Skip to main content

चौँरीगाईको रगत बेचेर विद्यालयलाई रु तीन लाख आम्दानी


म्याग्दी,  साउन १३ गते । जिल्लाको पाउद्वार मावि शिख र हिमाञ्चल उच्च मावि  नागीले चौँरीगाईको आलो रगत बेचेर एकै मौसममा रु तीन लाख आम्दानी गरेका छन् । 
शिख–६ स्थित खोप्रालेकमा साताव्यापी रुपमा सञ्चालन गरिएको रगत पिउने मेलाबाट ती विद्यालयले उक्त आम्दानी गरेका हुन् ।
    शिख र राम्चे गाविसमा पर्ने यी दुई विद्यालय सञ्चालनका लागि वर्षको दुईपटक संयुक्त चौँरीपालन समितिमार्फत रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । यसवर्षको पहिलो मौसममा व्यवस्थापन खर्च कटाएर रु तीन लाख १२ हजार आम्दानी भएको समितिका अध्यक्ष रुद्र मगरले जानकारी दिनुभयो । 
    सरकारले विद्यालय सञ्चालनका लागि दरबन्दी उपलब्ध नगराएपछि हिमाञ्चल उच्च मावि नागी र पाउद्वार मावि पाउद्वार सञ्चालनार्थ समाजसेवी महावीर पुनको पहलमा २०५३ सालदेखि यस्तो विकल्प अपनाइएको हो । यसपटक ५५० जनाले रगत पिएको समितिका अध्यक्ष मगरले जानकारी दिनुभयो । 
    समितिले खोप्रालेकमा २५० वटा चौँरी पालेका छन् । उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा, जटामसी, निरमसी र पाँचऔले जस्ता बहुमूल्य जडीबुटी खाएर बाँचेका चौँरीगाईको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नीसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्ती बढ्ने जनविश्वासले हरेक वर्ष सर्वसाधारण चौँरीको रगत पिउन जाने गरेका छन् । 
    प्रतिगिलास रु ८० का दरले रगत बिक्री हुने मेलामा हरेक वर्ष सर्वसाधारणको आकर्षण बढ्दै गएको र मेलाबाट भएको आम्दानीले विद्यालय सञ्चालन गर्न केही सहज भएको पाउद्वार मावि  व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तिलिजाले जानकारी दिनुभयो । 
    यो मौसमको आम्दानीमध्ये व्यवस्थापन खर्च कटौती गरेर दुई विद्यालयलाई रु ८६÷८६ हजार बाँडिएको छ । त्यस्तै दुई जना चौँरी हेरालोलाई रु ७०÷७० हजार तलब उपलब्ध गराइएको संयुक्त चौँरीपालन समितिले जनाएको छ ।  
    साउन ७ देखि ११ गतेसम्म सञ्चालन भएको मेलामा रगत पिउन म्याग्दीका विभिन्न गाविसका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ, कास्की र धादिङबाट समेत सर्वसाधारण खोप्रालेक पुगेका थिए । विशेष प्रकारको छुराको सहयोगले चौँरीगाईको घाँटीबाट २० देखि २५ गिलासम्म रगत निकाल्ने र यसरी रगत निकाल्दा चौँरीगाईको स्वास्थ्यमा कुनै असर नपर्ने समितिका सचिव भीम पुनले बताउनुभयो । रासस 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...