ज्ञानका मन्दिर सबैखाले
यातनाबाट मुक्त हुनैपर्छ
बालबालिकालाई सहज र सकारात्मक वातावरण चाहिन्छ शिक्षा आर्जनका लागि। अर्थात् बालमैत्री वातावरण शिक्षाका लागि पूर्वसर्त हो। बालबालिकालाई जिज्ञासु बन्न प्रोत्साहित गर्ने अनि त्यस्ता प्रयासलाई कुनै पनि रूपमा निरुत्साहित नगर्ने शैलीलाई सिद्धान्तत: सबै विद्यालयहरूले स्विकारेका छन्। शारीरिक यातनाले बालबालिकालाई जिज्ञासु बन्नबाट निरुत्साहित गर्छ एकातिर भने अर्कोतिर परिवार, समाज र राज्यको सबभन्दा बढी सुरक्षा र संरक्षण आवश्यक पर्ने त्यो समूहप्रति खासगरी विद्यालय या शिक्षण संस्थाहरूले पनि संवेदनशीलता देखाउनुपर्छ भन्ने मान्यतालाई विश्वले नै स्विकारेको छ सिद्धान्त:। नेपाल त्यसमा अपवाद छैन।
सिद्धान्त र व्यवहारबीचको अन्तरले सम्बन्धित व्यक्ति, संस्था या नेतृत्वको विश्वसनीयता कम गर्छ। साथै घोषित सिद्धान्त र मान्यताविरुद्धका आचरण स्वाभाविक रूपमा सञ्चारमाध्यमका चासोका विषय बन्ने गर्छन्। महिलालाई बोक्सीका नाममा प्रताडित गरिनु या बालबालिकालाई अनुशासित बनाउने नाममा शारीरिक यातना दिनु सामाजिक, संस्थागत या सम्बन्धित व्यक्तित्वका चारित्रिक विचलनका उदाहरण हुन्। र त्यस्ता व्यवहार व्यक्तिको सम्मान र मर्यादालाई सर्वोपरि ठान्ने अनि कानुनी राज्यको अवधारणामा सञ्चालित हुने राज्यका लागि चुनौती मात्र हैन, उसको उपहास पनि हो कानुन आफ्नो हातमा लिनेहरूबाट।
फेरि एकपटक राजधानीकै एउटा विद्यालय र त्यसको छात्रावास चरम यातनाको थलो बनेको दु:खद सत्य सार्वजनिक भएको छ। शारीरिक यातनाको सिद्धान्तत: विरोध गर्ने विद्यालयका प्राचार्यले नै चरम यातनाको त्यो अभियानको नेतृत्व गरेका छन्। उनको मोटरसाइकलमा 'चोर' लेखेको आशंकामा चपलीस्थित 'स्नो ल्यान्ड रेनग लाइट' विद्यालयका प्राचार्यले राति ८:३० बजे कक्षा १० का सबै विद्यार्थीलाई एक/एक हजारपटक उठबस गर्न आदेश दिए। अनि झरीको त्यो रातमा मुख्य 'सन्दिग्ध' ठानिएका श्याम तामाङलाई छात्रावासबाटै निकालिदिए।
विद्यालय सजाय दिने थलो हो भन्ने मानसिकता बालमस्तिष्कमा घुस्यो भने शिक्षण संस्था र त्यसमा निर्भर पेसाको भविष्य के होला?
'अतिथि देवो: भव:' को संस्कार बोकेको समाजमा अवस्थित त्यो विद्यालयका प्राचार्यले वासस्थानबाट खेदे एकजना कलिला र आश्रयविहीन विद्यार्थीलाई। यातनाबाट आक्रान्त ती बालकको कलिलो दिमागमा विद्यालय र शिक्षकको छवि कस्तो बस्ला आउने दिनहरूमा! निश्चय पनि उनका लागि 'मनोविज्ञान परामर्श' को व्यवस्था विद्यालयले गर्नुपर्छ। तर त्योभन्दा ठूलो कुरा आम विद्यालयहरू र तिनीहरूको छाता संगठनकै लागि यो चुनौती र अवसर हो आवश्यक मार्गदर्शक सिद्धान्त र त्यसको कार्यान्वयन सुनिश्चित गर्न। विद्यालय शान्ति क्षेत्र हो। शिक्षाका र शिक्षण संस्थाका परिसरहरू सबै किसिमका हिंसा, आतंक र यातनाबाट मुक्त हुनैपर्छ। कानुनअनुसार सजाय एउटा पाटो हुन सक्ला, तर विद्यालय आतंक र यातनाको थलो हो भन्ने मानसिकता बालमस्तिष्कमा घुस्यो भने शिक्षण संस्था र त्यसमा निर्भर पेसाको भविष्य के होला?
यसपटकको घटनाले फेरि एकपटक बालबालिकालाई योग्य नागरिक बनाउने अभिभारा लिएका शिक्षकहरूविरुद्ध चोरऔंला ठडिएका छन्। यो त्यस्तो खालको अन्तिम घटना बनेमा श्याम तामाङ जस्ताको 'अपमान' एउटा महान् अवसर र उपलब्धिमा रूपान्तरण भएको मानिनेछ। तर तत्काल श्याम र उनका प्रताडित सहपाठीसँग माफी मागी सम्मानपूर्ण तथा भयरहित वातावरणमा उनीहरूको शिक्षाको निरन्तरता सुनिश्चित गर्नु विद्यालय सञ्चालक र दोषी प्राचार्यको पहिलो कर्तव्य हुनेछ।
साभार ः सम्पादकीय (अन्नपूर्णपोष्टबाट)