Skip to main content

को कति जिम्मेवार ?

खड्गबहादुर मगर (अनिल) 
विषयगत एसएलसी परीक्षाफलमा ३० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका विद्यालयका प्रअ र शिक्षकलाई कारबाही र तलब, ग्रेड रोक्का गर्ने भनि शिक्षा मन्त्रालयले पत्रचार गरेको थियो । यसबारेमा केही कुरा नलेखी धरै पाइनँ । सरकारी स्कूलको नतिजा खक्किनु/बिग्रनुमा शिक्षक मात्रै दोषी छैन । यहाँनिर प्रश्न गर्न मन लाग्छ, नतिजा खस्कनुमा को कति जिम्मेवार छ ? सरकार ? राष्ट्रिय शिक्षा नीति ? शिक्षा मन्त्रालय ? शिक्षा विभाग ? परीक्षा नियन्त्रण कार्यालय ? जिशिअ ? राजनीति दलका नेता ? जिल्ला शिक्षा समिति ? गाउँ शिक्षा समिति ? विनी ? स्रोत व्यक्ति ? विद्यालय व्यवस्थापन ? विद्यालय शिक्षा प्रशासन ? अभिभावक ? विद्यार्थी स्वयम् ? कि प्रअ, शिक्षक ? कारबाहीको चुरो यहिं छ । हलो यहिं अड्केको छ । अनि शिक्षकलाई मात्रै किन कारबाही गर्ने ?
अभिभावकरुपी किसानहरू रनभुल्लमा छन् । सरकारी निकायरूपी हलीहरू ढुंगो पन्छाउनु भन्दा गोरूलाई चुटेरै तह लगाउनमा व्यस्त छन् । विचरा ! शिक्षकरूपी गोरू (गुरू)हरू न हलो तानेर ढुंगो उत्काउन सक्छन्, न जुवा भाँचेर हिंड्न नै सक्छन् । यसअर्थमा शिक्षकलाई मात्रै कारबाही गरेर नतिजा सुधार सम्भव छैन । हुँदैन । यो जिम्मेवारबाट कुनै पनि बहानामा कोही पनि भाग्न पाउँदैनन् । यो जिम्मेवारको भागीदार शिक्षकले मात्रै होइन सबै निकायले लिनुपर्छ । 
त्यसैले शिक्षकको थाप्लोमा पन्छाएर आफूलाई पानीभित्रको ओभानो सावित गरेर नतिजामा सुधार हुँदैन । यदि नतिजा सुधार गर्ने हो भने पहिला शिक्षा मन्त्रालय र शिक्षा विभागको पदाधिकारीबाटै सुरुवात गर्नुपर्छ । किनकी शिक्षाको सुधारको दायित्व पाएको निकाय शिक्षा मन्त्रालय र शिक्षा विभाग हो । शिक्षा क्षेत्रको सबैभन्दा माथिल्लो तह भनेकै शिक्षा मन्त्रालय र शिक्षा विभाग हो । त्यसकारण शिक्षा विभाग र शिक्षा मन्त्रालयका पदाधिकारहरूले हाम्रो पनि कमजोरी छ, हामीबाटै पहिला सुधार गर्नुपर्छ भनेर भन्न सक्नुपर्छ । जबसम्ब कमजोरी स्वीकार गर्दैन तबसम्म शैक्षिक सुधार हुँदैन । यस मानेमा पानीको मुहानमै फोहोर गरेपछि पानीको शुद्धीकरण कसरी गर्ने ? अब पानी कसरी शुद्धीकरण गर्न सकिन्छ भनेर उपाया त अपनाउनु नै पर्छ । यदि अपनायनौं भने फोहोर पानी पिउनु बाहेक अरु केही विकल्प हुँदैन । त्यसकारण विचरा ! आफूभन्दा तल्लो तहलाई सत्तोसराप र कारबाही गरेर शिक्षा विभाग र शिक्षा मन्त्रालयका पदाधिकारीहरू जिम्मेवारबाट पन्छिन मिल्दैन । हुँदैन । 
शिक्षक दूधमा नुहाएका छ भन्ने खोजेको होइन । बारी उही हो, ड्याङ उही हो भने मुला पनि उही हो । तर त्यसमा बारीको उर्वरा शक्ति, गोलमेल गर्ने किसान कि मुला दोषी ? शिक्षकलाई राजनीतिमा कसले लगायो ? बिना पूर्वाधार तथा जाँचबुझ नगरी लिखित र मौखितको भरमा जहाँत्यहि विद्यालय खोल्न अनुमति कसले दियो ? गैर अभिभावक विद्यालय व्यवस्थापनमा कसले हुल्यो ? विद्यालयमा राजनीति गर्न कसले दियो ? शिक्षकलाई चाकरीमा कसले जोतायो ? संसद, मन्त्री वा राजनीतिक दलका झोला, झण्डा बोक्न कसले लगायो ? नियुक्तिको बेलमा ‘सोर्स इज फोर्स’, ‘कोर्स इज नथिङ’ लाई मान्यता कसले दियो ? अनि योग्यताको खोजी कसले गर्ने ? 
बजेट दिएर मात्र नतिजा सुधार हुँदैन । हुने कुरै भएन । हरेक विद्यालयका प्रअ, शिक्षकले विद्यार्थीलाई कसरी पढाइरहेको छ । बजेट कहाँ, किन, कहिले, केका लागि खर्च गरीरहेका छन् भनेर आजको दिनसम्म खोज अनुसन्धान गरेको छैन । अनि सम्बन्धि निकायले खोजी नगरेपछि आफू खुशी खुलेआम खर्च गर्छन् । गरीरहेका छन् । हरेक विद्यालयका पठनपाठनको सीप प्रभावकारी छ÷छैन भनेर अनुगमन र सुपरीवेक्षण गरेको पाइदैन । अनुगमन र खोजी गर्ने काम कसको हो ? माध्यमिक विद्यालय खोल्नका निम्ति जिल्ला शिक्षा समितिको रायसहित प्राप्त निवेदन निर्देशक समक्ष पठाउनु पर्ने र निर्देशकले नियम ४ बमोजिमको पूर्वाधार पूरा गरेको देखिएमा शैक्षिक सत्र सुरु हुनुभन्दा तीस दिन अगावै अनुमति दिने कुरा शिक्षा नियमावलीमा उल्लेख गरेको छ । तर व्यवहारमा लागू गरेको पाइदैन । कतिपय ठाउँमा मापदण्ड विपरीत विद्यालय सञ्चाल गरीरहेका छन् । मापदण्ड विपरित विद्यालय सञ्चालन गर्न कसले दियो ? यो प्रश्नको जवाफ को सँग छ ? 
अनुमति दिइसकेपछि आर्थिक, शैक्षिक समाग्री, भौतिक पूर्वाधार उपलब्ध गराउनुपर्ने हो तर व्यवहारमा लागू गरेको पाइदैन । किनकी पहाडी क्षेत्रको अधिकांश मावि विद्यालयमा विषयगत शिक्षकबिना र निजीस्रोतबाट थोरै तलबमा पढाइरहेका छन् । अझै भन्ने भने प्राविको शिक्षकले माविमा पढाइरहेका छन् । प्राविको मात्र योग्यता भएको शिक्षकले माविमा प्रअ भएर विद्यालय सञ्चालन गरीरहेका छन् । यसै सन्दर्भमा उदयपुर जिल्लाको रौता गाविसको भारतजोर पाबुस्थित मावि भारतजोरमा प्राविको मात्रै प्रअ हुन पाउने योग्यता शिक्षकले मावि चलाई रहेकाछन् । यो विद्यालय सरासर तीन पटक एसएलसीमा निल गएको पनि थियो । त्यस विद्यालयको प्रअलाई स्कूलको बारेमा सोध्यो भने केही थाहा हुँदैन । भन्न सक्दैन । यसो हुनुमा जिशिअ जवाफदेही छ । किनभने जिशिअले नियुक्ति नगेरसम्म प्रअ हुन सक्दैन । त्यसैले नियुक्ति दिनु भन्दा पहिला जिशिअले जाँझबुझ गर्न जरूरी छ । विषयगत शिक्षक अभाव भएको विद्यालयमा पदपूर्ति गर्नु आवश्यक छ । यदि सरकारले सबै कुराको आवश्यकता पूरा गरी दिएर पनि आफ्नो कर्तव्य पालना नगर्ने प्रअ र शिक्षकले कारबाही गर्नुपर्छ । 
शिक्षा नियमावली, २०५९ ले प्रत्येक विनि कम्तीमा महिनाको एकपटक आफ्नो तोकिएको क्षेत्रका हरेक विद्यालयमा अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ । तर व्यवहारमा विनिहरू वर्षौमा एक पटक पनि तोकिएको विद्यालयमा पुग्दैनन् । जादैनन् । प्रअ र शिक्षकलाई ‘विनी’को नाम सोध्यो भने चिन्न र देख्न त परै जाओस् नाम पनि भन्न सक्दैन । तर विद्यालयको पठनपाठनमा भएका कमी कमजोरीहरू हटाई विद्यार्थीको उपलब्धीको स्तरमाथि उठाउनु विद्यालय निरीक्षण प्रयोजनको निम्ति ‘विनि’हरू राख्ने गरिन्छ । तर व्यवहारमा लागू गर्दैनन् । यसो हुनुमा को, कुन निकाय जवाफदेही छ ? किन निरीक्षण गर्न गएन त विनीहरू ? निरीक्षण गर्न नजाने विनीहरूलाई कसले गर्ने कारबाही ? यसो हुनुमा कसको कमजोरी छ । लागू खोइ ? अनुगन गर्न नजाने विनीहरूलाई कसले गर्ने कारबाही ? 
शिक्षा नियमावली, २०५९ को नियम २४ ले विद्यार्थीका बाबु, आमा, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै वा विद्यार्थीको पालनपोषण गर्ने र पठनपाठनको व्यवस्था मिलाउने व्यक्तिलाई अभिभावक मानेको छ । त्यसैले शिक्षा नियमावलीले विव्यसको अध्यक्ष र सदस्य हुनका निम्ति विद्यार्थीको बाबु, आमा, बाजे वा बज्यैलाई मात्र ‘अभिभावक’ मानिएको छ । यसअर्थमा विद्यार्थीका अभिभावकले मात्रै व्यवस्थापन समितिको अध्यक्ष हुन पाउँछन् भन्ने हो । तर कतिपय विव्यसको अध्यक्ष बन्नका निम्ति ‘गैर अभिभावक’ पनि बनेको हाम्रो सामु घाम जस्तै छर्लङ छ । त्यसैले कतिपय विद्यालयमा गैरअभिभावक व्यवस्थापन समिति हाकीरहेका छन् । त्यसकारण कतिपय विद्यालयमा वास्तविक अभिभावक भने बिरलै भेटिन्छ । आफ्नो ‘स्वार्थ’ पूरा गर्न र ‘पद’का निम्ति राजनीतिक दल र तिनका कार्यकर्ताहरूको हावी र दादागिरीले गर्दा यस्तो भएको हो । विद्यालय भनेको ‘राजनीतिक’ गर्ने ठाउँ होइन, ‘शिक्षा’ लिने र दिने ठाउँ हो । तर शिक्षा दिनुको सट्टा राजनीतिकरण भईरहेको छ । प्रावि (कक्षा पाँच उत्तीर्ण), निमावि (कक्षा ८ उत्तीर्ण) र मावि (एसएलसी उत्तीर्ण) विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हुनका निम्ति शैक्षिक योग्यता नियमावलीमा तोकेको छ । तर नियमावलीमा तोकेअनुसार व्यवहारमा लागू गरेको पाइदैन । उदयपुर जिल्लाको पोखरी गाविसको तल्लो मालबासेस्थित सरस्वती माविमाका अध्यक्षले कक्षा १ पनि पढेका छैनन्, तर विव्यसको अध्यक्षमा नियुक्ति गरेको छ । यो त एउटा उदाहरण मात्र हो । यस्ता नियम विपरीत कति छन् कति भनेर साध्यै छैन । आँखा चिम्लेर सिफारी गर्ने अभिभावक अनि कागज नहेरी नियुक्ति दिने जिशिअ । अनि यसमा शिक्षक दोषी कि जिशिअ ? चुरो कुरा यहिं छ । 
शिक्षक नियमित रूपमा आए÷नआएको र पाठ्यक्रमअनुसार पढाएको÷नपढाएको अनुगमन गर्दैनन् अभिभावक । विव्यस छनोट गर्दा ऐन÷नियममा के छ भनेर शिक्षा नियमावली हेर्दैनन् । बुझदैनन् । छोराछोरीले के सिक्यो ? के सिक्न बाँकी छ ? के सिकिरहेको छ ? कस्तो पढीरहेको छ ? छोराछोरीले पढे÷नपढेको हेरविचार गर्दैनन् । चासो र चिन्ता राख्दैनन् अभिभावक । जब छोराछोरी फेल भएपछि शिक्षकलाई दोष दिन्छन् । त्यसैले शिक्षकलाई दोष दिनु पहिला अभिभावकले पनि सोच्न जरूरी छ । 
आजको दिनसम्म कुन जिल्लाको कुन जिशिअले कति विद्यालयमा अनुगमन ग¥यो भनेर प्रश्न ग¥यो भने उत्तर दिन सक्दैन । जिशिअ जिल्ला शिक्षा कार्यालयमा बसेर शिक्षकलाई कारबाही गर्छु भनेर मात्रै नतिजा सुधार हुँदैन । किनकी जिशिअ भनेको जिल्लाको शिक्षा क्षेत्रको प्रमुख हो । त्यसैले कुन विद्यालयमा के भइरहेको छ भन्ने बारे अनुगमन गर्न जरूरी छ । 
जुन राष्ट्रले आफ्ना नागरिकलाई सबैभन्दा राम्रो शिक्षा दिन्छ त्यही राष्ट्रको भविष्य उज्ज्वल छ भन्ने कुरामा कुनै दुईमत छैन । त्यसैले सम्बन्धित शिक्षा सरोकारावाला निकायले जवाफदेही र जिम्मेवार हुनैपर्छ । बन्नैपर्छ । यदि जवाफदेही र जिम्मेवार भएन भने भोलीका दिनमा पनि आज जस्तै नहोला भन्न सकिदैन । त्यसैले अब शिक्षकलाई मात्र दोष नदिऔं सबै निकायले जवाफदेही र जिम्मेवार बन्नुपर्छ । किनकी नेपालको शैक्षिक मेरूदण्ड अझै पनि सरकारी स्कूल नै हुन् । अधिकांश गरिबका छोराछोरी पढ्ने भने कै सामुदायिक विद्यालयमा नै हो । त्यसैले हरेक वर्षको विद्यार्थीको संख्या आँकाडा हेर्ने हो भने निजीको भन्दा सामुदायिक विद्यालयबाट एसएलसी जाँचमा दोब्बर छात्रछात्रा सहभागी हुन्छन् । गराउँछन् । सरकारले हरेक वर्ष शिक्षामा ठूलो धनराशी लगानी गर्दै आएको छ । अझ यसमा अभिभावको पनि लगानी जोड्ने हो भने कहालीलाग्दो छ । यस अर्थमा शिक्षामा बजेट लगानी गरेअनुसार सरकारी स्कूलको पठनपाठन र शैक्षिक उपलब्धि सफल र गुणस्तरीय हुनुपर्ने हो तर त्यसको ठिक विपरीत भएको छ । 
शिक्षा विद्को अध्ययनले विद्यालयमा सिकाईको कमीका कारणले एसएलसी परीक्षामा धेरै विद्यार्थी फेल हुने गरेको देखाएको छ । विद्यार्थी कक्षाकोठाको पढाइ भन्दा ९० प्रतिशत टयूसन, कोचिङ र सहयोगी पुस्तक अर्थात् गाइड÷गेसपेपरको भरमा पास भएका तथ्याङ्कले देखाएको छ । एसएलसीमा सामुदायिक विद्यालयबाट धेरै विद्यार्थी अनुतीर्ण हुने गरेको आज मात्र होइन विगतको नतिजाले पनि देखाएको छ । एसएसलसी परीक्षाको इतिहासमा सबैभन्दा बढी वि.सं. १९९८ सालमा ७७.९ प्रतिशत र सबैभन्दा कम २०४० सालमा २० प्रतिशत उत्तीर्ण भएको तथ्याङ्कमा उल्लेख छ । २०६५ सालमा ६८.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएका थिए भने २०६५ सालदेखि यता एसएलसीको नतिजा ओरालो लाग्दै आएको छ । हरेक वर्षको एसएलसीको नतिजा तथ्याङ्क हेर्दा गणित, अंग्रेजी र विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थी फेल भएको पाइन्छ । किन यी तीन विषयमा बढी विद्यार्थी फेल हुन्छन ? के कारणले फेल भयो ? यसबारेमा चिन्ता, चासो र खोज गर्नु जरूरी छ । किनकी दैनिक जीवनमा काम लाग्ने व्यवहारिक शिक्षा शून्य छ । यस अर्थमा कक्षा १० पुगेका विद्यार्थीलाई अक्षर चिनाउनु बाहेक केहि उपब्धि दिएको छैन । त्यसैले एसएलसीको नतिजा मात्रै हैन तल्लो तहको पनि सिकाई सुधार्न गर्न जरूरी छ । उखान नै छ, ‘जग बलियो भयो भने मात्रै घर बलियो हुन्छ ।’ त्यसकारण तल्लो तहमा जग बलियो बनाउनु आवश्यक छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...