साक्षरता अभियानलाई केन्द्रित गरेको सहायक जिल्ला शिक्षा अधिकारी तथा अनौपचारिक शिक्षा प्रमुख मनोज गैरेले बताउनुभयो । उहाँले ती स्थानहमा २० संस्था मार्फत यसबर्ष २७ हजार ७ सय ८० जनालाई अक्षर चिनाउने अवसर प्रदान गरेको जानकारी दिनुभये । 
  उहाँले ती गाविसहरुलाई यस बर्ष पूर्ण साक्षर गाविसको रुपमा घोषण गर्ने कार्यक्रम शिक्षा कार्यालयको योजना रहेको बताउनुभयो । कार्यक्रम सञ्चालन गरेका संस्थाका साक्षरता कक्षाहरु अर्को संस्थाबाट निरीक्षणको व्यवस्था गरिएको र अधिकतम् रुपमा सामुदायिक अध्ययन केन्द्रहरुले साक्षरता कक्षा संचालन गरेको हँदा कार्यक्रम सफल हुने बलियो आधार रहेको गैरेको भनाइ छ । सन् २०१५ सम्म सबैको लागि शिक्षा भन्ने नारालाई प्रतिबद्धता जनाए अनुसार सरकारले बिगतका बर्षदेखि साक्षर नेपाल अभियानको कार्यक्रम संचालन गर्दै आएको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...