Skip to main content

अयोग्य शिक्षक नहटाउने निर्णय


प्रकृति अधिकारी 
काठमाडौँ, साउन १२ गते ।  शिक्षकका नेताहरूलाई रिझाउन शिक्षा मन्त्रालयले अयोग्य शिक्षकहरूलाई नहटाउने निर्णय गरेको छ ।  मन्त्रालयको पछिल्लो यस निर्णयले स्थायी शिक्षक पदस्थापनामा व्यस्त भइरहेका जिल्ला शिक्षा अधिकारीहरूलाई अलमलमा पारिदिएको छ ।  हाल कार्यरत अस्थायी शिक्षकहरू पटकपटक स्थायी परीक्षामा सम्मिलित भए पनि अनुत्तीर्ण भएकाले उनीहरूलाई अयोग्य भनिँदै आएको छ । 
अझ मन्त्रालयले शिक्षक पदस्थापना गर्ने क्रममा विस्थापित हुनसक्ने अस्थायी शिक्षकलाई तल्लो तह वा राहत अनुदानमा व्यवस्थापन गर्ने निर्णय गरेर सबैलाई चकित पारेको छ ।  जिल्ला शिक्षा अधिकारीहरूले मन्त्रालयको यस निर्णयलाई नियमविपरीत भएको ठह¥याएका छन् । 
मन्त्रालयले यही साउन ८ गते स्थायी शिक्षक पदस्थापन गर्दा सकभर अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरूलाई विस्थापन नगर्ने निर्णय गरेपछि शिक्षा विभागले लगत्तै त्यसलाई देशभरिका जिल्ला शिक्षा कार्यालयहरूलाई परिपत्र गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।  राहत कोटामा शिक्षक नियुक्ति सम्बन्धित विद्यालय व्यवस्थापन समितिले गर्न पाउने व्यवस्था छ तर मन्त्रालयले जिल्ला शिक्षा समितिलाई त्यसको अधिकार प्रत्यायोजन गरेर सरासर कानुन कुल्चिने कार्य गरेको आरोप छ । तर शिक्षा मन्त्रालयका सहसचिव डा. डिल्लीराम रिमालले भन्नुभयो, “लामो समयसम्म काम गरेका अस्थायी शिक्षक छन् ।  उनीहरू निष्कासनमा नपरून् भनेर यस्तो निर्णय गरेका हौँ । ”
मन्त्रालयको यस निर्णयले गर्दा शिक्षा नियमावली र शिक्षक सेवा नियमावलीमा उल्लेख भएको पदस्थापनामा योग्यता प्रणाली र करार योग्यता सूची (रोस्टर)को व्यवस्था कार्यान्वयन हुन नसक्ने स्पष्ट देखिएको छ ।  स्थायी शिक्षक पदस्थापना गर्दा योग्यताअनुसार शिक्षकले चाहेको विद्यालय छनोट गर्न पाउने व्यवस्था छ तर मन्त्रालयको निर्णयका कारण अस्थायीलाई सकभर नहटाउँदा योग्य शिक्षकले विद्यालय छनोट गर्न पाउने अवस्था रहँदैन ।  
त्यस्तै शिक्षक सेवा आयोगले स्थायी शिक्षकको सिफारिससँगै अस्थायी नियुक्ति गर्ने प्रयोजनका लागि वैकल्पिक उम्मेदवारसहितको रोस्टर जिल्लाहरूमा पठाएको छ तर मन्त्रालयले रोस्टरलाई लत्याउँदै विस्थापित हुनसक्ने शिक्षकलाई नै तल्लो तह वा राहत शिक्षकमा नियुक्ति गर्न निर्देशन जारी गरेको छ । 
शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले मन्त्रालयले गरेको निर्णय सुनेपछि आफू आश्चर्यमा परेको प्रतिक्रिया दिँदै मन्त्रालयलाई नियमविपरीत निर्णय गराउन करकापमा पारेर शिक्षक नेताहरूले राजनीति गर्न खोजेको टिप्पणी गर्नुभयो ।  “स्थायीको परीक्षामा पटकपटक अनुत्तीर्ण भएका आफ्ना मानिस विस्थापित हुने भएपछि ऐननियम केही हेरिएन”, उहाँले भन्नुभयो, “स्थायी शिक्षक आएपछि अस्थायी स्वतः हट्ने प्रावधान विश्वभरि नै छ । ”
मन्त्रालयका सहसचिव डा. रिमालले शिक्षा नियमावलीमा जिल्ला शिक्षा समितिलाई दरबन्दी मिलान गर्नसक्ने अधिकार दिएकाले सोहीअनुरूप व्यवस्थापन गर्न खोजिएको तर्क गर्नुभयो । 
आयोगले १२ हजार ७४३ स्थायी शिक्षक सिफारिस गरेको छ ।  ललितपुर, दोलखा, डोल्पा, मनाङलगायतका केही जिल्लाले मात्र शिक्षक पदस्थापना गरेका छन् ।  अधिकांश जिल्लाले यही १३ गतेसम्ममा शिक्षकलाई नियुक्ति दिइसक्नुपर्छ ।  नियमअनुसार जिशिकाले सिफारिस प्राप्त भएको ३० दिनभित्र नियुक्ति नदिए वैकल्पिक उम्मेदवारले अवसर पाउनेछन् । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...