लघु कथा " खुट्टाको मर्म "
--भुमिराज शर्मा
एक दिन अन्तराष्ट्रिय दौड़ प्रतियोगितामा दौड्दै गर्दा खुट्टा सानो तिखो ढुङ्गामा ठोक्किएछ । ठेस लाग्दा घाऊ भएछ । ह्वाल ह्वाल्ती रगत आउन थालेछ । तै पनि खुट्टाले हार मानेनछ । राष्ट्रको लागि पदक प्राप्तिका खातिर सबै पीडाहरु भुलेर उसले आफ्नो गति झन बढाएछ । अन्तमा प्रथम भएरै छाडेछ ।
यो देखेर खुट्टा लाई जुत्ताले सोधेछ ।" ढुङ्गा ले मलाई छेड्यो । तिमीलाई चोट लागेर रगत बग्यो । पुरै रगतले म निथरुक्क भिजें । तर पनि तिमी किन रोकिएनौ ?
खुट्टाले बिस्तारै भन्यो । " हेर लक्ष्य प्राप्ति को बाटोमा यस्ता कैयौ बाधा र पीड़ाहरु आई रहन्छन।तर ती कुराहरु भन्दा आफ्नो लक्ष्य प्रधान ठानेर निरन्तर गतिमा अगाडि बढ्नु पर्छ । यदि म त्यति बेला पिडाको अनुभूति गरेर सुस्ताएको भए यो बिजय सम्भब थिएन । "
एकछिन पछि बिजय उत्सब शुरू भयो । दौडदा च्यातिएको जुत्ता नजिकैको फोहोर फाल्ने भाडोमा हालियो । त्यसको ठाउँमा नयाँ जुत्ता फेरियो । घाइते खुट्टाको रगत कट्कटिएर जमेको थियो । रगत आउन बन्द भइसकेको थियो । तर उपचारको कुनै वास्ता थिएन । किनकि बिजय उत्सबको जुलूस अगाडि बढ़ी सकेको थियो । उस्लाई एउटा रथमा राखेर शहर परिक्रमा गरिदै थियो । अब एक दुई पाइला हिड़नु पनि पर्दैनथ्यो । उसलाई हिडाउने रथका पाङग्राहरु थिए ।
त्यो धावकका गलाभरी माला भरिएका थिए । निधार भरि अबिर थियो । सम्मानमा हातहरु हल्लीएका थिए । पुरै टाउको रंगी चंगी फेताले छोपिएको थियो ।
तर उसको घाइते खुट्टाको कसैले वास्ता गरेन । दुखिरहेको घाउले एक चिम्टी मलम पट्टी पाएन ।
बजार परिक्रमा गरेर फर्किदै गर्दा बाटोमा उसको रथ अगाडि एउटा कुकुरले मुखमा जुत्ता च्यापेर दौडि रहेको देख्यो । रगतले भिजेको उसको जुत्ता त्यो कुकुरले लुछ्न थाल्यो । धुजा धुजा बनायो ।
यो देखेर उसलाई असह्य पीडा हुन थाल्यो । उसका खुट्टाहरु काप्न थाले । उता रयालीमा बाजाहरु घन्किएका थिए । नाच गान चलिरहेको थियो । उसलाई पनि नाच्नको लागि जबरजस्ती तानिदै थियो । तर उसका खुट्टा नाच्न मानिरहेका थिएनन । जब ऊ नाच्न अगाडि सर्दै थियो । एक्कासि भुईमा लड्यो । बेहोस भयो । यो देखेर सबै जना दुखी भए । तत्काल एम्बुलेन्समा राखी अस्पताल लगियो । अस्पताल बाट रिपोर्ट आयो । अधिक रक्त श्राबको कारण रगतको कमी भएछ । उसलाई रगत दिनु पर्ने भयो । तर त्यो भीडमा एक जना पनि रगत दिन तैयार भएनन ।
२०७३-०७-२१/ बिहान ७:४९