Skip to main content

गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु

गणितमा विद्यार्थीहरु असफल हुनाका कारणहरु
(१) जग कमजोर हुनु  र पूर्व ज्ञानको कमी
          गणित पूर्व धारणाहरुको प्रयोग गरी समस्याहरुको समाधान गर्ने विषय हो । कुनै पनि नयाँ विषयवस्तु सिक्नको लागि त्यससँग सम्बन्धित पूर्व ज्ञान हुनु आवश्यक हुन्छ । तर हाम्रा सामुदायिक विद्यालयहरुका तल्ला कक्षाहरुमा गणित विषयको प्रभावकारी शिक्षण सिकाइ हुन सकिरहेको छैन । गणित विषयको राम्रो ज्ञान नभएका शिक्षकहरुकै कमजोरीका कारण बिद्यार्थीहरुमा गणितीय धारणाहरुको विकास हुन नसकेको हो ।  गणितका आधारभूत  धारणाहरु बिद्यार्थीहरुले राम्रोसँग बुझ्न नसक्दा विद्यार्थीहरुको धारणात्मक बोध कमजोर भएर गएकाले गणितीय उपलब्धि पनि कमजोर भएको देखिन्छ ।
(२) गणितप्रतिको भय
       गणितप्रति सामुदायिक विद्यालयका विद्यार्थीहरु बढी भयभित देखिन्छन् । गणित गाह्रो हुन्छ भन्ने खराब मनोविज्ञान नै गणित सिकाइको सबैभन्दा संवेदनशील र अदृश्य चुनौति भएको छ । उनीहरुमा गणित सिक्न सकिन्छ भन्ने भावना र मनोबल उच्च नहुँदा चाहेर पनि गणितीय सिकाइले स्थायित्व पाउन सकेको छैन । विद्यार्थीहरुमा लुकेर रहेको गणितप्रतिको भय एवं त्रासलाई नहटाउँदा सम्म गणितीय सिकाइमा गुणस्तरीयता प्राप्त हुन सकेको छैन ।   
(३) अभ्यासमा कमी
       विद्यालय तहको पाठ्यक्रममा समाविष्ट विषयहरुमध्ये सबैभन्दा धेरै अभ्यासको जरुरत पर्ने विषय गणित नै हो । अभ्यासविना गणितमा दक्षता प्राप्त हुन सक्दैन । वर्तमान समयमा अधिकांश विद्यार्थीहरुमा अभ्यास गर्ने बानी हट्दै गैरहेको छ । अभ्यासको कमीका कारण गणितीय समस्या समाधानमा रुचिको जागरण हुन सकेको छैन । समस्यासँग परिचित हुने र समाधान गर्ने बानीको निर्माण हुन नसक्नुले गर्दा गणितीय समस्या बढी जटिल बन्ने गरेको पाइन्छ । 
(४)  गणितलाई दैनिक जीवन र व्यवहारसँग जोड्न नसक्नु
        गणितीय विषयवस्तु सिकाउँदा वर्तमान मानवीय जीवनमा आइरहेको प्रगोगको सन्दर्भबोध नहुँदा यसप्रति रुचिको जागरण हुन सकेको छैन । गणित किन पढ्ने र यसको प्रयोग कहाँ र कसरी हुन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई बुझाउन नसक्दा यो विषय खल्लो बन्न पुगेको छ । गणित सिकाइमा विद्यार्थीको दैनिक जीवन र व्यवहार समावेश नभएका कारण यसको प्रयोगमा रुचि देखिएको छैन ।
(५) सिकाइ अनुशासनको कमी
         विद्यार्थीमा सिकाइ अनुशासनको खडेरी बढ्दै गएको छ । गणित सिकाइमा विद्यार्थीहरु मानसिक रुपमा उपस्थित हुन नसक्दा शिक्षकप्रति उनीहरु भावनात्मक रुपमा नजिकिए पनि सिकाइ केन्द्रित भएर नजिकिने अवस्था टाढिँदै गएको छ । पर्याप्त मात्राका कक्षा कार्यमा सहभागी नहुनु, गृहकार्य गर्ने बानीको विकास नहुनु पनि अर्को समस्याको रुपमा देखिएको छ ।
(६) शैक्षिक सामग्री निर्माण र प्रयोग नहुनु
        प्रभावकारी शैक्षिक सामग्रीविना गणितीय विषयवस्तुको धारणालाई स्थापित गराउन सकिँदैन । गणितको गुणस्तरीय सिकाइको लागि शैक्षिक सामग्री अनिवार्य छ । अझ त्यसमा पनि ठोस शिक्षण सामग्रीहरुको प्रयोग यस विषयमा बढी प्रभावकारी हुन्छ । तर गणितका शिक्षकहरुमा शैक्षिक सामग्री बनाउने पर्याप्त ज्ञान र जाँगर नहुँदा गणित पढाइएको छ तर सिकाइएको छैन । गणित शिक्षणमा भैरहेको परम्परागत शिक्षण विधिको अभ्यासको कारण यस विषयमा धेरै बिद्यार्थीहरु असफल बनिरहेका छन् । 

(७) शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्न नसक्नु
       आजको युगमा शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोग अपरिहार्य भैसकेको छ । यसको प्रयोगले गणित शिक्षण सिकाइलाई सहज, सरल, रुचिपूर्ण र प्रभावकारी पनि बनाउँछ  । तर हाम्रा अधिकांश सामुदायिक विद्यालयहरुमा सूचना प्रविधिहरुको प्रयोग हुन सकिरहेको छैन । 
(८) योग्य र दक्ष गणित शिक्षकको कमी
       हाम्रा सामुदायिक विद्यालयहरुमा अझै पनि गणित विषयका विषयगत शिक्षकहरुको व्यवस्था गर्न नसकिरहेको अवस्था छ । अन्य विषयका शिक्षकहरुले गणित शिक्षण गर्दा केबल काम चलाउ शिक्षण मात्र भइरहेको छ । जसका कारण बिद्यार्थीहरुमा गणितको बलियो धारणा बस्न सकेको छैन । कम योग्यता भएका र फरक विषयका शिक्षकले गर्ने शिक्षण प्रभावकारी नभएको कारणले गर्दा पनि समस्या उत्पन्न भएको पाइन्छ ।
(९) कक्षा कोठामा तालिमको प्रयोग हुन नसक्नु
        विद्यालय तहमा संख्यात्मक रुपमा पर्याप्त तालिम प्राप्त शिक्षकहरु भएको भनिए तापनि शिक्षकले लिएका तालिमहरुको कक्षाकोठामा प्रयोग हुन सकिरहेको छैन । शिक्षण सिकाइका नविनतम विधि, प्रविधि र मूल्यांकनका साधनहरुको उचित प्रयोग हुन नसक्दा बिद्यार्थीहरु यस विषयमा असफल हुने क्रम घटेको छैन ।
(१०) उपचारात्मक शिक्षण सिकाइको अभाव
       गणित विषयमा कमजोर ठानिएका बिद्यार्थीहरुलाई निरन्तर अभ्यास र उपचारात्मक शिक्षणको आवश्यकता पर्दछ । त्यसको लागि निरन्तर मूल्यांकन, अतिरिक्त समयको अभ्यास, पृष्ठपोषण र निरन्तर पुनर्वल प्रदान गर्दै जानु पर्ने हुन्छ । तर अधिकांश सामुदायिक विद्यालयहरुमा यस्ता कार्यहरु हुन सकिरहेका छैनन् ।  
(११) अभिभावकको कमजोर भूमिका
       सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरुकै गणित प्रतिको धारणा कमजोर पाइन्छ । बिद्यार्थीले घर परिवारका सदस्य र छिमेकीहरुबाट अरु विषयको सिकाइमा जति सहयोग प्राप्त गर्छ त्यति गणित विषयमा प्राप्त गर्न सक्दैन । घरायसी वातावण गणित सिकाइको लागि अनुकुल नभइदिंदा पनि बालबालिकाहरुको गणितको जग सुदृढ हुन सकिरहेको छैन ।   

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...