Skip to main content

भरतपुर महानगरको शैक्षिक गन्तव्य

भरतपुर महानगरले सार्वजनिक गरेको सोचसहितको गन्तव्य :

१. पाठ्यक्रम र पाठ्यपुस्तक

सबै शिक्षकका हातमा पाठ्यक्रम र सबै विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्नेछ। शैक्षिक सत्र २०७७ वैशाखबाट सामुदायिक तथा संस्थागत सबै विद्यालयमा ‘हाम्रो गौरव, हाम्रो भरतपुर’ नामक स्थानीय पाठ्यक्रम अनिवार्यरूपमा लागू गरिनेछ।

२. बिदा

सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी शैक्षिक क्यालेन्डर लागू गरिनेछ। महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले तयार गरेको शैक्षिक क्यालेन्डर लागू गर्नु सबै विद्यालयको अनिवार्य कर्तव्य हुनेछ।

कुनै पनि विद्यालयको शिक्षक वा सञ्चालकको मृत्यु हुँदा जिल्लाभर वा महानगरभरका सबै विद्यालय बन्द हुने अवस्थाको अन्त्य गरी शिक्षक कार्यरत विद्यालयमा मात्र शोकसभा गरी बन्द गर्न र अन्य विद्यालयमा आवश्यकताअनुसार शोकसभा गरी विद्यालय सुचारु राख्ने व्यवस्था गरिनेछ। स्थानीय बिदाका लागि व्यवस्था भएको ५ दिनको प्रयोग गर्दा अनिवार्यरूपमा महानगरपालिकाको पूर्वस्वीकृति लिनुपर्नेछ।

३. करार सम्झौता (प्रअ)

विद्यमान संघीय कानुनी व्यवस्था र महानगरको विद्यालय शिक्षा ऐन, २०७५ बमोजिम प्रधानाध्यपकको नियुक्ति गरिनेछ। विद्यालयको समग्र सुधारका लागि प्रअसँग करार सम्झौता आजै गरिनेछ। करार सम्झौताबमोजिम कार्य गर्न नसक्ने प्रधानाध्यापकलाई विस्थापन गरी नयाँ शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनेछ।

महानगरको समग्र शैक्षिकस्तर सुधार गर्ने सोचसहितको गन्तव्य सार्वजनिक गरेका हौं : मेयर दाहाल

४. करार सम्झौता (विव्यस)

सबै प्रकारका विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्य सम्पन्न गरिनेछ। शैक्षिक सत्रको शुरूआतसँगै सामुदायिक विद्यालयका नयाँ व्यवस्थापन समितिका अध्यक्षसँग करार सम्झौता गरी विद्यालयको समग्र सुधारको जिम्मेवारीमा उत्तरदायी बनाइनेछ।

५. सूचना प्रविधि

शिक्षकलाई स्रोतपूर्ण बनाउन, पाठ्यक्रम, शिक्षण सामग्री, सूचना तथा सञ्चार प्रविधिका सामग्रीको व्यवस्थापनका लागि थप व्यवस्था गरिनेछ। सबै आधारभूत तहमा सूचना तथा सञ्चार प्रविधिको नेटवर्क विस्तार गर्नका लागि ल्यापटप वितरणको अन्तिम चरणमा पुगिसकेको छ।

६. फरक आवश्यकता

विद्यालयको भवन निर्माण गर्दा अपांगमैत्री, बालमैत्री र छुट्टै छात्रा शौचालय रहने व्यवस्था अनिवार्यरूपमा पालना गर्नुपर्नेछ। अपांगता भएका कोही पनि बालबालिका विद्यालयबाहिर नरहने सुनिश्चत गरिनेछ।

७. विषय परिवर्तन

महानगरपालिकाको पूर्वस्वीकृति नै नलिई विषय परिवर्तन, अतिरिक्त सुविधा वृद्धिजस्ता कार्य गर्न दिइनेछैन। अब उप्रान्त महानगरपालिकाको पूर्वस्वीकृति नलिई विषय परिवर्तन गर्ने र दरबन्दीको प्रकृतिमा परिवर्तन गर्ने जुनसुकै विद्यालयलाई तत्काल विभागीय कारबाही हुनेछ।

८. अनुगमन तथा सुपरिवेक्षण

मूह सुपरिवेक्षण वा विशेषज्ञबाट कम्तीमा दुई महिनामा एकपटक प्रत्येक विद्यालय र शिक्षकको कक्षा अवलोकन गरिनेछ।

९. स्वयंसेवक शिक्षक

स्वयंसेवक शिक्षकको परिचालन गरी शिक्षकलाई तालिममा पठाउँदा, अन्य काजमा पठाउँदा वा लामो प्रकृतिको बिदामा बस्दा कक्षाकोठाको पठनपाठन नहुने कुराको अन्त्य गर्न कार्यविधि तयार गरिनेछ।

आगामी शैक्षिक सत्रमा अनिवार्यरूपमा सोच लागू नगर्ने विद्यालयलाई कारबाही गर्छौं : शिक्षा महाशाखा प्रमुख सीताराम कोइराला

१०. लेखापरीक्षण

धार्मिक प्रकृतिका विद्यालय, सामुदायिक अध्ययन केन्द्रलगायत सरकारी अनुदान जाने सबै निकायमा समेत लेखापरीक्षण गराइनेछ। सामुदायिक तथा संस्थागत विद्यालयको लेखापरीक्षण महानगरपालिकाले तोकेबमोजिम हुनेछ।

११. नेपाली भाषा

संस्थागत विद्यालयको बोर्ड नेपाली भाषामा पनि अनिवार्यरूपमा देखिने गरी राख्ने व्यवस्था शैक्षिक सत्र २०७७ सालअगावै सम्पन्न गरिनेछ। विद्यार्थीको परिचयपत्रमा समेत नेपाली नाम अनिवार्य गर्ने गरी व्यवस्थापन गरिनेछ।

१२. सरुवा तथा रमाना

जिल्लान्तर वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भई आउने वा जाने शिक्षकले रमाना मितिसम्मको तलबभत्ता रमाना लिएकै विद्यालयबाट खाने व्यवस्था गरी सरुवा भई आउने वा जाने शिक्षकका कारण महानगरपालिकामा पर्न गएको शिक्षक तलबको आर्थिक भार शून्य गरिनेछ।

१३. हरित विद्यालय

‘मध्य नेपालको सुन्दर शहर ः सभ्य र सुसंस्कृत भरतपुर महानगर’ भन्ने नारासहित हरित विद्यालय निर्माण कार्यलाई निरन्तरता दिन यसै शैक्षिक सत्रबाट सबै सामुदायिक विद्यालयलाई प्रोत्साहनस्वरूप २५ हजार दोस्रो चौमासिकभित्रै निकासा गरिनेछ।

यसबाट विद्यालयले गरेका कार्यको अनुगमन तथा सुपरिवेक्षण कार्य विद्यालय निरीक्षक, तोकिएका अधिकारी वा वडा कार्यालयमार्फत सूचना संकलन गरिनेछ। समृद्ध नेपाल, स्वच्छ र सफा भरतपुर शहर तयारीका लागि ‘एक विद्यार्थी, एक बिरुवा अभियान’ सञ्चालन गर्न विद्यालयलाई अभिप्रेरित गरिनेछ।

१४. पारदर्शिता

विद्यालयको आर्थिक पारदर्शितालाई प्रभावकारी बनाउन र विद्यालय लिज तथा भाडामा दिई आम्दानी गर्ने विद्यालयलाई प्राप्त रकमको पारदर्शितासहित उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षाको सुनिश्चित गर्न सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन तथा प्रयोगसम्बन्धी कार्यविधि तयार गरी लागू गरिनेछ।

१५. पूर्वसूचना

महानगरपालिकाभित्रका कुनै पनि विद्यालयले संघीय वा प्रदेश मन्त्री वा विदेशी कूटनीतिक नियोगका कर्मचारी वा मन्त्री ल्याई कुनै पनि कार्यक्रम आयोजना गर्दा महानगरपालिकालाई अनिवार्यरूपमा पूर्वजानकारी दिनुपर्ने व्यवस्थालाई कडाइका साथ परिपालन गर्नुपर्नेछ।

१६. पूर्वस्वीकृति

विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालिम, सभा, अलोवकन भ्रमण, खेलकुद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमा नै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजाँदा भरतपुर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गरिनेछ।

१७. विद्यालय समायोजन तथा दरबन्दी मिलान

विद्यार्थी, विद्यालयको भौतिक अवस्था, शिक्षक संख्यालगायतका विभिन्न सूचक तयार गरी दरबन्दी मिलान तथा समायोजन कार्यविधि, २०७६ बमोजिम शिक्षकका पेसागत संघसंगठनसँगको सहभागितामा आगामी शैक्षिक सत्र २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन गरिनेछ।

१८. उत्कृष्ट विद्यालय

महानगरभित्रका तीन/तीन सामुदायिक र संस्थागत माध्यमिक विद्यालय, एक आधारभूत विद्यालय र एक प्रारम्भिक बालविकास केन्द्रलाई उत्कृष्ट विद्यालय छनोट कार्यविधिका आधारमा तोकिएबमोजिमको पुरस्कार दिइनेछ।

१९. नमुना विद्यालय

महानगरभित्रका एक आधारभूत विद्यालय र एक प्रारम्भिक बालविकास केन्द्रलाई नमुना विद्यालय तथा बालविकास केन्द्रका रूपमा विकास गरिनेछ।

२०. मासिक तलब भत्ता

शिक्षकको मासिक तलब भुक्तानी हुने व्यवस्थाको शुरूआत भइसकेको छ। अब उप्रान्त शिक्षकको तलब शिक्षकको खातामा नै भुक्तानी हुने व्यवस्थाको सोच गरिएको छ।

२१. विद्युतीय अनुगमन

शिक्षकको कक्षाकोठामा बिताएको समय, हाजिरी, जिम्मेवारी वहनलगायतका विषय र व्यक्तिगत सूचना प्रणालीलाई डिजिटलाइज्ड गरी अनलाइन अनुगमन प्रणाली स्थापना गरिनेछ। यो व्यवस्था तत्काल ५० वटा माध्यमिक विद्यालयबाट शुरू गरिनेछ।

२२. व्यवस्थापकीय सुधार

विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षकको क्षमता विकास, संस्थागत विद्यालयको अनुगमन, मन्टेस्वरी विद्यालय, परामर्श केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टरजस्ता शिक्षण संस्थालाई महानगरपालिकामा दर्ता हुने व्यवस्था शुरू गरिनेछ।

२३. क्षमता विकास

महानगरभित्रका सबै विद्यालयको सिकाइ सुधारका लागि शिक्षण सुधार योजना, विद्यालय सुधार योजना, शिक्षकलाई सकारात्मक सोच र टिचिङ पेडागोजीमा आधारित क्षमता विकासका तालिम यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ।

२४. दण्ड र पुरस्कार

राम्रो कार्य सम्पादन गर्नेलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, अवसर सिर्जना गरिदिने कामले अरूलाई पनि सिक्ने अवसर प्राप्त हुने भएकाले राम्रो काम गर्ने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पुरस्कार दिइने परिपाटीलाई संस्थागत गरी निरन्तरता दिइनेछ।

२५. सान्दर्भिकता

भरतपुर महानगरपालिकाले तयार गरेका विद्यालय शिक्षा ऐन २०७५ (पहिलो संशोधन २०७६), विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि, छात्रवृत्तिसम्बन्धी कार्यविधि, शिशु विकास तथा प्रारम्भिक बाल शिक्षा सञ्चालन कार्यविधि, ट्युसन, कोचिङ कक्षा सञ्चालनसम्बन्धी कार्यविधि तथा अन्य प्रचलित कानुन, नीति, नियमले शिक्षक तथा विद्यार्थी र विद्यालयलाई गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति तयार गर्न कुनै कठिनाइ सिर्जना भएकोे भए संशोधन र परिष्कृत गरी समयानुकूल बनाइनेछ।

२६. विशेष कार्यक्रम

ड्रप आउट शून्यमा झार्न, महानगरभित्रका विद्यालय उमेर समूहका सबै विद्यार्थीलाई विद्यालयमा ल्याउन, टिकाउन र सिकाउन, कक्षा दोहोर्याउने दर घटाउन, सिकाइस्तर बढाउन, विद्यालयमा दिवा खाजा कार्यक्रम, न्यानो लुगा, यातायात खर्चजस्ता कार्यक्रम अगाडि बढाइनेछ।

२७. राष्ट्रिय झण्डा र राष्ट्रिय गान

विद्यालयमा राष्ट्रि«य गान र राष्ट्रिय झण्डाको प्रयोग गर्दा राष्ट्रिय झण्डा र राष्ट्रिय गान कार्यविधि, २०६९ अनुसार अनिवार्यरूपमा गर्नुपर्नेछ। विद्यालयमा गरिने विभिन्न कार्यक्रमलाई सार्वजनिक सभा समारोह सञ्चाालन कार्यविधि, २०६९ अनुसार गर्नुपर्नेछ।

२८. निर्देशन पालना

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा परीक्षकको कार्यालय, स्थानीय तथा प्रदेश र नेपाल सरकारले दिएको निर्देशन तदारुकताका साथ पालना गर्न र माग भएको विवरण ढिलोमा ३ दिनभित्र सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ।

२९. सुरक्षा

सामुदायिक तथा संस्थागत विद्यालयमा गाडीबाट विद्यार्थी आवतजावत गर्दा विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न गाडी चालक र सहचालकलाई लेन अनुशासन, विद्यार्थी सुरक्षा, शिष्ट बोलचाल गर्ने पद्धतिको विकासका लागि संस्थागत तालिमको व्यवस्था गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिइनेछ। त्यस्तै सामुदायिक विद्यालयमा पनि विद्यार्थी विद्यालयभित्र आउँदा र घर फर्कंदा शिष्टबोलीले स्वागत र बिदा गर्ने परिपाटीको थालनी गरिनेछ।

३०. बरबुझारथ

एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा भएका शिक्षक, प्रअ वा कर्मचारीले बरबुझारथ गरेर मात्र रमाना लिई जानुपर्नेछ। रमाना नलिई आएका शिक्षकलाई कसैले हाजिर गराएमा हाजिर गर्ने गराउने व्यक्ति नै जिम्मेवार बन्नुपर्नेछ।

केही विद्यालयका शिक्षकले अघिल्लो विद्यालयमा रहँदा आफूमा रहेको जिम्मेवारीको बरबुझारथ नगरेको उजुरी परेको सन्दर्भमा त्यस्ता शिक्षकको पेन्सन पट्टा र अन्य सुविधा रोक्का लागि विद्यालय शिक्षक किताबखानामा (हाल राष्ट्रिय किताबखाना (शिक्षा)) लेखी पठाउने कार्यको थालनी गरिसकिएको र निरन्तरता दिइनेछ।

३१. विभागीय स्वीकृति

शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९, शिक्षक सेवा आयोग नियमावली, २०५७ र भरतपुर महानगरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम विभागीय स्वीकृति नलिई कुनै पनि शिक्षक वा कर्मचारीले विद्यालय समयमा अन्यत्र काम वा पेसा व्यवसाय सञ्चालन गरेको पाइएमा तत्काल विभागीय कारबाही गरिनेछ।

३२. सिकाइको माध्यम

अध्यापनको भाषाको माध्यम समय समयमा परिवर्तन हुने गरेको देखिन्छ। अध्यापनको भाषा तल्लो कक्षामा जे छ, माथिल्लो कक्षामा पनि त्यही हुने व्यवस्था हुनेछ।

३३. कक्षा ८ को परीक्षा

कक्षा ८ को महानगरस्तरीय अन्तिम परीक्षाको रजिस्ट्रेसन अनलाइन भर्ने र अनलाइनबाटै रजिस्ट्रेसन तथा सिम्बल नम्बर कायम गर्ने कार्यको थालनी यसै शैक्षिकसत्रको परीक्षाबाट गरिनेछ।

नतिजा प्रकाशन भएको ७ दिनभित्र महानगरको शैक्षिक प्रशासन महाशाखाबाट विद्यार्थीको ग्रेड बुझिलिने र त्यसको तीन दिनभित्र सबै विद्यार्थीको हातमा ग्रेड सिट उपलब्ध गराइसकेको हुनुपर्नेछ। नतिजा प्रकाशन भएको ६ महिनापछि कुनै पनि विद्यार्थीको जन्मदर्ता तथा नाम थर सच्चाइनेछैन।

३४. गलत सूचना

विद्यार्थीकोे गलत तथ्याङ्क पेस गर्ने गरेको पाइएमा त्यस्तो प्रधानाध्यापकलाई हदैसम्मको कारबाहीको प्रव्रिmया अगाडि बढाइनेछ। फ्ल्यास विवरण सही नभर्ने विद्यालयमा तोकिएका अनुदान कम निकाशा सोको जिम्मेवार प्रअ स्वयंको हुनेछ।

३५. पोसाक

विद्यालयमा तोकिएको पोसाक लगाएर मात्र अध्यापन गर्नुपर्नेछ। तोकिएको पोसाक नलगाई अध्यापन गर्न आउने शिक्षकलाई पोसाक लगाएर मात्र विद्यालय आउन सचेत गराइनेछ।

महानगरपालिकाले अनुगमन गर्दाका बखत दुईपटकसम्म पनि तोकिएको पोसाक नलगाएको पाइएमा त्यस्ता शिक्षकको पोसाक भत्ताबापतको त्यो वर्षको रकम कट्टी गरिनेछ। महानगरका सबै सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोसाक लागू गरी समानताको भावना पैदा गर्ने नीति लिइनेछ।

३६. मोबाइल विषय शिक्षक

महानगरभित्रका निम्नमाध्यमिक तथा माध्यमिक तहमा दक्ष विषयगत शिक्षकबाट गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक सुनिश्चित गर्न विषयगत शिक्षक नभएका दुई वा दुईभन्दा बढी विद्यालयका लागि महानगरपालिकामा पुल दरबन्दी कायम गरी मोबाइल विषय शिक्षकको व्यवस्था गरिनेछ।

३७. व्यवसाय दर्ता

महानगरपालिकाभित्र संस्थागत विद्यालयका रूपमा दर्ता भएका विद्यालयले व्यवसाय दर्ता कर अनिवार्यरूपमा तिर्नुपर्नेमा कतिपय विद्यालयले सो तिरेको नपाइएकाले तत्काल व्यवसाय कर तिरी नवीकरण गर्नुपर्नेछ।

३८. संस्थागत विद्यालय मर्ज

विद्यालय र विद्यार्थी संख्याका लागि आधारमा संस्थागत विद्यालयलाई मर्ज गरी व्यवस्थापन गर्नका लागि प्रोत्साहित गरिनेछ।

३९. स्रोत परिचालन

चालू वर्षमा महानगरको आन्तरिक स्रोततर्फको १० प्रतिशत खर्च शिक्षा र ५ प्रतिशत खर्च युवा तथा खेलकुदमा विनियोजन भएको र आगामी दिनमा समेत भरतपुर महानगरको समग्र शैक्षिक उनन्नयनका लागि उपलब्ध स्रोतको उच्चतम प्रयोग गरी परिचालन गरिनेछ।


Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव