Skip to main content

अन्तर्वार्ता तयारी

शिक्षक सेवा आयोगको अन्तर्वार्ता तयारी
के गर्ने, के नगर्ने ?    

अनन्तकुमार पौड्याल

अन्तर्वार्ता भनेको उम्मेदवार छनोट गर्ने प्रक्रियालाई थप वैधता दिने अभिप्रायले विशेष रूपमा आयोजित औपचारिक कुराकानी हो । लिखित परीक्षाले मात्र उम्मेदवारको व्यक्तित्व र सक्षमताका विभिन्न पक्षहरूलाई प्रकाश पार्न नसक्ने भएकाले अन्तर्वार्ता लिइन्छ । अन्तर्वार्तालाई रोजगारदाता तथा रोजगारीका लागि आवेदन गर्ने व्यक्तिबीच हुने दोहोरो सञ्चार पनि भनिन्छ । अन्तर्वार्तामा बढी असंरचित ढाँचा प्रयोग गरिने भए तापनि असंरचित ढाँचाभन्दा संरचित ढाँचाको अन्तर्वार्ता नै बढी वैध र प्रभावकारी हुन्छ ।

अन्तर्वार्ताको उद्देश्य
१. उम्मेदवारको विचारधारा बुझने

२. सेवा सम्बन्धमा उम्मेदवारको भित्री आशय बुझने

३. उम्मेदवारबारे प्रत्यक्ष रूपमा बढी जानकारी प्राप्त गर्ने

४. उम्मेदवारको ज्ञान, धारणा, अनुभव, दक्षता आदिको जाँच गर्ने

५. छनोट गर्ने आधारलाई मजबुत बनाउने ।

अन्तर्वार्ताका ढाँचा
१. एक व्यक्तिले अर्को एक व्यक्तिसित लिने अन्तर्वार्ता

२. एक व्यक्तिले धेरै व्यक्तिसित लिने अन्तर्वार्ता

३. धेरै व्यक्तिले एक व्यक्तिसित लिने अन्तर्वार्ता

४. धेरै व्यक्तिले धेरै व्यक्तिसित लिने अन्तर्वार्ता

अन्तर्वार्ताका प्रकार
१. सक्षमतामा आधारित अन्तर्वार्ता (Competency Based Interview) : यसलाई कार्यक्षमता (Capability based) वा व्यावहारिक अन्तर्वार्ता (Behavioral Interview) पनि भनिन्छ । प्रभावकारी कार्य सम्पादनमा योगदान पुयाउने उम्मेदवारमा अपेक्षित सीप, गुण र व्यवहार नै सक्षमताहरू हुन् । यस्ता विशिष्ट क्षमताहरू समस्या समाधान गर्ने, समूहमा काम गर्ने, नेतृत्व गर्ने, प्रभावकारी सञ्चार गर्ने, सिकारुहरूलाई प्रभाव पार्ने गरी शिक्षण गर्ने आदि जस्ता सीपहरूमा केन्द्रित हुन्छन् । सक्षमतामा आधारित अन्तर्वार्तामा मुख्यतः दुईवटा काम गरिन्छन् पहिलो, एक जना उपयुक्त उम्मेदवार पहिचान गर्ने र दोस्रो, संगठनको काममा आधारित र उम्मेदवारको विगतको अनुभवमा आधारित प्रश्नहरू सोध्ने । त्यसैले एक कुशल उम्मेदवारले अन्तर्वार्तामा जानुअगि माथिका दुइटा कुरामा विशेष ध्यान दिनु जरूरी हुन्छ ।

२. व्यक्तिगत विवरणमा आधारित अन्तर्वार्ता (Biographical Interview) : परम्परागत प्रकृतिको यस अन्तर्वार्तालाई व्यक्तिगत विवरणमा आधारित अन्तर्वार्ता पनि भनिन्छ । यस किसिमको अन्तर्वार्तामा उम्मेदवारको व्यक्तिगत विवरण अध्ययन गरिन्छ र विगतका कार्यानुभव, विगतका पेसामा रमाएका वा नरमाएका पक्षहरू, यस पेसामा आउनुका कारण आदि विषयमा जोड दिएर प्रश्न सोधिन्छ । यस किसिमको अन्तर्वार्तामा उम्मेदवारहरू आफ्नो व्यक्तिगत विवरणलाई पुनः अध्ययन गरी त्यसबारे राम्रोसित व्याख्या गर्न सक्षम हुनु जरूरी हुन्छ ।

अन्तर्वार्तामा उम्मेदवारका केकस्ता खास गुणहरू हेर्न खोजिन्छ ?
अन्तर्वार्ताकारले उम्मेदवारमा निम्न गुणहरूको अपेक्षा गरेको हुन्छ । यस्ता अपेक्षाबारे जानकारी राखेर आफूलाई सोही अनुसार तयार पार्नु उचित हुन्छ

१. शारीरिक सहज ढाँचाकाँचा र सुनाइ सीप

२. आत्मविश्वास

३. मानसिक सचेतता

४. सञ्चार सीप

५. समस्या विश्लेषण गर्ने र समाधानका उपायहरूलाई तार्कि रूपमा प्रस्तुत गर्ने क्षमता

६. समसामयिक विकास निर्माण कार्य, घटना र मामलाहरूको जानकारी

७. सामूहिक सहयोग र भावना

८. जिम्मेवारी बोध

९. नेतृत्व सीप

१०. उपस्थिति सीप

११. शीघ्र निर्णय गर्ने क्षमता

१२. योजना र संगठन गर्ने क्षमता

१३. तनाव व्यवस्थापन सीप

१४. शारीरिक तथा मानसिक सहनशीलता

१५. बौद्धिक इमानदारी

१६. समग्र व्यक्तित्व

अन्तर्वार्तामा सोधिने प्रश्नका प्रकार
१. अगुवाइ गर्ने (Leading) प्रश्न: अन्तर्वार्तामा परिचय आदानप्रदान गर्ने कार्य सम्पन्न भएपछि विज्ञापन अनुसारको विषयवस्तुतर्फ प्रश्न केन्द्रित गर्न शुरूमा र प्रश्नकर्ता फेरिने बेलामा अन्तर्वार्तालाई निरन्तरता दिन अगुवाइ गर्ने प्रश्नहरू सोधिन्छ । यस बेलामा उम्मेदवारले अत्यन्तै चनाखो भएर प्रश्न सुन्नुपर्छ र सटीक तरीकाले उत्तर दिने प्रयत्न गर्नुपर्छ । प्रश्नको उदारहण ‘तपाईंले मुख्य विषय ‘पाठ्यक्रम’ लिएर स्नातक गर्नुभएको कुरा अहिले हामीलाई बताउनुभयो । अब एकछिन पाठ्यक्रमका बारेमा कुराकानी गरौँ । पाठ्यक्रमलाई तपाईं कसरी अथ्र्याउनु हुन्छ ?’

२. बन्द (Closed) तथा खुला (Open) प्रश्न : एक शब्द वा छोटो वाक्यमा उत्तर दिनुपर्ने प्रश्नलाई बन्द प्रश्न भनिन्छ, जस्तै : ‘तपाईंले शिक्षण गर्नुभएको कति वर्ष भयो ?’ आधारभूत तथ्य र जानकारी प्राप्त गर्न यस्तो प्रश्न गरिन्छ । अन्तर्वार्ताकारले लम्बे–चौडे उत्तरलाई नियन्त्रण गर्न पनि यस्तो प्रश्न गर्छन् । उम्मेदवारका कार्यानुभव, उत्कृष्ट अभ्यास, समसामयिक घटना र मामला आदिमा उत्तरदाताको विचार, धारणा र भित्री आशय बुझन खुला प्रश्न प्रयोग गरिन्छ । जस्तै : ‘शिक्षण कार्य त कष्टकर नै हुन्छ भन्छन् । यस्तो पेशा रोज्न तपाईंलाईं के कुराले उत्प्रेरित गरयो ?’

३. कुरा खोतल्ने (Probing) प्रश्न: उत्तरदाताले भनेको कुरामा टेकेर एकपछि अर्को तथ्य र जानकारी खोतल्दै जाने किसिमका प्रश्नलाई कुरा खोतल्ने प्रश्न भनिन्छ । उत्तरदाताले प्रश्नको उत्तर दिने क्रममा कुनै नयाँ शब्द र विवादास्पद कुरा निकालेमा वा उत्तरदाता आफै प्रस्ट नभएको विषयमा निर्णयात्मक उत्तर दिएको अवस्थामा यस्तो किसिमको प्रश्नको सामना गर्नुपर्ने स्थिति आउन सक्छ ।

४. प्रतिबिम्बात्मक (Reflective) प्रश्न : कुनै विषय, विगतका अनुभव, मामला आदि सम्बन्धमा उम्मेदवारको समीक्षात्मक व्यवहार, अनुभूति र उत्प्रेरणा जान्नका लागि प्रतिबिम्बात्मक (Reflective) प्रश्न गरिन्छ, जस्तै : ‘पाँच वर्षको शिक्षण अनुभवमा तपाईंले कक्षा शिक्षणमा गरेका असल अभ्यासहरूको उदारहण दिन सक्नु हुन्छ ?’

५. बहुउत्तर (Multiple) प्रश्न : एकै पटकमा लगातार (At a stretch) धेरै वटा प्रश्नहरू (A string of questions) या सोध्ने गरिन्छ । यस्ता प्रश्नले उम्मेदवारलाई अलमलमा पार्छन् । त्यसैले यस्ता प्रश्नलाई अन्तर्वार्ताका लागि अनुपयुक्त (Poor) प्रश्न भनिन्छ । जस्तै ‘शिक्षण विधि भनेको के हो ? अनि भाषा शिक्षणमा प्रयोग गरिने विधिहरू भन्नुहोस् र तीमध्ये तपाईंलाई कुन विधि सबभन्दा बढी उपयुक्त लाग्छ ? किन ? कारण पनि भन्नुहोस् ।’ तर अन्तर्वार्ता दिन जाने उम्मेदवारले यस्ता प्रश्नको पनि सामना गर्नुपर्ने हुन सक्छ भन्ने मानसिकता बनाएर जानु बेस हुन्छ ।

६. अलमल्याउने (Confusing) प्रश्न : कहिले एकैचोटि लामा उत्तर दिनुपर्ने प्रश्न सोध्ने, कहिले व्यक्तिगत मामलाका प्रश्नहरू गर्ने, कहिले बहुउत्तर आउने प्रश्न गर्ने, कहिले व्यक्तिगत प्रतिष्ठामा आँच आउने, कहिले विषयवस्तुभन्दा बाहिर र प्रसंगभन्दा बाहिरका प्रश्नहरू सोधिन सक्छ, जस्तै : ‘नेपालको शिक्षा प्रणालीबारे बताउनुहोस्, यसलाई राम्रो बनाउने उपाय के छ ? त्यो पनि भन्नुहोस् । अन्तर्वार्तामा असफल हुनुभयो भने के गर्ने योजना छ ? तपाईंको बारेमा बताउनुहोस् । तपाईंको मतलव राजनीतिले शिक्षा बिगारेकै हो त, शिक्षकको समस्यामा सरकार उदासीन भएकै हो त ? तपाईंलाई त्यस्तो लाग्छ ?’ आदि ।

७. लामो पृष्ठभूमि बाँधेर सोध्ने (Case-based) प्रश्न : उम्मेदवारको मामला विश्लेषण क्षमता जाँच गर्नका लागि कुनै कथा वा प्रसंग सुनाएर वा कुनै चित्र वा वस्तु देखाउँदै वर्णन गरेर सोधिने प्रश्नहरू यस अन्तर्गत पर्छन्, जस्तै : ‘अन्तर्वार्ताकारले टेबलमा राखिएको मिनरल वाटरको बोतलको बाहिर टाँसिएको लेबलको व्यहोरा वर्णन गर्दै कुनै शब्द वा वाक्यको प्रकार वा रूपान्तरणबारे प्रश्न गर्न सक्छन् । त्यसै गरी हालसालै प्रकाशित समाचार प्रसंग वा सुनाएर त्यसो हुनाको कारण र निराकरणका उपायहरू सोधिन्छन् ।

८. काल्पनिक (Imaginary) प्रश्न : उम्मेदवारको कल्पना शक्ति जाँच गर्नका लागि यस्तो प्रश्न गरिन्छ । तर यस्तो प्रश्नको उत्तरमा उम्मेदवारले जे भने पनि व्यवहारमा अर्कै गर्ने हुँदा यस्तो प्रश्नको उत्तरको खासै महत्व हुँदैन भनिन्छ । जस्तै : ‘तपाईं विद्यालयको प्रअ हुनुभयो भने विद्यालयमा बालमैत्री शिक्षण सिकाइको अवस्थालाई कसरी सुनिश्चित गर्नुहुन्छ ?’ यस प्रकारको प्रश्नलाई वास्तविकतामा आधारित प्रश्नका रूपमा रूपान्तरण गरी सोधिन पनि सक्छ, जस्तै : ‘विद्यालयमा बालमैत्री शिक्षण सिकाइको अवस्था कायम गर्न एक प्रअले खलेको भूमिकाको कुनै उदाहरण छ तपाईंसित ?’

९. उद्देश्य स्पष्ट नभएका (Vague) प्रश्न : कहिलेकाहीँ उम्मेदवारले प्रश्नको कुनै ठोस उत्तर नभएका प्रश्नको पनि सामना गर्नुपर्ने हुन्छ । जस्तै : ‘शिक्षा कस्तो कुरा हो ? यसबाट के फाइदा हुन्छ ? तपाईंका आफ्ना विशेषताहरू भन्नुहोस् ।’

१०. आत्ममूल्यांकन (Self-assesment) प्रश्न : उम्मेदवारको आत्ममूल्यांकन वा स्वमूल्यांकन गर्ने क्षमता जाँच गर्न यस्ता प्रश्नहरू सोधिन्छन् । यस किसमका प्रश्नहरूबाट उम्मेदवारको वास्तविक सबल तथा सुधारात्मक पक्षहरूको पहिचान गर्न मद्दत पुग्छ । जस्तै : ‘तपाईंले विगतमा व्याख्यान विधि प्रयोग गरेर गणित विषय शिक्षण गर्दा पाउनुभएका सबल पक्षहरू भन्नुहोस् । त्यसका केही सुधारात्मक पक्षहरू पहिचान गर्नुभएको छ कि, भन्नुहोस् ।’

अन्तर्वार्ताको तयारीका चरण
क. अन्तर्वार्तापूर्वको चरण

१. कार्ययोजनामा आधारित स्वाध्यायन : लिखित परीक्षाको पाठ्यक्रम अनुसार कुनै पनि विषयवस्तु नछुटाई सरसर्ती पुनःअध्ययन गर्ने । यसका लागि एउटा साप्ताहिक स्वाध्ययन कार्ययोजना बनाउन सकिन्छ ।

२. स्रोत सामग्रीको संकलन, अध्ययन र टिपोट : शिक्षा तथा शिक्षकसँग सम्बन्धित मासिक तथा साप्ताहिक पत्रपत्रिका पढ्ने । त्यस्ता सामग्री प्रसारण हुने रेडियो, टिभी कार्यक्रम सुन्ने, हेर्ने, महत्वपूर्ण जानकारी र तथ्यांक विवरणहरू डायरीमा टिपोट गर्ने । शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय, शैक्षिक तालिम केन्द्र, जिल्ला शिक्षा कार्यालयहरू तथा शिक्षा क्षेत्रमा काम गर्ने एनजीओ र आईएनजीओहरू वेबसाइट तथा ब्लगहरू भिजिट गर्ने र महत्वपूर्ण जानकारी र तथ्यांक विवरणहरू डायरीमा टिपोट गर्ने । सम्बन्धित फाइलहरू डाउनलोड गर्ने । साथै त्यस्ता निकायहरूबाट प्रकाशित हुने निर्देशिका, बुलेटिन, जर्नल र स्मारिकाहरू प्नि संकलन तथा अध्ययन गर्ने ।

३. मामलाहरूको संकलन र समाधानका उपायहरूको खोजी : माथि भनिए अनुसारका विभिन्न स्रोतहरूबाट शिक्षकका समसामयिक साझ तथा जल्दाबल्दा मामला (Case), समस्या (Problem) र मुद्दा (Issues) हरू संकलन गर्ने । त्यस्ता मामला, समस्या र मुद्दाका स्रोत र कारणहरू पहिचान गरी तिनको समालोचनात्मक वर्णन गर्न सक्षम हुने । तिनको समाधानका उपायहरूको खोजी गर्ने र टिपोट गर्ने ।

४. अन्तरक्रियामा सहभागीता तथा सुझवहरूको संकलन : अन्तर्वार्ता दिई उत्तीर्ण भएका व्यक्तित्वहरू सम्पर्क गरी अन्तर्वार्तामा प्रश्न सोधिने तरीका र उत्तर दिने शैलीका बारेमा छलफल गर्ने र आवश्यक सुझवहरू प्राप्त गर्ने । विभिन्न किसिमका रोजगार परीक्षाहरूमा अन्तर्वार्ता लिने कार्यमा सरिक भएका अनुभवी व्यक्तित्वहरूबाट पनि सुझव प्राप्त गर्ने । अन्तर्वार्ता प्रस्तुति सीप सम्बन्धी सुझव भएका लेख तथा पुस्तकहरू अध्ययन गर्ने ।

५. अभ्यास र आत्मप्रतिबिम्बन : साथीभाइ तथा अन्य शुभेच्छुक आफन्तहरूसित अन्तर्वार्ता प्रस्तुति सीप सम्बन्धी अभ्यास गर्ने र आत्मप्रबिम्बन, आत्मसमीक्षा गर्ने । सुझवहरू प्रयोग गर्दै अपेक्षित सुधार नभएसम्म अन्तर्वार्ता दिने अभ्यास जारी राख्ने । अन्तर्वार्ता दिने सीपको विकासका लागि पूर्वाभ्यास (Rehearsal) अत्यन्तै आश्यक पर्छ ।

प्रस्तुति सीप सम्बन्धी केही प्रश्न
१.     तपाईंको आफ्नो परिचय दिनुहोस् ।

२.     तपाईंको आफ्नो शैक्षिक योग्यता, कार्यक्षेत्र, अनुभवबारे बताउनुहोस् ।

३.     तपाईंले यो पेसामा आउने इच्छा किन गर्नुभएको हो ?

४.     अन्यत्र किन प्रयास गर्नु भएन ? कि अन्य क्षेत्रमा छनोट हुन नसकेर यस क्षेत्रमा आउनुभएको हो ?

५.     यो पेशामा प्रवेश गरिसकेपछि तपाईंले गर्नुपर्ने कार्य विवरण बताउनुहोस् ।

६.     यस पेशामा रहँदा केकस्ता अवसर प्राप्त हुने सम्भावना देख्नुभएको छ ? त्यस्ता सम्भावनालाई कसरी सदुपयोग गर्ने योजना बनाउनुभएको छ ?

७.     यस पेशामा रहँदा केकस्ता चुनौती आउन सक्ने सम्भावना देख्नुभएको छ ? त्यस्ता चुनौती कसरी सामना गर्ने कार्य योजना बनाउनुभएको छ ?

८.     शिक्षाको गुणस्तर सुधारका लागि एक कुशल शिक्षकका हैसियतले तपाईंले निर्वाह गर्ने भूमिका केके हुन् सक्लान् भन्ने ठान्नु हुन्छ ?

अन्तर्वार्ता अवधिको चरण

१. कागजातहरूको संकलन र फाइलिङ : अन्तर्वार्तामा लैजानुपर्ने भनी तोकिएका कागजातहरू— शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र, प्रवेशपत्र, नागरिकताको प्रमाणपत्र, निरोगिताको प्रमाणपत्र आदि खाममा वा फाइलमा एक दिनअगावै सबभन्दा माथिल्लो योग्यताबाट क्रमशः तलतिरको क्रममा खोजेको समयमा सहजै भेटिने गरी नखुम्चिने र नच्यातिने गरी जतनपूर्वक राख्ने र झेलामा हाल्ने ।

२. स्वव्यवस्थापन सीपको प्रयोग : अन्तर्वार्ता हुने दिन बिहान नुहाइधुवाइ गरी आफ्नो शरीर तथा रङ सुहाउँदो सफा र सादा पहिरन लगाउने । अन्तर्वार्ता स्थलतर्फ प्रस्थान गर्नुअगि अन्तर्वार्ता हुने स्थान निधो गर्ने । किनभने कहिलेकाहीँ विविध कारणवश अन्तर्वार्ता हुने पूर्वनिर्धारित स्थान परिवर्तन भएको हुन सक्छ ।

३. शुभेच्छा प्राप्ति र प्रस्थान : आपू भन्दा ठूला तथा शुभेच्छुकहरूलाई प्रसन्न मुद्रामा भेटघाट तथा सम्पर्क गरी आशीर्वाद तथा शुभेच्छा प्राप्त गर्ने । अन्तर्वार्तामा लैजानुपर्ने कागजात रहेको खाम तथा झेला लिएर उत्साह र जाँगरयुक्त मुद्रामा पर्याप्त समयअगावै अन्तर्वार्ता हुने स्थानतर्फ प्रस्थान गर्ने । अन्तर्वार्तामा जाँदा सकेसम्म बढी सुरक्षित साधन र बाटोको प्रयोग गर्ने, हतार गर्दै जथाभावी बाटो काट्तै नहिँड्ने ।

४. पर्याप्त समयअगावै अन्तर्वार्ता स्थलमा पुग्ने : तोकिएको भन्दा पर्याप्त समयअगावै अन्तर्वार्ता स्थलमा पुग्ने । कुनै विवरण वा कागतजात ल्याउन छुटेको छ कि भनी पुनः एक पटक फाइल रुजु गर्ने ।

५. अन्तर्वार्ताको तयारी सम्बन्धमा सहपाठीहरूसित भलाकुसारी : अन्तर्वार्ता स्थलमा आएका अन्य प्रतियोगीहरूसित उनीहरूले गरेको अन्तर्वार्ताको तयारी सम्बन्धमा कुराकानी गर्ने, आपूले गरेको तयारीको समीक्षा गर्ने र मनोबल बढाउने । धैर्यपूर्वक पालो पर्खने ।

६. सम्पर्क र नाम दर्ता : तोकिएको फाँटमा गई सम्पर्क गर्ने र फारम भर्ने वा नाम दर्ता गर्ने । आफ्नो पालो आएपछि मोबाइल फोन स्विच अफ गर्ने र सम्पर्क कक्षमा गएर माग गरे अनुसारका अन्तर्वार्ता फारम र कागजपत्र बुझउने । हाजिरी दस्तखत गर्ने । धैर्यपूर्वक पालो पर्खने । नाम बोलाएपछि अन्तर्वार्ता कक्षमा प्रवेश गर्ने ।

७. उपस्थिति सीपको प्रयोग : अन्तर्वार्ता कक्षमा पुगेपछि उपस्थिति सीप (Attending skill) प्रयोग गर्ने । अन्तर्वार्ता कक्षमा रहेका संयोजक, दक्ष र विषयगत विशेषज्ञहरूको टीमलाई पालैपालो अभिवादन गर्ने । अनुमति पाएपछि तोकिएको स्थानमा सजिलो गरी स्वाभाविक रूपमा बस्ने । अन्तर्वार्ताकारहरूले सोधे अनुसार धेरै लम्बेचौडे कुरा नगरीकन सोधिएको प्रश्नले माग गरे अनुसार नछुटाई उत्तर दिने ।

८. अनपेक्षित व्यवहार प्रदर्शन : अन्तर्वार्तामा होशियारी अपनाउँदा अपनाउँदै पनि कतिपय अनपेक्षित व्यवहारहरू प्रदर्शन भइरहेको हुन सक्छ, तिनलाई ख्याल गर्ने र नियन्त्रण गर्ने, जस्तै ः खुट्टा कमाउने, खुट्टा हल्लाउने, प्रश्न गाह्रो लाग्यो भने कपाल कनाउने आदि ।

९. अन्तर्वार्ताको बेलामा केके नगर्ने : कहिले ठूलो स्वरमा, कहिले नसुनिने र कहिले नबुझ्निे गरी बोल्ने, अनावश्यक रूपमा हल्लिने, कुर्सीमा घुम्ने वा मच्चिने, कोठा बाहिर वा भुइँतिर हेरेर बोल्ने, केश, लुगा, शरीर, अनुहार आदि सुमसुम्याउने, गम्भीर र आक्रामक शैलीमा प्रश्नको उत्तर दिने, आवेशमा आएर बोल्ने, टेबल, कागज आदिमा अनावश्यक रूपमा कोर्ने (Doodling), अशोभनीय तथा भड्किलो पाराले बस्ने, डटपेन किटिककिटिक पार्ने, खुट्टा कमाएर बस्ने, गोजीमा हात राख्ने आदि कार्यहरू नगर्ने ।

सोधेको कुराभन्दा बढी उत्तर दिन प्रयास नगर्ने । नआएको प्रश्नको उत्तर ढाँटेर दिने प्रयास गर्ने, जिद्दी गर्ने काम नगर्ने । अन्तर्वार्ताको अन्त्यमा आशीर्वाद, कृपा, सहानुभूति आदि प्राप्त गर्ने आशय झ्ल्कने हाउभाउ प्रस्तुत नगर्ने र त्यस्तो कुरा पनि नगर्ने । असन्तुलित नेत्र सम्बन्ध (Eye-contact) नगर्ने ।

१०. अन्तर्वार्ता दिन बसेको बेलामा केके गर्ने : तोकिएको स्थानमा सजिलो र भद्र तरीकाले बस्ने, सन्तुलित नेत्र सम्बन्ध कायम गर्ने, सोधेको कुराको उत्तर बिस्तारै बिस्तारै औँला भाँच्तै एक, एक गरी बताउने; उत्तर नजानेको प्रश्न सोधिएमा आफूलाई थाहा नभएको प¥यो भनी विनम्रतापूर्वक बताउने, अन्तर्वार्ताकारतिर फर्केर शिष्टतापूर्वक उत्तर दिने, जानकारी नभएको शब्दावली र कुरा थपेर उत्तर नदिने (नत्र त्यहीँबाट अरू थप जटिल र नयाँ नयाँ प्रश्नहरू सिर्जना हुँदै जाने वा अलमलमा पर्ने सम्भावना रहन्छ ।)

अन्तर्वार्ताको अन्त्यमा अनुमति प्राप्त भएपछि सबै अन्तर्वार्ताकारहरूलाई शिष्ट शैलीमा अभिवादन गरी बिदा लिने र आफूले ल्याएका प्रमाणपत्र तथा कागजातहरू लिएर बाहिर निस्कने ।

अन्तर्वार्तापछिको चरण
१. कागजातहरू छुटेका छन् छैनन् रुजु गर्ने : आफूले लगेका र फिर्ता ल्याउनुपर्ने सक्कल प्रमाणपत्र तथा कागजातहरू लिएर बाहिर निस्कने र कुनै कागजातहरू छुटेका छन् छैनन् रुजु गर्ने ।

२. आत्मसमीक्षा गर्ने : अन्तर्वार्ताका सबल तथा सुधारात्मक पक्षहरू पहिचान गरी आत्मसमीक्षा गर्ने । सोधिएका मुख्य प्रश्न र तिनका उत्तरहरू टिपोट गर्ने ।

३. टिपोट गर्ने : कहिलेकाहीँ अन्तर्वार्ताकारहरूबाट पनि केही सुधारात्मक सुझवहरू प्राप्त भएको हुन सक्छन् । त्यस्ता उचित पक्षहरूलाई टिपोट गर्ने र आगामी दिनका लागि पृष्ठपोषणका रूपमा ग्रहण गर्ने ।

४. अनुभव आदान प्रदान गर्ने : अन्य प्रतियोगी उम्मेदवारहरूसित पनि अन्तर्वार्ता कस्तो भयो भनी अनुभव आदानप्रदान गर्ने । अन्तर्वार्तामा पाएको हौसला र सहजीकरणबाट धेरै आशावादी नहुने, ठिक्क आशावादी हुने । तपाईंलाई मात्र होइन, अरूलाई पनि त्यसरी नै हौसला प्रदान गर्दै प्रश्न गरिएको हुन सक्छ भन्ने सम्झ्ने । अन्तर्वार्तामा धेरै आशावादी भैयो र नतिजा अनपेक्षित आयो भने मानसिक आघात पनि हुन सक्छ ।

५. अनपेक्षित नतिजा आएमा पृष्ठपोषणका रूपमा लिने : केही गरी नतिजा अनपेक्षित रूपमा असफल आयो भने त्यसलाई आगामी दिनका परीक्षाका लागि पृष्ठपोषणका रूपमा लिने । अंग्रेजीमा एउटा भनाइ छ FAIL = First Attempt In Learning । अर्थात् सिकाइतर्पको पहिलो प्रयास असफलता पनि सफलताको एउटा खुड्किलो हो भन्ने भनाइ पनि प्रशस्तै सुनिन्छ । घोडा चढ्ने मानिस लड्छ भन्ने त हाम्रो उखान नै छ । यस्ता प्रेरणादायी कुराहरूलाई पनि मनन गर्ने । लिखित परीक्षामा अरूको भन्दा निकै कम प्राप्तांक आएर नाम निस्केको छ भने पनि अन्तर्वार्तापछि नाम निस्कन गाह्रो भएको हुन सक्छ । यी सबै पक्षहरूबारे धैर्यपूर्वक सिंहावलोकन गर्ने र आगामी परीक्षाका लागि थप तयारीका रूपमा अध्ययनलाई निरन्तरता दिने । नतिजा प्रकाशनबारे अरूले गर्ने गरेका नकारात्मक टिप्पणी, कुराकानी र आक्षेपलाई अन्धाधुन्ध विश्वास गरेर निराश नबन्ने । नत्र पहिले गरेको तयारी सबै बिर्सिएर शुरूकै अवस्थामा झ्रिने सम्भावना रहन्छ ।

अन्तर्वार्ता दिन जाने उम्मेदवारमा पाइने केही कमजोरी
१.     प्रश्नको ठीकसित उत्तर नदिईकन त्यतिकै बरालिने

२.     उत्तर दिन कोशिश नगरी त्यतिकै टार्ने

३.     स्पष्ट र सटीक उत्तर नदिने, बहुअर्थ लाग्ने उत्तर दिने

४.     प्रश्नले मागेको उत्तरलाई वास्ता नगरी आफूले जे जानेको छ त्यही भन्ने

५.     अन्तर्वार्ताकारहरूका अगाडि अशोभनीय रूपमा बस्ने

६.     नराम्रा हरकत (Badmannerism) (जस्तै : नङ खेलाउने, कपाल कनाउने आदि) प्रदर्शन गर्ने

७.     सन्तुलित नेत्र सम्बन्ध कायम नगर्ने, जस्तै : एक जना प्रश्नकर्तालाई मात्र हेरिरहने वा अन्यत्र हेरेर उत्तर दिने

८.     अस्वाभाविक र उत्तेजित रूपमा अनुहारको हाउभाउ प्रदर्शन गर्ने

९.     बोल्दा थरथर काँप्ने

अन्तर्वार्ता दिन जाने उम्मेदवारले अन्तर्वार्ताअगि, अन्तर्वार्ता अवधिको र अन्तर्वार्तापछिको तयारीलाई चरणबद्ध रूपमा पालना गरेमा सम्भावित कमीकमजोरीहरूबाट बच्न सकिन्छ । त्यसै गरी अन्तर्वार्ता लिने र दिने दुवै पक्षमा हुने गरेका समस्या र कमजोरीहरू थाहा पाइराखेमा आपूलाई अन्तर्वार्ताका लागि निर्भीक भएर उच्च मनोबलका साथ प्रस्तुत हुन मद्दत पुग्छ । त्यसैले अन्तर्वार्ताका लागि पर्याप्त तयारी गरेर जाऔँ ।

(पौडेल क्षेशिनि दिपायलका उपनिर्देशक हुन् ।)
source: http://teacher.org.np/अन्तर्वार्ता-तयारी

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव