Skip to main content

सामाजिक शिक्षा

आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ चुनौतीको विषय बनेको छ । यसको एकमात्र कारण यसमा समावेश गरिएका विभिन्न विषयवस्तुहरू हुन् । कक्षा १ देखि ३ सम्म यसमा आफू, आफ्नो परिवार तथा छरछिमेक, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो क्रियाकलाप पढाइन्छ भने कक्षा ४ र ५ मा स्थानीय विषयवस्तुलाई समावेश गरिएको छ र कक्षा ६ देखि ८ सम्म हामी र हाम्रो समाज, जनसङ्ख्या शिक्षा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग लाई पाठ्यक्रममा समावेश गरिएको छ । यसैगरी कक्षा ९ र १० मा हामी हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधारहरू, हाम्रो पृथ्वी अन्तर्गत नेपाल र विश्वको भूगोल, हाम्रो विगत अन्तर्गत नेपाल र विश्वका घटनाक्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत शान्ति र सहयोग विषयलाई समावेश गरिएको छ ।


    यी विषयवस्तुहरू पढाउनका लागि विज्ञानजस्तै प्रश्नोत्तर विधि, प्रदर्शन विधि, समस्या समाधान विधि, अवलोकन विधि, छलफल विधि, खोज विधि, अभिनय विधि, परियोजना विधि, कथा वाचन विधि, घटना अध्ययन विधि निर्धारित गरिएको छ । यी विधिहरूको समुचित प्रयोगले प्राथमिक कक्षाका विद्यार्थीहरूमा अवलोकन, वर्गीकरण, समस्या समाधान गर्ने र विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । माथिल्लो कक्षाहरूमा समाजका विभिन्न पक्षहरू, समाजमा निरन्तर भइरहेको परिवर्तनको विश्लेषण, मानव र प्रकृतिको विभिन्न क्षेत्रहरूको विश्लेषण, आर्थिक पक्षहरूको विश्लेषण गर्ने पद्धति र सोचको विकास हुन्छ । समग्रमा भन्नुपर्दा यो विषय राष्ट्र निर्माणका लागि अति आवश्यक विषयको रूपमा रहेको छ ।
    तर प्रारम्भिक कक्षाहरूमा सामाजिक शिक्षालाई गम्भीर विषयको रूपमा लिइँदैन । यसको एक मात्र कारण मेरो दृष्टिकोणमा के रहेको छ भने प्राय: जसो मानिसहरू के ठान्दछन् भने यसमा विज्ञान र गणितजस्ता केही कुरो छैन जुन वास्तविक जीवनमा काम लागोस् । समाजको यस्तो सोचले नै यस विषयलाई दोस्रो दर्जाको विषय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस कारण माथिल्लो कक्षामा यस विषयसँग सम्बन्धित विषयहरू जस्तै राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास वा भूगोल विषय रोज्ने विद्यार्थीहरूलाई कमजोर ठानिन्छ । यसको प्रमुख कारण के हो भने केही खास किसिमका व्यवसायलाई मात्र हाम्रो समाजमा उपल्लो दर्जा प्राप्त छ । 
    यहाँ ध्यान दिनुपर्ने अर्को कुरो के हो भने जुन विद्यार्थीले विज्ञान विषय रोजेर पनि त्यसमा राम्रो गर्दैन, उसलाई पनि कमजोर नै ठानिन्छ । यहाँ सामाजिक दृष्टिकोणले के स्पष्ट हुन्छ भने विज्ञान र गणितजस्ता विषयमा कमजोर विद्यार्थी नै यस्ता विषय रोज्दछन् । यसको दोस्रो कारण के हुन सक्दछ भने सामाजिक शिक्षाजस्ता विषय रसहीन हुनुका साथै जीवनमा आर्थिक उपार्जनको कुनै रमाइलो सपना देखाउँदैनन् । यसको तेस्रो कारण यस विषयको उदय केही वर्ष पहिले भएको र यसमा लगातार परिमार्जन भइरहेको हुनसक्छ ।
    कुनै पनि विषयलाई सरल र जटिल बनाउन सकिन्छ । यदि विद्यार्थीहरूलाई शुरुदेखि नै यो विषय कठिन र त्यो विषय सरल हो भन्न थालियो भने उनीहरूको मनमा पनि त्यस्तै धारणा बस्न थाल्छ । परिणामस्वरूप धेरै विद्यार्थी विज्ञान र गणितलाई जटिल र सामाजिक शिक्षालाई सरल ठान्ने भ्रममा पर्छन् । वास्तवमा कुनै पनि विषय सरल वा कठिन हुँदैन । यो मात्र व्यक्तिको रुचि र अभ्यासमा निर्भर गर्दछ ।  
    सामाजिक शिक्षामा भएका धेरै प्रकृतिका विषयहरू शिक्षकहरूका लागि चुनौतीको विषय रहेको छ । वास्तवमा कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक वा सांस्कृतिक घटनाको पछाडि सबैको आआफ्नो विचार, सवाल र जवाफ हुन्छ । यस परिप्रेक्ष्यमा शिक्षकले यदि यी कुराहरूमाथि ध्यान पुर्‍याउँदैन भने शिक्षण अरुचिकर हुने सम्भावना बढी हुन्छ । कुनै पनि विषयप्रति अरुचिले नै सुग्गा रटाइलाई बढावा दिने गर्छ ।
    सामाजिक शिक्षा विषय अध्ययन गराउँदा पाठमा भएका सामग्रीसँगसँगै जीवनको अनुभवलाई जोड्नुपर्छ । यसको साथसाथै शिक्षकले त्यसलाई पढाउँदा कुन विधि उपयुक्त होला भन्ने ध्यान पनि पुर्‍याउनुपर्छ । यसो गर्दा कक्षा शिक्षण पनि अरुचिकर हुँदैन । यस कारण के भन्न सकिन्छ भने यदि शिक्षक उत्साही र सृजनशील छन् भने पाठ्यपुस्तकमा दिइएका सामग्री कमसल भए तापनि राम्रो शिक्षण गर्न सकिन्छ तर विडम्बना र चिन्ताको विषय के छ भने हाम्रा शिक्षकहरू उत्साही र अध्ययनशील छैनन् । यस कारण सामाजिक शिक्षा जस्ता सरस विषय पनि कक्षा शिक्षण गराउँदा विद्यार्थीहरूलाई प्राय: नीरस लाग्ने गर्छ । यसका लागि तल उल्लिखित कुरामाथि ध्यान दिनुपर्ने खाँचो छ । 
    प्रारम्भदेखि नै सामाजिक शिक्षा विषयको शिक्षक र प्रशिक्षक भएको नाताले के भन्न चाहन्छु भने यस विषयलाई पढाउने शिक्षकहरूसँग धेरै सीमित विषयगत जानकारी छ । यसका लागि सबैभन्दा पहिले पाठ्यपुस्तकलाई गम्भीरतापूर्वक स्वयं अध्ययन गनुपर्ने हुन्छ । त्यसपछि पाठसँग सम्बन्धित अन्य थप सामग्रीको अध्ययन गर्नुपर्छ । मेरो के धारणा रहेको छ भने यदि मेरो विषयगत जानकारी गहिरो छ भने म कुनै न कुनै यस्तो तरिका अवश्य भेट्छु जसबाट अरूलाई बुझाउन सजिलो हुन जान्छ । 
    सामाजिक शिक्षासँग सम्बन्धित कुनै पनि मुद्दामा शिक्षकहरूले यदि आफ्नो विद्यार्थीहरूमा सोच्ने, बुझ्ने र निर्णय लिने क्षमता विकसित गर्न चाहन्छन् भने शिक्षकले आफ्नो विचार सङ्क्षिप्तरूपमा प्रस्तुत गर्नुपर्छ तर यदि विद्यार्थीहरूले प्रश्न खडा गरेर तपाईंको विचार जान्न चाहन्छन् भने सटीक विचार प्रस्तुत गर्नुपर्छ । एउटा शिक्षकले स्वयं आफ्नो विचार व्यक्त गरेर विद्यार्थीहरूको स्वतन्त्र अभिव्यक्तिको प्रक्रियालाई रोक्नुहुँदैन अन्यथा विद्यार्थीहरूले शिक्षकको विचारलाई नै आत्मसात् गर्न सक्छन् वा यसो गर्दा विरोधी विचार अपनाउने सम्भावना पनि बढी हुन्छ । यस कारण शिक्षकहरूले सामाजिक शिक्षा अध्ययन गराउँदा कक्षामा सबैलाई समानरूपले भयरहित भई आफ्नो विचार राख्ने मौका प्रदान गर्नुपर्छ । 
    उदाहरणका लागि शिक्षकले लोकतन्त्रमा विचारको स्वतन्त्रतालाई महत्त्वपूर्ण छ भनिरहेका छन्, तर व्यवहारमा आफ्नो कक्षामा कहिले पनि यस्तो वातावरण निर्माण गर्दैनन्, जहाँ विद्यार्थीहरू खुलेर प्रश्न गर्न सकून् । सामाजिक शिक्षा पढाउँदा विद्यार्थीहरूलाई शिक्षकजस्तै आफ्नो विचार व्यक्त गर्न लगाउनुपर्छ । यहाँ शिक्षकहरूले के बुझ्नुपर्छ भने लोकतन्त्रमा तपाईंको विचार नै सर्वोपरि छैन । कोही विद्यार्थी यदि तपाईंले व्यक्त गरेको सुझावको विपरीत विचार राख्छ भने त्यस विचारलाई तुरुन्त गलत भन्नुहुँदैन । लोकतान्त्रिक प्रक्रियालाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई प्रश्न सोध्ने र आफ्नो मत दिने अवसर प्रदान गर्नुपर्छ । विषयवस्तुसँग सम्बन्धित यदि कुनै विचार समुदायमा चलिरहेको छ भने त्यसलाई पनि कक्षामा सामेल गर्नुपर्छ । यसो गर्दा विद्यार्थीहरूमा जीवनको व्यावहारिकतामा सामाजिक शिक्षाको उपयोगिता बुझ्न मदत पुर्‍याउँछ । यसरी गर्दा विद्यार्थीहरूको रट्ने बानीमा र्‍हास आउँछ । 
    जुन बेला कुनै समस्यामाथि निर्णय लिनुपर्ने हुन्छ, प्राय: मानिसहरू समाजबाट समर्थन प्राप्त तर वर्तमान सन्दर्भमा आफ्नो अर्थ गुमाइसकेका मतप्रति बढी आकर्षित हुने गर्छन् । कैयौंपटक मानिसहरूले कुनै समस्याको समाधान नै छैन भन्नेगरी प्रस्तुति दिइरहेका हुन्छन् जुन वास्तवमा सत्य होइन । यसको अर्थ हामीभित्र विकल्प खोज्ने अभ्यासको कमी छ । यस कारण हरेक समस्याको कम्तीमा दुई–तीनवटा विकल्प विद्यार्थीहरूलाई खोज्न लगाउनुपर्छ । त्यसपछि ती विकल्पहरूको विश्लेषण गरेर कुन विकल्प अपनाउँदा राम्रो हुन्छ भन्ने कुरा तर्कसहित किटान गर्नुपर्छ । यदि शिक्षकहरू यस प्रकारको अभ्यास आफ्नो कक्षामा गराउन सफल हुन्छन् भने केही साताभित्रै उनीहरू विकल्पसहित कुनै पनि समस्याको समाधान गर्न सफल हुन्छन् । यो अभ्यास गराउँदा शिक्षकहरूले मात्र सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । 
    रट्ने बिमारीको एउटा प्रमुख कारण के हो भने शिक्षकहरूले आफ्नो विचार लेख्ने विद्यार्थीहरूलाई बढी अड्ढ दिने गर्छन् । के यसो हुन सक्दैन, विद्यार्थीहरूले आफैं प्रश्न बनाएर आपैंm जवाफ पनि देऊन् । यदि हामीले यसरी जवाफ खोज्ने अभ्यास कक्षामा गर्‍यौं भने निश्चितरूपले कक्षामा परस्पर सिक्ने र सिकाउने वातावरण निर्माण हुन्छ र विद्यार्थीसहित शिक्षकले पनि आनन्दको अनूभूति गर्छन् । 
    शिक्षकहरूले विद्यार्थीहरूलाई कक्षा शिक्षणबाहेक यस्तो अवसर उपलब्ध गराउनुपर्छ जसमा विद्यार्थीहरू स्वयं कुनै संस्था, कार्यालय, कुनै ठाउँको भ्रमण गरेर त्यहाँको जानकारी हासिल गर्न सकून् । यसका लागि पहिले विद्यार्थीहरूमा प्रश्न गर्ने बानी विकास गर्नु आवश्यक हुन्छ । त्यहाँ गएर उनीहरूले जति प्रश्न सोध्छन्, उनीहरूलाई त्यतिकै बढी जानकारी प्राप्त हुन्छ । 
    सामाजिक शिक्षामा यस्ता धेरै मुद्दाहरू हुन्छन् जसलाई विद्यार्थीहरूको समूह तयार गरी प्रोजेक्ट कार्यको रूपमा दिन सकिन्छ । यसबाट उनीहरूमा विषयप्रति समझको साथसाथै प्रश्न निर्माण गर्ने, त्यसबारे जानकारी प्राप्त गर्ने, त्यसको विश्लेषण र निष्कर्ष निकाल्ने सीप विकास हुन्छ । परस्पर सहयोग गर्ने भावनाको विकास, समूहमा काम गर्ने बानीको विकास, उनीहरूभित्र मानवीय मूल्य र मान्यताको विकासको सम्भावना यस्ता कार्यहरूमा बढी हुने गर्दछ । यसो भन्नुको अर्थ एकअर्कालाई सहयोग गर्नु, एकअर्काको विचारप्रति संवेदनशील हुनु र एउटा सर्वमान्य विचार तयार गर्नु जस्ता भावनाहरूको विकास हुनु हो । 
    सामाजिक शिक्षा पढाउने शिक्षकहरूले पाठ्यपुस्तक बाहेकको जानकारीलाई पनि शिक्षणमा सामेल गर्नुपर्छ जस्तै समाचारपत्र पढ्नु, चित्र कोर्नु, पत्र लेख्नु, संस्मरण लेख्नु, चलचित्र जस्ता कुराहरूलाई आधार बनाएर शिक्षणलाई रुचिकर बनाउन सक्छन् । यदि यस प्रकार सामाजिक शिक्षाको शिक्षण गरियो भने विद्यार्थीहरू विद्यालयको शिक्षाबाहेक बाहय ज्ञानले पनि परिपूर्ण हुन्छन्, जुन व्यावहारिक जीवनमा धेरै काम लाग्छ । उनीहरूमा रट्ने प्रवृत्ति अन्त्य हुन्छ । शिक्षणमा स्थानीयताले प्रवेश पाउँछ । यस कारण सामाजिक शिक्षा पढाउने शिक्षकहरूसँग मेरो अनुरोध के छ भने तपाईंले पनि यसलाई अभ्यासमा ल्याएर सकारात्मक परिणामको अनुभूति स्वयं गर्नुहोस् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...