Skip to main content

रुपन्देहीमा ९० विद्यालयलाई कारवाही

लक्ष्मण पौडेल भैरहवा, साउन १३ गते । रुपन्देहीका ९० विद्यालय कारवाहीमा परेका छन् । परीक्षा र नतिजाको बिषयलाई लिएर ती विद्यालयहरुलाई कारवाही गरिएको हो । परीक्षाको बिषयलाई लिएर कारवाहीमा पर्नेमा एक मात्र सिद्धार्थ प्रतिभा इङलिस बोर्डिङ छ भने अरु सबै विद्यालय एसएलसी नतिजाको बिषयलाई लिएर कारवाही गरिएको हो । 
  कारवाहीमा पर्नेमध्ये दुई संस्थागत र ८८ सरकारी विद्यालय छन् । शिक्षा कार्यालयले शिक्षा नियमावली २०५९ को उपनियम १४३ (क) को उपनियम १ र नियम १४३ को उपनियम ९२० लाई टेकेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । जिल्ला शिक्षा कार्यालय रुपन्देहीले एसएलसी नतिजाको बिषयलाई लिएर विद्यालयहरुलाई गरेको कारवाही संभवत यो पहिलो हो । 
  कक्षा ८ को परीक्षामा लापरबाही गरी कारवाही गरिएको भनिएको सिद्धार्थ प्रतिभाले स्वास्थ्य तथा शारीरिक बिषयलाई अध्यापन नगराएकोमा कारवाही गरिएको हो । शिक्षा कार्यालयले लेखेको पत्रमा त्यस विद्यालयका विद्यार्र्थीहरुबाट परीक्षाको मर्यादामा नै आँच आउने काम भएकोले पहिलोपटक जिल्ला शिक्षा समितिको निर्णय बमोजिम सचेत गराइएको भनिएको छ । 
  कागजी प्रमाणका आधारमा उक्त विद्यालयलाई कारवाहीको भागिदार बनाइएको भएपनि ती विद्यार्थीहरु लुम्बिनी पर्सास्थित गार्नेट बोडिङ स्कुलका विद्यार्थी हुन् । गार्नेट स्कुललाई भने पत्रमा केही कुरा उल्लेख गरिएको छैन । गार्नेटमा पढी सिद्धार्थको नामबाट परीक्षामा सामेल १३ जना विद्यार्थीले नपढेको बिषय भन्दै परीक्षा हलबाट निस्केपछि उक्त घटना बाहिर आएको थियो । 
  गार्नेट स्कुलले कक्षा ८ संचालनको अनुमति पाइसकेको छैन । ती विद्यार्थीलाई शैक्षिक सत्र सुरु भएको साढे दुई महिनापछि पुनः लुम्बिनी स्रोत केन्द्रमा जिल्ला शिक्षा कार्यालयले परीक्षा दिलाएपछि कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलमा अभिभावक संघ रुपन्देहीले उजुरी समेत दिएको छ । ती विद्यार्थी विद्यालयको क्षेत्रका हिसाबले रुद्रपुर स्रोत केन्द्रमा पर्दछन् । गार्नेट स्कुल संचालनमा बिष्णु पन्थीको नाम जोडिएको छ । पन्थी रुपन्देही प्याब्सनका भूतपूर्व अध्यक्ष तथा हाल प्याब्सनका केन्द्रीय सदस्य हुनुहुन्छ । पन्थीले भने सिद्धार्थ स्कुल आफूले किनिसकेको बताउँदै आउनुभएको छ ।  
  एसएलसीको नतिजा खराब ल्याउने विद्यालयलाई भने शिक्षा कार्यालयले तीन समुहमा छुट्टयाएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । पहिलो समूहमा शुन्य नतिजा ल्याउने, दोस्रो समूहमा १५ प्रतिशतभन्दा कम नतिजा ल्याउने र तेस्रो समूहमा राष्ट्रिय नतिजाभन्दा कम ल्याउने विद्यालयलाई राखिएको छ । ती तीनै समूहका विद्यालयलाई पत्र पठाई कारवाही प्रक्रिया अगाडि बढाइएको शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ । 
  रुपन्देहीमा शुन्य नतिजा निकाल्नेमा दुई, १५ प्रतिशतभन्दा कम नतिजा निकाल्नेमा २७ र राष्ट्रिय नतिजाभन्दा कम निकाल््नेमा ६० विद्यालय परेका छन् । रुपन्देहीमा शुन्य प्रतिशत नतिजा ल्याउनेमा शिक्षा कार्यालयदेखि करिब डेढ किलोमिटरभित्र रहेको महात्मा बुद्ध मावि र शैक्षिक गुठीमा संचालन साधना महिला विद्यालय, बुटवल छन् । 
  त्यस्तै पाँच प्रतिशत पनि विद्यार्थी उत्तीर्ण गराउन नसक्ने विद्यालयमा सेमरा बजार मावि, करहिया १ दशमलव ९६, मधुवनी मावि, मधुवनी २ दशमलव ७७, आमा मावि, आमा २ दशमलव ५६ छन् । कारवाहीका लागि पत्र लेखिएको संस्थागत विद्यालयमा पडसरीस्थित लर्ड बुद्ध इङलिस बोर्डिङ स्कुल छ । उक्त स्कुलले एसएलसीमा २८ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । जिल्लाको २०७० सालको एसएलसी नतिजा ५९ प्रतिशत रहेको छ भने राष्ट्रिय प्रतिशत ४३ दशलव ९२ प्रतिशत छ । विद्यालय क्षेत्र सुधार योजना २०६६–२०७२ अनुसार २०७० सालको एसएलसीको राष्ट्रिय लक्ष्य ७१ प्रतिशत राखेको छ । 
  शिक्षा नियमावली २०५९ को नियम १३७ (क) मा कुनै शिक्षकले आफूले अध्यापन गराएको विषयमा तीन शैक्षिक सत्रसम्म लगातार ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तर्ण भएमा त्यस्तो शिक्षकमा कार्य क्षमताको अभाव मानिनेछ भनी भनिएको छ । नियम १४३ (क) कक्षा तीन र पाँचको विद्यार्थीको सिकाई उपलब्धि परीक्षण र कक्षा आठको जिल्लास्तरीय परीक्षामा ३० प्रतिशत र कक्षा १०  (एसएलसी) परीक्षामा १५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएमा जिल्ला शिक्षा अधिकारीले त्यस्तो विद्यालयको प्रधानाध्यापकलाई पहिलो पटक भए सचेत गराउन र दोस्रो तथा तेस्रो पटक सोही क्रम लगातार दोहोरिएमा क्रमशः एक र दुई तलब रोक्का गर्नेछ । बिषय शिक्षकका लागि पनि यो नियम लागू हुने नियमावलीमा व्यवस्था छ । 
  अस्थायी र निजी स्रोतका शिक्षकलाई भने विद्यालयले कार्यविधि बनाई कारबाही गर्न सक्ने व्यवस्था छ । जिल्ला शिक्षा कार्यालय, रुपन्देहीले ती विद्यालयहरुलाई लेखेको पत्रमा शिक्षा नियमावलीमा रहेको व्यवस्था अनुसार सचेत गराइएको र कक्षा १० मा अध्यापन गराउने बिषय शिक्षकलाई शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार कारवाही गरी कार्यालयलाई जानकारी पठाउन भनिएको छ । 
  त्यस्तै आगमी शैक्षिक सत्र एसएलसी तथा अन्य कक्षाहरुको नतिजा सुधार गर्ने ठोस कार्ययोजना तयार गरी कार्यान्वयन गर्न र शिक्षा कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ । रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी तथा परीक्षा शाखाका प्रमुख टिकाराम अर्यालले नतिजा सुधारका लागि सचेत गराउन कारवाहीको पत्र पठाएको बताउनुभयो । कारवाहीको पत्र केही दिन अगाडि काटिएको भएपनि विद्यालयमा बर्षे बिदाका कारण पत्र शिक्षा कार्यालयमै रहेको बुझिएको छ । 
  उक्त कारवाहीको पत्र बोधार्थको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रिय शिक्षा निर्देशनालयलाई दिइएको छ । त्यसैगरी जिल्लाको सम्बन्धित विद्यालय निरीक्षक र स्रोत व्यक्तिलाई पनि थप अनुगमन तथा आवश्यक सहयोगका लागि भनी बोधार्थको रुपमा पत्र बुझाइएको छ । जिल्लाबाट १ सय ३३ संस्थागत र १ सय २६ सरकारी गरी २ सय ५९ विद्यालयले एसएलसीमा विद्यार्थीलाई सहभागी गराएका थिए ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव