सामुदायिक शिक्षामा बिश्वासको संकट
भूमिराज शर्मा
गाउँ पालिकाको वडा कार्यालयमा शिक्षा सरोकारवालाहरु बीच बैठक चलिरहेको थियो । बैठकको मुख्य एजेण्डा थियो "सामुदायिक शिक्षाको सुधार" । सो बैठकमा जनप्रतिनिधिहरु , वडा भित्र रहेका सबै सामुदायिक बिद्यालयका बिब्यस अध्यक्षहरु र प्रधानाध्यापकहरुको बाक्लो उपस्थिति थियो ।
बैठकमा सामुदायिक शिक्षा कमजोर हुनुको कारण र सुधारका उपायहरुको बिषयमा आफ्ना भनाईहरु राख्ने क्रम चलिरहेको थियो । त्यसै क्रममा एक जना प्रअले कर्मचारीहरु, हुने खानेहरु र स्वयं जनप्रतिनिधिहरुका छोरा छोरी बोर्डिंङ स्कूलमा पढ़ाई रहेको अनि सामुदायिक बिद्यालयलाई उपेक्षा गरेको कारण ती बिद्यालय गरीबका छोरा छोरी पढ्ने बिद्यालयको रुपमा रूपान्तरित भइरहेको गुनासो गरे । उनको गुनासो सकिए लगत्तै एक जना जनप्रतिनिधि उठेर बोल्न थाले । उनले भने "त्यहाँ पढाउने शिक्षककै सन्तान त बोर्डिङ स्कुलमा पढ़न जान्छन् । स्वयं शिक्षकलाई त आफ्नो योग्यता र क्षमता प्रति बिश्वास छैन भने हामीले कसरी आफ्नो बच्चा सामुदायिक बिद्यालयमा पठाउने ? " उनको यो प्रति प्रश्न पछि बैठकमा एक छिन सन्नाटा छायो । कानेखुशी चल्यो । फेरि अर्का जनप्रतिनिधिले थपे । पहिले शिक्षकले आफ्ना सन्तान सामुदायिक स्कूलमा फिर्ता गर , पढाइमा सुधार गर , हामी छोरा छोरी ल्याई हाल्छौ । यसै गरी एकले अर्कोलाई देखाउदै केहि बेर भना भन चल्यो र अन्तमा लामो छलफल पछि बैठकमा उपस्थित सबैले आगामी शैक्षिक सत्र देखि आफ्ना सन्तान सामुदायिक स्कुलमा नै भर्ना गर्ने र शैक्षिक सुधारका लागि प्रतिबद्ध रहने बिचार समेत ब्यक्त गरे ।
बैठकमा बोल्ने अधिकांश सहभागीले शिक्षकको कार्य सम्पादन माथि शंका ब्यक्त गरे । उनीहरूले नामै किटेर शिक्षकहरु बिद्यालयमा अनियमित हुने, पूरा समय नदिने, राजनीति गर्ने, गैर जिम्मेबार बन्ने, अनुशासन हीन ब्यबहार गर्ने गरेको गम्भिर आरोप समेत लगाए । कतिपय आरोपहरुमा सत्यता थियो । बिश्वासको खडेरी परेकै थियो ।
कुनै जमाना थियो, शिक्षक हुनु गर्व र सम्मानको विषय थियो । ज्ञानको स्रोत, समाजले आदर्श, अनुशासन, विश्वास र नैतिकताको बिम्ब लिनुपरे शिक्षक उदाहरण बन्थे । चेतनाका संवाहक मानिएका तिनै शिक्षक दशकयता सामाजिक विश्वास र सम्मान गुमाउँदै आलोचनाको केन्द्रीय पात्र बन्दै गएका छन् । शिक्षकको छवि धुमिल हुँदै तिनको व्यावसायिक दायित्वमाथि प्रश्न उठ्न थालेको छ । अहिलेका शिक्षकमाथि कक्षाकोठामा नपढाएर चरम राजनीतीकरण गरेको, शिक्षण सिकाइ क्रियाकलाप र सामुदायिक विद्यालय बिगारेको आरोप लागिरहेको छ । नेपालका सामुदायिक विद्यालय र त्यहाँ कार्यरत शिक्षकले गुमाएको पहिलो कुरा हो बिद्यार्थी र अभिभावकको विश्वास ।
विद्यालयप्रतिको विश्वास अभिभावक र बिद्यार्थीसंगको पारस्परिकता, उठवस तथा सहयोगमा निर्भर गर्छ । अब गुणस्तरीय शिक्षाका लागि विद्यालय संचालक तथा शिक्षकहरू कक्षा कोठा भित्रमात्र कार्य क्षेत्र भएको परम्परागत शिक्षक भएर पुग्दैन, उनीहरूले अभिभावकहरूलाई नेतृत्व दिन सक्नुपर्छ, भिन्न क्षमता समुह, जात तथा फरक रहनसहनमा हुर्केका छात्रछात्राहरूलाई आफ्नो प्रभावमा राखेर शिक्षा प्रवाह गर्नुपर्छ । भिन्न आवश्यकता तथा रुचि भएका व्यक्तिहरूलाई समेट्न सक्नु पर्छ । स्थान अनुसार भिन्न भिन्न परिस्थितिको सामना गर्नु पर्छ । शिक्षकले समुदायका हरेक व्यक्तिलाई गन्तव्यप्रतिको प्रष्ट चेतना दिन सक्नु पर्छ । यसको अर्थ हो शिक्षक आफंैमा एउटा सफल नेता बन्न सक्नुपर्छ । यी कार्यहरूको वलियो जग हो– पारस्पारिक विश्वास ।
तर दुखको कुरा, पढाउने मामलामा अथवा भनौं शिक्षकले दिने ज्ञानको गुणस्तरको कुरा गर्ने हो भने प्रश्न उठाउने ठाउँहरू धेरै छन् । पछिल्लो समयमा सामुदायिक विद्यालयका शिक्षकहरू पूरै समयावधिभर विद्यालयमा नबस्ने, कतिपय शिक्षकले त हाजिर बजाएकै भरमा तलब पकाउने गरेको र अधिकांश शिक्षकहरू राजनीतिक दलका कार्यकर्ता नै हुने गरेको हामीले सुन्दै र देख्दै आएका छौं । अहिलेका शिक्षक पाठ्यपुस्तकको साँघुरो घेराबाट बाहिर निस्कन सकेका छैनन् । पाठ्यक्रम हेर्ने त कुरै छाडौँ, त्यही एउटा पाठ्यपुस्तक पनि समयमै पढाएर सक्ने गरेका छैनन् ।
यतिबेला कतिपय विद्यालयका एसइइ दिने बिद्यार्थीहरु विद्यालयमा भेटिदैनन् । एसइई आउन झण्डै साढ़े दुइ महिना बाँकि रहँदा कक्षा दश प्रायः खाली जस्तै देखिन थालेको छ । बिद्यार्थीहरु आफूलाई बर्षौदेखि पढाउँदै आएका शिक्षकहरुलाई अविश्वास गदै कोचिङ तथा ट्युशन सेन्टररुपि होस्टलतिर गैसकेका छन् । ती बिद्यार्थीलाई पढाउन खटिएका सामुदायिक विद्यालयका शिक्षकहरु जाडोमा घाम तापेर दिन गुजारीरहेका देखिन्छन् । तलब भत्ता पचाइरहेका छन् । उनीहरुमा रत्तिभर कुनै दायित्वबोध छैन । आफूप्रति बिद्यार्थी र अभिभावकको विश्वास गुमेकोमा कुनै चिन्ता छैन । उता अनुगमन गर्ने शिक्षा कार्यालय र विद्यालय निरीक्षकहरु थाहा नपाएझैँ गरी बेखबर जस्तो देखिएका छन् ।
यसो हुनुको प्रमुख कारण सामुदायिक विद्यालयका कक्षा कोठालाई सिर्जनशील बनाउन नसक्नु नै हो । त्यहाँको शिक्षण सिकाइ उपलब्धिमूलक बन्न नसक्नु नै हो । अभिभावक र बिद्यार्थीले नरुचाउने गतिविधिमा समेत शिक्षक संलग्नता बढेपछि विश्वास गुम्दै गएको सत्य हो । अहिले शिक्षक नै बेइमान हुन् भन्नेहरू बढेका छन् । यस्तो बर्तमान अवस्थामा शिक्षक सुधार्ने स्वयं शिक्षकले नै हो । शिक्षकले कर्तव्य निर्वाह गर्नुपर्ने आफ्नो आदर्श गुणलाई कायम राख्नु जरुरी छ । शिक्षकले आफूमा भएका गलत प्रवृत्ति र व्यवहार छाडेर कर्तव्यनिष्ठ भई विद्यार्थी केन्द्रित हुने हो भने गुम्दै गएको विश्वास फेरि पलाउनेछ । बर्षौ पढेर पनि आफूलाई कमजोर ठानी अन्तिम अवस्थामा जसरी भए पनि पास हुने मृगतृष्णा बोकेर महंगो शुल्क तिरी ट्युशन कोचिङ सेन्टर तथा होस्टल धाउने गरेका बिद्यार्थीहरु आफ्नै विद्यालयमा रमाइरमाइ पढ्नेछन् ।