Skip to main content

तल्लो पदका शिक्षक नै प्रधानाध्यापक

काठमाडौ, माघ १७ - सुमनलाल महर्जन राजधानीको गोलढुंगास्थित पुरानो गुह्येश्वरी माविमा प्रावि तहका अस्थायी शिक्षक हुन्। तैपनि ०५५ मा स्थापना भएको विद्यालयमा उनी प्रधानाध्यापकको भूमिकामा छन्। त्यही विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक बाबुराम विक छन्। 'स्थापनाकालदेखि मैले प्रधानाध्यापकको जिम्मेवारी लिएको हो,' उनले भने, 'विद्यार्थी र अभिभावकको पनि विश्वास मप्रति छ।' शिक्षक सेवा आयोगले गत वर्ष गरेको विज्ञापनमा महर्जनले प्रावि तहमा प्रतिस्पर्धा गरेका थिए। उनी अनुत्तीर्ण भए।
सावित्री शर्मा प्रावि तहकी स्थायी शिक्षिका हुन्। तर, उनी सीतापाइला उच्च माविको प्रधानाध्यापक हुन्। विद्यालयमा तीनजना मावि तहका स्थायी शिक्षक छन्। तर, प्रावि तहका शिक्षिकाले विद्यालयको नेतृत्व सम्हालेका छन्। ०५२ मा स्थापना भएको विद्यालयमा उनी प्रधानाध्यापक थिइन्। ०६१ मा निमावि र ०६६ मा मावि भयो। जति तह थपिए पनि उनी प्रधानाध्यापक पदमा रहिरहिन्। 'म नै हुनुपर्छ भनेको छैनँ। अरूलाई दिन तयार छु,' उनले भनिन्, 'व्यवस्थापन समितिले अरूलाई राख्न चाहेको छैन।'
राजधानीको नागार्जुन माध्यमिक विद्यालयमा पनि मावि तहका चार स्थायी शिक्षक छन्। तर, निमावि तहका स्थायी शिक्षक प्रभुराम नेपालले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्। 'मावि तहको शिक्षक भए पनि उहाँहरूले म हुन्छु भन्नुभएको छैन,' उनले भने, 'विद्यालयको पुरानो शिक्षक भएकाले मैले जिम्मेवारी लिइरहेको छु। नियमअनुसार हट्नुपरे हट्न तयार छु।' राजधानीका यी तीन विद्यालय नमुना मात्रै हुन्। शिक्षा विभागका अनुसार तल्लो तहका स्थायी शिक्षकले माथिल्लो तहको जिम्मेवारी लिने ३५ जिल्लामा ४ सय ९ जना छन्। काठमाडौंमा सबैभन्दा बढी ७६ जना छन्, यसमा विद्यालयकै नेतृत्व लिने -प्रधानाध्यापक) मात्रै २० जना छन्। योग्य शिक्षक नभएकाले सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कँदै गएको शिक्षाविद्हरू बताउँछन्।
तल्लो पद स्थायी भएका शिक्षक माथिल्लो तहमा अस्थायी रूपमा काम गरिरहेका छन्। ललितपुरमा ४९ जना यस्ता शिक्षक छन्। शिक्षा कार्यालयका अनुसार ललितपुरमा प्रधानाध्यापकको जिम्मेवारी लिने ११ जना छन्। प्राविका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी लिनेमा देवी उमावि देवीचौरका लक्ष्मणप्रसाद बजगाईं, झरुवारासीस्थित हरिप्रसाद भुसाल, युवा प्रतिभाका यक्षराम दाहाल, बालेश्वर माविका सुकुमान घलान, सिद्धिमंगल उमाविका इन्दिरा ढुंगाना, वाणीविलास उमाविका जलकृष्ण सिंह, महेन्द्र मावि ठूलो दुर्लुङका मदनप्रसाद आचार्य, कालीदेवी उमाविका ठाकुर लामा, जनविकास माविका श्यामकाजी महत छन्। निमावि शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी लिनेमा विशंखुनारायणका निमावि शिक्षक वंशीधर खड्का, पाटन उमाविका निमावि शिक्षक ईश्वरमान वज्राचार्य रहेको शिक्षा कार्यालयले जनाएको छ। ललितपुरका शिक्षा अधिकारी शिवकुमार सापकोटाले कानुनविपरीत माथिल्लो तहमा गएका शिक्षकलाई आफ्नै पदमा झार्ने प्रक्रिया सुरु गरेको बताए। शिक्षा नियमावलीको शिक्षक छनोटसम्बन्धी प्रावधानमा यसरी आफ्नो पदमा लियन राखेर माथिल्लो पदमा जाने व्यवस्था छैन। शिक्षा नियमावलीअनुसार योग्यता पुगेको व्यक्ति मात्रै सामुदायिक विद्यालयको शिक्षक हुन पाउने व्यवस्था छ। एउटा पदको व्यक्ति अर्को पदमा काजमा रहने व्यवस्था छैन।
यस्ता शिक्षकले दोहोरो सुविधासमेत लिएका छन्। प्रावि र निमाविमा स्थायी पद राखेर माविमा अस्थायी भएका व्यक्तिको बढुवा प्रयोजनमा स्थायी सेवा अवधि नै गणना हुन्छ। निवृत्तिभरणमा पनि तल्लो तहकै गणना हुन्छ। सरकारले अस्थायी शिक्षकलाई दिने सुविधा पनि लिन्छन्। गत वर्ष शिक्षक सेवा आयोगले गरेको विज्ञापनमा ०६३ पछि खाली भएको पदमा प्रतिस्पर्धा गराएको हो। त्यसअघि अस्थायी भएका शिक्षकलाई हटाइएको छैन। 'एकैपटक दुई पदको गणना भइरहेको छ,' शिक्षक सेवा आयोगका एक अधिकारीले भने, 'एउटा पदको मात्रै गणना हुने व्यवस्था तत्काल गर्नुपर्छ।' आफ्नो पदमा अर्को व्यक्ति राखेर माथिल्लो तहमा जाँदा विद्यालयले योग्य शिक्षक पाउनबाट वञ्चित भएका छन्। 'दुवै तहमा योग्य शिक्षक राख्न प्रतिस्पर्धा हुन पाउँदैन,' विभागका एक अधिकारीले भने।
शिक्षा विभागले आफ्नो दरबन्दीमा अरूलाई जागिर खुवाएर माथिल्लो तहमा जिम्मेवारी लिएका शिक्षकलाई घटुवा गर्न शिक्षा कार्यालयहरूलाई निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन।
source:ekantipur

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...