दशैं (लघु कथा)
सधै बेफुर्सदिलो हुने मास्टर साहेब यतिबेला निकै फुर्सदिला देखिन्थे । परिवारका सदस्यहरु एकै ठाउँमा सँगै भएर नबसेको पनि धेरै समय भइसकेको थियो । आज भने मास्टर साहेब मात्र हैन घरका सबै जना फुर्सदमा थिए । दशैं छुट्टी को भरपूर उपयोग गर्ने र रमाउनेमा सबैको ध्यान थियो ।
दशैमा राम्रो लगाउने , मीठो खाने, घूमफिर गर्न जाने, रमाइलो गर्ने कुरामा सबैको ध्यान थियो ।दशैं को तयारीबारे छलफल चलिरहेको थियो ।
साथीहरु संग खेल्न गएकी कान्छी छोरी दौडिदै मास्टर जीको काखमा आएर बसी र उसको अर्ध फुलेका दारी मुसार्दै भनी ।
"बाबा, हाम्रो घरमा खसी कहिले ल्याउने ? ऊ पल्लो घर रमिलाकोमा कति ठूलो सिंग भएको खसी ल्याएका छन । हामीले त्यो भन्दा ठूलो ल्याउनु पर्छ है बाबा । "
कान्छी छोरीको माग नसकिदै बिचमै माइली छोरीले आमातिर फर्किदै आफ्नो मागको फेहरिस्त सुनाई हाली।
"मलाई एक जोडी नयाँ टिसर्ट, पेन्ट र लेहेन्गा त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि । त्यहि लगाएर पर्सि साथीसंगै मेला हेर्न जाने हो ।"
अब बोल्ने पालो आयो जेठी छोरीको । ऊ झन अरु भन्दा के कम आफ्ना मागहरु तेर्स्याइ हाली । "मलाई त टिसर्ट र पैण्टले मात्र पुग्दैन बाबा । त्यसमा मिल्ने एक जोडी स्याण्डल, कपाल रंग्याउन र स्टेट गर्न ब्यूटी पार्लर जाने पैसा दिनै पर्छ । साथीहरुले कति राम्रो कलर हानी सके । ए अनि एउटा राम्रो सेल्फ़ी क्यामेरा वाला मोबाइल किन्नै पर्छ है बाबा । साथीहरुले कति राम्रा राम्रा मोबाइल बोक्छन । आफ्नो भने देखाउनै लाज लाग्ने । आ... बरु मासु त फ्रेस हाउसबाट दुई चार किलो ल्याएर खाए पनि हुन्छ तर मैले भनेका सामान चाहिं ल्याउनै पर्छ । नत्र भने म टिकै लगाउँदिन ।"
छोरीहरुको माग बल्ल के सकिन लागेको थियो । छोराले त झन भालेको जुरो जस्तो कपाल हल्लाउंदै धम्की पूर्ण शैलीमा भन्न थाल्यो । "हेर्नुस डयाड् । यसपटक पनि मलाई बाइक नकिन्दीने हो भने राम्रो हुदैन । मलाई ल्यांग गरेको कत्ति मन पर्दैन । बाइक नभएर कलेजमा साथीहरुले कस्तो रयाग गरिराछन । यो दशै बिदामा आफ्नै बुलेटमा मुस्ताङ जाने हो ।"
बदलिंदो समय अनुसारका छोरा छोरीका मागहरु सुनेर गम्भिर बनिरहेका मास्टर जीलाई श्रीमती ज्यू को मागले झन गम्भिर बनायो ।
श्रीमती सर्मिलाको माग त झन चर्को थियो। "सुन्नुहोस है एलिनाका बाबा मैले भन्दिएकी छु नि । यसपाली त गहना किन्नै पर्छ है । बिहेका यतिका सालसम्म पनि मैले गहना फेर्न सकेकी छैन । अर्को साल अर्को साल भन्दा भन्दै बुढेसकाल लाग्न थाल्यो । कतै राम रमितामा जान पनि लाज हुन्छ । कस्तो पुरानै बिहेका गहना लगाएर आएकी भन्छन् । अलि अलि फुलेका केश कालो बनाउनु छ । भोलि बजार जाने हो । सपिङ पनि गर्नु छ । छोरीलाई मोबाइल किन्दा मलाई पनि एउटा ल्याइ दिनु है । दिउसो बोर लाग्दा यसो फेसबुक चलाउन हुन्छ । कति सिरियल मात्र हेर्नु ।
सबैका माग सुनेर मास्टर जी ठूलो सास फेर्छन । अनि सोच मग्न हुन्छन् ।
एउटा सानो जागीर । खाने मुख त्यति धेरै । त्यसमाथी यति ठूल्ठूला माग । जावो माष्टरी जागीर, त्यसमा पनि प्राविको तलब कति नै हुन्छ र ! जागीरले त महिना मर्नै भ्याउँदैन । बिहान बेलुका ट्युसन पढाएको पैसा पनि आधा भन्दा बढ़ीले दिएनन । उपल्लो तहका कक्षा लिए बापतको थप सुबिधा साथीहरुकै बिबादले यसै बर्ष देखि कटौती भयो ।
झन यसपाली त शिक्षाको अधिकार स्थानीय तहमा आएको । शिक्षकको लागि आएको तलब खै कुन्नि कता खर्च गरेछन । कार्तिक महिनाको तलब निकासा नै दिएको छैन रे । उनी मागहरुको सूची हेर्छन । आम्दानी सम्झन्छन । सुस्केरा हाल्छन । खै कसरी पूरा गर्ने यतिका माग । त्यस माथि आफ्ना आबश्यकता त अझ समाबेसै भएका छैनन् । स्टकोटले पखेटा हाल्न थालेको छ । गत महिना टालेर ल्याएको जुत्ता फेरि च्यातिएको छ । मोबाइल बिग्रेर पसलमा मर्मत गर्न दिएको अझै ल्याउन सकिएको छैन । एउटा सेकेण्ड हयाण्ड बाइक चढ्ने पाँच बर्ष अघिको धोको अझै उस्तै छ । कमसेकम त्यति किन्न सके हिड्ने समयको बचत हुन्थ्यो । एक दुई बढ़ी अतिरिक्त कक्षा लिन त सकिन्थ्यो ।
यसो सोच्छन् । ऋण काढेर भए पनि केहि माग त पूरा गर्ने हो कि । नत्र परिवार मा खुशी नआउने भो । तर सम्झिन्छन् । चाड़बाडमा ऋण लिएर फजूल खर्च गर्नु हुदैन भनेर आफैले पढ़ाएको । दोधारमा पर्छन् । कति गहिरो छ त्यो खाडल । आदर्श र ब्यबहार बीचको । आम्दानी र खर्च बीचको । आकांक्षा र प्राप्ति बीचको । भन्छन् " यो दशैं हो कि दशा " ?
२०७४/०६/१३ शुक्रबार
देउपुर, पर्बत