डा. श्रीराम घिमिरे
प्राय: गरेर अविकसित वा विकासोन्मुख देशहरूमा शिक्षकले विद्यार्थीलाई अनुशासन कायम नगरेको तथा गृहकार्य नगरेको अवस्थामा दण्ड दिने चलन रहिआएको छ । दण्ड शारीरिक तथा मानसिक वा दुवै हुनसक्छ । यस्ता घटनामा विद्यार्थीमा भएका शारीरिक असरलाई प्राथमिकता दिइन्छ र त्यसबाट पर्ने मानसिक असरहरू ओझेल पर्छन् । शारीरिक असर त २/४ दिनमै ठीक हुन्छ, तर त्यस घटनाले विद्यार्थीमा पर्ने मानसिक तनाव र त्यसको असरले विद्यार्थीको भविष्य नै अन्धकारमय बनाउन सक्छ ।
अध्ययनको क्रममा अस्ट्रेलियामा दुई वर्ष बस्ता मेरो छेवैको अपार्टमेन्टमा इन्डोनेसियाली मूलका एक शिक्षक बस्थे । एकदिन उनले ४ कक्षामा पढ्ने विद्यार्थीले आफ्नो टेबलमा राखेको चस्मा फुटाएको कारण गाली गर्दा जागिर त गयो नै, विद्यालय प्रशासनले उनलाई अदालतसम्म पुर्यायो । उनी त्यसपश्चात अस्ट्रेलियाको कुनै पनि स्कुलमा पढाउन अयोग्य भए । साथै ठूलो रकमको जरिवाना तिर्न पनि बाध्य भए ।
विकसित देशहरूमा विद्यालयमा विद्यार्थीलाई अनुकूल मिल्ने वातावरण हुनेहुँदा त्यहाँका विद्यार्थीले न शिक्षकको भौतिक तथा मानसिक दण्ड नै व्यहोर्नुपर्छ, नत आफूभन्दा धेरै वजन भएको किताबको भारी नै बोक्नुपर्छ । न मानसिक तनाव हुनेगरी अत्यन्त धेरै गृहकार्य गर्नुपर्छ, नत घर फर्केर अभिभावकद्वारा हुने भौतिक तथा मानसिक पीडा नै भोग्नुपर्छ । त्यहाँ विद्यालयमा विद्यार्थीलाई प्रोत्साहन गर्ने किसिमले अध्ययन-अध्यापन गराइन्छ । साथै खेलकुद र अन्य कार्यक्रममा संलग्न गराइन्छ । प्रत्येक शिक्षकले मनोविज्ञानको ज्ञान तथा तालिम प्राप्त गरेको हुन्छ । त्यसैले उनीहरूले विद्याथीलाई जुनसुकै अवस्थामा गर्ने व्यवहार सराहनीय नै हुन्छ । यस्तो वातावरणले विद्यार्थीको मनोबल बढ्ने र शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने काम गर्छ । नेपालको सन्दर्भमा यस्तो व्यवस्था दुर्लभ नै हुन्छ ।
विदेशमा प्रत्येक शिक्षकको नियुक्ति हुँदा उनीहरूलाई विद्यार्थीको उमेरअनुसार हुने मनोवैज्ञानिक परिवर्तनको ज्ञानबारे सोधिन्छ र त्यसपछि नियुक्त गरिन्छ । त्यसैगरी उनीहरूलाई विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यालयमा हुने घटनालाई तत्काल कसरी व्यवस्थापन गर्ने, तुरुन्त पहिचान गर्ने र चाहिएको खण्डमा मनोरोग विशेषज्ञको सहायता लिनेबारे सिकाइन्छ । साथै शिक्षकलाई मनोवैज्ञानिक तरिकाले अध्ययन गराउन आकस्मिक अवस्थामा कसरी व्यवस्थापन गर्ने, रोगहरू पहिचान गर्ने र तत्काल उपचारको प्रक्रिया अघि बढाउने, 'काउन्सिलिङ' गर्ने आदि विषयमा तालिम दिइन्छ । प्रत्येक विद्यालयमा कम्तीमा एक 'काउन्सिलर' राखिन्छ, जसलाई मानसिक स्वास्थ्य र विद्यार्थीको मनोविज्ञानको यथेस्ट ज्ञान हुन्छ र कुनै पनि विद्यार्थीको व्यवहारमा परिवर्तन आएमा वा पढ्न नसकेमा वा माथि उल्लेख गरिएको अवस्थामा सोझै मनोरोग विशेषज्ञसँग परामर्श लिई त्यसैअनुसार समस्याको समाधान गरिन्छ । तर नेपालमा कुनै पनि विद्यालयमा यस्तो व्यवस्था छैन ।
सजाय र दण्डका घटनाहरू केलाउँदा प्राय:जसो सरकारीभन्दा निजी विद्यालयमा बढी मात्रामा हुने गरेको पाइएको छ । नेपालमा आजसम्म यस्तो कुनै विद्यालय मैले भेटेको छैन, जहाँ विदेशमा जसरी मनोवैज्ञानिक तरिकाले विद्यार्थीलाई अध्यापन गराउने गरिएको होस् । यहाँ कुनै पनि विद्यालयमा शिक्षक नियुक्ति गर्दा न बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र विकासको बारेमा सोधिन्छ, नत बालअधिकार र त्यससम्बन्धी नियम कानुनको बारेमा । त्यस्तै नियुक्तिपश्चात यससम्बन्धी ज्ञान र तालिमको अभावले यस्ता दण्डका घटनाहरू हुने गरेको अनुमान लगाउन सकिन्छ । यस सम्बन्धी स्पष्ट नियम तथा कानुनको अभावले गर्दा पनि दिन-प्रतिदिन यस्ता घटनाहरूले प्रोत्साहन पाइरहेका छन् ।
अर्को तरिकाले हेर्ने हो भने यहाँ शिक्षक तथा विद्यालय प्रशासनमात्र दोषी नभएको प्रस्ट हुन्छ । विद्यार्थीले दण्ड पाउनुमा उनीहरूकै अभिभावकको पनि ठूलो हात रहेको हुन्छ । विद्यार्थीको व्यवहारमा केही परिवर्तन आएमा, जस्तै पढाइमा ध्यान नदिने, पटक्कै नपढ्ने, पढ्न नसक्ने, घुमेर हिँड्ने, भनेको नमान्ने, चकचक गर्ने वा विद्यालय जान नचाहने वा नजाने आदि अवस्थामा अभिभावकले नै शिक्षकलाई दण्ड दिन आग्रह गर्छन् । अभिभावकहरू आफ्नो छोराछोरीलाई दण्ड दिएमा पढाइमा सुधार हुने भ्रममा रहेको कारण यो बाटो अपनाउँछन् । विद्यार्थीमा आएको परिवर्तनबारे र दण्डको मानसिक प्रभावबारे कसैले पनि एकपटक सोच्ने जमर्को गर्दैनन् । निचोडमा भन्नुपर्दा विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरूमै मानसिक स्वास्थ्य शिक्षाको अभाव देखिन्छ ।
विद्यार्थीको बालअधिकार हनन हुँदा हुने शारीरिक तथा मानसिक असरले भविष्यमा गम्भीर रूप लिन सक्छ । यस्तो असरले विद्यार्थीलाई कुनै न कुनै किसिमको मानसिक रोग लाग्नसक्ने सम्भावना बढाउँछ । फलस्वरुप यसले विद्यार्थीको अध्ययन-अध्यापनमा बाधा पार्नुका साथै निराशाजनक स्थिति पैदा हुने, उदासीन बन्ने, घरपरिवार, साथीभाइसँगको सामाजिक सम्बन्ध बिग्रने र अन्त्यमा आत्महत्यासम्मको स्थिति आउन सक्छ । त्यस्तै दण्ड पाएका विद्यार्थीहरूमा जाँड, रक्सी, चुरोट र अन्य लागुपदार्थको कुलतमा फँस्ने सम्भावना पनि बढ्दै जान्छ ।
कहिलेकाहीं शिक्षकमा भएको मानसिक तनावको सिकार विद्यार्थी हुनसक्छन् । त्यस्तै शिक्षकमा कुनै किसिमको मानसिक रोग भएको अवस्थामा वा मादकपदार्थ र लागुपदार्थको दुव्र्यसनी भएमा पनि उसको व्यवहारमा परिवर्तन हुनसक्छ र विद्यार्थीलाई दुव्र्यवहार गर्न सक्छन् । त्यस्तो दुव्र्यवहार गर्ने शिक्षक भएमा सकेसम्म उनलाई चाँडो मनोरोग विशेषज्ञलाई जाँच गराए त्यसको पीडा विद्यार्थीले भोग्नु पर्दैनथ्यो र उनको पनि समयमा उपचार हुने थियो ।
एक शिक्षक तथा विद्यालय प्रशासनलाई कारबाही गरेर यो समस्याको समाधान हुन्छ भन्नु दिवास्वप्न देख्नुजस्तै हो । शिक्षकलाई कारबाही गर्नुको सट्टा उनीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान र तालिम दिने व्यवस्था मिलाउनसकेमा विद्यार्थीको उमेरअनुसार हुने शारीरिक तथा मानसिक परिवर्तनबारे प्रस्ट हुन्थ्यो । त्यस्तै दण्डले पैदा गर्ने मानसिक तनाव र असरबारे पनि चेतना आउन सक्थ्यो । भविष्यमा यस्ता घटनालाई निरुत्साहित गर्न एकातर्फ तत्काल यससम्बन्धी नियम-कानुनको आवश्यकता छ भने अर्कोतर्फ विद्यालय प्रशासनले शिक्षक नियुक्ति गर्दा सचेत हुनुपर्ने यथार्थलाई नकार्न सकिन्न ।
घिमिरे नसा तथा मनोरोग विशेषज्ञ हुन् ।