Skip to main content

नयाँ प्रेदेश नम्बर ४



११ जिल्लाका २४ निर्वाचन क्षेत्र समेटिएको उत्तरमा माथिल्लो मुस्ताङ हुँदै चीनको केरूङ नाका र दक्षिणका गण्डक ब्यारेज हुँदै नवलपरासीबाट भारत जोड्नेगरी कोरिएको यो प्रदेशको खाका विकासका दृष्टिले सम्भावना राख्नेमध्ये हो । यसले भारत र चीन दुवैलाई जोड्नेमात्रै होइन, गण्डकी र धवलागिरि अञ्चलका पर्यटकीय क्षेत्रको विकास एवं व्यापार प्रबद्र्धन हुनसक्ने देखिएको छ । आठवटा चालु हालतका जलविद्युत परियोजना र दर्जन हाराहारी निर्माणाधीन परियोजनाले यो प्रदेशमा विद्युत उत्पादन र वितरणका लागि सक्षम हुनसक्ने देखिएको छ । प्रदेशका अधिकांश भूभागलाई मोटरबाटोले छोएको छ ।
साधन, स्रोत र अन्य अवस्थाले मात्रै प्रदेश सक्षम हुन्छ भन्ने छैन । ‘सही मार्गमा हिँड्ने दूरदृष्टि भएका नेताको खडेरी यस प्रदेशमा देखिएको छ,’ राजनीतिशास्त्रका प्राध्यापक पदमशरण रेग्मी भन्छन्, ‘विना भिजनका नेताको अभावमा प्रदेश सक्षम भएर कसरी अघि बढ्छ भन्ने चिन्ता छ ।’ यस प्रदेशलाई सक्षम बनाउन विद्युत, पर्यटन र धार्मिक क्षेत्रको विकास गरेमात्रै हुने देखिन्छ। भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरले पनि यस क्षेत्रको विकासमा सहयोग पुर्‍याउँछ । त्रिवेणी धाम, देवघाट, मुक्तिनाथ, दामोदर कुण्डजस्ता धार्मिक क्षेत्रले पनि यहाँको विकासमा सहयोग पुर्‍याउछ । अन्नपूर्ण संरक्षण क्षेत्र, माथिल्लो मुस्ताङ लगायतका पर्यटकीय क्षेत्र रहेका कारण पनि यो प्रदेश सशक्त छ । ढोरपाटन सिकार आरक्षको केही भाग पनि यतै पर्ने भएकाले पर्यटनबाट मनग्ये आम्दानी गर्न सकिन्छ । कालीगण्डकी र मस्र्याङदी करिडोरमा हजारौ मेगावाट विद्युत निकाल्न सकिन्छ ।
यहाँ ख्याति बटुलेका प्राकृतिक सम्पदा र पर्यटकीय महत्त्वका स्थल प्रशस्त छन् । अन्नपूर्ण संरक्षण क्षेत्र यहीं पर्छ । हिमशृङखला, ताल र ऐतिहासिक र सांस्कृतिक सम्पदामा यो क्षेत्र धनी देखिन्छ । विश्व प्रसिद्ध अन्नपूर्ण राउन्ड ट्ेरकिङ पनि यहीं छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङ पनि यसमै छन् । म्याग्दी जिल्लामा अवस्थित संसारकै सबैभन्दा गहिरो कालीगण्डकीको खोँचदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल यहाँ छन् । ‘ऐतिहासिक, पुरातात्त्विक र आकर्षक पर्यटकीय गन्तव्यहरूको संगम यस प्रदेशमा छ’, एक्यापका पर्यटन प्रमुख नरेन्द्र लामाले भने, ‘यही सम्भावनाले पनि यो प्रदेशलाई सबल बनाउँछ ।’ विश्व सम्पदामा सूचीकृत हुनलागेको लोमान्थाङ दरबारदेखि विभिन्न गुम्बा, दामोदर कुण्ड, मुक्तिनाथ मन्दिरजस्ता ऐतिहासिक सम्पदा यहाँ छन् ।
त्यस्तै म्याग्दी जिल्लाको घोडेपानी पुनहिल प्रसिद्ध ट्ेरकिङ रुट र यही रहेको संसारकै ठूलो मध्येकै एक लालीगुराँसको वन, रुप्से झरना प्रसिद्ध मानिन्छ । लोप हुनलागेका हिउँचितुवा, कस्तूूरीमृग र पलास क्याट लगायतका दुर्लभ वन्यजन्तुको बासस्थानदेखि बहुमूल्य जडिबुटी यहाँ पाइन्छन् । जलविद्युतका लागि यो प्रदेश त्यतिकै धनी छ । मस्र्याङदी, कालीगण्डकी, मादी र मोदी विद्युत आयोजना पनि यस क्षेत्रमा छ । ५ हजार ४ सय १६ मिटरको उचाइमा रहेको मनाङ जिल्लामा अवस्थित थोराङपास, ना र फु उपत्यका पनि प्रसिद्ध छ ।
लमजुङ जिल्ला नमुना पर्यटकीय गाउँको रूपमा परिचित छ । सार्कस्तरीय नमुना पर्यटकीय घले गाउँदेखि घनपोखरा, भुजुङ र पसगाउँदेखि ऐतिहासिक स्थल दूधपोखरी यसमै पर्छन् । लोकदोहोरी उद्गमस्थल लमजुङ जिल्लालाई लिइन्छ । ‘प्राकृतिकसँगै ऐतिहासिक, सांस्कृतिक, तालतलैया र आकर्षक हिमालहरू देखिने यो क्षेत्र पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै आएको छ’, राष्ट्रिय पर्यटन प्रबद्र्धन समितिका केन्द्रीय सदस्य गोविन्द पहारीले भने, ‘आर्थिक विकासका लागि भएका सम्भावनामाथि काम गर्ने नेतृत्व हुनसके प्रदेश छिट्टै सबल हुनेछ ।’
पर्यटकीय प्रबद्र्धन हुनसके प्रदेशले आम्दानी बढाउन सक्छ । पर्वतको कुस्मा बजार नजिकको प्रसिद्ध धार्मिकस्थल गुप्तेश्वर गुफा, मोदीबेनी पर्यटकको आकर्षक गन्तव्य मानिन्छन् । यसको दक्षिण भेगमा शालिग्राम शिला पाइन्छ । पञ्चासे र डहरे लेक प्रचुर सम्भावना बोकेका इलाका हुन् । ढोरपाटन सिकार आरक्षदेखि गल्कोट दरबार लगायतका ऐतिहासिक सम्पदा र मठमन्दिरहरू पनि छन् । लुम्बिनी र पोखराको बीच भागमा पर्ने स्याङजामा थुप्रै सम्पदाहरू छन् । पोखरेली पर्यटन व्यवसायी चितवन र लुम्बिनीसँगको सडक विस्तार बढाए ४ नम्बर प्रदेशसँगै अन्यको पनि आर्थिक विकासमा टेवा पुग्ने छ ।
त्यस्तै श्रवणकुमारको समाधिस्थलदेखि छाङछाङदी, राम्दीघाट, मिर्मी, आँधीखोला लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू प्रशस्त छन् । ऐतिहासिक जिल्ला गोरखा पनि सम्पदा भए मध्येको हो । गोरखा दरबार, मनकामना मन्दिरदेखि पृथ्वीनारायण शाहका ऐतिहासिक दस्तावेज यहाँ भेटिन्छन् । मनास्लु संरक्षण क्षेत्र पर्ने यस जिल्लामा लार्केपास, चुङ भ्यालीदेखि गणेश हिमाल, वीरेन्द्र ताल लगायतका प्राकृतिक सम्पदाहरू छन् । यस्तै तनहुँ जिल्लामा आदिकवि भानुभक्त आचार्य जन्मेको चुँदीरम्घा, ऐतिहासिक व्यास गुफादेखि पहाडीकी रानीको रूपमा परिचित पर्यटकीय क्षेत्र बन्दीपुर लगायत पर्छ । लुम्बिनी अञ्चलमा पर्ने पश्चिमाञ्लच प्रदेशमा गाभिएको नवलपरासी चितवन राष्ट्रिय निकुञ्जको ठूलो जंगल यही जिल्लाभित्र पर्छ । ‘यस क्षेत्रबाट कपिलवस्तु रुपन्देही र नवलपरासीको केही भाग गरी अन्नभण्डार छुटेको छ’, भूगोलविद् डा. कृष्ण केसीले भने, ‘मधेसको केही भाग छुटे पनि हिमाल र पहाडका प्राकृतिक स्रोत र सम्पदा पनि जोडिएको छ ।’ भूगोलका दृष्टिले आर्थिक रूपमा सबल हुने सम्भावना अरु प्रदेशका तुलनामा ४ नम्बर प्रदेश अधिक रहेको उनले बताए ।
तनहुँमा मात्रै पृथ्वी राजमार्गको ७२ किलोमिटर क्षेत्र पर्छ । सडकका दृष्टिले अधिकांश स्थान कालोपत्रे छ । केहीमा ग्राभेल भइरहेका छन् । जहाँ सडक पुगेको छ, त्यहाँ गाउँ क्रमश: बजारमा रूपान्तरित भएर सहर बनेका छन् । यो प्रदेशमा मुख्य सहर पोखरासँगै पर्वतको कुश्मा, बागलुङको बागलुङ, म्याग्दीको बेनी, स्याङजाका वालिङ, पुतलीबजार, गल्याङ, गोरखाको गोरखा, तनहुँको आबुखैरेनी, दमौली, डुम्रे, दुलेगौंडा, खैरेनीटार, कोत्रे र नवलपरासीको बर्दघाट लगायत बजार छन् । यी बाहेक सहरोन्मुख बजारको संख्या दुई दर्जन हाराहारी छन् ।
मूलत: गण्डकी–धौलागिरि अञ्चल पर्यटन व्यापारमा अघि छ । पर्यटन व्यवसायमा पोखरा उपत्यकामा मात्रै ५५ अर्बभन्दा बढीको लगानी रहेको सम्बद्ध व्यवसायी बताउँछन् । पोखरामा फूलबारी र पोखरा ग्राण्ड नामक ठूलो लगानीका पाँचतारे होटल छन् । यी बाहेक पोखरामा औद्योगिक क्षेत्र छ । नवलपरासीमा रहेको चौधरी उद्योगग्राम पनि यही प्रदेशमा परेको छ । तनहुँमा सूर्य टोबाको, माछापुच्छ्रे सिमेन्ट, गोरखामा गोरखकाली टायर लगायतका कारखाना छन् ।
गण्डकी अञ्चलका ६ जिल्लामध्ये कास्की बाटो र विकासका दृष्टिले सुगम पनि छ । ८,०९१ मिटर अन्नपूर्ण प्रथम हिमालसँगै अन्य ११ वटा हिमशिखरहरू ७ हजार मिटरभन्दा बढी उचाइमा छन् । उत्तरी मध्यभागमा रहेको माछापुच्छ्रे (कुमारी चुचुरा) ६,९९३ मिटर प्रख्यात छ । फेवाताल र सात तालको सहरको रूपमा परिचित लेखनाथ नगरपालिका पनि यहाँ पर्छ । पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा सहरले मुलुकको सुन्दर, सफा र व्यवस्थित नगरको रूपमा पहिचान राखेको छ ।
जनसंख्या मा
बाहुन/क्षत्री ७८७४३९ (३७.६४)
जनजाति ८७७८१९ (४१.९६)
पहाडे दलित ३८०६१६ (१८.१९)
मधेसी ९५४८ (०.४६)
मधेसी जनजाति ६०९३ (०.२९)
मधेसी दलित ३१४७ (०.१५)
मुस्लिम १५५१५ (०.७४)
अन्य ११९७६ (०.५७)
जम्मा जनसंख्या २०,९२१५३
स्रोत : जनगणना २०६८
शैक्षिक संस्था
विश्वविद्यालय १ (पोखरा विश्वविद्यालय)
मेडिकल कलेज २ (मनिपाल र गण्डकी)
वनविज्ञान अध्ययन संस्थान १
इन्जिनियरिङ कलेज २
टुरिजम एन्ड होटल म्यानेजमेन्ट १
जलविद्युत् : (चालु हालतका ठूला योजनामात्रै)
१४४ मेगावाट कालीगण्डकी ए– स्याङ्जा
९.४ मेगावाट आँधीखोला– स्याङ्जा
६९ मेगावाटको मस्र्याङ्दी– तनहुँ
७० मेगावाटको मध्यमस्र्याङ्दी– लमजुङ
५ मेगावाटको सिउरूले– लमजुङ
४ मेगावाटको खुदी– लमजुङ
१४.८ मेगावाटको मोदीखोला– पर्वत
१० मेगावाटको तल्लो मोदी १– पर्वत
रहेका छन ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...