Skip to main content

त्रिविमा न सेमेस्टर, न स्ववियु चुनाव

काठमाडौ, माघ १० - त्रिभुवन विश्वविद्यालय विस्तारै विद्यार्थी विमुख हुँदैछ किनभने उसको क्यालेन्डरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव र गतिविधिबारे उल्लेख छैन । सर्वोच्च अदालतले दुईवर्षे म्याद सकिएका पदाधिकारीले कुनै क्रियाकलाप गर्न नपाउने आदेश गरेको र नयाँ चुनाव पनि हुन नसकेपछि विश्वविद्यालय स्ववियुविहीन भएको हो ।
दुई वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन । त्रिविले गत वर्ष हतारमा स्ववियु चुनावको मिति घोषणा गरे पनि हुनसकेन । त्यसअघि विद्यार्थी संगठनहरूबीच आपसी झगडा र अनियमितताले स्ववियु चुनाव स्थगित भएको थियो । त्रिवि पदाधिकारीले स्ववियुका कारण विद्यार्थी पढाइभन्दा राजनीतिलाई प्राथमिकता दिएको भन्दै गत वर्षदेखि सेमेस्टर प्रणाली लागू गरेको छ ।
विद्यार्थी राजनीतिलाई कम गर्ने उद्देश्यले लागू गरिएको समेस्टर प्रणाली दोस्रो वर्षबाट अन्य क्याम्पसमा लागू हुन सकेको छैन । 'त्रिवि पदाधिकारीले स्ववियुको चुनाव गराउने कामलाई बेवास्ता गरे,' त्रिविका एक प्राध्यापकले भने, 'क्रमशः लागू गर्नुपर्ने सेमेस्टर प्रणाली विद्यार्थीले लागू गराउन दिएनन् । पालाको पैंचो भएको छ । तर यो दुवै काम बेथिति निम्त्याउने चाला हो ।'
त्रिविले गत वर्षदेखि केन्द्रीय विभाग र क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा समेस्टर प्रणाली लागू गरेको हो । उसले कीर्तिपुरलाई 'सेन्टर अफ एक्सिलेन्सी' -उत्कृष्टताको केन्द्र) भनेर घोषणासमेत गरेको छ । तर भौतिक पूर्वाधारको अभाव, शिक्षकहरूलाई पूर्वतयारी नगराउनु, पाठ्यक्रम वाषिर्क प्रणालीजस्तै हुनु, मल्टिमेडियाको व्यवस्था नहुनुलगायतका समस्या रहेका छन् ।
त्रिविको नीतिअनुसार दोस्रो वर्षबाट उपत्यकामा रहेका आंगिक क्याम्पसमा लागू गर्ने थियो । विद्यार्थी संगठनहरुले समेस्टर लागू भएपछि हरेक क्याम्पसमा राजनीतिक क्रियाकलाप घटेपछि 'पहिले केन्द्रमा सेमेस्टर प्रणाली मजबुत भएपछिमात्र अन्य क्याम्पसमा लागू गर्न' भन्दै तालाबन्दी गरेपछि त्रिवि पछाडि हट्न बाध्य भएको छ । विद्यार्थीको तालाबन्दीले सूचनासमेत जारी भइसकेको त्रिविको विद्यार्थी भर्ना प्रक्रियासमेत ठप्प भयो । अन्ततः यसै साता त्रिवि र विद्यार्थी संगठनबीच त्रिविका कीर्तिपुरमा रहेका विभाग, केन्द्रीय क्याम्पसमा मात्र समेस्टर रहने सहमति भएपछि भर्ना प्रक्रिया अघि बढेको छ । सहमतिअनुसार शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकाय वाषिर्क परीक्षा प्रणालीमै सुचारु हुनेछन् ।
'विद्यार्थीको मागलाई ध्यानमा राखेर केन्द्रबाहेका क्याम्पसमा अर्को वर्षबाट मात्र सेमेस्टर लागू गर्ने भएका छौं,' त्रिविका रेक्टर गुणनिधि न्यौपानेले कान्तिपुरसित भने, 'जनप्रशासन, कानुन र विज्ञानमा सेमेस्टर नै सुचारु छ ।' विज्ञान संकायअन्तर्गत फिजिक्स, केमेस्ट्री, गणित र माइक्रोबायोलोजी विषयमात्र वाषिर्क प्रणालीमा सुचारु छन् । अर्को वर्षबाट क्रमशः सबै संकायमा सेमेस्टर कार्यान्वयन हुने दाबी रेक्टरले गरे ।
विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय आम नागरिकका छोराछोरीले पढ्न पाउने अधिकारबाट बन्चित गराउन नहुने भन्दै आएका छन् । 'तर वाषिर्क प्रणालीमा हजारौं पढ्थे भने सेमेस्टर प्रणालीमा सयमा झर्नु हाम्रो आपत्ति हो,' नेकपा-माओवादी निकट अनेरास्ववियु -क्रान्तिकारी) का अध्यक्ष शरद रसाइली भन्छन्, 'यसो हुँदा उच्च शिक्षा हासिल गर्न चाहने गरिबको छोराछोरी पलायन हुने भए । सेमेस्टरले मुलुकको उच्च शिक्षा समाप्त हुन्छ । नत्र खुला विश्वविद्यालयको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।' ठूला विद्यार्थी संगठनका कारण सेमेस्टर लागू भएको उनले बताए ।
स्रोतका अनुसार शिक्षकसमेत सेमेस्टर प्रणाली कार्यान्वयनको विपक्षमा छन् । सेमेस्टर प्रणालीमा हरेक दिन कक्षामा उपस्थित भएर पढाउनु पर्ने, विद्यार्थीको आन्तरिक मूल्यांकन गर्दै रेकर्ड राख्नुपर्ने, मल्टिमेडिया प्रयोगमा पारंगत हुनुपर्नेलगायतका शिक्षण क्रियाकलाप गर्नुपर्ने भएपछि शिक्षकहरू विरुद्धमा रहेका हुन् । त्यसरी पठनपाठनमा सक्रिय भए पनि सेवा सुविधा वाषिर्क प्रणालीअनुसार मात्र पाउने भएपछि सेमेस्टरमा चासो नदिएका हुन् ।
'हामी सेमेस्टरको पक्षमा छौं,' अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले भने, 'तर त्रिविले पाठ्यक्रम परिमार्जन, दक्ष शिक्षकको व्यवस्था, भौतिक पूर्वाधार, मल्टिमेडिया र  नयाँ पद्धतिको प्रयोगजस्ता विषयमा ध्यान दिएन । त्यसैले पहिलो वर्ष लागू भएको क्याम्पसमा सेमेस्टर सुधारमा ध्यान देऊ भनेका हौं ।' त्रिविले सेमेस्टरको नाममा स्ववियु निर्वाचन गराउन नचाहेकोसमेत उनले बताए ।
अखिल -क्रान्तिकारी) का संयोजक रमेश मल्लले त्रिविले साँच्चै कोटा प्रणालीमा जाने हो भने वाषिर्क पणालीअनुसार विद्यार्थी भर्ना हुन पाउनु पर्ने बताए । 'त्रिविलाई भनेका छौं, शुल्क बढाउन भएन र कोटा पनि घटाउन भएन । सेवा सुविधा दिन सक्नु पर्छ,' आवश्यक पूर्वाधार बढाएपछि मात्र अन्य संकायमा सेमेस्टर लागू गर्नुपर्ने उनले बताए । क्रान्तिकारीका निवर्तमान अध्यक्ष हिमाल शर्मा भने सेमेस्टर प्रणाली आफैंमा नराम्रो नभएको, तर त्रिविले विश्व बैंकको सहयोग लिन हतारमा लागू गर्दा पूर्वाधारविहीन र फितलो बनेको बताए ।
नेविसंघका नेता भीम श्रीस त्रिविमा सेमेस्टर प्रणाली प्रभावकारी हुन नसकेको बताउँछन् । 'त्रिवि पदाधिकारीले आफूलाई लोकपि्रय र फरक देखाउन सेमेस्टर लागू गरेको देखियो,' सेमेस्टरका गन्तव्य राम्रो नदेखिएको उल्लेख गर्दै उनले भने, 'उपकुलपतिको छ महिना, रेक्टर र रजिस्ट्रारको वर्षदिन पदावधि बाँकी छ, त्यतिन्जेल सेमेस्टर प्रणाली मजबुत बन्न सक्ने देखिन्न । चौतर्फी विरोध छ, विद्यार्थीको मात्र होइन शिक्षकको समेत ।' त्यस निम्ति त्रिविले सरोकार निकायसित थप बहस, पाठ्यक्रम परिमार्जन, स्रोत व्यवस्थापन गर्नसक्नु पर्ने उनले बताए ।
चैतपछि २८ वर्ष उमेर हद लाग्ने
त्रिविले नियमावली परिवर्तन गरी २०७२ बाट २८ वर्षभित्रका विद्यार्थीले मात्र स्ववियुमा उम्मेदवारी दिन पाउने बताएको छ । तर, उसको क्यालेन्डरमा स्ववियु चुनाव कहिले, वर्षको कुन महिनामा हुने भन्नेबारे उल्लेख गरेको छैन । विद्यार्थी संगठनहरुले भने चैतभित्र स्ववियु चुनाव हुनुपर्ने भन्दै आएका छन् । 'आगामी फागुन १७ सम्म परीक्षा छ,' त्रिवि विद्यार्थी महाशाखा प्रमुख गंगाबहादुर मगरले भने, 'विद्यार्थीले चुनाव हुनुपर्छ भनेर ज्ञापनपत्र बुझाएका छन् । पहिलाजस्तो स्ववियु चुनावको नियमित तालिका छैन । सहमतिअनुसार अघि बढ्नु पर्छ ।' चैतमा स्ववियु चुनाव नभएमा नयाँ नियमावलीमा व्यवस्था भएअनुसार २०७२ बाट उमेर हद लागू हुनेछ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...