Skip to main content

विद्यालय पुनर्निर्माण ढाँचा

टीका भट्टराई
माघ १, २०७२- ठूलो जनसमुदाय इन्धन अभावमा रुमलिए पनि देशमा दीर्घकालीन असर पार्ने नीतिगत निर्णय भइरहेका छन् र कति हुने तयारीमा छन् । भर्खरै भूकम्पपछिको पुनर्निर्माण विधेयक पारित भएको छ । जनस्तरमा गरिने पुनर्निर्माणले गति लिने अपेक्षा गरौं । निर्माण भन्नासाथ विकासे, सरकारी कर्मचारी र जनसाधारणको मनमा कन्क्रिटको संरचना भन्ने छाप परेको छ र गच्छेले भ्याएसम्म बढी सिमेन्ट प्रयोग गर्नु प्रतिष्ठाको विषय बनेको छ ।
धेरैजसो यस्ता संरचना वातावरणसँग नमिल्ने, कलाविहीन, तातो र चिसो दुवै परिस्थितिका लागि अनुपयुक्त देखिएका छन् । अहिले वातानुकूलन सिमेन्टमाथिको थप प्रतिष्ठाको विषय हो । कुरूप घर बनाउनेमा धेरैजसो सरकारी भवन पर्छन् । त्यसमा पनि अझ कम खर्चमा निर्माण गर्नुपर्ने ठूलो सङ्ख्याका विद्यालय पर्छन् ।
दुई महिनाअघि लेखकले सम्बद्ध संस्थामार्फत भूकम्पपछिको निर्माणका सन्दर्भमा केही विद्यालयका भवन बनाउन चाहेको कुरा गर्दा एकजना जिल्ला शिक्षा अधिकारीले ‘अहिले पख्नुस्, विभागबाट ढाँचा र निर्देशिका आउँछ, अनि गर्नुहोला’ भन्नुभयो । तर आफूले कन्क्रिटभन्दा वातावरण अनुकूल स्थानीय सामग्री प्रयोग भएको उदाहरण देखाउन एक—दुई भवन बनाउने विचार गरेको कुरा राख्दा उहाँले तत्काल भन्नुभयो, ‘ए, त्यस्तो अस्थायी त भइहाल्छ नि, कहाँ बनाउने भन्नुहोस् न ।’
यसले हाम्रो देशमा विद्यमान संरचनाप्रतिको अवधारणा प्रतिनिधित्व गर्छ । विद्यालयहरू ठूलो सङ्ख्यामा देशका दुर्गम भेगमा बनाइने भएकाले कस्तो सामग्री प्रयोग गर्ने भन्ने विषयले अझ धेरै महत्त्व राख्छ । बाध्यता होलान्, तर हाम्रो देशका अधिकांश विद्यालय कुरूप संरचनामा पर्छन् । अहिले भुइँचालोबाट कम प्रभावित बनाउने सचेतता बढेको सन्दर्भमा यस्ता भवन अझ ‘कन्क्रिटमय’ हुने देखिन्छ ।
हालै शिक्षा विभागले एसियाली विकास बैंकको सहयोग रहेको एक परियोजना अन्तर्गत प्रस्तावित विद्यालयको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । दसकोठे त्यो प्रस्तावित भवन वरिपरि अरु ससाना भवन गरी चार ब्लक छन् । यो लेखक त्यसको डिजाइनको विस्तारमा टिप्पणी गर्ने आशय राख्दैन । तर यस किसिमको प्रणालीबारे केही प्रश्न उठ्छन् ।
त्यसमा डिजाइनको प्राविधिक पक्षमात्र समावेश भएकाले कति सम्बोधन गरिसकिएका पनि होलान् । पहिलेको अनुभवका आधारमा हेर्ने हो भने भत्किएका विद्यालयहरू सबै एकरूपले पुनर्निर्माण गर्ने दृष्टिले सोचिएको देखिन्छ । यथार्थमा डिजाइनभन्दा पनि पहिला ‘मर्मत मार्गदर्शन’ आउनुपर्छ । थुप्रै विद्यालय चर्किएका छन्, तर ती बेकम्मा भएका छैनन् । धेरै जसोको ध्यान तिनलाई मर्मत गरेर उपयोग गर्नलायक बनाउनेभन्दा बेकम्मा सावित गरेर नयाँ भवन निर्माण गराउनेमा छ । भुइँचालोपछि शिक्षा विभागको प्राविधिक टोली निरीक्षण गर्न जाँदा निजी विद्यालयहरूले रातारात मर्मत गरेर र प्राविधिकलाई प्रभावित गरेर अभिभावकलाई छिर्नैसमेत पनि नदिई हरियो ‘सुरक्षित’ स्टिकर टाँस्न लगाएका थिए । तर सामुदायिक विद्यालयहरूले भने सकेसम्म भत्केको देखाएर रातो याने ‘असुरक्षित’ स्टिकर टाँस्न लगाएको सुनियो । अहिलेसम्म कति ठाउँमा असुरक्षित स्टिकर नियमित पढाइ नगर्ने निहुँ भएका छन् । निर्माणको होडले देशलाई ठूलो व्ययभार थप्ने पक्कै छ ।
लागत उल्लेख नगरिए पनि शिक्षा विभागले प्रकाशित गरेको उक्त नक्साअनुसार विद्यालय भवन निर्माण झन्डै २ करोड पर्ने सरोकारवाला बताउँछन् । एउटा परियोजनाको नाममा एसियाली विकास बैंकद्वारा यस्तो निर्माण प्रबद्र्धन गर्न खोजिएको हो कि भन्ने देखिन्छ । हामी मर्मत गर्न छाडेर सबै नयाँ भवन बनाउनेतिर लाग्यौं भने हामी एसियाली विकास बैंक जस्ताको चर्को ऋणको मारमा पर्न सक्छौं । एडीबी वा विश्व बैंक व्यावसायिक वित्तीय संस्थाहरू
हुन् र नाफा गर्न चाहन्छन् ।
एकरूपीकरण व्यवस्थापनको सजिलोका लागि हो । विशेषगरी हाम्रोजस्तो विविधतापूर्ण हावापानी भएको देशमा एकरूप संरचना उपयुक्त हुन्न । एडीबी जस्ता संस्थाले तयार गर्न लगाएका डिजाइन ‘ब्लुप्रिन्ट’ मान्नुपर्ने भयो भने एक त त्यो देशले थाम्न सक्दैन, अर्को त सब ठाउँमा त्यस्तो बनाउन नसकिने भएपछि विद्यालय झन् अलपत्र पर्नेछन् । यो फेरि घुमाइ–फिराइ सार्वजनिक विद्यालयका केटाकेटी निजी विद्यालयमा धकेल्ने रणनीतिमा परिणत हुनेछ ।
हामीले देखेका छौं, धेरै निजी विद्यालय टिनका टहराबाट सुरु हुन्छन् र पैसा कमाएपछि मात्र भीमकाय भवनमा परिणत हुन्छन् । हाम्रा सार्वजनिक विद्यालयले नाफा गर्न त परेन, तर भवन बनाउनैपरे पनि यस मामिलामा निजी विद्यालयबाट पाठ सिके के होला ? धेरै दातृ संस्था विद्यालयलाई सघाउन चाहन्छन् । तर यस्तो ब्लुप्रिन्टमा सघाउन सक्दैनन् । दातामै भरपर्ने हो भने यस्तो काम विद्यालय निर्माणबाट साना दाता भगाउने रणनीतिमा पनि परिवर्तन हुनसक्छ । ‘गाउँमा बुझ्दा एउटा १० कोठे विद्यालय भवन २०–३० लाखमा बन्न सक्छ भन्छन् । गैससहरू सरकारको ढाँचा भनेर दुई करोड माग्दैछन् । छक्क परेकी छु’, एक जर्मन सहयोगी संस्थाकी अधिकारीले भनिन् ।
स्थायी प्रकृतिका तर कन्क्रिटमा आधारित नरहेका संरचनाको पनि देशमा अभ्यास भइरहेको छ । विदेशको जागिर छाडी नेपालमै काम गर्न आएका युवा इञ्जिनियरहरूद्वारा प्रबद्र्धित ‘आबारी’ नामक संस्थाले स्थानीय जैविक सामग्रीबाट बन्ने विद्यालयको ढाँचा ल्याएको छ र उसले त्यसमा शिक्षा मन्त्रालयको स्वीकृति लिने प्रयास गरिरहेको बताएको छ । ‘आबारी’ले आफ्नो नक्साअनुसार ६ कोठे भवन केही महङ्गो (६० लाख हाराहारी) देखिए पनि त्यो लागत ‘असल प्रकृति’को अर्थात् स्थानीय सीप र श्रम अनि साधनको अधिकतम प्रयोग हुने भएकाले स्थानीय अर्थतन्त्र मजबुत हुने र समुदाय सशक्तीकरण गर्ने दाबी गरेको छ । अरु ठाउँका अतिरिक्त उसले सिन्धुपाल्चोकमा नमुना विद्यालय निर्माण गरिरहेको छ ।
रुकुममा अस्ट्रेलियाको जागिर छाडेर आएका अर्का एक आर्किटेक्ट अजय राना मगरले सम्पूर्ण रूपमा प्लाष्टिकको बोराका थैलामा खाँदिएको माटो र काठमात्र प्रयोग गरिएको दुईतले भवन बनाएको अर्को उदाहरण हाम्रोसामु छ । उनले त्यसको लागत २५ लाख लागेको र त्यो अति दुर्गमताको कारणले सामान्य दरभन्दा बढी हुनगएको बताएका छन् ।
अर्को एक क्यानाडेली समूहको अगुवाइमा तारजालीमा ढुङ्गा भरिएको गाह्रो लगाएर (ग्याबियन वाल) बनाइएको घर भूकम्प सुरक्षित, वातावरण अनुकूलित र सस्तो छ । यसको निर्माण समय पनि छिटो हुने र परम्परागत ‘काठले सुर कस्ने’ विधिलाई अपनाएको र राष्ट्रिय भवन निर्देशिका अनुसारकै रहेको समूहको दाबी छ । यसको प्रयोग धादिङमा भइसकेको छ ।
उल्लिखित ढाँचाहरू विद्युतीय माध्यममा लेखकसम्म आइपुगेका र लेखकको कुनै किसिमले सम्पर्क रहेका केही उदाहरणमात्र हुन् । भवन निर्माण गर्दा ‘ब्लुप्रिन्ट’भन्दा सुरक्षित, कलात्मक, शैक्षणिक आवश्यकता, हावापानीको अनुकूलन जस्ता आधार निर्धारण गर्नु उपयुक्त हुन्छ । सहयोगलाई अझ प्रोत्साहित गर्न लागतमा सीमा राख्न पनि सकिन्छ । भूकम्पलाई हामी कलाविहीन ठूला भद्दा र महङ्गा घरको राजबाट उन्मुक्ति लिने उपायका रूपमा लिन सक्छौं । कस्तो परिस्थितिमा कस्ता उपयुक्त छन् भन्ने तुलना गर्न वस्तुवादी आधार जरुरी छ । यस्ता प्रयत्नमा संलग्न सिर्जनशील निर्माण प्राविधिकको भेला गरी डिजाइनको उपयुक्तता सिफारिस गर्न आवश्यक छ । आधारभूत मान्यतामा स्पष्ट भएर मात्र ‘डिटेल डिजाइन’ बनाउनु उपयुक्त हुन्छ । धेरै दाता स्वीकृति नपाएर निराश होलान्, तर केन्द्रीय तहमा डिजाइन गर्ने परिपाटी उपयुक्त होइन । भौतिक योजना र शिक्षा मन्त्रालयले सिद्धान्त र मार्गदर्शन मात्र बनाएर स्वीकृत प्राविधिकले बनाएका नक्सा जिल्ला तहमै स्वीकृत गर्ने परिपाटी बसाल्नु आवश्यक छ । सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने क्रम निरन्तर छ । १० जनामात्र विद्यार्थी रहेको विद्यालयमा लाखौं खर्च गर्नु आवश्यक छैन । मूल सरोकारवालासँग बसी जनसड्ख्या प्रक्षेपण गरेर मात्र विद्यालयको स्थायी पुनर्निर्माणमा लाग्नुपर्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...