Skip to main content

सामुदायिक शिक्षाको खस्किँदो स्तर

एसएलसी दिन लागेका विद्यार्थीले सामान्य भाग पनि जान्दैनन् भन्ने कुरा धेरैलाई आश्चर्यको विषय लाग्न सक्छ । तर, नेपालको सामुदायिक विद्यालय शिक्षाको नियति यस्तै छ । शिक्षा मन्त्रालयको अनुगमन, मूल्यांकन तथा निरीक्षण महाशाखाका प्रमुखसहितको टोलीले पुसको पहिलो साता दाङ, सल्यान, पाल्पा, स्याङ्जा र कास्कीका सामुदायिक विद्यालयहरूको अनुगमनपछि निकालेको तथ्य हो, यो । सामुदायिक विद्यालयका ९ र १० कक्षाका विद्यार्थीले २१२ लाई २ ले भाग गर्दा १६ भनी निकालेको नतिजाले सरकारी शिक्षाको गुणस्तर कतिसम्म खस्किएको रहेछ भन्ने कुरालाई छर्लङ्ग देखाएको छ । विद्यार्थीहरूको यस्तो कमजोर शैक्षिक अवस्थाले नेपालको सामुदायिक विद्यालयहरूको सिकाइको स्तर त देखाएको छ नै साथै सरकारी लगानी बालुवामा पानी सावित भएको छ ।
सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरका कारण नै त्यहाँ विद्यार्थी संख्या निरन्तर ओरालो लागेको छ । सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको मात्र होइन, कतिपय सामुदायिक विद्यालयमा त विद्यार्थी संख्या शून्यमा नै झरेको छ । काठमाडौंमा मात्र शून्य विद्यार्थी भएका विद्यालयहरूको संख्या २१ हुनुले सामुदायिक विद्यालयहरूको दुरवस्थाको तस्बिर झल्किएको छ । एकातिर शून्य विद्यार्थी भएका सामुदायिक विद्यालय बढ्दैछन् भने अर्काेतिर यस्ता विद्यालयमा नयाँ शिक्षक भर्ती गर्ने कार्य रोकिएको छैन । ललितपुर लामाटारस्थित ६६ जना विद्यार्थी र २२ जना शिक्षक भएको सिस्नेरी उच्च माध्यमिक विद्यालयमा जनशक्ति अपुग भन्दै यस वर्ष मात्रै स्थायी दरबन्दीमा नयाँ शिक्षक पठाइयो भने १५ जना विद्यार्थी र ३ शिक्षक भएको गागलफेदीस्थित हर्ष निमाविमा शिक्षा कार्यालयले थप दुई स्थायी शिक्षक पठाइदियो । सिस्नेरी उच्च मावि र हर्ष निमावि नेपालको सामुदायिक विद्यालयको विसंगत रूपको उदाहरण मात्रै हुन् ।
सामुदायिक विद्यालयहरूमा शिक्षा नियमावलीले तोकेअनुसारको विद्यार्थी त छँदै छैनन्, शिक्षकको अनुपात पनि ज्यादै अमिल्दो छ । शिक्षा नियमावली २०५९ मा सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या उपत्यकाभित्र ५०, तराईमा ४५ र हिमाली क्षेत्रमा ४० जना न्यूनतम हुनुपर्ने भए पनि त्यो व्यवस्था कागजमा मात्रै सीमित भएको छ । नियमावलीमा विद्यार्थी संख्या कम भएको विद्यालयको शिक्षकलाई अर्काे विद्यालयमा मिलान गर्ने जिम्मेवारी शिक्षा अधिकारीलाई दिए पनि व्यवहारमा भने फरक छ । बरु, जुन विद्यालयमा विद्यार्थी छैन, त्यसैमा शिक्षक संख्या थप्ने काम भएको छ । एउटा शिक्षक बराबर कम्तीमा ४० विद्यार्थी हुनुपर्ने नीति पनि सामुदायिक विद्यालयको हकमा कार्यान्वयन भएको छैन । बरु, सामुदायिक विद्यालयमा एक शिक्षक बराबर २८ जना विद्यार्थी छन् । मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र -ईआरओ) ले गरेको राष्ट्रिय उपलब्धि परीक्षण प्रतिवेदनले सामुदायिक विद्यालयको औसत उपलब्धि ४४ प्रतिशत देखाएको छ भने गत वर्षको एसएलसी नतिजाअनुसार सामुदायिक विद्यालयको उत्तीर्ण दर २८.१९ प्रतिशतमै सीमित भएको देखिन्छ ।
निजी विद्यालयको उत्तीर्ण दर ९३.२५ प्रतिशत भएकै वर्ष सामुदायिक विद्यालयको २८.१९ प्रतिशत हुनुले पनि सरकारी शिक्षाको कहालीलाग्दो तस्बिर देखिन्छ । यसरी सामुदायिक विद्यालय गएगुज्रेका हुनुमा दोष कसको ? विद्यालय व्यवस्थापन समिति, शिक्षक वा सरकार कसको ? सरकारी विद्यालयका विद्यार्थी संख्या घट्नुमा विद्यालय व्यवस्थापन समिति र शिक्षक त दोषी छन् नै, सरकारको शिक्षा प्रणाली पनि उत्तिकै दोषी छ । त्यसो त केही सामुदायिक विद्यालय नमुनायोग्य नभएका पनि होइनन् । काठमाडौंको ज्ञानोदय, तरुण, तिलिङटार, भक्तपुरको बागेश्वरी र ललितपुरको आदर्श सोललाई नै त्यस्ता नमुनायोग्य विद्यालयका रूपमा लिन सकिन्छ । आखिर एकाध सामुदायिक विद्यालय राम्रो हुने तर अधिकांश गएगुज्रेका हुुनुको कारण के हो ? खोजीको विषय हो ।
सामुदायिक विद्यालयको शैक्षिक स्थिति दिन प्रतिदिन खस्किँदै गएको र विद्यार्थी संख्या घट्दै गएको अवस्थामा शून्य विद्यार्थी भएका विद्यालयलाई ँमर्ज’ गर्नेतर्फ लाग्नु उत्तम हुनेछ । त्यसो त सरकारले सामुदायिक विद्यालयहरूको ँमर्ज’ गर्ने कार्यको थालनी गरिसकेको पनि बताएको छ । तर, सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकहरूको अद्यावधिक गरी सरकारले यी विद्यालयहरूलाई 'मर्ज’ गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाउन आवश्यक छ । साथै समग्र शैक्षिक नीतिको समीक्षा गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने गरी कार्यक्रम ल्याउन पनि उत्तिकै जरुरी छ । नत्र सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीबाट लक्षित समुदायले अपेक्षित लाभ पाउने छैनन् नै साथै सरकारको लगानी त्यत्तिकै खेर गइरहने छ ।
source:ekantipur

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...