Skip to main content

कस्तो शिक्षक बन्न

कस्तो शिक्षक बन्ने

मिलन पाण्डे

भौतिक  शास्त्रका पिता अल्बर्ट आइन्सटाइनसँगै भौतिकशास्त्र पढ्न पाए कति सिक्न पाइन्थ्यो होला ? म आफैँ पनि भौतिकशास्त्रको विद्यार्थी, मलाई पनि यस्तै लाग्थ्यो । तर, अल्बर्ट आइन्स्टाइन खराब शिक्षक थिए । रिलेटिभिटीबारे पहिलो शोधपत्र प्रकाशित भएपछि आइन्स्टाइनले सुरुमा युनिभर्सिटी अफ बर्नमा विद्यार्थीलाई ‘थर्मोडाइनामिक्स’ पढाउन सुरु गरे । तर, उनले केवल तीनजनालाई मात्र आकर्षित गर्न सके । अर्को सेमेस्टरमा एकजना विद्यार्थी मात्रै भर्ना भएपछि उनको कक्षा रद्द भयो । आइन्स्टाइन आफ्नो कुरा प्रस्तुत गर्न कमजोर थिए । अल्बर्ट आइन्स्टाइनको आत्मकथाका लेखक वाल्टर इस्याकसनका अनुसार उनको कक्षा अव्यवस्थित हुन्थ्यो, उनी विद्यार्थीलाई प्रेरित गर्न सक्दैनथे । यो प्रसंग एडम ग्रान्टले आफ्नो आलेखमा पनि प्रस्तुत गरेका छन् ।

आर्ट अफ टिचिङ
पढाउनु प्रक्रिया मात्र होइन, कला पनि हो । ज्ञान हुनु वा विषयमा पोख्त हुनु मात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । शिक्षकमा पढाउने कला पनि हुन जरुरी छ । ज्ञान अनि कला दुवै हुनु उत्कृष्ट शिक्षकको परिचय हो । अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले धेरै शक्तिशाली छन् । अहिलेका शिक्षकको चुनौती, आफू त्यो संसारमा फिट हुनु हो । त्यसका निम्ति, शिक्षक र विद्यार्थीको संवाद अनि सम्बन्धको भूमिका महत्वपूर्ण छ । शिक्षकमा विषयलाई प्रस्तुत गर्ने राम्रो कला हुनु महत्वपूर्ण छ ।

शिक्षाको मूल उद्देश्य आफूलाई अभिव्यक्त गर्नु हो । यदि विद्यार्थीले बिपी कोइराला वा मदन भण्डारी वा भीमसेन थापाको बारेमा निबन्ध लेख्न रुचाउँदैन भने उनीहरूको बेस्टफ्रेन्ड वा प्रेमी÷प्रेमिकाको बारेमा निबन्ध लेख्न लगाएर लेखनमा रुचि जगाउन प्रयास किन नगर्ने ? गाह्रो प्रश्नको उत्तर दिन सक्दैन भने उसलाई आउने सजिलो प्रश्नबाट सुरु गरेर उसको मनोबल किन नबढाउने ? शिक्षाको उद्देश्य कमजोरी मात्र पत्ता लगाउनु होइन, विद्यार्थीको सबल पक्षलाई उजागर गर्नु पनि हो । हामीले सिकाइलाई परिणाम बनाएर हेर्‍यौँ ।

एउटा विद्यार्थीले २० प्रश्नमा १८ वटा बिगार्‍यो भने, १८ वटा बिगार्‍यो भन्नुको सट्टा दुईटा मिलायो भन्ने मानेर उसलाई दुईबाट २० पुर्‍याउने जिम्मा किन नलिने ? हामी रातो कलम बोकेर विद्यार्थीको कमजोरी केलाउन तम्सिन्छौँ, तर हामी त्यही उत्तरपुस्तिकामा रहेको उसको सबल पक्षमा ध्यान दिँदैनौँ । अब विद्यार्थीको कमजोरी देखाउने रातो मसीसँगै विद्यार्थीको सक्षमता देखाउने हरियो मसीको प्रयोग हुन जरुरी छ ।

धेरै शिक्षकलाई हुने अर्को भ्रम भनेको शिक्षकलाई सबै आउँछ, विद्यार्थीलाई केही आउँदैन भन्ने हो । त्यस्ता शिक्षक कक्षामा गएर एकोहोरो पढाउन सुरु गर्छन्, दोहोरो संवाद गर्दैनन् । तर, समाधान संवाद अनि प्रश्नमै हुन्छ । यदि अर्जुनले कृष्णलाई प्रश्न सोध्दैनथे भने गीता लेखिँदैनथ्यो । प्रश्न सोध्नु, छलफल गर्नु नै सिकाइ हो । प्रश्न समाधान हो । तर, धेरै शिक्षकले यो बुझ्न सकेका छैनन् । 

वासिंग्टन स्मारकको एउटा कथा हाम्रो लागि सान्दर्भिक छ । स्मारकको बाहिरको सतह दिनानुदिन उप्कँदै थियो । आउँदै गरेका पर्यटकलाई नै खसेर लाग्दै थियो । त्यसलाई रोक्नका लागि विभिन्न विज्ञको सल्लाह लिइन थालियो । सफा गर्न प्रयोग गरिएको केमिकलदेखि नजिकैको एयरपोर्टसमेत हटाउने कुरा भयो । तर, पनि समाधान हुन सकेको थिएन । त्यतिवेला ‘फाइभ ह्वाई (५ किन)?’ अनुरूप समाधानका निम्ति प्रश्न सोध्न सुरु गरियो । पहिलो प्रश्न सोधियो, किन पाप्रो झर्दै छ ? पहिलो उत्तर थियो, सफा गर्दै गरेको कडा केमिकलका कारण ।

दोस्रो प्रश्न थियो, किन त्यो केमिकलले सफा गर्नुपर्‍यो ? उत्तर थियो, धेरै चरा आएर फोहोर गर्छन्, त्यसैले । तेस्रो प्रश्न थियो, किन धेरै चरा आइरहेका छन् ? उत्तर, त्यहाँ माकुरा खान आउँदै छन् । चौथो प्रश्न सोधियो, किन धेरै माकुरा आउँदै छन् ? उत्तर थियो, त्यहाँ साना किरा धेरै भएकाले तिनलाई खान आएका थिए । किन साना किरा धेरै आउँदै छन् ? अध्ययनसँगै उत्तर आयो, स्मारकमा बालिएको बत्तीमा झुम्मिन आउने रहेछन् । अन्तिममा करोडौँ खर्च गरेर पनि समाधान नभएको समस्या, त्यो बत्ती निभाउँदा समाधान भयो । तसर्थ, समाधान प्रश्नमा छ, छलफलमा छ । शिक्षकले यो कुरा सबैभन्दा बढी बुझ्न जरुरी छ । 

मैले त्यस्तो शिक्षकसँग पढेको छु, जसले प्रश्न सोधेकै भरमा मलाई पिटेका छन्, कक्षाबाट निकालेका छन् । ‘मलाई प्रश्न सोध्ने ?’ भन्ने घमण्ड पालेका धेरै शिक्षक हामीले भोगेका छौँ । स्कुल पढ्दा साथीलाई अंग्रेजी नबुझेकै भरमा ट्वाइलेटमा थुन्ने अनि ‘पाइन्ट खोलिदिन्छु’ भन्दै रुवाएर सजाय दिने शिक्षक मैले नै देखेको छु । हामी जस्तो मान्छे पनि शिक्षक बन्न सक्छ भन्ने मानसिकताको सिकार भएका छौँ । शिक्षण त्यति सजिलो विधा होइन, हुनुहुँदैन । हाम्रोमा जीवनमा केही गर्न नसके पढाएर पनि खान्छु भन्ने मानसिकता हाबी हुँदै गएको पाइएको छ । शिक्षणलाई जागिरका रूपमा मात्र हेरिनुहुँदैन ।

शिक्षक, शिक्षण र शिक्षा
शिक्षक को हुन् ? व्यवस्थापक, सहजकर्ता, स्रोतकर्ता, साथी, अभिभावक, समीक्षक, आदर्श व्यक्ति, अनुसन्धानकर्ता ?  शिक्षक आवश्यकताअनुरूप सबै हुन सक्नुपर्छ । तपार्इं कक्षामा होलसेलमा सम्झौता गर्न सक्नुहुन्न । तपाईंले प्रत्येक विद्यार्थीलाई फरक–फरक दृष्टिकोणबाट हेर्नैपर्छ । त्यसैले त एउटा कक्षामा १६  विद्यार्थीबराबर एक शिक्षक हुनुपर्छ भनिन्छ । तर, हाम्रोमा त्यो अनुपात धेरैजसो ५० विद्यार्थीबराबर १ शिक्षक  रहेको छ । त्यसैले पनि शिक्षणलाई गाह्रो बनाइदिएको छ । 

सफल शिक्षकमा चार महत्वपूर्ण गुण हुन जरुरी छ । पहिलो, शिक्षकको व्यक्तित्व । विद्यार्थीले शिक्षकले के गर्छन् हेरिरहेका हुन्छन् । अधिकांश विद्यार्थीको पहिलो रोलमोडेल शिक्षक नै हुन्छन् ।  शिक्षकले के बोल्छन्, कसरी बोल्छन्, के गर्छन् सबै क्रियाकलाप महत्वपूर्ण हुन्छन् । विद्यार्थी शिक्षकजस्तो बन्न चाहन्छन् । म मेरो जीवनको उत्कृष्ट शिक्षक सम्झँदा त्यस्तो शिक्षक सम्झन्छु, जसले मलाई मनोबल दिए, मेरो हेरचाह गरे, आफ्नैबारेमा जोक बनाएर हाँसे, पढाउन छाडेर खेलको कुरा गरे ।

पानी पर्दा, कक्षा रोकेर हामीसँग अन्ताक्षरी खेले । यस्ता शिक्षकले मेरो जीवनमा ठूलो प्रभाव पारेका छन् । सायद त्यही प्रभावकै कारण, ती शिक्षकले पढाउने विषय अनि पाठप्रति मेरो रुचि बढी थियो । कोही शिक्षक विद्यार्थीभन्दा पनि पाठ्यक्रमलाई माया गर्छन् वा आफ्नो पढाउने कर्तव्य निर्वाह मात्र गर्छन् । त्यस्ता शिक्षकले हाम्रो जीवनमा खासै प्रभाव पार्दैनन् । अझ केही त्यस्ता शिक्षक पनि हुन्छन्, जो विद्यार्थी नै मन पराउँदैनन् । कुनै योजनाविनै पढाउँछन् । विद्यार्थीसँग चिढिन्छन् । यस्ता मानिस यो पेसामा किन छन् भनेर म वेलावेलामा छक्क पर्छु ।  उनीहरू आफ्नै जीवनबाट के अपेक्षा गर्दै छन् ? जागिर खान मात्र शिक्षणमा आएर सन्तुष्टि र परिणाम यो क्षेत्रले दिन सक्दैन ।

म मेरो जीवनका उत्कृष्ट शिक्षक सम्झँदा तिनीहरूलाई सम्झन्छु, जसले मलाई मनोबल दिए, हेरचाह गरे, आफ्नैबारेमा जोक बनाएर हाँसे, पढाउन छाडेर खेलको कुरा गरे । पानी पर्दा, कक्षा रोकेर हामीसँग अन्ताक्षरी खेले । यस्ता शिक्षकले मेरो जीवनमा ठूलो प्रभाव पारेका छन् ।

दोस्रो, लगाव । सफल शिक्षक बन्नका लागि शिक्षकमा लगाव हुन जरुरी छ । यदि तपाईं साहित्य पढाउनुहुन्छ, तर तपाईंको जीवन निरस छ भने तपाईं साहित्यको राम्रो शिक्षक बन्न सक्नुहुन्न । तपाईं लोकतन्त्रको बारेमा पढाउनुहुन्छ अनि तपाईं विद्यार्थीलाई सामेल गराउनुहुन्न भने तपाईं राम्रो शिक्षक बन्न सक्नुहुन्न । अर्थपूर्ण सिकाइका लागि शिक्षकमा विषयप्रतिको रुचि अनि कक्षामा संलग्नता झल्किन जरुरी छ । केही दिनअघि म शिक्षकहरूको एउटा बैठकमा सामेल भएको थिएँ । कसरी प्रभावकारी कक्षा सञ्चालन गर्ने भन्ने छलफलमा थियौँ ।

कक्षा प्रभावकारी हुन नसक्नुमा शिक्षकहरू विद्यार्थीलाई दोष देखाउँदै थिए । मेरो उहाँहरूलाई सीधा उत्तर थियो, ‘विद्यार्थीले कक्षामा बुझेका छैनन् भने त्यसको अर्थ हो, तपाईंहरूको शिक्षण कलामा समस्या छ ।’ उनीहरूले ध्यान नदिनु भनेको विद्यार्थीको उक्त विषयमा रुचि छैन भन्ने हो । शिक्षकले विद्यार्थीमा उत्सुकता जगाउन सक्नुपर्छ । कक्षाको वातावरण शिक्षकको विषयमा कति लगाव छ भन्ने कुराले दर्शाउँछ ।

तेस्रो, शिक्षकले प्रत्येक कक्षाका लागि तयारी गर्न जरुरी छ । हरेक दिन, हरेक कक्षा फरक हो । यदि राम्रो तयारी गर्ने हो भने तपाईंले विषयसँग खेल्न सक्नुहुन्छ । विषयसँग खेल्दै गर्दा, तपाईंले कथा, कविता वा आफ्नो च्यातिएको मोजा वा फेसबुक पोस्ट आदिबारे पनि विद्यार्थीसँग गफ गर्दै विषयमा बाँध्न सक्नुहुन्छ । आजको कक्षाबाट विद्यार्थीले के पाउँछन् अनि के सिक्छन् थाहा हुन जरुरी छ । शिक्षकले हरेक दिन मैले के सिकाएँ भनेर आफ्नो समीक्षा आफैँ गर्नुपर्छ । आफ्नो अल्पकालीन, मध्यकालीन अनि दीर्घकालीन उद्देश्य पनि स्पष्ट पार्न जरुरी छ । 

चौथो, शिक्षक वर्तमानमा रहन जरुरी छ । उत्कृष्ट शिक्षक आफ्नो सम्पूर्ण तन मन नै विषय अनि विद्यार्थीमा लगाउँछन् । वर्तमानमा रहँदै गर्दा सफल शिक्षक आफ्नो काममा मज्जा लिन्छन् । आफ्ना विद्यार्थीलाई माया गर्छन् । उनीहरू रचनात्मक पनि हुन्छन् । उनीहरू नयाँ कुरा प्रयोग गर्न अनि नयाँ–नयाँ आइडियासँग खेल्न रुचाउँछन् । यस्तो तरिकाले पढाउने विधिलाई नै सजिलो बनाइदिन्छ । जसरी उत्कृष्ट खेलाडीले सजिलै खेलिदिन्छन्, उत्कृष्ट गायकले सजिलै गाइदिन्छन् वा उत्कृष्ट नृत्यकारले सजिलै नाच्छन्, त्यस्तै, उत्कृष्ट शिक्षकले सजिलै पढाइदिन्छन् । हिजोका गुनासा अनि भोलिको अपेक्षामा मात्र रुमल्लिने शिक्षकले आफूलाई वर्तमानमा अभिव्यक्त गर्न सक्दैन ।

सबै शिक्षक जन्मिँदै राम्रो शिक्षकमा हुनुपर्ने गुण लिएर आएका  हुनुपर्छ भन्ने छैन । यी गुण सिक्दै, बुझ्दै, सुधार गर्दै शिक्षकले हासिल गर्न सक्छन् । तर, यसका लागि एउटै सर्त छ, शिक्षकले आफ्नो विषय अनि आफ्ना विद्यार्थीलाई माया गर्न सक्नुपर्छ । सिकाइलाई जति भोगाइसँग जोड्न सक्यो त्यति प्रभावकारी हुन्छ । शिक्षकले विद्यार्थीमा उत्सुकता जगाउन सक्नुपर्छ । विद्यार्थीलाई सिक्न प्रेरित गर्न सक्नुपर्छ । साथै, पढेका कुरालाई अभ्यासमा उतार्न सके मात्र सिकाइले सार्थकता पाउनेछ ।

प्रभावकारी शिक्षक
प्रभावकारी हुनका लागि शिक्षकले आफ्नो सपना मार्नुहुँदैन । आफैँसँग हारेका शिक्षकले प्रभावकारी शिक्षा दिन सक्दैनन् । शिक्षण आफैँमा निकै तनावको पेसा मानिन्छ । ‘नेसनल फाउन्डेसन फर एडुकेसनल रिसर्च’का अनुसार अन्य पेसामा हुनेभन्दा शिक्षक आफ्नो कामका कारण तनावमा बढी रहने पाइएको थियो । तसर्थ, अधिकांश देशमा शिक्षकलाई अन्य पेसाभन्दा प्राथमिकतामा राखिन्छ । भुटान सरकारले समेत शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीलाई उही तहका अन्य कर्मचारीमध्ये सबैभन्दा धेरै तलब दिने निर्णय गरिसकेको छ । धेरै विकसित देशमा, एउटा शिक्षकको इज्जत मन्त्रीको भन्दा कम हुँदैन । पदीय मर्यादाक्रममा पनि समावेश गरिन्छ । हामीले शिक्षकको स्तर अनि मनोबल बढाउने कुनै नीति लिन सकेका छैनौँ । 

राम्रो शिक्षा प्रणाली भएका मुलुकमा राज्यले नै शिक्षकलाई हुर्किने अवसर दिन्छन् । व्यक्तित्व विकासका लागि सघाउँछन्। शिक्षकलाई महŒव दिन्छन् । विश्व बैंकको एउटा रिपोर्टअनुसार, चीनको सांघाई ‘रिडिङ प्रोफिसिएन्सी’मा सबैभन्दा उत्कृष्ट रहेको पाइएको थियो । उत्कृष्टताको कारण थियो, उनीहरूले आफ्ना शिक्षकको विकास, सुधार अनि व्यवस्थापनका निम्ति व्यापक योजना अनि लगानी गर्छन् । शिक्षकको विकास शिक्षाको मेरुदण्ड हो । 

नयाँ शिक्षकले आफूभन्दा अनुभवी शिक्षकको कक्षामा बसेर सिक्ने, सामूहिक रूपमा बसेर एक–अर्कासँग छलफल गर्दै सिक्ने, कुन विधिले काम गरिरहेको छ, कुनले छैन भनेर एक–अर्कासँग विश्लेषण गर्ने नीति अवलम्बन गर्न जरुरी छ । शिक्षकले आफ्नो विषयमा उत्कृष्ट शिक्षकको भिडियो हेरेर सिक्ने गर्दा आफूलाई सुधार्न सक्छन् । आफूलाई सुधार्न उनीहरूले दुई तरिका अपनाउन सक्छन् । पहिलो, आफ्नो भिडियो खिच्न लगाएर त्यो भिडियो हेर्दै आत्ममूल्यांकन गर्न सक्छन् ।

विद्यार्थी उत्कृष्ट शिक्षक खोज्दैनन्, उनीहरू केवल आफूलाई सिक्न सक्ने वातावरण बनाइदिने शिक्षक खोज्छन् । तसर्थ, शिक्षक निकै विज्ञ हुनुपर्छ भन्ने छैन । उसले विद्यार्थीलाई बुझ्न सक्ने वातावरण बनाउन सके पुग्छ

आफ्नो कक्षाको प्रस्तुति, सोधेको प्रश्न, विद्यार्थीलाई दिएको उत्तर आदिको विश्लेषण गर्न सक्छन् । दोस्रो, शिक्षकले विद्यार्थीसँग उनीहरूको परिचय नखुल्ने गरी खुला प्रतिक्रिया लिन सक्छन् । विद्यार्थीको प्रतिक्रियाबाट शिक्षकले निकै सुधार गर्न सक्छन् । तर, अक्सर हामी शिक्षक प्रतिक्रिया लिन चाहँदैनौ । केही समयअघि मैले एउटा क्याम्पसमा विद्यार्थीबाट शिक्षाको मूल्यांकन गराउन सुझाब दिएको थिएँ ।

प्रिन्सिपलले मलाई दिएको उत्तर थियो, ‘विद्यार्थीमा प्रोफेसरलाई मूल्यांकन गर्ने हैसियत कहाँ हुन्छ र ?’ यो प्रवृत्तिले शिक्षाको सुधार हुन सक्दैन । यो शिक्षकको प्रवृत्ति मात्र नभएर डर पनि हो । तर, विद्यार्थीलाई बराबरीको महत्व नदिने हो भने, शिक्षकले आफूलाई विकास गर्न सक्दैनन् । नेपालमा शिक्षकको सुधार वा उन्नतिका निम्ति खासै योजनाबद्ध कुनै ठोस कार्यक्रम छैन । हाम्रा शिक्षकले नै यसबारे बोलेका छैनन् ।

हामीलाई त्यस्तो प्रणाली चाहिन्छ, जसले एउटा औसत शिक्षकलाई उत्कृष्ट बनाउन सहयोग गरोस् । शिक्षक सुधारका निम्ति सरकारले नै छुट्टै बजेट छुट्याएर कार्यक्रम ल्याउन जरुरी छ । अहिले नै बजेट ल्याउन नसक्ने हो भने पनि, शिक्षककै तलबको एकाध प्रतिशत छुट्याएर भए पनि यो नीति अवलम्बन गर्न शिक्षकले नै नेतृत्व लिन जरुरी छ । साथै, हरेक दुई–दुई वर्षमा शिक्षक प्रमाणीकरण गरेर शिक्षकलाई ‘अपडेट’ गर्न जरुरी छ ।

शिक्षकलाई वेलावेलामा अनिवार्य रूपमा बालमनोविज्ञानको कक्षा दिन जरुरी छ । विषय शिक्षकलाई नै आफैँले पढाएको विषयमा परीक्षा लिने हो अनि अर्कैले कापी जाँच्ने हो भने सबैको उत्तर आउँदैन भने विद्यार्थीलाई सबै कुरा कसरी आउँछ ? यो कुरा शिक्षकले बुझ्न जरुरी छ । तसर्थ, विद्यार्थीसँग रिसाउने, इष्र्या गर्ने, बदला लिनेजस्ता क्रियाकलाप शिक्षकले आफ्नो शब्दकोशबाटै हटाइदिनुपर्छ । 

अन्त्यमा
केही दिनअघि मेरो एकजना साथी हिसाब गर्दै हुनुहुन्थ्यो, वर्षको एक सय ८० दिन अनि दिनको ६ घन्टा, अहिलेजस्तै १५ वर्षसम्म एउटा विद्यार्थी जसरी पढ्दै छ, त्यति नै समय सामान्य गतिमा एउटा विद्यार्थी हिँड्ने हो भने, यो पृथ्वीको डेढ फन्को लगाउन सक्छ । हामीले शिक्षामा समय र उमेरका हिसाबमा ठूलो लगानी गरेका छौँ । त्यो लगानीको महŒव शिक्षा क्षेत्रमा लाग्ने मानिसले बुझ्न जरुरी छ । शिक्षालाई सार्थक बनाउन नेतृत्व लिन जरुरी छ । 

डा. बेन्जामिन ब्लुमको ‘डेभ्लपिङ ट्यालेन्ट इन यङ पिपल’ भन्ने पुस्तकमा गरिएको विश्वप्रसिद्ध वैज्ञानिक, गायक, खेलाडी, कलाकारको अध्ययनमा के पाइएको थियो भने, यी व्यक्तिलाई सुरुवाती दिनदेखि नै उत्कृष्ट शिक्षक वा कोचले सिकाएका थिएनन् । उनीहरूलाई त साधारण शिक्षकले पढाएका थिए, जसले उनीहरूको रुचिमा ऊर्जा भरेका थिए । विद्यार्थी उत्कृष्ट शिक्षक खोज्दैनन्, उनीहरू त केवल आफूलाई सिक्न सक्ने वातावरण बनाइदिने शिक्षक खोज्छन् । तसर्थ, शिक्षक निकै ज्ञानी हुनुपर्छ भन्ने छैन । उसले विद्यार्थीलाई बुझ्न सक्ने किसिमको वातावरण बनाउन सके पुग्छ ।

अहिले अक्सफोर्ड विश्वविद्यालयमा शिक्षकलाई पनि ‘लर्नर’ भन्न थालिएको छ । पढाउँदा विद्यार्थीले पनि सिक्छन् र शिक्षकले पनि । सिक्ने सबैभन्दा उत्तम विधि नै अरूलाई सिकाउनु हो । यो कुरा हाम्रा शिक्षकले बुझ्न निकै जरुरी छ । शिक्षक, कि ‘अपडेट’ हुन्छन् कि ‘डिग्रेड’ हुन्छन् । शिक्षक यथास्थितिमा रहन सक्दैनन् । आफूलाई यथास्थितिमा राख्ने हो भने शिक्षकको स्तर आफैँ खस्किँदै जान्छ । सिक्न खोज्ने शिक्षक मात्र सफल हुन्छन् ।
(लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्)

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव