गजल
नसकिने रैछ आँसु रात दिन रूँदा पनि ।
नजांदो रैछ मनको मैलो जति धुंदा पनि ।।
जब मनमा चिरा पर्छ मुटु पोल्न थाल्छ ।
एक्लोपनको आभास हुन्छ सँगै हुँदा पनि ।।
मनै मरी सकेपछि कोष त्यसै मर्दा रैछन ।
स्पर्षको अनुभूति हुन्न उसले छुंदा पनि ।।
कठै भन्ने कोहि छैन ब्यथा बढ़िरहेको छ ।
मर्म उस्तै रह्यो आधा जुनी जिउंदा पनि ।।
२०७४/०१/०६
गजल
दुब्लाएको ज्यान थोरै मोटो भएको छ ।
हिजो लाउने दौरा आज भोटो भएको छ ।।
नौलो फेशन देखाउंदै हिड्यो नभन्नु है ।
हिजो ठिक्क हुने लुगा छोटो भएको छ ।।
हिजो रित्तो घैटो पनि उठाउन सकिएन ।
आज भरिएको गाग्री लोहोटो भएको छ ।।
जिन्दगीमा कहिल्यै यो मोटाउंदैन भन्थ्यौ ।
मलाई हेर्ने तिम्रो नजर खोटो भएको छ ।।
२०७४/०१/०९
गजल
एक पछि अर्को खाडल खन्दैछ सरकार ।
आफू ठीक अरु बेठीक भन्दैछ सरकार ।।
शक्ति पृथकीकरणको 'श' सुन्न नचाहने ।
दिन प्रति दिन निरंकुश बन्दैछ सरकार ।।
सरकारको बिरुद्धमा निर्णय त गर्नै हुन्न ।
एक एक गरी चाल्नोमा निफन्दैछ सरकार ।।
बाँकी त्यो संसद पनि भंग गर्न बेर छैन ।
आफू ढल्ने दिन आफै गन्दैछ सरकार ।।
२०७४/०१/१७
गजल
स्थानीय निर्बाचन भन्दै उम्मेदबारहरु गाउँमा आए ।
चिल्ला गाडी मोटर अनि धेरै कारहरु गाउँमा आए ।।
आज सम्म राजनीति भन्दै झोला बोक्ने पाखा लाउदै ।
टिकट खोसि भ्रष्ट दलाल ठेकदारहरु गाउँमा आए ।।
नाम मात्र फेरिएछ ब्यबस्था झन बिग्रिने पो हो कि ।
दुखीको रगतमा होली खेल्ने सरदारहरु गाउँमा आए ।।
के को फुर्ती गर्छौ तिमी च्याति देउ तिम्रो घोषणा पत्र ।
अमूल्य मत खरीद गर्ने उहि बिचारहरु गाउँमा आए ।।
भू माफिया, दलाल अनि भ्रष्टको हातमा राजनीति ।
जनताको जीत होइन अब हारहरु पो गाउँमा आए ।।
सुन्दर फूल फुलाउने छु यो नेपाली समाजमा भन्थ्यौ ।
रंग फेर्दै फेर्दै उही बिशालु झारहरु पो गाउँमा आए ।।
२०७४/०१/२१
गजल
हिजो आज मास्टर साहेब
स्कूल आउन छाडेका छन ।
निकै ब्यस्त देखिन्छन् रे
फुर्सद पाउन छाडेका छन ।।
आजकल उनको हातमा
झण्डा फर्फराउँछ अरे ।
धेरै भयो कलम डस्टर
चक समाउन छाडेका छन ।।
जिन्दाबाद र मुर्दाबादको
नारा भट्याउंदै छन रे ।
प्रार्थनामा सयौ थुगा
गीत गाउन छाडेका छन ।।
जता गयो उतै बियर
मासु सबै फिरि छ रे ।
त्यहि भएर उनी अचेल
भट्टी धाउन छाडेका छन ।।
२०७४/०१/२१
गजल
मान्छे उही फेरि नयाँ भाषण बोकेर आएको छ ।
सजिएर बस्न नयाँ सिंहासन बोकेर आएको छ ।।
भोकमरीले गाउँले मर्दा कुन दुलोमा लुकेकोथ्यो ।
अमूल्य मत खरिद गर्न रासन बोकेर आएको छ ।।
साम दाम दण्ड भेद सबै नीति अख्तियार गरयो ।
टोलका गुण्डा अघि सार्दै कासन बोकेर आएको छ ।।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो भन्छन् ।
नेताज्यूले उही निरंकुश शासन बोकेर आएको छ ।।
२०७४/०१/२९
मुक्तक
गुंड बनायो गौथलीले, बास बस्न कौवा आयो ।
नानाथरि रूपहरु फेर्दै उही भ्रष्ट खौवा आयो ।।
खै कसरी बाँच्छन अब खोलीका ती भुराहरु ।
मुहानबाट बग्दै बग्दै बिष रूपी मौवा आयो ।।
गजल
प्रचार गरयौ लोभ धम्की नाडी देखाएर ।
नेताज्यूका बंगला अनि गाड़ी देखाएर ।।
आश्वासनका चर्का भाषण ब्यर्थै खेर गए ।
लोप्पा खुवाइदिए नेता गफाडी देखाएर ।।
जित्नेहरु पनि कत्ति मख्ख नपरे हुन्छ ।
जनता बसेका छन रित्तो हांडी देखाएर ।।
जोडनु छ फाटेको मन फोडनु छ पहरा ।
हुन्न बिकास मात्र भेल बाढ़ी देखाएर ।।
२०७४/०२/०५
गजल
हिजो आज चर्चा यहाँ रेलकै छ हजुर ।
रहस्य त राजनीतिक खेलकै छ हजुर ।।
सुलुलुलु बग्ने रेल आउंदैछ रे छिट्टै ।
दुखियालाई चिन्ता नुनतेलकै छ हजुर ।।
एउटाले सपना देख्छ अर्कोले उडाउंछ ।
समस्या त आपसी बेमेलकै छ हजुर ।।
गरयो भने असम्भब भन्ने केहि छैन ।
शंका यहाँ मात्र जालझेलकै छ हजुर ।।
बोलेका बाचाहरु पूरा गर्ने तर्फ लागौं ।
आखिरिमा कुरो पास फेलकै छ हजुर ।।
२०७४/०२/१४
गजल
हिजो आज चर्चा यहाँ रेलकै छ हजुर ।
रहस्य त राजनीतिक खेलकै छ हजुर ।।
सुलुलुलु बग्ने रेल आउंदैछ रे छिट्टै ।
दुखियालाई चिन्ता नुनतेलकै छ हजुर ।।
एउटाले सपना देख्छ अर्कोले उडाउंछ ।
समस्या त आपसी बेमेलकै छ हजुर ।।
गरयो भने असम्भब भन्ने केहि छैन ।
शंका यहाँ मात्र जालझेलकै छ हजुर ।।
बोलेका बाचाहरु पूरा गर्ने तर्फ लागौं ।
आखिरिमा कुरो पास फेलकै छ हजुर ।।
२०७४/०२/१४
मुक्तक
सत्य बाहिर आएको छ पोल खोलेपछि ।
लजाउंदै निहुरिदै छन झुटो बोलेपछि ।।
हिजो मैं हूँ भन्नेहरु दुला पस्नु पर्दो रैछ ।
नपत्याउने फांडोले आज मुख पोलेपछि ।।
गजल
असारे यो झरीसँगै रुझ्नुको मज्जा बेग्लै ।
प्रकृतिका रुप सँगै जुध्नुको मज्जा बेग्लै ।।
यता म भिझ्दा उता उन्लाई जाडो भयो रे ।
सुटुक्क त्यो इशारा बुझ्नुको मज्जा बेग्लै ।।
धाउनु छैन बर माग्दै मठ अनि मन्दिरहरु ।
दिलको देउता भनि पुज्नुको मज्जा बेग्लै ।।
ख्याल ख्यालमै ठाक्कठुक्क पर्न थालेपछि ।
घुर्क्याउंदै माइततिर कुद्नुको मज्जा बेग्लै ।।
२०७४/०३/१४
गजल
गाउँको खेत बांझो छोड़ी
शहरमा छन लाहुरीनीहरु ।
बर्षमा एक दिन खेत रोप्ने
रहरमा छन लाहुरीनीहरु ।।
छोटा छोटा लुगा लगाई
तिघ्राहरु प्रदर्शन गर्दै ।
असारे पन्ध्रम मनाउने
प्रहरमा छन लाहुरीनीहरु ।।
ससुरा बा हलो जोत्छन
सासु आमै मेलो धाउछिन ।
छोरो सँगै बिदेश जाने
लहरमा छन लाहुरीनीहरु ।।
मोजमस्तीको जमाना हो
मस्तीमा रम्न सिक्नु पर्छ ।
लाहुरेको कमाई उतै सक्ने
ठहरमा छन लाहुरिनी हरु ।।
२०७४/०३/१५
मुक्तक
चालीस काटेपछि अब रमाउनु पर्छ अरे ।
दाम मात्र होइन नाम कमाउनु पर्छ अरे ।।
समयको महत्वलाई बुझ्न सकिएन भने ।
बुढेस कालमा पुर्पुरो समाउनु पर्छ अरे ।।
२०७४/०३/१७
गजल
बुढ़ी आमै हिजै बितिन् कोहि छैन कोरा भित्र ।
पानी समेत भेटिनछिन थिएन अंखोरा भित्र ।।
बात्सल्यको असह्य पीडा उनले सहेकै हुन ।
दया माया करुणा एक रति छैन छोरा भित्र ।।
परदेशमा रमाउंदैछन आफ्नै ती सन्तानहरु ।
खुम्चिदैछन सांघुरा ती पर्खाल र डोरा भित्र ।।
बांझै रहे खेत बारी अन्नपात झन महँगो भो ।
प्लाष्टिकरुपि चामल आउन थाले बोरा भित्र ।।
२०७४/०४/०२
गजल
आउ यहीं देशको माटो मलिलो बनाउनु छ ।
यही धर्तिलाई सिंचेर रसिलो बनाउनु छ ।।
चाहिदैन बिषादियुक्त आयातित ब्यन्जनहरु ।
यही गुन्दृक ढ़िडोलाई स्वादिलो बनाउनु छ ।।
खाल्डा खुल्डी परेका छन हिड़ने बाटाहरु ।
पुर्नु छ सम्याउनु छ सजिलो बनाउनु छ ।।
दिउसै निदाएका अध्यारा छन बस्तीहरु ।
छर्नुछ ज्योति त्यहाँ चम्किलो बनाउनु छ ।।
अरे आउ न यार मेरा सबै साथी संगीहरु ।
हामीले नै यो देशलाई गतिलो बनाउनु छ ।।
२०७४/०४/०२
गजल
गाउँ घरमै सिंह दरबार आउंदैछ फूलमाया ।
कुना काप्चाभरि बिकास छाउंदैछ फूलमाया ।।
छाडिदेउ बिग्रीएका भत्किएका सडकका कुरा ।
तिम्रो गाउँले चिल्लो गाडी पाऊँदैछ फुलमाया ।।
नगर भो अब तिम्ले भत्किएको घरको कुरा ।
गाउँमैं अब भब्य दरबार बनाऊंदैछ फूलमाया ।।
छाडी देऊ भोको पेटमा झुत्रे सारी फेर्ने कुरा ।
ऊ पनि त भोकै थियो अघाउदैछ फूलमाया ।।
सातै ... सातै छाप भनी ल्याप्चे ठोकेकै हौ ।
नेताजीले त्यसको गुन लाउंदैछ फुलमाया ।।
२०७४/०४/०३
म कसरी अयोग्य भएँ (कबिता)
तिमिले
गोडाफाट भन्यौ मैले गोडा फाटे
सतर्क भन्यौ म सतर्क बने
अगाडि बढ भन्यौ ,म अगाडि बढे
पछाडि हट भन्यौ म पछाडी हटे
सर्टिफिकेट फाल भन्यौ मैले फाले
दस्ताबेज पढ भन्यौ मैले पढे
इतिहास पढ भन्यौ मैले पढे
समाज पढ भन्यौ मैले पढे
अरु कत्ती कुराहरू तिमिले नभन्दा पनि पढे
......
तिमिले बन्दुक बोक भन्यौ मैले बोके
कैयौं कुइन्टल भारी पनि बोके
सहयोद्धाका अमर शरीर बोके
घाइते शरीर बोके
रक्तिम सन्देश बोके
बोक्न त आजाद हरुका प्यार पनि बोके
जल्लाद हरुका काला कर्तुत पनि बोके
......
घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रीयसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिडियो त मृत्यु लाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तिलाइ निशाना
.......
तिमी संग आदेश दिन सक्ने क्षमता थियो
म सङ्ग पनि त तिम्रो आदेश मान्ने क्षमता त थियो
......
मैले आदेश पालना गरेकै हु
आफ्नो कर्तव्य निभाएकै हु
भोक भोकै लडेकै हु
.......
त्यति बेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमुल्य थियो
किनकी म भाचिएको हात लिएर
बन्दुक चलाउन सक्थे
खुट्टामा गोलिका डल्ला बोकेर
अहोरात्र लड्न सक्थे
.......
तिमिले बन्दुक रोक भन्ने बेला सम्म पनि
म तिम्रो लागि प्रीय नै थिए
किनकी म तिम्रा लागि सुरक्षा दिन सक्थे
तिमिलाई हर क्षण पहरा दिन सक्थे
......
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो
.....
जब मूल्य तोकियो
म जस्तै हजारौं लाई हाट बजारमा राखियो
तिमिले पठाएका
कैयौं ग्राहकहरु आए
अङ्ग अङ्ग जाचे
........
खुट्टामा गोलि बोकेको म
भच्चिएको हात बोकेको म
अयोग्य बने
.....
कमरेड !
कुनै बेला त्यही भाच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोलि लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थिए होइन ?
म अमुल्य थिए होइन ?
म योग्य नै थिए होइन ?
तर म आज कसरी अयोग्य भए ?
.......
तिमिले भनेको मोर्चा सम्हालेकै हु
दुश्मन को किल्ला तोडेकै हु
तिमिलाइ गुन्द्री बाट रातो कार्पेटसम्म पुर्याएकै हु
के त्यहा पुर्याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहा पुगेको हौ ?
........
तिमिले त मेरो योगदानको मापन हुनुपर्छ भन्थ्यौ
तर मेरो चोट ग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?
........
केही पनि मापन गर्नै नपर्ने तिमी
योग्य
तिमिलाई नै योग्य बनाउन शरीरमा गोलि बोक्ने
म कसरी अगोग्य भएं ??
स्रोत : अज्ञात सर्जक /फेसबुक बाट साभार
गजल
हिजोआज शिक्षक होइन मास्टर भन्न थाले ।
दुइचार अक्षर चिन्या नेता बिद्धान बन्न थाले ।।
गाउँ घरमै सिंहदरबार आएर पो हो कि कुन्नि ।
कुन पार्टीका कति मास्टर भनि गन्न थाले ।।
आफ्नो दलको मास्टरले जे गरेनि छुट छ रे ।
अर्को दलको देख्नै हुन्न खोइरो खन्न थाले ।।
नियुक्ति र सरुवामा हाली मुहालि दलकै छ ।
अर्को दलको मास्टर धमाधम निफन्न थाले ।।
२०७४/०४/२१
मुक्तक
हिड्दा हिड्दै अगाडिको बाटो हराउन सक्छ ।
आफैले टेक्ने पैतालाको माटो हराउन सक्छ ।।
फेर्नुपर्छ कति बाटाहरु मोड़नु पर्छ पैतालाहरु ।
आफ्नै जिन्दगीको पनि पाटो हराउन सक्छ ।।
२०७४/०४/२५
मुक्तक
यस्तै छ दिनचर्या झरी बादल भन्नु छैन ।
कुरा मात्रै गरेर कसैको जाती बन्नू छैन ।।
जो जसले जे जे गर्न सकिन्छ गरे हुन्छ ।
ब्यर्थमा कसैको खोइरो पनि खन्नु छैन ।।
२०७४/०४/२७
गजल
क्रान्तिकारी बहस गर्थे बिलाएर गए ।
आखिरिमा आफ्नै सेटिंग मिलाएर गए ।।
नानाभाँती सपनाको आश देखाएर ।
दुखियालाई झनै दुःख दिलाएर गए ।।
गरीबको मुहारमा खुशी छाँउंछु भन्थे ।
आँशु माथि झनै आँशु पिलाएर गए ।।
च्यातिएको झुत्रे लुगा फेर्ने कुरा गर्थे ।
आफैलाई दौरा सुरुवाल सिलाएर गए ।।
२०७४/०५/०३
गजल
धुवाँ, धूलो,ध्वनि, धूम र धमाका ।
यस्तो कुन शहर हो भनि देउ काका ।।
गुन्जिन्छन हिन्दी र अंग्रेजी रयाप ।
सुनिदैन खै कतै सालैजोका भाका ।।
कौड़ीको मोलमा लिलामी भो देह ।
देखिन्नन् कोहि लाजले लजाका ।।
हरे शिब यो कलि युगको लीला ।
अझै के हुने हो भन्छन् बूढ़ापाका ।।
सुन्दैछु अब स्मार्ट सिटी बन्दै छ रे ।
कसरी हो बन्ने कस्तो छ खाका ।।
२०७४/०५/०४
गजल
आस्थाको धरहरा ढल्यो र त रोएँ ।
मन मुटुमा आगो बल्यो र त रोएँ ।।
दुनिया बदल्ने सुन्दर ती सपना ।
उड़ाई दिने हुरी चल्यो र त रोएँ ।।
कहिल्यै नथाक्ने पाइला हो मेरो ।
अनायासै खुट्टा गल्यो र त रोएँ ।।
गन्तब्य पुग्न जब घिस्रीदै थिए ।
नियतिले फेरि छल्यो र त रोएँ ।।
२०७४/०५/०६
मुक्तक
चाहे उम्रोस पखेरामा चाहे टाकुरामा ।
बोट बन्ने खूबी हुन्छ सानो आंकुरामा ।।
प्रतिकूल परिस्थिति अनुकूल बनाउदै ।
भर पर्नु पर्छ हजुर आफ्नै पाखुरामा ।।
२०७४/०५/०८
गजल
कसैले यहाँ नानाभाँति, प्रलोभन छर्न सक्छ ।
भुईको टिप्न नखोज्नु , खल्तीकै झर्न सक्छ ।।
कलियुगमा आँखा चिम्ली, भर नपर्नु तिमी ।
आफन्तैले झनै बढ़ी छलछाम गर्न सक्छ ।।
अंगालोमा बेरिएर, भंगालोमा नजानु तिमी ।
तिमीलाई मात्र बगाएर, आफू तर्न सक्छ ।।
जस्को निम्ति ज्यानै दिने, प्रण तिम्ले गर्छौ ।
आखिरिमा उसैले तिम्रो, प्राण हर्न सक्छ ।।
२०७४/०५/०९
मुक्तक
कहिले यता कहिले उता गरीकन ब्यर्थै डुल्यो ।
के हो आफ्नो कर्तब्य र अधिकार सबै भूल्यो ।।
पाखुरीमा बल हुँदा संसार नचाइदिन्छु भन्थ्यो ।
दारी फूल्यो कपाल झुल्यो बल्ल होस खुल्यो ।।
२०७४/०५/०९
एक पटक एउटा देशका सुरक्षाकर्मीले कुनै शत्रु राष्ट्रको गुप्तचरलाई समाते। शरीर र ऊसित भएका सरसामान निरीक्षण गर्दा त्यस गुप्तचरसँग त्यसो त त्यस्तो आपत्तिजनक कुनै सामाग्री भेटिएन, बरु बाहिरै मगमग वासना आइरहेको स्वादिष्ट झैं लाग्ने एउटा मिठाइको बट्टा प्राप्त भयो ।
स्वादिष्ट व्यञ्जन देखेपछि सिपाहीहरूको मुखमा पानी आयो । सिपाहीहरू त्यस बट्टामा भएका मिठाइ बाँडेर खाने विचार गर्दै थिए, एउटा सिपाहीले सुझायो - 'यो त हाम्रो शत्रु राष्ट्रको जासुस हो, मिठाइमा विष मिसाएको हुनसक्छ।' त्यस सुझावलाई सबैले स्वीकार गरे । तीमध्ये एउटाले आफ्नो मिठाइ खाइहाल्ने लालसालाई नियन्त्रण गर्न सकेन । तुरुन्त उसले आफ्नो सुझाव अघि सार्यो - ' विष मिसाएको छ, छैन यसैलाई खान दिए तुरुन्त थाहा पाइहालिन्छ नि !' उसको समयोचित निर्णयलाई सबैले सहमति जनाए र त्यस गुप्तचरलाई मिठाइ खुवाएर परीक्षण गर्ने विचार गरे । उनीहरूले त्यस गुप्तचरलाई एउटा मिठाइको टुक्रो दिंदै खान बाध्य तुल्याए । उसले ती सिपाहीकै अगाडि त्यो मिठाइको टुक्रो मिठो मान्दै खायो ।
उसले मिठाइ आनाकानी नगरी खाएको देखेर ती सिपाहीले झटपट त्यो डिब्बाको मिठाइ खाए । मिठाइ खाइसकेर डकार्दै ती सिपाहीको हाकिमले 'ल यसलाई बाँधेर थानामा लिएर जाऊँ' भन्यो । गुप्तचरका दुबै हात पछाडि लगेर बाँधे र थानातर्फ लिएर गए । केहीबेरपछि त्यस जासूसलाई रिंगटा लाग्न थाल्यो, छिनछिनमा आलस्यले हाइ हाइ गर्न थाल्यो । त्य जासुसलाई नियाल्दै गरेको एउटा सिपाहीले के भयो भनी सोद्धा गुप्तचरले भन्यो 'सम्भवतः अघि खाएको मिठाइमा मन्दविष मिसाइएको थियो। खाएको केही समयपछि मात्र त्यो विष शरीरमा घुल्छ र मान्छेको मृत्यु हुन्छ । शायद मेरो समय समाप्त भयो, म मर्छु होला।' गुप्तचरका कुरा सुनेपछि सबै जनाको होस गुम्यो । ती सबैले आफ्नो जीवनसमाप्ति हुनलागेको भयावह त्रासको कल्पना गरे । उनीहरूले आफ्नो कर्तव्य र दायित्वलाई बिर्सिए । अघि मिठाइ खान तँछाडमछाड गरे झैं अब को पहिले चिकित्सककहाँ पुग्ने भनेर हत्तारिन थाले । गुप्तचर हिंड्दाहिंड्दै बाटोमा लम्पसार पर्यो, त्यसपछि त ती सिपाहीको होसहवास सबै हरायो । त्यस गुप्तचरलाई त्यस्तै अवस्थामा छाडेर डाक्टरको खोजीमा तुरुन्त सहरतर्फ कुदे ।
सिपाहीहरू टाढा पुगेको अनुमान गर्दै गुप्तचर जुरुक्क उठ्यो र आफु मुक्त हुन प्रयोग गरेको तात्कालिक उपाय सार्थक भएकोमा मनमनै खुसी हुँदै आफ्नो नयाँ गन्तव्य पहिल्याउँदै बाटो लाग्यो ।
पाउरोटी बेच्नेको कथा
एकजना किसान थियो जसले सधैं एकजना पाउरोटी बनाउने व्यक्तिलाई एक पाउण्ड नौनी घ्यू बेच्ने गथ्र्यो । एक दिन त्यो पाउरोटी बेच्ने व्यक्तिले किसानले दिएको नौनी एक पाउण्ड छ कि छैन भनेर हेर्ने विचार ग¥र्यो । त्यसपछि उसले जोेखेर हेर्दा त नौनी कम रहेको देख्यो । त्यसपछि उसले त्यो किसानलाई लिएर गाउँको पञ्चायत बोलायो । किसानले ठगेको कुरा ग¥यो । गाउँ पञ्चायतले किसानलाई नौनी कसरी जोख्ने गर्छौं भनेर सोध्यो । त्यतिबेला किसानले आफूसँग नौनी जोख्ने तराजु नभएको तर स्केल भएको बतायो । स्केल कहाँबाट आयोभन्दा किसानले महिनौं पहिले आफूले उक्त पाउरोटी बेच्ने व्यक्तिसँग एक पाउण्ड पाउरोटी किनेको र त्यही एक पाउण्डको आधारमा नै आफूले नौनी बेच्नका लागि स्केल बनाएको बतायो र सजाय पाउने भए पनि पाउरोटी व्यापारीले नै सजाय पाउनुपर्ने बतायो । यसरी पाउरोटी बेच्ने व्यापारीले नै एक पाउण्ड भनेर कम पाउरोटी दिने गरेको कुराको खुलासा भयो । त्यस्तै हामीले जीवनमा अरुलाई जे दिन्छौं घुमीफिरी त्यही हामीले पाउँछौं भन्ने कुरा यो कथाले सिकाउँछ ।
दुई सुगा
एकपटक अपरिचित गाउँमा पुगेका एक जना सज्जनलाई देखेर एउटा घरमा पालिएको सुगाले भनेछ- 'गाउँले हो ! नयाँ मान्छे आयो लुटलुट ।'
सज्जन त्यहाँबाट भागेर एउटा आश्रममा पुगेछन् । त्यहाँ पनि त्यस्तै एउटा सुगा पालिएको रहेछ । उसले भनेछ- 'आउनुहोस् महाशय ! तपाईंलाई स्वागत छ, भन्नुहोस् के सेवा गरौं ।'
सज्जनले आश्चर्य मान्दै आश्रमका महन्तलाई सोधेछन्- 'महाशय ! एउटै प्रजातिका प्राणीमा यी विपरीत गुण कसरी ? यसको रहस्य जान्न सक्छु ?' महन्तले भनेछन्- 'यी दुई सुगा एउटै प्रजातिका मात्र होइनन्, एउटै आमाका सन्तान हुन् तर सानैदेखि एउटालाई डाकुहरूले लगेर पालेका थिए भने अर्कोर्चाहिँ आश्रममा पालिएको थियो । डाकुहरूले पालेकाले त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो । आश्रममा पालिएकोले पनि त्यही भन्यो, जुन उसले सानैदेखि सुन्दै आएको थियो ।'
कथाको सार : संगत गुनाको फल
गजल(मान्छे)
आफै भित्र क्षमता छ बाहिर खोज्दै डुल्छ मान्छे ।
अधिकारको खोजी गर्छ कर्तब्यलाई भुल्छ मान्छे ।।
अमूल्य यो समयको महत्वलाई नबुझेर हो कि ।
ब्यर्थै किन दिन रात नशा पिउंदै झुल्छ मान्छे ।।
रेटदा रेट्दै तार टुट्न लागे पछि जिन्दगीको ।
ब्यक्त गर्नै कठिन हुने अनुभब बटुल्छ मान्छे ।।
जब दिन बित्दै जान्छ जीउमा बल घटदै जान्छ ।
बेहोस बाट होसमा आई यथार्थमा खुल्छ मान्छे ।!
उर्जाशील जिन्दगानी खेर फाल्नु गल्ती भो भन्दै ।
पछुताउदै बिलौना गर्छ जब सेतै फुल्छ मान्छे ।।
२०७४/०५/११
गजल
अमृत फल्ने बृक्षमा हेर जहर फलेको छ ।
झुठो प्रचार गरीकन दुनिया छलेको छ ।।
खत्तम परीक्षाको नाटक मंचन गरेपछि ।
उत्तम नतिजाको आज चर्चा चलेको छ ।।
ज्ञान बुद्धि बिबेक सबै खरिद बिक्री भए ।
सच्चा इमान्दारको स्वाभिमान ढलेको छ ।।
त्यसैले त डिग्रीहरु मूल्यहीन हुन थाले ।
बेरोजगारी समस्याले आगो बलेको छ ।।
२०७४/०५/१७
कथा (गुरु दक्षिणा)
एकपटकको कुरा हो कुनै एउटा गुरुकुलमा तीनजना शिष्यहरू आफ्नो अध्ययन पूर्ण गर्नासाथ गुरुका सामु उभिएर आफूहरूले घर जाने अनुमति चाहेको र गुरुको आज्ञा बमोजिम गुरुदक्षिणा समर्पण गर्नलागेको बताए । तिनका कुरा सुनेर सुरुमा त गुरु स्नेहपूर्वक भन्नुभयो -‘ममा शिक्षा प्रदान गरेवापत सम्पत्ति जोड्ने लालसा त छैन तर अब तिमीहरू दिनै चाहन्छौ भने आश्रममा एकएक बोरा पतकर थुपार अनि मसँग विदा लिइ घर जाओ । सुरुमा त तीनैजना गुरुबाट खासै ठूलो आकाङ्क्षा नराखिएकाले प्रसन्न भए, अनि एकएकवटा बोरा च्यापेर जङ्गलतर्फ लागे । उनीहरूलाई वनमा जताजतै मिल्किएको पतकर साँझसम्म सजिलै जुट्छ र लामो अनुशासनमय गुरुकुलबाट छुटकारा मिल्छ भन्ने लागेको थियो र ती हतारिएर बाहिरिएका थिए । ती तीनैजना शिष्य हिंड्दै जाँदा नजिकैको जङ्गलमा पुगे । त्यहाँ पुग्दा त समस्त वन सिनिक्क बढारे झैं साफसुथरा देखेर ती छक्क परे । तिनीहरू जति सजिलै पातपतिङ्गर जम्मा पार्न सकिन्छ भन्ने उत्साहका साथ वनमा पुगेका थिए, त्यहाँको दृश्य देख्नासाथ ती शोकमग्न भए । जङ्गलमा भएका यत्तिका पातपतिङ्गर जम्मा पारेर कसले लग्यो होला शोचमग्न भए । यत्तिकैमा तिनले टाढाबाट आउँदै गरेको एउटा गोठालो देखे, झटपट त्यसका नजिकै पुगेर विनम्रतापूर्वक याचना गर्न थाले । हामी गुरुको आज्ञा पूर्ण गर्न एकएक बोरा पतकर बटुल्न आएका थियौं, तर यहाँ केही पनि भेटेनौं बल्लबल्ल केही मुठी जम्मा पारेका छौं, सक्नुहुन्छ भने हाम्रो थैलोमा भरिने गरी केही सुकेका पातपतिङ्गर पाइने स्थान कहाँ होला बताइदिनु हवस् न । त्यस गोठालोले विद्यार्थीका त्यस्ता कुरा सुनेपछि आँफूसँग भएको पतकर इन्धनका रूपमा उपयोग गरिसकेको हुँदा उपलब्ध गराउन नसकेकोमा क्षमायाचना गर्दै गाउँतर्फ जान अनुरोध गर्यो र भन्यो तपाइँहरू नजिकै रहेको हाम्रो गाउँमा गएर खोजी गर्नसक्नुहुन्छ, त्यहाँका मानिस केही दिनअघि पतकर बटुल्न यहाँ आएका थिए, हुनसक्छ तिनले तपाइँहरूको मद्दत गर्नेछन् । आशाको झिनो त्यान्द्रो पलाएकाले ती तीनैजना नजिकैको गाउँमा गए । त्यहाँ तिनीहरू एउटा ब्यापारीको घरमा पुगे, जो पातपतिङ्गर बटुलेर शहर पठाउने काम गर्थ्यो । तिनले ब्यापारीसित पतिङ्गर किन्न पाइन्छ कि भनी सोधे । तर उनीहरूले फेरि पनि निराश हुनुपर्यो । त्यस ब्यापारीले आँफूले बढी फाइदा हुने उद्देश्यले भर्खरै सुकेका पातपतिङ्गर बटुलेर शहर निर्यात गरिसकेको थियो । तर उसले उदारता देखाउँदै पातपतिङ्गर जम्मा पार्ने एकजना बुढीआमैको ठेगाना चाहिँ बताइदियो ।तर त्यहाँ पनि भाग्यले ती चेलाहरूलाई साथ दिएन । ती बुढीआमै पातपतिङ्गर बटुलेर तिनको गुणदोष पहिचान गरी गुणकारी पत्ताबाट आैषधी र काम नलाग्ने पातलाई कुहाएर मल बनाउने गर्थिन् । उनले आँफूले बटुलेका पातपतिङ्गर प्रयोग गरिसकेकी थिइन् । साँझ पर्यो । अब निराश भएर शिर निहुर्याउँदै ती आश्रममा फर्किए । गुरुले देख्नासाथ स्नेहपूर्वक सोध्नुभयो -‘बाबुहरू, जम्मा पार्यौ त गुरुदक्षिणा?’ तीनैजना लाजले नतमस्तक भए । गुरुले फेरि सोध्दा तीमध्ये एउटाले भन्यो - ‘गुरुदेव, हामीले वर्तमान मौसममा हजुरको इच्छा पूर्ण गर्न सकेनौं । हामी त गुरुको आज्ञालाई सजिलै पूरा गर्नेन्छौं भन्ने ठान्थ्यौं तर त्यो अहिले सम्भव रहेनछ भन्ने आज दिनभरि भौंतारिएपछि चाल पायौं । त्यसपछि मुस्कुराउँदै गुरुले प्रेमपूर्वक भन्नुभयो-‘तिमीहरूले निराश हुनु पर्दैन, तिमीहरू सुकेका पात खोज्न जङ्गलजङ्गलमा भौंतारियौ । हेर मैले जीवनभरि त्यही 'शुष्कपात' त बाँडेको छु, मैले दिएको ज्ञान नै त्यो 'शुष्कपत्र' हो, जुन तिमीहरूको अन्तर्मनमा जङ्गलमा बेकामे पतकर छरिए झैं यत्रतत्र छरिएको छ । गोठालो, ब्यापारी र बृद्धाले उपयोग गरे झैं तिमीहरूले त्यसको सही उपयोग गर्यौ भने मैले सच्चा गुरुदक्षिणा प्राप्त गरेको ठहरिन्छ । तिमीहरूबाट मैले चाहेको सम्पत्ति नै त्यही हो । ज्ञानरूपी शुष्कपत्र कहिल्यै पनि व्यर्थ हुँदैन भनेर अन्तिम सत्य बताउन आज मैले जानीजानी शिशिर ऋतुमा अभाव हुने सुकेका पातपतिङ्गर ल्याउन अह्राएको हुँ । गुरुको आशय बुझेपछि तीनैजना चेलाको दिव्यज्ञान प्रकाशित भयो र भोलिपल्ट ती आआफ्ना गन्तव्यतर्फ लागे ।
कथा(कर्मको फल)
एक पटकको कुरा हो । दुईवटा छिमेकी देशका बीचमा सम्बन्ध चिसिएको थियो । दुबै एकअर्कामाथि आक्रमणको योजना बनाउँदै थिए । ती दुबै देशका राजा एउटै सन्तका भक्त थिए । उनीहरू आआफ्नो विजयका निमित्त सन्तको आशीर्वाद लिन बेग्लाबेग्लै समयमा सन्तको आश्रममा पुगे । पहिलो शासकलाई गुरु महाराजले आशीर्वाद दिंदै भने – तिम्रो विजय सुनिश्चित छ । अर्को शासकलाई तिनै सन्तले भने – तिम्रो विजय शङ्कास्पद देखिन्छ ।
सन्तकहाँ पछि पुगेको दोस्रो राजा सन्तले दिएको आशीर्वादको मनन गर्दै निराश नभई, युद्धमा शत्रुपक्षको सामना कसरी गर्ने भन्ने योजना तुन्दै आफ्नो राज्यमा फर्किएर आयो । उसले हार मानेन, दरबारमा फर्किने बितिक्कै सेनापतिलाई बोलायो र आदेश दियो – मैले गुरुजीको आशीर्वाद लिएर आएको छु, हामीले जोडतोडका साथ तैयारी गर्नुपर्छ । सबै सिपाहीहरूले राष्ट्रका निमित्त प्राण नै आहुति दिनु परे पनि पछि हट्नु हुँदैन ।
उता सुरुमा सन्त भेट्न गएको शासकमा उल्लास र आनन्द थियो । गुरु महाराजले विजय सुनिश्चित छ भन्ने आशीर्वाद दिनु भएकाले उसले चिन्तित हुनु पर्ने कुनै परिस्थिति नै थिएन । विजय निश्चित भएकाले उसको सम्पूर्ण समय आमोद–प्रमोदमा बित्न थाल्यो । युद्धको पूर्वसन्ध्यासम्म पनि उसले आफ्नो सेनापतिलाई भेट्न आवश्यक ठानेन । उसका सैनिकहरू पनि मोजमस्तीमा मग्न थिए । जुन शासकले विजयश्रीको आशीर्वाद पाएको थियो, उसलाई युद्धप्रति कुनै वास्ता नै थिएन, उसका सिपाहीहरूले युद्धको अभ्याससम्म पनि गरेनन् । तर जसको विजयका बारेमा सन्तले शङ्का व्यक्त गरेका थिए, उसले र उसका सिपाहीहरूले रातदिन मिहिनेत गरी युद्धको अभ्यास गरे । उनीहरू युद्धका ससाना एकाइलाई पनि राम्ररी बुझ्नका लागि मिहिनेत गर्दथे । परिणामतः तिनले युद्धकलाका सबै पक्षमा आफूलाई योग्य र दक्ष तुल्याए ।
निर्धारित समयमा युद्ध प्रारम्भ भयो । पछिबाट सन्तको आश्रममा पुग्ने राजाका सिपाहीहरूले युद्धमा आफूले गरेको अभ्यास र युद्धकलालाई प्रयोग गरे अनि युद्ध सुरु भएको केही समय बित्न नपाउँदै शत्रुपक्षका सेनालाई परास्त तुल्याइदिए । सुरुमा सन्तलाई भेटेर विजयप्रति ढुक्क भएको शासक छक्क पर्यो, रिसले तिलमिलायो अनि हारको झ्वाँकमा तुरुन्त गुरु महाराज कहाँ पुग्यो र झर्कोफर्को गर्दै भन्यो – गुरुदेव, अब तपाईंको वाणीमा कुनै शक्ति बाँकी रहेन, तपाईंको भविष्यवाणी पनि झूठ्ठा हुने रहेछ । पराजित राजाका कुरा सुनेर सन्त मुसुक्क हाँसे र शान्त मुद्रामा भन्न थाले – बाबु, तिमीले रिसाउनु र अत्तालिनु निरर्थक छ, मैले भविष्यवाणी गर्दा तिम्रो र उसको सेनाको तात्कालिक आकलन गरेर बोलेको थिएँ । तिम्रो विजय र उसको हार निश्चित थियो । तर विजयको त्यो अवस्थालाई कायम राख्न मिहिनेत, परिश्रम र पुरुषार्थको पनि आवश्यकता हुन्थ्यो, तिमी र तिम्रा सिपाहीमा त्यसको अभाव देखियो । अतः भाग्यले पनि सदैव कर्मशील र पुरुषार्थी मनुष्यलाई मात्र साथ दिन्छ । मैले तिम्रो शत्रुलाई तेरो विजय शङ्कास्पद छ भनेको थिएँ, त्यस्तो सुनेर पनि उसले अभ्यास र परिश्रमलाई निरन्तरता दियो, त्यसैले उसले यो युद्धलाई सजिलै जित्यो, यद्यपि उसकै पराजय निश्चित थियो । सन्तको उत्तर सुनेर पराजित राजा लज्जित भयो र उनीसँग क्षमा माग्दै फर्कियो । ऊ अब हुने अर्को युद्धमा विजय प्राप्त गर्न केकस्ता कमी कमजोरीलाई सुधार्नु पर्ने रहेछ भन्ने सोच्दै दरबारमा आइपुग्यो ।
त्यसैले तपार्इंको भाग्य र भविष्य तपार्इंकाे मुट्ठीमा छ ।
२०७४/०५/१९
मुक्तक
अनायासै जन्मिएको गाउँ सम्झेर रोएँ ।
बाल्यकालको पुरानो नाउं संझेर रोएँ ।।
कति राम्रो कति प्यारो आफ्नै सेरो फेरो ।
आज फेरि उहि बिरानो ठाउँ सम्झेर रोएँ ।।
२०७४/०५/३१
गजल
आफ्नोले आफ्नैलाई जब छलाउन खोजेपछि ।
हृदयमा आगोको ज्वाला बलाउन खोजेपछि ।।
आतंककारीले कहिल्यै ढाल्न नसकेको शीर ।
आफन्तकारी भन्नेहरुले ढलाउन खोजेपछि ।।
मरे पछि मृत्यु शैयामा जल्नु त स्वभाबिकै हो ।
जीवन शैयामा जबर्जस्ती जलाउन खोजेपछि ।।
मुर्दा पनि जुर्मूराउंदै उठेर दौडन थाल्दछ यहाँ ।
अपमान अनि तिरस्कारले चलाउन थालेपछी ।।
अति कोमल ठानिएको मन मुटु कठोर बन्छ ।
जिस्काएरै जब त्यसलाई गलाउन खोजेपछि ।।
भुमिराज शर्मा
पर्बत
२०७४/०६/०१
गजल
भेटेर पनि नपक्रेको दाउ सम्झेको छु ।
फेरि उहि अतीतको घाउ सम्झेको छु ।।
आकास छुदै महंगीले नेटो काटेको छ ।
मैले भने उहि पुरानो भाउ सम्झेको छु ।।
खाली खुट्टा दिनरात लेकबेसी गर्दा ।
चर्किएर फुटेका ती पाउ सम्झेको छु ।।
पसिनाको भारीमाथि मलाई बोकी दिने ।
तालुको रौं खुइलिएका बाउ सम्झेको छु ।।
२०७४/०६/०१
सक्छौ भने देखाऊ (गजल)
सक्छौ भने गरीबका, झुत्रे लुगा टालेर देखाऊ ।
फुसको छानो हटाएर, नयां छानो हालेर देखाऊ ।।
मध्यरातमा शालिकहरु गर्ल्याम गुर्लुम ढलाएछौ ।
सक्छौं भने आलीसान महलहरु ढालेर देखाऊ ।।
तालहरु साँघुरा भए भू माफियाले सडक बेचे ।
सक्छौ भने अतिक्रमित संरचना फालेर देखाऊ ।।
जता गयो उतैतिर भ्रष्ट्रचारको बिगबिगी देख्छु ।
सक्छौ भने शुन्यमा झार्ने कदम चालेर देखाऊ ।।
यसो गर्छु उसो गर्छु भन्दै भाषण छाटनु भन्दा ।
सक्छौ भने एउटा गतिलो काम थालेर देखाऊ ।।
२०७४/०६/११
मुक्तक
कहिले सम्म मनाइ रहुँ अभाबको दशैं ।
मौलिकता हराइ रहेको प्रभाबको दशैं ।।
दशैं हो कि दशा हो यो बुझ्नै कठिन भो ।
कहाँ खोज्न जाऊँ अब सद्भाबको दशैं ।।
२०७४/०६/११
मुक्तक
काले पनि गोरो बन्छ फेसबुक खोलेपछि ।
बाबु पनि छोरो बन्छ फेसबुक खोलेपछि ।।
सबै जना आआफनै धुनमा ब्यस्त हुन्छन ।
जीबन एकोहोरो बन्छ फेसबुक खोलेपछि ।।
मास्टरजीको दशैं (लघु कथा)
सधै बेफुर्सदिलो हुने मास्टर साहेब यतिबेला निकै फुर्सदिला देखिन्थे । परिवारका सदस्यहरु एकै ठाउँमा सँगै भएर नबसेको पनि धेरै समय भइसकेको थियो । आज भने मास्टर साहेब मात्र हैन घरका सबै जना फुर्सदमा थिए । दशैं छुट्टी को भरपूर उपयोग गर्ने र रमाउनेमा सबैको जोड थियो ।
दशैमा राम्रो लगाउने , मीठो खाने, घूमफिर गर्न जाने, रमाइलो गर्ने कुरामा सबैको ध्यान केन्द्रित थियो ।दशैं को तयारीबारे छलफल चलिरहेको थियो ।
साथीहरु संग खेल्न गएकी कान्छी छोरी दौडिदै मास्टर जीको काखमा आएर बसी र उसको अर्ध फुलेका दारी मुसार्दै भनी ।
"बाबा, हाम्रो घरमा खसी कहिले ल्याउने ? ऊ पल्लो घर रमिलाकोमा कति ठूलो सिंग भएको खसी ल्याएका छन । हामीले त्यो भन्दा ठूलो ल्याउनु पर्छ है बाबा । "
कान्छी छोरीको माग नसकिदै बिचमै माइली छोरीले आमातिर फर्किदै आफ्नो मागको फेहरिस्त सुनाई हाली।
"मलाई एक जोडी नयाँ टिसर्ट, पेन्ट र लेहेन्गा त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि । त्यहि लगाएर पर्सि साथीसंगै मेला हेर्न जाने हो ।"
अब बोल्ने पालो आयो जेठी छोरीको । ऊ झन अरु भन्दा के कम आफ्ना मागहरु तेर्स्याइ हाली । "मलाई त टिसर्ट र पैण्टले मात्र पुग्दैन बाबा । त्यसमा मिल्ने एक जोडी स्याण्डल, कपाल रंग्याउन र स्टेट गर्न ब्यूटी पार्लर जाने पैसा दिनै पर्छ । साथीहरुले कति राम्रो कलर हानी सके । ए अनि एउटा राम्रो सेल्फ़ी क्यामेरा वाला मोबाइल किन्नै पर्छ है बाबा । साथीहरुले कति राम्रा राम्रा मोबाइल बोक्छन । आफ्नो भने देखाउनै लाज लाग्ने । आ... बरु मासु त फ्रेस हाउसबाट दुई चार किलो ल्याएर खाए पनि हुन्छ तर मैले भनेका सामान चाहिं ल्याउनै पर्छ । नत्र भने म टिकै लगाउँदिन ।"
छोरीहरुको माग बल्ल के सकिन लागेको थियो । छोराले त झन भालेको जुरो जस्तो कपाल हल्लाउंदै धम्की पूर्ण शैलीमा भन्न थाल्यो । "हेर्नुस डयाड् । यसपटक पनि मलाई बाइक नकिन्दीने हो भने राम्रो हुदैन । मलाई ल्यांग गरेको कत्ति मन पर्दैन । बाइक नभएर कलेजमा साथीहरुले कस्तो रयाग गरिराछन । यो दशै बिदामा आफ्नै बुलेटमा मुस्ताङ जाने हो ।"
बदलिंदो समय अनुसारका छोरा छोरीका मागहरु सुनेर गम्भिर बनिरहेका मास्टर जीलाई श्रीमती ज्यू को मागले झन गम्भिर बनायो ।
श्रीमती सर्मिलाको माग त झन चर्को थियो। "सुन्नुहोस है एलिनाका बाबा मैले भन्दिएकी छु नि । यसपाली त गहना किन्नै पर्छ है । बिहेका यतिका सालसम्म पनि मैले गहना फेर्न सकेकी छैन । अर्को साल अर्को साल भन्दा भन्दै बुढेसकाल लाग्न थाल्यो । कतै राम रमितामा जान पनि लाज हुन्छ । कस्तो पुरानै बिहेका गहना लगाएर आएकी भन्छन् । अलि अलि फुलेका केश कालो बनाउनु छ । भोलि बजार जाने हो । सपिङ पनि गर्नु छ । छोरीलाई मोबाइल किन्दा मलाई पनि एउटा ल्याइ दिनु है । दिउसो बोर लाग्दा यसो फेसबुक चलाउन हुन्छ । कति सिरियल मात्र हेर्नु ।
सबैका माग सुनेर मास्टर जी ठूलो सास फेर्छन । अनि सोच मग्न हुन्छन् ।
एउटा सानो जागीर । खाने मुख त्यति धेरै । त्यसमाथी यति ठूल्ठूला माग । जावो माष्टरी जागीर, त्यसमा पनि प्राविको तलब कति नै हुन्छ र ! जागीरले त महिना मर्नै भ्याउँदैन । बिहान बेलुका ट्युसन पढाएको पैसा पनि आधा भन्दा बढ़ीले दिएनन । उपल्लो तहका कक्षा लिए बापतको थप सुबिधा साथीहरुकै बिबादले यसै बर्ष देखि कटौती भयो ।
झन यसपाली त शिक्षाको अधिकार स्थानीय तहमा आएको । शिक्षकको लागि आएको तलब खै कुन्नि कता खर्च गरेछन । कार्तिक महिनाको तलब निकासा नै दिएको छैन रे । उनी मागहरुको सूची हेर्छन । आम्दानी सम्झन्छन । सुस्केरा हाल्छन । खै कसरी पूरा गर्ने यतिका माग । त्यस माथि आफ्ना आबश्यकता त अझ समाबेसै भएका छैनन् । स्टकोटले पखेटा हाल्न थालेको छ । गत महिना टालेर ल्याएको जुत्ता फेरि च्यातिएको छ । मोबाइल बिग्रेर पसलमा मर्मत गर्न दिएको अझै ल्याउन सकिएको छैन । एउटा सेकेण्ड हयाण्ड बाइक चढ्ने पाँच बर्ष अघिको धोको अझै उस्तै छ । कमसेकम त्यति किन्न सके हिड्ने समयको बचत हुन्थ्यो । एक दुई बढ़ी अतिरिक्त कक्षा लिन त सकिन्थ्यो ।
यसो सोच्छन् । ऋण काढेर भए पनि केहि माग त पूरा गर्ने हो कि । नत्र परिवार मा खुशी नआउने भो । तर सम्झिन्छन् । चाड़बाडमा ऋण लिएर फजूल खर्च गर्नु हुदैन भनेर आफैले पढ़ाएको । दोधारमा पर्छन् । कति गहिरो छ त्यो खाडल । आदर्श र ब्यबहार बीचको । आम्दानी र खर्च बीचको । आकांक्षा र प्राप्ति बीचको । अनि भन्छन् " यो दशैं हो कि दशा " ?
२०७४/०६/१३ शुक्रबार
बिहान ८:४५
भुमिराज शर्मा
देउपुर, पर्बत
मुक्तक गजल बन्यो कि ?
चहराउंछन यादरुपि टाटाहरु अझै पनि ।।
हेरिरहेछु तिमी आउने बाटाहरु अझै पनि ।।
अनगिन्ती मोडहरुमा ठेस लाग्दै अघि बढें ।
अपुरै छन जिन्दगीका पाटाहरु अझै पनि ।।
कति पुरिए कति पुर्न सकिएको छैन किन ।
आपसी ती सम्बन्धका फाटाहरु अझै पनि ।।
एकान्तमा उभिएर टोलाउंदैछु केलाउंदैछु ।
नाफा रुपि जीबनका घाटाहरु अझै पनि ।।
कहिले हो बादल फाट्ने अनि घाम लाग्ने ।
क्षितिजमा देखिदैछन सन्नाटाहरु अझै पनि ।।
२०७४/०६/१६
मुक्तक
आगनको डिल भत्क्यो सरकार चाहिने भो ।
तुलसीको मठ बनाउन अनुदान पाइने भो ।।
अब केको लागि मरी मेट्छौ ए साइला दाई ।
आउ बस मोजमस्ती गर भगवान दाहिने भो ।।
गजल (के गरूँ )
कमरेड •••• उबाच
आस्थाको त्यो धरहरा ढल्यो त के गरूँ ।
बीच बाटोमै पाइला गल्यो त के गरूँ ।।
राज्य सत्ता बदल्न बन्दूक बोकेकै हो ।
संसदीय हुरी बतास चल्यो त के गरूँ ।।
जनसत्ता कब्जा गर्न चुनाब तोकेकै हो ।
चम्किएर झनै सूर्य बल्यो त के गरूँ ।।
गणतन्त्र संघियताको बीज रोपेकै हो ।
झुक्किएर बिष बृक्ष फल्यो त के गरूँ ।।
जनबाद साम्यबाद खोक्नु खोकेकै हो ।
आखिरिमा नियतिले छल्यो त के गरूँ ।।
२०७४/०६/१९
समसामयिक गजल
टिकट के लाई मिल्नु परयो सिफारिसमा परे भै गो ।
रंगी बिरंगी प्रचार प्रसार फेसबुक तिरै गरे भै गो ।।
आखिर एक्काइसौ शताब्दीको चुनाब न हो कमरेड ।
अरु केहि गर्नु पर्दैन यहाँ केबल भ्रम छरे भै गो ।।
धोका दिन सक्छन् आफ्नैले भर कसैको छैन कमरेड ।
पुरानोले टिकट नदिने भए नयाँतिर फुत्त सरे भै गो ।
एक्लै त यो दुनियामा सफल हुन कठिन छ कमरेड ।
अन्त्यमा पुच्छर समातेरै बैतरणी नदी तरे भै गो ।
घात प्रतिघात अन्तरघात जे गरेर भए नि कमरेड ।
आफ्नो मात्रै हित गर्नु बाँकी दुनिया त मरे भै गो ।।
२०७४/०६/२१
गजल
टिकट मिल्ने भयो कमरेड कस्तो कदम चाल्छौ अब ।
खसी बोका राँगा खुखुरा कति वटा ढाल्छौ अब ।।
तिम्लाई चुनाब जिताउनलाई यता टिम तैयार छ ।
ट्यापे, चुल्ठे , मुन्द्रे, डन खै कसरी पाल्छौ अब ।।
दक्षिणा नभई भोट नदिने बानी परि सकेको छ ।
टोल टोलमा हात्तीका बिटा कुन बिधिले फाल्छौ अब ।।
टिकट खोस्यो भन्दै आफ्नै नेता ठुस्स परेका छन ।
तिन्लाई नि फकाउनु छ मन कसरी पगाल्छौ अब ।।
प्रतिद्वन्दि पनि अहिले झन बलियो बनेको छ ।
पहिले जस्तै फर्जी मत खै कसरी हाल्छौ अब ।।
मुक्तक
नछुट्टिनु पर्ने साथ छुटी जान सक्छ ।
आफ्नै भन्नेले खुशी लूटी जान सक्छ ।।
आखिर यो जिन्दगानी काँच जस्तै रैछ ।
अनायासै कुनै पलमा टुटी जान सक्छ ।।
२०७४/०६/३०
मुक्तक
कोहि मरि मेट्दैछन सत्ताकै लागि ।
कोहि मरि मेट्दैछन भत्ताकै लागि ।।
खै कसले बुझ्छ नाङगाको ब्यथा ।
जो मरि मेट्दैछन लत्ताकै लागि ।।
२०७४/०६/३१
गजल
देउसिरेमा मादलुको ताल हराएछ ।
अक्षता र पाती राख्ने थाल हराएछ ।।
उफरमा लूंगी डान्स जम्न थालेपछि ।
घुमिघुमि गाउदै नाच्ने चाल हराएछ ।।
युवाहरू धमाधम लोप हुँदै गएपछि ।
गाउँघरमा जुवाडेको खाल हराएछ ।।
जतागयो उतैतिर झिलिमिली बत्ती ।
सबै धनी भए पछि कंगाल हराएछ ।।
यमराज कतै तिर बन्धक परेछ कि ।
लालुको देशबाट आज काल हराएछ ।।
२०७४/०७/०३
दिदी भाइको नाता अझै प्रगाढ़ बन्नू पर्छ ।
बन्धुत्व प्रेम झल्काई दिने चाड बन्नू पर्छ ।।
जिन्दगीको उकाली ओरालीमा आउने ।
सिरेठो लाई छेकि दिने पहाड़ बन्नू पर्छ ।।
भाइ टिकाको शुभ कामना ।।।।।।।।।।।।।।
गजल
गोबर्धन पूजा गर्नलाई कतै गाई भेटिएन ।
सेलरोटी के पाक्थ्यो त्यसै ताइ भेटिएन ।।
फूल फुल्ने डांडापाखा बनमाराले ढ़ाक्यो ।
माला उन्न मखमली अनि जाइ भेटिएन ।।
बर्ष पिच्छे नबिराई लक्ष्मी पूजा गरेकै हो ।
कहाँ त्रुटि भएछ कुन्नी कमाई भेटिएन ।।
बेरोजगारी समस्याले बिदेशिनु परेपछि ।
टिका लाइदिने दिदी अनि भाई भेटिएन ।।
फेसबुक र म्यासेन्जरमा शुभकामना आए ।
फूलमाला टिका सहितको बधाई भेटिएन ।।
हेल्लो हाई गर्नेहरु दुनियामा धेरै थिए ।
अधिकांश सम्बन्धहरु स्थायी भेटिएन ।।
धर्म हो कि कर्म ठूलो अल्मलमा परे म त ।
अझै सम्म जिन्दगीको सच्चाई भेटिएन ।।
२०७४/०७/०४
गजल
दिदी भाइ टाढा टाढा पुगी टिका लाइने भो ।।
एक आपसमा सगुन बाडिं मीठो खाइने भो ।।
जता ततै ढकमक्क फूलहरु फुलेका छन ।
झिलिमिली बत्ती बाली घरहरु सजाइने भो ।।
बाहरै मास लुकी तास खेल्ने बानी परेकै छ ।
यसैको निहु पारी दिउसै खेल्न पाइने भो ।।
सोम रस पान गरी त्यसकै तालमा रमाउंदै ।
रातभर जाग्राम बसी देउसी भैलो गाइने भो ।।
लौन सरकार पूरा गर्दे यत्ति एउटा गुनासो छ ।
तिहारको भोलि पल्ट एउटा बिदा चाहिने भो ।।