Skip to main content

‘होस्टेल’ भित्रको भविष्य !


शरदराज सुवेदी, बालबालिकालाई राष्ट्रका कर्णधार मानिन्छ ।  हुन पनि हो, आजका बालबालिका भोलिका राष्ट्रका खम्बा नै हुन् ।  त्यसैले उनीहरूको उचित शिक्षादीक्षा एवं पालन पोषणमा अभिभावकमात्रै नभएर समाज अनि राष्ट्रले पनि योगदान गर्नु आवश्यक छ । 
    बालबालिकाको पहिलो पाठशाला भनेको उनीहरूको घर–आँगन नै हो ।  घरमा पनि आमालाई चाहिं त कुशल शिक्षिका नै मान्ने गरिन्छ ।  आमाले बाल मनोविज्ञानमा पारेको असल छाप बालबालिकाका लागि सधैं सधैंका लागि उत्प्रेरक बन्ने गर्छ ।  बुवाले दिएको स्नेह र आत्मीयता उनीहरूका लागि असल कर्म गर्ने बाटो बन्छ ।  यसरी हेर्दा बालमनोविज्ञानको असल रेखा घर परिवारबाटै कोरिन्छ ।  असल परिवेश भएको घर–परिवारमा हुर्केका बालबालिका यथार्थमै राष्ट्रका असल र कर्मठ नागरिक बन्नेगरेका छन् ।  
यतिबेलाको समाजलाई आधुनिकता एवं भौतिकताले गाँजेको छ ।  त्यसका कतिपय प्रभाव बालबालिकामा नकारात्मकरूपमा समेत परिरहेको छ ।  यस्ता नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन नसकिए उनीहरूमा खराब मानसिकताको विजारोपण नहोला भन्न सकिन्न ।  अभिभावकहरूको वेफुर्सदी र व्यस्त दिनचर्या त्यसमा मलजल गर्न सहायक हुनसक्छ ।  उनीहरूले गलत बाटो समाउनसक्ने बेला नै यही हो ।  यो समयमा अभिभावकले उचित निगरानी गर्न नसके पछुताउनुको विकल्प नरहन सक्छ ।  
अभिभभावकको व्यस्तताले बालबालिकाको शिक्षादीक्षामा उनीहरूले आवश्यक ध्यान दिन नपाउने क्रम हाम्रो समाजमा पनि बढ्दैछ ।  आफ्ना सन्तानलाई आवश्यक मात्रामा समय दिन नभ्याउने÷व्यवस्थापन गर्न नसक्ने अभिभावकका लागि छात्रावास 
(होस्टल) वा बालगृह निर्विकल्प आवश्यकता बन्दै आएका छन् ।  छोराछोरीको लालन पालनलाई जटिल समस्याका रूपमा लिने सहरीया अभिभावकको बाध्यताकै कारण शहरी क्षेत्रमा त्यस्ता होस्टेल वा बालगृह सञ्चालन गर्ने क्रम निकै बढेको छ ।  काठमाडौं उपत्यकामा मात्रै ५०० भन्दा बढी होस्टल र २०० को हाराहारीमा बालगृह सञ्चालनमा रहेको तथ्यांकले पनि अभिभावकको व्यस्ततालाई प्रष्ट गर्छ । 
सन्तानभन्दा ठूलो सम्पति मानिसका लागि अरु के नै हुनसक्छ होला र ? त्यति प्यारा छोराछोरीलाई नचाहँदा नचाहँदै पनि होस्टेल वा बालगृहमा राख्न विवशमध्ये कतिपय अभिभावकले आफ्ना सन्तानलाई राखेका होस्टलका बारेमा जानकारी लिन फुर्सदसमेत निकाल्न नसकेको समेत देखिन्छ ।  अभिभावकले त्यस्ता होस्टलको शैक्षिकवातावरण, भौतिक पूर्वाधार, उनीहरूका साथी संगी, शिक्षक÷शिक्षिका अनि खानपान कस्तो छ भन्ने बारेमा गम्भीरतापूर्वक ध्यान दिएका छन् त भन्ने प्रश्न यतिबेला टड्कारोरूपमा उठ्ने गरेको छ । 
काठमाडौंमा सञ्चालनमा रहेको एउटा गैर सरकारी संस्थाले काठमाडौं उपत्यकामा रहेका होस्टेल र बालगृहको अवस्थाको सूक्ष्म अध्ययन गरेर हालै  सार्वजनिक गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने कतिपय त्यस्ता होस्टल एवं बालगृहको अवस्था बालबालिकामैत्री पाइँदैनन् ।  अभिभावकले सोचे जस्तो वातावरण त्यहाँ उपलब्ध हुन नसकिरहेको अवस्था देखापर्छ ।  बालकेन्द्रित सहरी विपद् जोखिम न्यूनीकरण पहल कार्यक्रम अन्तर्गत गरिएको त्यस अध्ययनमा बालगृह वा होस्टेलको भौतिक पूर्वाधार अत्यन्तै कमजोर पाइएको छ ।  कतिपय होस्टल वा बालगृह कमजोर पूर्वाधार भएका भाडाका घरमा सञ्चालित छन् ।  बालगृह वा होस्टेलका व्यवस्थापकले बालबालिकाको सुरक्षा र विकासलाई भन्दा पनि ‘कमाइ’ लाई नै बढी प्राथमिकतामा राखेको प्रतिवेदनमा उल्लेख छ ।  ‘सानो, घाम पनि नछिर्ने एउटा कोठामा २० जनासम्म बालिबालिकालाई थन्क्याइएको पाइयो’ प्रतिवेदनमा भनिएको छ, ‘त्यो पनि अत्यन्तै कमजोर भाडाको भवनमा । ’
काठमाडौं उपत्यका, विशेषगरी विपद्को अत्याधिक जोखिममा रहेका बालगृह र होस्टेलका बालबालिकालाई प्रकोपको जोखिमबाट जोगाउने उद्देश्यले बालकेन्द्रित सहरी विपद् जोखिम न्यूनीकरण पहल नामक कार्यक्रम सञ्चालन गरिएको छ ।  कार्यक्रमका संयोजक मनोजकुमार बराल बालबालिकालाई राष्ट्रका कर्णधार भनिए पनि यस्ता बालगृह र होस्टलबाट बालबालिकाको शारीरिक, शैक्षिक अनि मानसिक अवस्थामा नकारात्मक असर पर्ने गतिविधि भइरहँदा पनि राज्यका सम्बन्धित निकाय मौन रहने गरेको गुनासो गर्नुहुन्छ । 
सरल र सुरक्षित जीवन बाँच्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।  त्यसैगरी बालबालिकाले उचित शिक्षा, खेलकुद र असल संगतमा हुर्कन  पाउनु पर्छ भन्ने विश्वव्यापी मान्यता रहँदै आएको छ ।  उनीहरूका यी अधिकार सुनिश्चितताका लागि राज्य, समाजका साथै सबैको अहं भूमिका अनिवार्य हुन्छ ।  बालअधिकार र बाल हकहितका लागि नै भनेर स्थापना गरिएका सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि हेक्का राख्नै पर्ने विषय हो यो ।  बाल अधिकार र संरक्षणका काम कागज वा प्रतिवेदनमा मात्रै सिमित राखियो भने त्यो सम्बन्धित संस्था, समाज र राष्ट्रका लागि पनि प्रत्युत्पादक बन्नसक्छ । 
परियोजनाले जनचेतना अभिवृद्धिका साथै त्यस्ता बालगृह र होस्टलको सुधार गर्न ध्यानाकर्षण गराउँदै त्यस्ता भौतिक पूर्वाधारको जाँच गर्ने गरेको जानकारी परियोजनाका इन्जिनियर प्रदीप श्रेष्ठले दिनुभएको छ ।  इन्जिनियिरिङ दृष्टिकोणबाट नियाल्ने हो भने त ती भाडाका होस्टेल र बालगृह तत्कालै बन्द गर्नु पर्ने धारणा उहाँको छ ।  ‘तर, विडम्बना’, उहाँ भन्नुहुन्छ– ‘हामीले जे देख्यौं, त्यो जस्ताको त्यस्तै बाहिर ल्याएका छौं ।  अब सम्बन्धित निकायले के भन्छन्, के गर्छन्, हेर्न बाँकी छ । 
अध्ययन प्रतिवेदनको अर्को निष्कर्ष के रहेको छ भने यस्ता कमजोर भवनमा रखिएका बालबालिका भूकम्प जस्तो विपद्को पनि उच्च जोखिममा रहेका छन् ।  भूकम्प आइहाल्यो भने कहाँ, कसरी उनीहरूलाई बचाउने भन्ने कुराको विषयमा अलिकति पनि ध्यान दिइएको पाइँदैन ।  साँगुरा गल्लीभित्र कमजोर भाडाका घरमा होस्टेल र बालगृह सञ्चालन गर्नु कति ठीक हो ? यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानैपर्ने देखिन्छ ।  विपद् कुनै पनि बेला आइपर्न सक्छ ।   

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...